Khabarpato logo

         

बहस

एमालेको अनुहारमा स्थापितको दाग

हरि अधिकारी

हरि अधिकारी

एमालेको अनुहारमा स्थापितको दाग

यस पटक महानगर काठमाडौंको प्रमुख पदका लागि पार्टीको उमेदवार चयन गर्ने सन्दर्भमा नेकपा एमाले नराम्रोसँग फसेको छ । महानगर काठमाडौंंको महापौरका रूपमा काम गर्दा योग्यता र क्षमताको हिसाबले निम्छरो साबित भएको आफ्नो एक कार्यकर्ताको विकल्प खोज्दै जाँदा भेटिएको व्यक्तिसँग यति धेरै नकारात्मकता जोडिएको हुन सक्छ भन्ने कुराको कल्पनासम्म पनि एमालेको शीर्ष नेतृत्व पंक्तिमा रहेको कसैले सायदै गरेको थियो । तर, जुन व्यक्तिलाई एमालेले काठमाडौंं प्रमुखको टिकट दिएको छ, ऊ अनेक प्रकारका अनर्गल विवादहरूले घेरिएको, बोलीबचन, आचरण र संस्कारका दृष्टिले लगभग असामाजिक जस्तो निस्किएको छ । यसले एमाले नेतृत्वलाई छाँगाबाट खसेको स्थितिमा पुर्‍याएको हुनुपर्छ ।

विद्यासुन्दर शाक्यले काठमाडौं महानगर प्रमुखका रूपमा बिताएको गत ५ वर्षको अवधि उनको अयोग्यता र अक्षमताका कारण सर्वथा बिर्सिनयोग्य बन्न पुगेको कुरामा सायदै विमति होला । विद्यासुन्दरको त्यस प्रकारको असुन्दर छविबाट मुक्ति पाउन छट्पटाइरहेको एमाले नेतृत्वले यस पटक उनलाई नदोहोर्‍याउने  निर्णय गर्नु अपरिहार्य जस्तै मानिएको थियो । अन्ततोगत्वा भयो पनि त्यही नै ।

टिकट पाउने आशामा मनोनयनपत्र दाखिल गर्ने दिनभन्दा २ दिन अगाडि नै महानगरलाई आफूले तिर्नुपर्ने १ करोड रुपैयाँभन्दा बढी रकम तिरी आफ्नो नाममा रहेको बेरुजु फरफारक बनाएर पार्टीको निर्णयलाई पर्खी बसेका शाक्यलाई यस पटक पार्टी नेताहरूले निराश बनाएर छाडिदिए । उनले टिकट पाएनन् । अब महानगरबासीहरूको स्मृति-भण्डारमा उनको नाम सधैँका लागि एक कमजोर र असफल नगर प्रमुखका रूपमा अभिलिखित भई जुगानुजुगसम्म रहने भयो ।

तर, उनको विकल्पमा जुन व्यक्तिलाई पार्टीले टिकट दियो, उनले पनि एमालेलाई राहत दिने कुनै लक्षण नदेखिनुचाहिँ त्यस बामपन्थी दलका नेताहरूका लागि गहिरो चिन्ताको विषय बनेको हुनुपर्छ । स्थानीय तहको सन्दर्भमा सर्वाधिक प्रतिष्ठित र हिजोसम्म आफ्नै हातमा रहेको राजधानी महानगरको ताल्चा-साँचो आफ्नो हातबाट फुत्किन नदिन देशको प्रमुख प्रतिपक्षी दलले सम्पूर्ण शक्ति लगाउन खोज्नु विलकुलै स्वाभाविक हो ।

त्यो बामपन्थी दलको दुर्भाग्य, यस पटक राजधानी महानगरको प्रमुखको पद जित्न उसले दाउमा लगाएको घोडा बाहिरबाट मात्र साबुत देखिएको, अन्तर्यमा घाइते भइसकेको जस्तो छ । आफ्नो तागतको अधिमूल्यांकन गरी बेपत्ता दौडिने त्यो घोडा कहिल्यै उठ्न नसक्ने स्थितिमा पुगेको छ भने आश्चर्य मान्नुपर्दैन ।

एमालेले यस पटक विद्यासुन्दर शाक्यलाई पन्छाएर महानगरको प्रमुख पदमा उठाइएका व्यक्ति हुन्, महानगरकै पुराना प्रमुख एवं बाग्मती प्रदेशसभाका सदस्य केशव स्थापित । राष्ट्रिय राजनीतिको परिदृश्यमा लगभग ३ दशकदेखि सही/गलत दुवै कारणले आफ्नो दह्रो उपस्थिति जनाउँदै आएका केशव स्थापितलाई विवादहरूको पोको भन्दा पनि फरक पर्दैन ।

शब्द-चयनमा असावधान भएर पनि बढी बोल्नुपर्ने, हरदम आत्मप्रशंसाको हलुका मातमा चूर रहने, अर्को व्यक्तिको निजी प्रतिष्ठाको सम्मान गर्न नजान्ने, मातहतका कर्मचारीहरूसँग मानवोचित व्यवहार नगर्ने, स्त्री जातिको आत्मसम्मानप्रति असम्वेदनशील र पूर्णत: अराजक स्वभावका यी स्थापितले सधैँझैँ यस पटक पनि आफ्नो उम्मेदवारी सँगसँगै विवाद, आलोचना र नकारात्मकताको लामो सूची लिएर आएका छन् । मतदानको दिनसम्म एमालेका यी उम्मेदवारले विगतका आफ्ना गल्ती, कमी-कमजोरीहरू र अपकर्महरूलाई लगातार स्पष्टीकरण दिइरहनुपर्ने स्थिति पैदा हुनु एमालेका लागि अत्यन्तै चिन्ताजनक विषय हो ।

केशव स्थापित सार्वजनिक मञ्चहरूमा सधैँझैँ आक्रामक मुद्रामा प्रस्तुत भएका छन् । जथाभावी बोलेर र भद्दा देहमुद्राको प्रदर्शन गरेर यिनले स्वस्थ सम्वादको डबली सार्वजनिक मञ्चलाई प्रदूषित बनाएका छन् । यिनीसँग मुखातिब हुने पत्रकार-संचारकर्मीहरू यिनले कुनबेला के भन्ने वा गर्ने हुन् भनेर थर्कमान हुनुपर्ने स्थिति पैदा गरिदिएका छन् आफ्ना हर्कतहरूबाट ।

एउटा प्रश्नोत्तर कार्यक्रममा एक महिला संचारकर्मीले सोधेको आफूलाई उत्तर दिन असजिलो पर्ने एउटा प्रश्नबाट पलायन गर्न यिनले भनिदिए, 'ए लेडी, तपाईं त नाइस हो तर तपाईंको थुतुनो ठीक छैन ।' त्यसै अवसरमा उनले 'म त कराँते खेलाडी हुँ, मेरो रिस कडा छ' पनि भने । काठमाडौं महानगरको प्रमुख पदको उमेदवारले संचारकर्मीहरूलाई आफ्नो खुकुलो हुँदै गएको पाखुरीको ध्वाँस किन दिएको होला, सायद कसैले पनि बुझ्न सक्दैन ।

स्थापितका यस्ता बोली र हर्कतले एमाले नेतृत्वलाई त गम्भीर मानसिक धक्का दिएको होला नै, साथै महानगरका प्रबुद्ध नागरिकहरूका मनमा पनि एमालेले यस्ता व्यक्तिलाई प्रमुखको उम्मेदवार बनाएर जनताको विवेकको यस तहमा परीक्षण गर्न किन खोजेको होला ? भन्ने कुराको निकै ठूलो खुल्दुली मच्चिएको हुनुपर्छ ।

पार्टीका निम्ति दिगो पुँजी बन्न सक्ने ठानी काठमाडौंको प्रमुख पदमा खडा गरिएको व्यक्तिका यी अनेक दुर्गुण सतहमा आई ऊ अचानक ऋणात्मक बनेको देखेर एमालेका शक्तिशाली अध्यक्ष केपी शर्मा ओली स्वयं पनि चकित परेका हुन सक्छन् । हुनत ओलीले आफ्नो हातबाट बाहिर जानै आँटेको महानगर काठमाडौंको सत्ता जोगाउने अन्तिम उपायका रूपमा केशव स्थापितमाथि दाउ लगाएको कुरा बुझ्न गाह्रो छैन तर स्थापित यस हदसम्म आलोचित होलान् र यस्तो प्रत्युत्पादक ढंगले प्रस्तुत होलान् भन्ने कुराचाहिँ उनले पनि कल्पना नै नगरेको विषय हुन सक्छ ।

एमाले नेतृत्वले जुन सकारात्मक परिणतिको अपेक्षा गरेर यस पटक केशव स्थापितलाई काठमाडौंको प्रमुख पदको प्रत्याशी बनाएको हो, त्यो अपेक्षा पूरा हुने सम्भावना क्षण प्रतिक्षण कमजोर हुँदै छ । कुनैबेला केशव स्थापितको उद्दण्ड स्वभाव, चर्को भाषणबाजी, भङ्ज्याहा साहस र विपक्षीप्रतिको अमानवीयताको हदसम्मको क्रूर व्यवहार एमाले पार्टीको हकमा लाभकारी साबित भएका हुँदा हुन्  तर आजको घडीमा स्थापितका ती हर्कत दुष्टताका पर्याय र नकारात्मकताका परिसूचक बन्न पुगेका छन् ।

जायज, नाजायज सबै प्रकारका हथकण्डा अपनाएर पार्टी कोषमा ठूलो धनराशि जम्मा गर्न सक्ने स्थापितको क्षमताबाट एमाले लाभान्वित भएको भए तापनि उनले 'मैले वामदेव गौतमसँग मिलेर सुन तस्करीको सेटिङ मिलाएको हुँ' भनी सगर्व घोषणा गरेको अथवा आफैँले 'विद्या भण्डारीको सेतो साडीमा गोबर र अबीर छर्केर त्यसको दोष कांग्रेसीहरूलाई लगाइदिई कृष्णप्रसाद भट्टराईलाई हराएको हुँ' भनी डिङ हाँकेको प्रसंगको स्वामित्व लिन एमालेलाई पक्कै पनि सजिलो छैन ।

महानगरको व्यवस्थापन गर्न ढंगमरु भए पनि व्यक्तिका रूपमा विद्यासुन्दर शाक्य शालीन, मीतभाषी र सामाजिक मर्यादाप्रति सचेत थिए, जुन गुणहरू सार्वजनिक जीवन बाँच्ने हरेक नेता, कार्यकर्ताहरूका लागि अनिवार्य नै हुन् । सबै नेताहरू केशव स्थापित जस्ता हुने हो भने यो समाज एक मिनेटका लागि पनि बस्नयोग्य रहनेछैन ।

एमालेले काठमाडौं महानगरको प्रमुखको पदमा उमेदवार बनाइएका केशव स्थापितलाई सबैभन्दा बढी रन्थन्याउने प्रकरण भएको छ, उनी यसअघि कामपाको प्रमुख हुँदा उनले यौन हिंसा गरेको भनी पत्रकार उज्ज्वला महर्जन र महानगरकै तत्कालीन कर्मचारी रश्मिला प्रजापतिले लगाएको आरोप । ती दुवै युवतीले स्थापितमाथि यौन दुराचारको आरोप अहिले आएर लगाएको भने होइन ।

घटना पुरानो भए पनि ती युवतीद्वयले संसारभरिका कार्यस्थलमा यौनहिंसाको पीडामा परेका नारीहरूले आवाज उठाउन चलाएको ‘मी टू’ आन्दोलनका बेलामा नै स्थापितले गरेको यौन हिंसाको डिटेल वर्णनसहित खुलासा गरेका थिए । नेकपा एमालेले काठमाडौंको प्रमुख पदमा चुनाव लडाउन आफूसँग कुनै योग्य र बेदाग नेता नै नभएजस्तो गरी विवादास्पद र यौन हिंसाको आरोप लागेका स्थापितलाई उमेदवार बनाएपछि यो मामिला फेरि एकपल्ट तातो चर्चाको विषय बनेको हो ।

केशव स्थापितको प्रतिरक्षामा उत्रिएका एमालेहरूले चुनावकै बेलामा यो मामिला किन उठाएको ? भन्ने प्रश्न गरेका छन् । अर्काथरीले ती युवतीहरू अदालत जानुपर्ने किन मिडियामा आएका ? भनेका छन् । निम्न बुँदाका आधारमा भन्न सकिन्छ एमालेजनका यी दुवै प्रश्न निरर्थक छन् ।

१.  कुनै पनि सार्वजनिक व्यक्तित्वमाथि यौन हिंसाको आरोप लाग्छ भने त्यो आरोपबाट सफाइ आरोपित स्वयंले लिनुपर्छ । यौन हिंसाको मामिला अदालतबाट छिनोफानो हुने बलात्कारको केस होइन । यो त एक प्रकारको नैतिक मामिला हो । उज्ज्वला र रश्मिलाले आफूमाथि लगाएको आरोप झूटो हो भने केशव स्थापितले उनीहरूविरुद्ध मानहानिको मुद्दा दायर गरी दण्डित गराई सफाइ लिनुपर्ने थियो । उतिबेला स्थापितले अदालत जान्छु त भने तर गएनन् । उनीमाथि लागेको आरोप आलै रहेको मुख्य कारण नै त्यही हो ।

२. आफूमाथि यौन हिंसा गर्ने व्यक्तिविरुद्ध मिडियामा आउनु ती युवतीद्वयको अधिकार हो । 'यो मानिस दुराचारी हो है, यस्तालाई सार्वजनिक जिम्मेवारी दिँदा अरू महिलाहरूमाथि पनि हिंसा हुने जोखिम बढ्न सक्छ' भन्नु उनीहरूको कर्तव्य नै हो ।

यति कुरा लेखिएसकेपछि यी पंक्तिको लेखकले महानगरका मतदाताहरूसँग केशव स्थापितलाई भोट दिनुहुन्छ कि हुँदैन हँ ? भनेर सोधिरहनु पर्ला र !

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…