Khabarpato logo

         

खेलकुद

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

खबरदाता

खबरदाता

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ ।  

पाकिस्तानको मुल्तानमा अपराह्न ३ बजे एसिया कपको उद्घाटन खेल हुँदै छ। उद्घाटन खेलमा नेपालले विश्वको च्याम्पियन टिम पाकिस्तानविरुद्ध खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलो पटक प्रतिस्पर्धा गर्ने अवसर पाउँदै छ ।

पाकिस्तान हाल आईसीसी वरीयताको नम्बर एक टिम हो । भर्खरै अफगानिस्तानविरुद्धको ३ खेलको एक दिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो ।

पाकिस्तानी टिममा विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबर अजाम छन् ।

पाकिस्तानका कप्तानसमेत रहेका बाबरविरुद्ध नेपाली बलरले बलिङ गर्नू चुनौतीपूर्ण हुनेछ । यस्तै, वरीयताको तेस्रो नम्बरमा रहेका इमाम उल हक र पाँचौँ नम्बरमा रहेका फखर जमान पनि पाकिस्तानका मुख्य ब्याटर हुन् ।

बलिङमा ‍पाकिस्तानका साहिन शाह अफ्रिदी लयमा छन् । उनको तीव्र गतिको बलिङको सामना गर्न नेपाली ब्याट्सम्यानका लागि कठिन हुनेछ । अफ्रिदी विश्व वरीयतामा नवौँ स्थानमा छन् ।

१० टिम सहभागी भएको एसीसी प्रिमियर कप जितेको नेपाली टिम एसोसिएट राष्ट्रमा बलियो टिम हो ।

विश्वकप छनोटमा जिम्बावेविरुद्ध ब्याटिङमा उत्कृष्ट सुरुआत गरेको नेपाली टिम पाकिस्तानसँग निडर भएर प्रस्तुत हुने कप्तान रोहितकुमार पौडेलको विश्वास छ । पौडेलले खेलअघि पाकिस्तानविरुद्धको खेल स्मरणीय बनाउने पनि बताएका थिए ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लमाथि नेपाली टिमको विश्वास छ ।

अलराउन्डर गुल्सन झा पनि नेपालका आशा हुन् । आईसीसीले गुल्सनलाई एसिया कपमा नेपाली टिममा प्रभाव पार्न सक्ने खेलाडीको सूचीमा स्थान दिएको छ ।

बलिङमा लेगस्पिनर सन्दीप लामिछाने नेपालका मुख्य आशाका केन्द्र हुन् । तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसीको अनुभवबाट नेपालले फाइदा उठाउन सक्नुपर्नेछ ।

यस्तै, स्पिनर ललित राजवंशीले पछिल्लो समय नेपाललाई चाहिएको बेला विकेट लिइरहेका छन् । उनले पनि एसिया कपमा आफ्नो क्षमता प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।

एसिया कपका लागि नेपालले एक साता पाकिस्तानको कराँचीमा तयारी गरेको थियो । त्यसअघि नेपालले २ साता श्रीलंकामा बन्द सत्र सञ्चालन गरेको थियो ।

सहभागी टिम

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी ५ टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ वटा देशले एसिया कप २०२३ भाग लिँदै छन्। 

पाकिस्तान र श्रीलंका एसिया कप २०२३ का सहआयोजक हुन् । एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि राजनीतिक कारणले भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेको थियो । त्यसैले खेलहरू श्रीलंकामा पनि हुन लागेका हुन् । भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दै छ ।

फर्म्याट

एसिया कप २०२३ का खेलहरू ५० ओभरका हुनेछन् । सन् २०१८ पछि पहिलो पटक ५० ओभरको एसिया कप हुन लागेको हो ।

एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन् । नेपालमा स्टार स्पोर्ट्स नेटवर्कबाट प्रत्यक्ष खेल हेर्न सकिनेछ ।  

प्रतियोगिताको समूह विभाजन र फाइनल पुग्ने समीकरण
६ वटा टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह 'ए'मा नेपाल, भारत र पाकिस्तान छन् । समूह 'बी'मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

प्रत्येक टिमले आफ्नो समूहको अर्को टिमसँग एक पटक खेल्नेछन् । प्रत्येक समूहका शीर्ष २ टिम सुपर फोर चरणमा प्रवेश गर्नेछन् । त्यहाँ ४ वटा टिमले एकअर्कासँग खेल्नेछन् र शीर्ष २ वटा टिम फाइनलका लागि छनोट हुनेछन् ।

भदौ १३ मा नेपालले मुल्तानमा पाकिस्तानसँग खेलेर सुरु हुने प्रतियोगिताको फाइनल खेल भदौ ३१ मा श्रीलंकामा हुनेछ । प्रतियोगितामा फाइनलसहित १३ खेलहरू हुनेछन् ।

नेपालको पहिलो सभागिता

यस वर्ष नेपालले एसिया कपमा डेब्यु गर्दै छ । गत अप्रिल-मेमा नेपालमा भएको एसिसी पुरुष प्रिमियर कप जितेर नेपाल एसिया कपका लागि छनोट भएको थियो ।

छनोट प्रतियोगितामा १० वटा टिमको सहभागिता थियो र फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

नेपाल हाल आईसीसी एक दिवसीय वरीयतामा १५औँ स्थानमा छ र एसिया कपमा २० वर्षीय रोहित पौडेलको नेतृत्वमा खेल्नेछ ।

नेपालका खेल 
नेपाल भर्सेस पाकिस्तान- भदौ १३ (पाकिस्तान, मुल्तान)
नेपाल भर्सेस भारत- भदौ १८ (श्रीलंका, क्यान्डी)

नेपाली टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

भारत र पाकिस्तानको खेल

एसिया कप २०२३ मा भारत र पाकिस्तान ३ पटक खेल्ने संभावना छ । समूह चरणमा पहिलो पटक खेलेपछि उनीहरू सुपर फोर र फाइनलमा भिड्न सक्नेछन् । यसो हुन समूह चरणमा नेपाल बाहिरिनुपर्दा सुपर फोरमा अफगानिस्तान, बंगलादेश र श्रीलंका मध्ये २ वटा टिमलाई पाखा लगाउनुपर्नेछ ।

इंग्ल्यान्डमा सन् २०१९ एक दिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एक दिवसीय खेलमा भिड्न लागेका हुन् ।

गत वर्षको टी- २० एसिया कपमा भारत र पाकिस्तान २ पटक भिडेका थिए । पहिलो खेलमा भारतले ५ विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेल ५ विकेटले नै भारतलाई हराएको थियो ।  

खेल तालिका

नेपाल भर्सेस पाकिस्तान- भदौ १३ (पाकिस्तान, मुल्तान)
बंगलादेश भर्सेस श्रीलंका-  भदौ १४ (श्रीलंका, क्यान्डी)
पाकिस्तान भर्सेस भारत- भदौ १६ (श्रीलंका, क्यान्डी)
बंगलादेश भर्सेस अफगानिस्तान- भदौ १७ (पाकिस्तान, लाहोर)
नेपाल भर्सेस भारत- भदौ १८ (श्रीलंका, क्यान्डी)
अफगानिस्‍तान भर्सेस श्रीलंका- भदौ १९ (पाकिस्तान, लाहोर)
सुपर फोर-  भदौ २० देखि भदौ २९ सम्म 
फाइनल- भदौ ३१

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कप आजदेखि, कस-कसबीच हुनेछ खेल?

एसिया कपको १६औँ संस्करण आज (बुधबार)देखि सुरु हुँदै छ । पाकिस्तानको मुल्तानमा अपराह्…

Taplejung Gold Cup football tournament from Thursday

Taplejung Gold Cup football tournament from Thursday

The Taplejung Gold Cup Football Tournament is to begin from August 31 (Thursday…

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …