४ जनवरी २०२१ (२० पुस२०७७) का दिन नेपालको राजधानी शहर विश्वको एक नम्बरमा पर्न सफल भयो, सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा । उक्त दिन हावाको गुणस्तर सूचकांकले प्रदूषणको स्तर ६०० हाराहारी पुगेको रेकर्ड गरेको समाचार सुनियो ।
ऐतिहासिक सम्पदाहरूले भरिपूर्ण यस उपत्यकाको वातावरणीय प्रदूषणको कारक के होला भन्ने कौतूहल तर कसैमा पनि छैन । किनभने जनजनलाई स्वयं अनुभव गरी, स्वयं दृष्टिगोचर गरी ज्ञात भइसकेको छ कि यो प्रकोपको कारक तत्त्व त्यही धुले र खाल्डे सडकमा उत्तानो परेर छट्पटाइरहेकाे ख्याउटे विकास र सम्मृद्धि हो, जसलाई प्रत्येक दिन सबै बटुकहरूले मुख-नाक छोपेर छड्के आँखाले सदियौँदेखि निरन्तर नियाल्दै आएका छन् ।
यस्ता खालका प्रकोपहरू यहाँ सामान्य भइसकेका छन् । त्यस्तै र तीभन्दा घीनलाग्दा प्रकोपहरू मुलुकका हरेक कुनामा लम्पसार परेर र्याल काडिरहेकाे दृश्य कसैलाई नौलो छैन ।
सरकारी सेवा प्रदायक निकायहरूमा बाहिर जगल्टा फिँजाएर झोक्राएको प्रकोप केही तन्दुरुस्त नै देखिए तापनि भित्र बोरामा कोचेको चाहिँ कुहिएर डङ्डङ्ती गनाइरहेको छ । अधिकांश सेवाग्राहीहरूले उक्त दुर्गन्धमा आफूलाई अनुकूलित बनाइसकेका छन् ।
निजी सेवाप्रदायकहरूमा देखिने प्रकोपको विशेषता केही भिन्न छ । त्यो बलियो र डरलाग्दो छ, जो बाहिर मूलद्वारमै ढुकेर बस्छ र प्राय: मोटा सेवाग्राहीलाई लुटपाट गर्छ । सेवाग्राही स्वयं आफ्नो अतिरिक्त तौल केही हदसम्म भए पनि घटाउने आशामा उक्त प्रकोपद्वारा मालिस गराउन लालायित हुन्छन् ।
सरकारी अस्पतालहरूमा चिसो भुइँमा छट्पटाइरहेको प्रकोपको समीपमा सफेद भेषधारी मृत्यु खित्का छाडेर हाँसिरहेको दृश्यले जो कोहीलाई स्तब्ध तुल्याउँछ । बरु बेहोस पारेर, आईसीयू/भेन्टिलेटरमै राखेर भए तापनि सुम्सुम्याउँदै गम्भीरतापूर्वक आन्द्राभुँडी सफा गर्ने निजी अस्पतालै बेस भनेर ती अस्पताल पुग्ने प्राय: खाइलाग्दा भुँडे सेवाग्राहीहरू कोही स्लिम त कोही चिलिम भएर फर्किन्छन् । त्यहाँ देखिने प्रकोपहरू लुते र लामालामा नङ्ग्रा भएका भए तापनि सुकिला, नम्र र दयालु देखिने हुनाले आगन्तुकले आफ्नो भित्राँस झिकिएको पछि मात्र चाल पाउँछन् ।
उता, सरकारी शिक्षण संस्थामा छुट्टै प्रकृतिको प्रकोपले निवास गरेको छ । अधिकांश निम्न र निम्न मध्यम वर्गीय परिवारका विद्यार्थीको आवागमन हुने उक्त क्षेत्रमा पुस्तक छातीमा राखेर थोत्रे जुत्ता, कन्दनी बाँध्ने सुरुवालमा मैलो टी-सर्ट लगाएको प्रकोप मस्त निद्रामा छ । उसको वरिपरि सयौँ बुद्धहरू गुच्चा खेल्नमा व्यस्त छन् ।
त्यसको विपरीत निजी स्कुल/कलेजहरूमा व्याप्त प्रकोप भिन्न छ । सुकिला कोट-टाई र कट्टुमा सजिएको, एक हातमा ठूलाे पुस्तक बाेकेर अर्को हातले ओठमा नौनी दल्दै विदेशी भाषामा अभिवादन गर्ने त्यो प्रकोप तीस पाथे आधा बढी भरिएको मैलो जुटको बोरा अगाडि राखेर हँसिलो मुद्रामा घुम्ने कुर्सीमा बसेको दृश्य जो कोहीलाई आकर्षक लाग्न सक्छ ।
त्यस्तै, ऊर्जा क्षेत्रमा बीसौँ वर्षदेखि सक्रिय प्रकोप अरू प्रकोपहरू भन्दा बढी खतरनाक यस कारण छ कि यो अदृश्य रूपमा प्रेत जसरी अनधकारमा यात्रा गर्छ । केही वर्ष हराएको त्यो प्रकोप आजकाल पुनः घरघरमा, भान्साभान्सामा असामयिक रूपमा प्रकट हुन थालेको छ ।
यता, सडकसम्बन्धी प्रकोप चाहिँ बहुरूपी खालको छ । बर्षामास रोपाइँ गरेर आएको झैँ हिलाम्मे देखिन्छ भने हिउँदमा डल्ला फोरेर फर्किंदै गरेको जस्तो धुलाम्मे हुन्छ । ७ दिनअघि कालो ध्वाँसे देखिएको त्यो प्रकोप ७ दिनपछि हेर्दा चाेटग्रस्त हालतमा हिलाम्मे, धुलाम्मे भएर चिच्याइरहेको भेटिन्छ ।
न्यायालयको भित्रको प्रकोपको सम्बन्धमा भट्टी पसलदेखि लिएर भीआईपीका चियापान कार्यक्रमसम्ममा प्रशस्त खासखुस सुन्न पाइन्छ । त्यहाँको प्रकोप त्यति बाहिर प्रकट नभए तापनि त्यो अत्यन्त घीनलाग्दो, देख्दै डरलाग्दो र अन्य धेरै प्रकारका प्रकोपहरूको संरक्षक रहेको कुरा भुक्तभोगीहरू बताउँछन् ।
आम उपभोग्य वस्तुमा छाएको नक्कली एवं बिषाक्त खाद्य वस्तुको प्रकोप, खोला-खहरेमा खुलेआम ढुंगा-बालुवाको तस्करीको प्रकोप, किसानको करेसा बारीमा बिषको तथा तिनका आँगनमा बिचौलियाको प्रकोप, नदी-कुवाको पानीमा ढलकाे प्रकोप, पवित्र मन्दिर परिसरमा फूलमाला बेच्नेहरूको प्रकोप, जंगलमा अवैध चोरीसिकरी र काठ तस्करको प्रकोप, सीमामा भारतीय सुरक्षाकर्मीको प्रकोप, ठेक्का, सरकारी वस्तु खरिद आदिमा कमिसनको प्रकोप, सच्चा र निष्ठावानमाथि दुष्ट र आततायीहरूको प्रकोप र अझ दुर्भाग्यपूर्ण रूपमा जनजनका मनमस्तिष्कमा स्थापित भइसकेको अतिरिक्त भोगविलास लक्षित जुनसुकै माध्यमबाट भए पनि छिटो जोरजाम गर्ने भन्ने दूषित मानसिकताको प्रकोप भाइरल भएको छ ।
राजनीतिक नेतृत्व र सत्तासीनहरूमा व्याप्त अक्षमता, अदूरदर्शिता, अल्प एवं सतही ज्ञान, कानुनको आफूअनुकूल व्याख्या तथा कार्यान्वयन, उत्तरदायित्व र लज्जाविहीनता जस्ता दुर्गुणहरूको प्रकोप नै यी र यस्ता सहश्र अन्य प्रकोपहरूको उद्गम स्थल हो ।
शासन के हो र कसका लागि हो भन्ने सामान्य सुझबुझसम्म नभएका फाटेकाे धोती लाएर तोङ्बा तान्दै चौराहामा लाप्पा खेल्ने नेतृत्वको प्रकोप नियन्त्रणमा नआउन्जेल अन्य प्रकोपहरूबाट मुक्ति प्राप्त गर्नु दिवा स्वप्न मात्र हुन्छ ।