Khabarpato logo

         

बहस

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

आईएनएस-स्वतन्त्र समाचार

आईएनएस-स्वतन्त्र समाचार

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग
  • डा. लक्ष्मीप्रसाद खतिवडा

डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा राखिने वस्तुलाई सम्झने गरिन्छ । डाटाको इतिहास लण्डनबाट सुरु भएको देखिन्छ । सन् १६६३ मा जोन ग्रान्टले लन्डन र पेरिसमा म्यानुअल पद्धतिमा राखिएका मृत्यु रेकर्डबाट डाटाको अध्ययन विश्लेषण सुरु गरेका हुन् । कम्प्युटर भाषामा चाहिँ डाटा शब्द सन् १९४६ मा भण्डारण गर्न मिल्ने जानकारीका रूपमा प्रथम पटक प्रयोग भएको देखिन्छ ।

डाटा प्रशोधनको प्रयास पहिलो पटक सन् १९५४ मा प्रयोग भएको थियो भने डाटा भन्नाले हिजोआज सूचना सिद्धान्त अनुसार अक्षर अंक स्ट्रिङ वा संख्याका मानहरूमा बाइनरी (द्विआधारी) अंकका सहायताले राखिने सामग्रीलाई जनाउँछ । हुनत कम्प्युटर संचालन प्रणाली क्वान्टम (प्रमात्रा) पद्धतिमा परिणत भएपछि बाइनरी प्रणाली पनि पुरानो भइसक्यो तर सिद्धान्तअनुसार साधारण विज्ञानले सामाजिक विज्ञान (पब्लिक साइन्स)को रूप धारण गरेपछि मात्र व्यावहारिक प्रचलनमा आउने भएकाले क्वान्टम डाटाबेस पद्धति हामीभन्दा धेरै टाढा छ । हामी सूचना प्रविधि भनेर सबैथोकलाई एकै ठाउँमा मिसमास गरेर बुझ्छौँ ।

सूचना प्रविधि भन्नाले सूचनाहरूलाई विद्युतीय यन्त्र वा कम्प्युटर तथा दूरसंचार प्रविधिको प्रयोग गरी जानकारी आदानप्रदान गर्ने एवं विद्युतीय मजदुर (रोबोट)को क्रियाकलापसम्मलाई जनाउँछ । सूचना प्रविधिले आफ्नै वा स्वदेशी वा सरकारी कामकाजको भाषामा कम्प्युटर संचालन गर्ने सुविधा प्रदान गरेको छ । तर, हामीले त्यो प्रविधि भित्र्याउन सकेका छैनौँ वा सरकारी तवरबाट प्रयास पनि गरेका छैनौँ किनभने हाम्रो देशका नीति निर्माता कम्प्युटरको मातृभाषा अंग्रेजी हो भन्ने भ्रमबाट ग्रसित छन् ।

सूचना प्रविधिले मानव जीवनको हरेक क्षेत्रमा भूमिका खेले पनि हामीकहाँ आर्थिक सामाजिक प्रगतिमा सूचना प्रविधिको भूमिका ज्यादै न्यून छ । हामी कहाँ त सूचना प्रविधि भन्नाले कार्यालयका चिठी, पत्र टाइप गर्ने, प्रिन्ट गर्ने, प्रतिवेदन तयार गर्ने, कार्यालयको अगाडि डिजिटल बोर्ड राख्ने, ई-हाजिरी राख्ने एवं सीसीटीभी क्यामेरा जोड्ने र इन्टरनेट जडान गर्ने भन्ने मात्र बुझाइ छ ।

हामी कम्प्युटर पद्धतिको विकास गर्दैनौँ । नेपाली वा स्थानीय भाषामा मानव कम्प्युटर इन्टरफेस बनाउने प्रयास गर्दैनौँ । हरेक वर्ष महँगा कम्प्युटर, प्रिन्टर र सफ्टवेयर किन्छौँ । कार्यालयमा कर्मचारीभन्दा कम्प्युटरको लागत बढी छ । आएको बजेट सक्नु भनेको प्रगति गर्नु हो भन्ने बुझाइ छ । हामीकहाँ सूचना प्रविधिको प्रयोग भनेको खुर्पाले दाह्री काटेजस्तो छ ।

आजको जमानामा सूचनाको महत्त्व धेरै ठूलो छ । सूचना वा डाटा प्रभावकारी, विश्वसनीय, शुद्ध भएमा संगठनको निर्णय गर्ने क्षमता, नेतृत्व र उत्पादकत्वमा वृद्धि हुन्छ । सूचना प्रणालीले योजना बनाउन, कार्यान्वयन गर्न, मूल्यांकन र अनुगमन गर्न एवं निर्णय लिन सजिलो बनाउँछ । हिजोआज नयाँनयाँ प्रविधिको प्रयोगबाट सूचना प्रशोधन गरेर अत्यन्त जटिल कार्यहरू सम्पादन गर्न सजिलो भएको छ ।

हामीकहाँ भने सामान्य मानिसले यी काम गर्न सक्ने अवस्था छैन । घरमा सामान्य मानिसले रेडियो, टीभी, क्यामेरा, ओभन, फ्रिज चलाएर दैनिकी सजिलो बनाउन सक्छ तर भाषाकै कारणले कम्प्युटरबाट काम लिन सक्दैन । अर्थात् कम्प्युटर भनेको अंग्रेजी भाषा जानेको र इञ्जिनियरिङ गरेको मानिसको पहुँचको वस्तु हो भन्ने भ्रम छ किनभने हाम्रो आफ्नो मानव कम्प्युटर इन्टरफेस बनेकै छैन ।

केन्द्र र प्रदेशको त कम्प्युटर, इन्टरनेटमा पहुँच हुने भइहाल्यो । हरेक गाउँपालिका तथा नगरपालिकाको पनि आआफ्नै वेबसाइट छ तर सबै सूचना सार्वजनिक गरिँदैन । आफ्नो माथिल्लो तह वा विभाग र मन्त्रालयमा पनि थोरै सूचना मात्र साझेदारी हुन्छ । कर्मचारीको सरुवा हुन्छ । अर्को कर्मचारी आउँछ । अर्को कम्प्युटर किन्छ । बाँकी सूचना समाप्त हुन्छ । संस्थागत ज्ञान (इन्स्टिच्युसनल मेमोरी) संग्रह गर्ने, पुन: प्रयोग गर्ने प्रचलन नहुनाले उही काम दोहोरिन्छ वा उही कामको रिडुप्लिकेट हुन्छ । बजेट मिहिनेत सिप सबै खेर जान्छ ।

सूचना उत्पादनकै चरणमा निश्चित मानक पालन गर्ने र सूचना वर्गीकरण (इन्डेक्सिङ) गरेर राख्ने केन्द्रीय ज्ञान भण्डार (सेन्ट्रल डाटा बैंक) बनाउने र बेलाबेला केन्द्रीय ज्ञान भण्डारमा डाटा राख्ने हो भने थोरै जनशक्तिबाट पनि ज्यादै प्रभावकारी काम सम्पन्न हुन सक्छ । किनभने, नयाँ सूचना संकलन गर्न धेरै ठूलो जनशक्ति र लगानी गर्नुपर्छ । संग्रहित सूचनाले कार्यालयलाई आर्थिक रूपमा मीतव्ययी बनाउँछ । यसले स्थानीय तहमा सचेतना वृद्धि गर्न, तथ्यांक लामो समयसम्म सुरक्षित राख्न, विद्युतीय शासन प्रणालीलाई मजबुत बनाउन एवं पारदर्शिता र जबाफदेही बढाएर असल शासनको संस्कार बसाउन सक्छ ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष सदस्य राष्ट्रहरूको असल शासन विकासको वर्गीकरण गर्छ । सन् २०१६ को प्रतिवेदनअनुसार १९३ वटा सदस्य राष्ट्रहरूमध्ये नेपाल १३५औं स्थानमा परेको छ । २१औं शताब्दीमा सूचना प्रविधि क्षेत्रमा अकल्पनीय रूपममा विकास भएको छ । सरकारले भने यसको प्रयोगमा सहजता ल्याउन सकेको छैन ।

हरेक वर्ष हरेक मन्त्रालय र विभागले उही कामको रिडुप्लिकेसन गर्छ । उदाहरणका लागि वेबसाइट बनाउनु भनेको डोको, थुन्से, डालो वा पेचा बनाउनु जस्तै हो । मन्त्रालय र विभाग एवं गाउँपालिका र नगरपालिकाको कामको प्रकृतिअनुसार यस्ता खाली डोका, डाला र भकारी निर्माण गर्न सकिन्छ । एउटा मन्त्रालय वा सूचना प्रविधि मन्त्रालयले यस्तै डोको, थुन्से, भकारी जस्तै खाली वेबसाइट बनाएर विषयवस्तु वा कन्टेन्ट मात्र भर्ने गरी वेबसाइट वितरण गर्ने हो भने वेबसाइटको खर्च ६० देखि ७० प्रतिशत कम गर्न सकिन्छ ।

वेबमा आधारित एकीकृत सफ्टवेयर प्रणाली संचालन गर्दा आमजनता वा सरोकारवालाहरूले घरैबाट आवश्यक सेवा प्राप्त गर्न सक्छन् भने सरकारले संघ, प्रदेश र स्थानीय तहबाट प्रदान गरिने सेवाहरूको सजिलै अनुगमन गर्न सक्छ । शुद्ध तथा गुणस्तर अभिलेख व्यवस्थापनमा सहयोग पुग्छ । कम लागतमा केन्द्रीकृत डाटाबेस प्रणाली व्यवस्थापन र संचालन हुन सक्छ ।

हामीकहाँ सूचना प्रविधि पूर्वाधारको उचित व्यवस्थापन हुन सकेको छैन । यसका लागि सामान्य तर महत्त्वपूर्ण अर्थ राख्ने काम हुनु जरुरी छ । यसका लागि सूचना प्रविधिको पूर्वाधारसहितको राष्ट्रिय सूचना प्रणाली र राष्ट्रिय डाटा बैंक बनाउनुपर्छ । डाटा उत्पादनमा राष्ट्रिय मानक बनाएर उत्पादित डाटामा एकरूपता वा प्रशोधन गर्न सहज र अन्तरसंजाल सहज परिवर्तनीयतासहितको राष्ट्रिय डाटा बैंक निर्माण गरी डाटा चलाउनेबित्तिकै ईमेल सूचना पपअप हुने व्यवस्था मिलाउने हो भने डाटा सुरक्षित हुन्छ ।

केन्द्रीय बैंक, धितोपत्र बोर्ड र बीमा समिति जस्ता नियामकको एकीकृत वित्तीय प्रविधि सेवा वा एकद्वार पद्धतिबाट प्रविधिगत नियन्त्रण गर्न सकिन्छ । डाटाब्रीच हुने जोखिम न्यूनीकरण गर्न डाटा बैंकमा पहुँच र निगरानी प्रणाली बलियो बनाउने; सेवा प्रदायकहरूले डाटा उपयोग र गोपनीयता नीतिलाई ध्यानमा राखेर सूचना प्रयोग र जोखिम सचेतनामा लगानी बढाउने; सुरक्षित डाटा संकलन भण्डारण र पहुँचको बलियो कानुनी आधार तयार गरी डाटाको उत्पादन, वितरण र राष्ट्रिय डाटा बैँक व्यवस्थापन ऐन बनाएर डाटामा पहुँच, निगरानी र नियन्त्रण गर्ने काम गर्नुपर्छ ।

माथि भनिएको व्यवस्था लागू गर्न सर्वप्रथम डाटा उत्पादनदेखि नै काम सुरु गर्नुपर्छ । यसका लागि डाटा मोडलिङ प्रथम खुड्किलो हो । सबभन्दा पहिले राष्ट्रिय मानक तयार गरी सरकारी कामकाजको भाषामा डाटा खाका तयार गरी काम गर्दा प्रयोग गरिने बहुभाषी डाटालाई भाषाअनुसार डाटाको डालो वा थुन्सेमा थन्क्याउने प्रविधिको विकास गर्नुपर्छ । यसले सूचना प्रविधिमा डाटा गार्वेज हुनबाट बचाउँछ ।

अहिले नेपालको सूचना प्रविधिको डाटा बाग्मतीको पानीमा भएको फोहोरभन्दा बढी गार्वेज संकलन भएको छ । बाग्मतीको फोहोर त १०, १५, २० वा २५ वर्ष लगाएर सफा गर्न सकिएला तर नेपाली डाटाबेसमा भएको गार्वेज संकलन सफा गर्न दिन प्रतिदिन कठिन हुँदै गएको छ । यो डाटा त फ्याल्ने नै हो । हालको डाटा काम नलाग्ने र अर्कै डाटा पुनर्उत्पादन गर्नुपर्ने अवस्थामा छ । अहिलेको डाटा कम्प्युटर सफ्टवेयरले प्रशोधन गर्न नसक्ने अवस्थामा छ ।

संगत वा एकै विषयानुसारको डाटा उत्पादनमा फरकफरक कार्यालय भए पनि देशैभरि एउटै मानक लागू गर्ने । असंगत वा फरक विषयअनुसारको डाटालाई एउटै कम्प्युटरमा पनि अलगअलग नोडमा राख्ने व्यवस्था गर्ने । आधारभूत डाटा एक स्थानमा र समग्र डाटा अर्को स्थानमा रहनेगरी डाटा भण्डारणको व्यवस्था गर्ने । मौखिक र लिखित डाटा छुट्याएर कम्प्युटरलाई प्रविष्टि दिने व्यवस्था गर्ने । आधारभूत डाटा र सन्दर्भ डाटा एउटै डालोमा भए पनि २ वटा नोड बनाएर राख्ने व्यवस्था गर्नुपर्छ ।

कम्प्युटरबाट स्वचालित डाटा प्रशोधनलाई सहज बनाउन मेटाडाटाको मानक तयार गरी लागू गर्नुपर्छ । डाटा आर्किटेक्चरले डाटा प्रबन्धनको व्यवस्था गर्छ । व्यावसायिक अनुप्रयोगहरू (सूचना प्रणालीका एप्लिकेसन) निर्माण गर्दा डाटा पोको पार्ने विधि (डाटास्केमा) अवलम्बन गरी डाटा गार्वेज हुनबाट बचाउनुपर्छ । नेपालमा राष्ट्रिय योजना आयोगले डब्लिन कोरको मेटाडाटा मानक प्रयोग गर्छ भनिएको छ तर राष्ट्रिय योजना आयोगकै डाटा व्यवस्थित छैन ।

अर्को कम्प्युटरमा डाटा नखुलेर हुने समस्या समाधान गर्न फन्ट डाउनलोड गर्नुहोस् भन्ने जानकारी राखेको छ । एक जमाना थियो, परराष्ट्र मन्त्रालयमा विभागीय अधिकारीले नै यो डाटा यसरी खोल्नुहोस्, यो फन्ट डाउनलोड गरेर मात्र तपाईंको कम्प्युटरमा सूचना हेर्न सक्नुहुन्छ भनेर डाटाअनुसारको फन्ट पठाउँदै दिन बित्ने अवस्था थियो । आज पनि केही हदसम्म यो समस्या ज्युँका त्युँ नै छ । यसबाट मुक्त हुन निश्चित सिद्धान्तमा प्रक्रिया निर्धारण गरी अनुप्रयोग निर्माण गर्नुपर्छ । कार्यविधिमा परिवर्तन भएमा अनुप्रयोगमा समायोजन गर्न तालिमको व्यवस्था गर्नुपर्छ ।

डाटाको प्रस्तुतीकरण विधि, सूचनाको रूपान्तरण वा स्थानान्तरण गर्दा एक बाइट पनि डाटा नास नहुने (लसलेस एकुरेसी)मा ध्यान केन्द्रित गर्नुपर्छ । बाञ्छित डाटाको गुणस्तर निर्धारण गर्नुपर्छ । जसरी गुणस्तर विभागले बजारमा पाइने हरेक वस्तुको गुणस्तर निर्धारण गर्छ, त्यसैगरी कम्प्युटर वा इन्टरनेटमा भएका डाटाको गुणस्तर निर्धारण विधि स्थापना वा व्यवस्था गर्नुपर्छ ।

लगातार परिवर्तन हुने तथा समय समयमा आउने विभिन्न किसिमका सुरक्षा चुनौतीहरू समेत ध्यानमा राखेर समय सापेक्ष र भाषा सुहाउँदो तथा सुरक्षित सफ्टवेयर विकास गरी सूचना प्रविधिको क्षेत्रमा भइरहेको सफ्टवेयर समस्या निराकरण गर्नुपर्छ । सरकारले महँगो प्रविधि किनेर होइन, नागरिक केन्द्रित वेबबेसका सफ्टवेयर विकास गर्नुपर्छ । भौतिक संरचना, नेटवर्क, अपरेटिङ सिस्टम, डाटाबेस, जनशक्ति आदिमा चुनौतीहरू आउन सक्ने हुनाले स्वदेशी भाषामा मानव कम्प्युटर इन्टरफेसको विकास गर्न अतिजरुरी छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…