महिला टी-२० च्याम्पियन्स कप २०२७ र २०३१ मा
अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले महिला क्रिकेटका खेलहरूको दायरालाई अझ फराकिलो पार्दै आईसीसीको विश्वव्यापी रूपमा खेलको दायरा बढाउने पूर्वप्रतिबद्धताबमोजिम सन् २०२६ पछि महिला विश्वकप र महिला टी-२० विश्वकपमा समेत अरू बढी टोलीहरूले प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ ।
एउटा प्रेस वक्तव्य जारी गर्दै आईसीसीले सन् २०२५ र सन् २०२९ मा २ वटा ५० ओभरका खेलहरू र सन् २०२४, २०२६, २०२८ र २०३० मा ४ वटा टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटको त्यस नियामक निकायले सन् २०२७ र सन् २०३१ मा नयाँ फर्म्याटको महिला टी-२० च्याम्पियनसीप खेलाउने घोषणासमेत गरेको छ ।
महिला क्रिकेटको विकासमा आफ्नो महत्त्वाकांक्षी योजना सफल हुँदै गएको बताउँदै त्यसको परिणाम सन् २०२० मा सम्पन्न महिला टी-२० विश्वकप खेलको लोकप्रियताबाट अनुमान लगाउन सकिने सम्बद्ध पदाधिकारीहरूले उल्लेख गरेका छन् । महिला क्रिकेटको इतिहासमै सबैभन्दा बढी, १ अर्ब १ करोड पटक हेरिरहेको उक्त फाइनल खेल प्रत्यक्ष हेर्नका लागि अस्ट्रेलियाको मेल्बर्न क्रिकेट मैदानमा ८० हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए ।
खेल विश्लेषकहरूले आईसीसीको उक्त घोषणाले महिला क्रिकेटरहरूलाई उत्साहित बनाउने प्रतिक्रिया दिएका छन् ।