Khabarpato logo

         

बहस

वैमनस्य, घृणाको व्यापार र हाम्रो प्रवृत्ति

रूपक अलङ्कार

रूपक अलङ्कार

वैमनस्य, घृणाको व्यापार र हाम्रो प्रवृत्ति

निद्राभयमैथुनञ्च सामान्यमेतत् पशुभिर्नराणाम्
धर्माे हि तेषामधिको विशेषः धर्मेणहीनाः पशुभिःसमानाः ।

आहार, निद्रा, डर र मैथुन मानिस, पशुलगायत सम्पूर्ण जीवनधारीहरूका लागि सामान्य आवश्यकता र स्वभाव हुन् । मानिसलाई मानवेत्तर प्राणीबाट पृथक् राख्ने गुण भनेको धर्म हो । यदि त्यो धर्म नै छैन भने नामरूपले मानिस भए तापनि गुणले पशु हुन्छ । अर्थात् सिङ, पुच्छर नभएको पशु हुन्छ । 

यहाँ धुप–अक्षता लिएर मन्दिर धाउनु या स्वर्ग÷नर्कको अनन्त यात्राको टिकट बुकिङको लाइनमा बस्नुलाई धर्म भनिएको होइन । धर्म त मानिसको अन्तर्तहमा रहेको विशिष्ट गुण हो, जुन कुरा उसको व्यवहारमा अभिव्यक्त हुन्छ । धर्मो रक्षति रक्षितः अर्थात् रक्षित धर्मले रक्षा गर्छ । कुनै धर्मले तपाईंको रक्षा गर्नुपूर्व तपाईंले त्यस धर्मको रक्षा गर्नुपर्छ  । 

त्यसकारण तपाईंको चरित्र, नैतिकता, अनुशासन, सत्यनिष्ठा, परोपकार र कर्तव्यनिष्ठा नै तपाईंको धर्म हो । यिनै धार्मिक वैशिष्ठ्यले नै तपाईंलाई रक्षा गर्ने हुन् । धार्मिक हुनु भनेको पनि आफूमा उल्लिखित गुणहरूको विकास गर्नु हो । 

हामीले जति नै आधुनिकताको रटान लगाए पनि, जति नै भौतिकताको पक्षपोषण गरे तापनि हाम्रो यो हिमाच्छादित भूगोलको सुगन्ध भने आध्यात्मिक छ । त्यस कारण यहाँ भावनाको व्यापार बढी फस्टाउँछ । आध्यात्मिक हुनु भनेको आत्माको पछि लाग्नु मात्र होइन,  आत्मानुभूत गर्नु हो । दया, करुणा, क्षमा, शान्ति जस्ता कुरालाई आत्मसात् गर्नु हो । सबैमा समभाव राख्नु हो । सर्वभूतो हिते रतःको मन्त्रलाई मनन गर्नु हो । आत्मवत् सर्वभूतेषु वा सबैलाई आफू समान अनुभूत गर्नु हो । यसो गर्नुलाई कसैले अन्धविश्वास या पाखण्ड भन्छ भने भनोस् । निन्दा र प्रशंसाबाट विचलित नभई सत्कर्ममा लागिरहनु नै वास्तवमा आध्यात्मिक हुनु हो । हाम्रो सभ्यता र संस्कृतिको नदी यही मूलबाट अघि बढेको छ । 

परोपकारः पुण्याय पापाय परपीडनम् वा वसुधैव कुटुम्बकम् जस्ता कुरा हाम्रा दायरा पनि हुन् । देशको संविधानमा या कानुनमा यी मन्त्रहरू कपी–पेस्ट नभए तापनि भावानुवाद अवश्य पनि भएका छन् भने हाम्रो लोकव्यवहारमा त बुटी भएर घाँटीमा झुण्डिएका छन् । कुनै गलत काम हुनै लाग्दा घाँडोको काम गर्छन् । हाम्रो जीवनशैलीमा संस्कृति र संस्कार अन्वित भएका छन् । जहाँ भएको छैन, त्यहाँ दुर्घटना निश्चित छ । कुन बाटो हिँडेर कहाँ पुगिन्छ भन्ने कुरा पनि निश्चित त्यसैले सकेसम्म कुमार्गको परित्याग र सुमार्गको परिशीलन हाम्रो लक्ष्य हुनुपर्छ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनलाई सुरुङमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल या मेलम्चीको पानी काठमाडौँमा आगमनले मात्र नपुग्ला, यसका लागि सभ्य एवं सुसंस्कृत जीवनशैलीको पनि खाँचो पर्छ । पाखामा बसेर भुतभुताउनेहरूबाट संयमताको अपेक्षा गर्नुभन्दा डाडु–पन्युँ चलाउनेहरूले नै अनुशासनहीनताको अन्त्य गर्न सक्छन् भन्ने कुरा मनन गर्नु जरुरी छ

आध्यात्मिकताको लक्षण आत्मबोध वा आफूलाई जान्नु हो । बारम्बार आफ्नो अन्वेषण गरेर विकाररहित बन्न खोज्नु पनि आध्यात्मिक हुनु हो । जीवन र जगत्का यावत् चिजहरूप्रति सचेत भएर तिनको बाह्यान्तर विषयलाई अनुभूत गर्नुका साथै उन्मत्त या विचलित नहुनु पनि आध्यात्मिकता हो । यसरी हेर्दा हाम्रा दैनिक कार्यव्यवहार, जीवनशैली, लोेकजीवन आदिमा आध्यात्मिकताको स्पष्ट प्रभाव देखिन्छ र हामी नजानिँदो किसिमले आध्यात्मिक प्राणी हौँ भन्ने तथ्य प्रस्ट हुन्छ । 

यसो भन्दैमा हामी निर्दाेष छौँ वा हामीमा केही पनि खोट छैन भन्ने होइन । पद, प्रतिष्ठा र अधिकारका बलमा समाजको अनुशासन र नैतिकतामाथि हामीले नै बारम्बार प्रहार गरेका उदाहरण पनि प्रशस्त छन् । सदियौँदेखि शक्ति र सत्ता आफ्ना हातमा लिएर वैमनस्य र घृणाको व्यापार गरी आफूलाई सभ्य र सुसंस्कृत देखाउने पात्र हाम्रो समाजमा छन् । जबजब त्यस्तो प्रवृत्ति मौलाउँछ, तबतब समाजमा अराजकता र उद्दण्डता मौलाउने गरेको देखिन्छ । पात्र परिवर्तन भए तापनि प्रवृत्तिले भने निरन्तरता पाएकै छ । यस्ता कुरा राजनीतिमा बढी देखिन्छन् । अहिलेको समयमा सबै कुरा राजनीतिमा गएर जोडिन्छन् र समाजमा प्रतिबिम्बित हुन्छन् ।

हाम्रो चिन्तन र व्यवहार त सबैलाई मित्रवत् व्यवहार गरौँ (मित्रस्य चक्षुषा समीक्षामहे) हो तर अहिलेको परिदृश्यमा यस्तो कहाँ देखिन्छ र ? अहिले हरेक व्यक्ति अर्काेलाई बर्बाद गरेर आफू अघि बढौँ भन्ने लक्ष्य बोकेर हिँडेको देखिन्छ । विश्वासको यस्तो खडेरी परेको छ कि कसैलाई विश्वास गर्नु या कसैप्रति सद्भाव राख्नु आफू सोझो हुनु या कमजोर हुनु जस्तो देखिन्छ । यस्तो अवस्थालाई हाम्रो राजनीतिले मलजल गरेको छ । हिजोसम्म एक मुख भएर हिँडेकाहरू रातारात शत्रु भएका छन् र तिनीहरू एकअर्काप्रति विष वमन मात्र गरिरहेका छन् । पौराणिक जमानामा जस्तो गाली र सरापले लाग्थ्यो भने आज कतिपय हाम्रा नेताहरू मटामा मिलिसकेका हुन्थे ।

‘जैसा गुरु वैसा चेला, दोनो नरकमे ठेलम्ठेला’ भनेझैँ हुन लागेको छ हाम्रो हालत । जसबाट विचार नैतिकता र अनुशासनको अपेक्षा गरिन्छ ऊ नै अनैतिक, विचारहीन र अनुशासनशून्यताको अवस्थामा पुगेको छ । हामी उनैका समर्थक वा कार्यकर्ता बनेर ताली बजाइरहेका छौँ । आफूलाई मनपरेको मान्छेले जे बोले पनि ब्रह्मवाक्य हुने, अर्काेले राम्रै कुरा गर्दा पनि वकवास हुने अवस्था छ । सत्तामा बसेका वा सत्तामा जान खुट्टा उचालेका दुवै पक्ष उग्र दुर्भावनाले ग्रस्त छन् । मानसिक रोगी जस्ता छन् । अनुशासन र सभ्यताहीन बर्बर जस्ता छन् । 

जुन देशको राजनीति नै धोकाधडी र गालीगलौजले चलेको छ, त्यस देशको सामाजिक व्यवहारमा नैतिकता र सहिष्णुता कसरी प्राप्त गर्न सकिन्छ र ? नेतृत्वमा रहने हरेकको अनुहारमा विषाक्तता, पदलोलुपता, व्यग्रता, अषन्तोषको उम्लँदो चिडचिडाहट मात्र देखिन्छ अनि कसरी मित्रता र शान्तिको आस गर्न सकिन्छ ? उनीहरू कसरी अर्काेभन्दा दुच्छर बन्ने र दुर्वाच्य बोल्ने भन्ने प्रतिस्पर्धामा छन् । 

लाखौँ जनताको भीड जम्मा गर्छन् र मञ्चबाट फलानोलाई मार्नुपर्छ, सिध्याउनुपर्छ, गाड्नुपर्छ भनेर सिकाइरहेका छन् । घृणा बाँडिरहेका छन् । एउटाले अर्कोलाई पागल भनिरहेका छन् बौलाहा भनिरहेका छन् । उनीहरू त जुनसुकै स्वार्थमा फेरि एक हुन सक्छन् तर उनीहरूले दूषित बनाएको जनमानसलाई कसले सफा गर्छ ? उनीहरूले सिर्जना गरेको उद्दण्डता, अराजकता र घृणा कसरी साम्य हुन्छ ? राजनीति गर्नेले धर्म छाडेपछि समाज र देश कता जान्छ ? 

‘समृद्ध नेपाल, सुखी नेपाली’ हुनलाई सुरुङमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल या मेलम्चीको पानी काठमाडौँमा आगमनले मात्र नपुग्ला, यसका लागि सभ्य एवं सुसंस्कृत जीवनशैलीको पनि खाँचो पर्छ । पाखामा बसेर भुतभुताउनेहरूबाट संयमताको अपेक्षा गर्नुभन्दा डाडु–पन्युँ चलाउनेहरूले नै अनुशासनहीनताको अन्त्य गर्न सक्छन् भन्ने कुरा मनन गर्नु जरुरी छ । कहाँ के बोल्दा कस्तो प्रभाव पर्छ भन्ने ख्याल नगर्ने हो भने हाम्रो भाषिक संस्कृति निकट समयमै कुरूप बन्ने निश्चित छ । 

अरूसित सम्मानित व्यवहार गर्दा आफ्नो पनि सम्मान हुन्छ भन्ने तथ्य बिर्सिनुहुँदैन । आफूलाई मन नपर्ने कुरा असित पनि गर्नु हुँदैन (आत्मनः प्रतिकूलानि परेषां न समाचरेत्) भन्ने गीत हामीले पुस्तौँदेखि गाउँदै आएका छौँ भने (वचने का दरिद्रता ?) बोलीमा किन दरिद्रता देखाउने ?

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…