Khabarpato logo

         

विचार

इतिहास वाचनले पुगिने ठाउँ भनेको आज भारतीय कांग्रेस पुगेको ठाउँ नै हो

आईएनएस-स्वतन्त्र समाचार

आईएनएस-स्वतन्त्र समाचार

इतिहास वाचनले पुगिने ठाउँ भनेको आज भारतीय कांग्रेस पुगेको ठाउँ नै हो
  • श्रीकृष्ण अनिरुद्ध गौतम

हालै सम्पन्न भारतका ५ प्रदेशको निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको शर्मनाक पराजय भएको छ ।

हिन्दी हृदयका रूपमा चिनिने तथा भगवान् राम र श्रीकृष्णको जन्मस्थान अवस्थित उत्तर प्रदेश, देवभूमिका रूपमा प्रतिष्ठित उत्तराखण्ड, प्रसन्नचित्त मिहिनेतीहरू बस्ने पञ्जाब, अरब सागरको काखमा बसेको गोवा र बर्मासँग सिमाना जोडिएको पूर्वोत्तर भारतको सुन्दर प्रदेश मणिपुरमा हालै सम्पन्न राज्य विधानसभा चुनावमा कांग्रेस ज्यादै नराम्रोसित पराजित भयो । पराजित मात्र भएन, वास्तवमा भारतमा उसको भावी राजनीतिक अस्तित्व नै के हुन्छ भन्ने प्रश्न उपस्थित भएको छ ।

आम आदमीको पञ्जाब दिग्विजय

यसपूर्व पञ्जाबमा कांग्रेसको सरकार थियो तर अन्तरकलह, अन्तर्घात र गलत नेतृत्वका कारण उसलाई विस्थापित गर्दै आम आदमी पार्टीले विजय हासिल गरेको छ । विजय पनि यस्तो उस्तो होइन, दिग्विजय नै । कांग्रेसलाई १८ स्थानमा झार्दै ११७ मध्ये ९२ स्थान । आम आदमी पार्टीको स्थापना, आजभन्दा १० वर्षपूर्व सन् २०१२ मा भएको थियो ।

दिल्लीको प्रादेशिक सत्तामा आफ्नो वर्चस्व कायम रहँदै अब पञ्जाबको सिंहासनमा पनि आम आदमीले आफ्नो ध्वज संस्थापित गरेको छ । दिल्ली भारत गणराज्यको राजधानी त हो नै, साथै राष्ट्रिय राजधानी प्रदेश अर्थात् नेसनल क्यापिटल 'टेरिटरी'समेत हो । दिल्लीको सत्तासँगै यस पार्टीले पञ्जाबमा दुई तिहाइभन्दा अधिक स्थानमा विजय हासिल गर्नु निकै अर्थपूर्ण छ ।

यस घटनाले वास्तवमा दक्षिण एसियाको परम्परागत पार्टी प्रथालाई चुनौती दिएको छ । जनताको अवस्थासँग नजोडिएका बडेमानका सिद्धान्त वाचनसँग केही समय त मानिस जोडिन्छन् तर सधैँ होइन भन्ने कुरा दिल्ली र पञ्जाबमा आम आदमीको आगमनले इंगित गरेको छ । विभिन्न राज्यमा हार्दै आएको कांग्रेस पञ्जाबमा आम आदमीबाट हार्नु त्यसैको परिचायक हो र यो सोनिया, राहुल र प्रियंकाको मात्र असफलता नभएर शशी थरुर जस्ता विद्वान्‌को समेत हो । यस पराजयलाई व्यक्तिका साथै मुद्दाको स्थानान्तरण हो भनेर स्वीकार्न सकिन्छ र पर्छ ।

उत्तर प्रदेश र उत्तराखण्डमा फेरि भाजपा

पञ्जाबको प्रसंगलाई एकैछिन विश्राम दिँदै हामी लागौँ नजिकै उत्तर प्रदेश र उत्तराखण्डतिर । उत्तर प्रदेशमा त निश्चय नै कांग्रेससँग कुनै आस थिएन । तर, उत्तराखण्डमा राम्रो प्रदर्शन गर्छ भन्ने कतिपय राजनीतिक ज्योतिषीहरूको भविष्यवाणी निरर्थक सावित भएको छ । दुवै राज्यमा फेरि भाजपाकै शासन दोहोरिएको छ । यी २ राज्यको यता नेपालका लुम्बिनी र सुदूरपश्चिमसँग (उत्तर प्रदेशको लुम्बिनी र सुदूर, उत्तराखण्डको सुदूरसँग) सिमानै जोडिएको हुँदा त्यहाँको चुनावी नतिजा निश्चय नै हाम्रा लागि पनि सरोकारको विषय हुने नै भयो ।

यी राज्यहरूसँग कुनै न कुनै हिसाबले ती भेगमा बस्ने नेपालीजनको दैनन्दिनी गाँसिएको छ । परस्पर आदानप्रदान सघन र अन्तरनिर्भरताको मात्रा मापन गर्नै मुस्किल छ । यता र उताको जनजीवन धेरै अर्थ र हदसम्म समान छ । निश्चय नै बीचमा अन्तर्राष्ट्रिय सीमा छ । दुवैतर्फ एउटै संस्कृति छ, एउटै भाषा बोलिन्छ । उही भोजपुरी उता उत्तर प्रदेशमा बोलिन्छ, यता पनि बोलिन्छ । अवधि यता बोलिन्छ र उता पनि । सुदूर पश्चिममा बोलिने भाषाजस्तै भाषा उत्तराखण्डमा बोलिन्छ ।

दुवैतर्फका मानिसको थर प्रकरण नै मिल्छ । यता चन्द जस्तै उता पनि छन् । यता धामी छन् र उता पनि । देउवा थरका बन्धुहरू यता जस्तै उतासमेत छन् । उप्रेती, पन्त, प्रसाईं र बिष्ट उता पनि मनग्य छन् । यसर्थसमेत त्यहाँ हुने राजनीतिक उपक्रम नेपालीका चासोको विषय मात्र नभएर पारस्परिक सम्बन्धका हकमा समेत ध्यान दिन योग्य छन्, हुन्छन् ।

उत्तर प्रदेश र उत्तराखण्डमा आफ्ना सहयोगी दलहरूसहित भारतीय जनता पार्टी नै पुनः विजयी हुँदा के कारणले उसले निरन्तरता पाउन सक्यो भन्ने विषय बुझ्नु आवश्यक हुन्छ । उत्तर र पश्चिम भारतमा विशेष गरेर हिन्दू धार्मिक-सांस्कृतिक स्वाभिमानको प्रश्न प्रखर र प्रधान भएर आएको छ । यस्तो हुनाको कारण कांग्रेस र त्यसपछि समाजवादी पार्टीद्वारा मुसलमान तुष्टीकरणको राजनीति गर्दै बहुसंख्यक हिन्दु समाजलाई अपमानित गर्ने तथा मुसलमानलाई नै पनि मात्र आफ्नो भोट बैंकका रूपमा प्रयोग गरेका कारण यस्तो नतिजा आएको हो ।

साथै, भाजपा शासनले ३ तलाक उन्मूलन गरेको श्रेय पाएको हुँदा धेरै मुसलमान महिलाले उसलाई भोट दिए एकातिर भने काश्मिरलाई विशेष स्थान दिइएको संविधानको धारा ३७० हटाएका कारण भाजपाको राष्ट्रवादी मत जोगिन सकेको हो ।

नेपाल-भारत सम्बन्धलाई हेर्ने नजरिया

मैले यहाँ उत्तर प्रदेश र उत्तराखण्डसँग नेपालको सिमाना जोडिएको हुँदा मात्र त्यता अलिक बढी नै चासो दिएको होइन, वास्तवमा नेपाल-भारत सम्बन्धलाई हेर्ने धेरै दृष्टिकोण (नजरिया) पनि धेरै हदसम्म त्यहीँ बन्छ । उत्तर प्रदेशको आजको चुनावले भारतको भावी नेतृत्वको मार्गसमेत प्रशस्त गर्ने हुँदा त्यहाँको राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक नियाल्नु उचित हुन्छ ।

साथै, यहाँ उत्तराखण्डतर्फ समेत विशेष ध्यान दिनु उपयुक्त हुन्छ किनभने केही अपवाद स्थानमा बाहेक महाकालीले नै सुदूरपश्चिम र उत्तराखण्डलाई छुट्याउँछ । कालापानी, लिपुलेक र लिम्पियाधुरा यता नक्सामा राखिए पनि भोगचलन उताकाले गर्दै छन् । यता नक्सा त बन्यो तर जमिन भने उतै छ । यस कारण उत्तराखण्डमा प्रादेशिक सरकारको नेतृत्वमा को आउँछ भन्ने विषयमाथि ध्यान दिनु उचित र आवश्यक दुवै हुन्छ ।

चुनाव भएका ५ प्रदेशमध्ये एक प्रदेशमा आम आदमीतिर गएकामा ४ भाजपाले जितेको छ । तिनमा माथि भनिएअनुसार उत्तर प्रदेश र उत्तराखण्डका साथै गोवा र मणिपुर हुन् । गोवा नेपालभन्दा निक्कै पर पश्चिममा पर्छ । मणिपुर भारतको पूर्वी सीमान्त प्रदेश हो । मणिपुर र गोवाको चुनाव परिणाम नेपालका लागि प्रत्यक्षतः अर्थपूर्ण नहोला तथापि राजनीतिक प्रवृत्तिहरूको अध्ययन गर्नलाई भने यी सूचनाहरू अवश्य नै सहायक हुनेछन् ।

गोवामा भाजपाको पकड हुनु स्वाभाविक हो किनभने त्यहाँ महाराष्ट्रीय राजनीतिको प्रभाव धेरै पर्छ नै । महाराष्ट्रमै राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को मुख्यालय छ । भाजपाको वैचारिक आधार आरएसएस हो एवं उसको संगठन शक्ति पनि यसैबाट निःसृत छ । यसका साथै गोवामा ऐतिहासिक कारणले समेत हिन्दुत्व पक्षधर र राष्ट्रवादी जनमत छ । स्मरणीय छ, गोवा सन् १९६१ सम्म पर्तुगिजको उपनिवेश थियो ।

पूर्वोत्तरमा समृद्धिका मुद्दा

मणिपुरको अवस्था गोवाभन्दा धेरै भिन्न छ । गोवा मात्र होइन, यसको अवस्था र संरचना, आन्तरिक जातीय समीकरण उत्तर भारतभन्दा निकै पृथक् छ । भिन्न छ किनभने मणिपुर जातीय हिसाबले ज्यादै मिश्रित राज्य हो र भौगोलिक अवस्थितिसमेत विविधतापूर्ण छ । त्यहाँ मूलतः मैतेई, नागा, कुकी मात्र होइन, नेपाली, बंगाली, मारवाडी, पञ्जाबीहरू पनि छन् । यिनमा मैतेई र नागापछि, भाषिक हिसाबले सबैभन्दा बढी संख्या नेपालीको छ ।

यिनका अतिरिक्त त्यहाँ पांगल अर्थात् मुसलमान पनि छन्, यिनीहरू भने मणिपुरी नै बोल्छन् । यस्ता खाले सामाजिक-सांस्कृतिक परिवेशमा त्यहाँ भाजपाको विजय कसरी सम्भव भयो भन्ने विषयमा छुट्टै अध्ययनको आवश्यकता छ किनभने आफ्नालागि त्यति प्रतिकूल ठाउँमा समेत उसले कसरी आफ्नो वर्चस्व स्थापित गर्‍यो भन्ने विषय आफैँमा निकै रोचक छ ।

उपासना पद्धतिका हिसाबले हिन्दू, क्रिश्चियन र मुसलमान भिन्न धारका तथा जातीय हिसाबले समेत ज्यादै अमिल्दा र द्वन्द्वरत जातिहरू बसेको प्रदेश हो मणिपुर । त्यहाँ भाजपाले आफ्नो राजनीतिक वैशिष्ट्य कसरी स्थापित गर्‍यो भन्ने विषय अनुसन्धानको विषय त हो नै, यो विजय लरतरो होइन, वास्तवमा जातीय आकांक्षालाई विकास र समृद्धिका मुद्दाले उछिन्नुपर्छ भन्ने उदाहरणसमेत हो ।

विकास र वास्तवमै समृद्धिका मुद्दा स्थापित भए भने जातीय समीकरण स्वतः कमजोर हुँदै जान्छन्, यसको उदाहरणका रूपमा मणिपुर अगाडि आइरहेको छ । वास्तवमा मणिपुर मात्र होइन, पूर्वोत्तर भारतकै राजनीतिक विकासक्रम निकै रोचक छ । तर, यी हरफहरूमा भने म यस विषयमा सविस्तार वर्णन गर्न गइरहेको छैन । आउँदा कुनै आलेखमा सविस्तार चर्चा गर्नेछु ।

मैले यस आलेखमा उठाउन खोजेको विषय भारतमा कांग्रेसको एकपछि अर्को पराजय किन भइरहेको छ भन्ने हो । पूर्वोत्तरका हकमा विकास समृद्धि प्रमुख हुनुपर्थ्यो, कांग्रेस शासनमा त्यो कहिल्यै भएन । उसले जातीयतामाथि राजनीति खेलेका कारण त्यहाँ उसको सफाया हुँदै गएको हो । भाजपाले अर्कै रणनीति अवलम्बन गर्‍यो । पूर्वोत्तरमा उसले सहनिवासी समीकरण निर्माण गर्‍यो र समृद्धिलाई मूल इन्जिनका रूपमा अघि बढायो । उसले त्यहाँ ठीक उत्तर र पश्चिम भारतकै जस्तो रणनीति अवलम्बन नगरेर, समृद्धिको एजेन्डा वरिपरि विभिन्न समुदायलाई गोलबद्ध गरायो, फलस्वरूप त्यहाँ कांग्रेस दृश्यबाट हट्दैहट्दै पाखा पर्दै गयो ।

कांग्रेस पतनको कारण

समग्र भारतकै सन्दर्भमा समेत कांग्रेस अकारण पतनोन्मुख भएको होइन र त्यसमा केवल गान्धी-नेहरू परिवारको वंशसत्ता कारक होइन । प्रमुख कारण हो, बहुसंख्यक समुदायको उपेक्षा र अपमान गर्दै धार्मिक अल्पसंख्यकलाई भोट बैंकका रूपमा प्रयोग गर्ने तुष्टीकरणको राजनीति । प्रस्टै भन्नुपर्दा बहुसंख्यक हिन्दु समुदायको निरन्तर अपमान र भोट बैंकका रूपमा मुसलमान तुष्टीकरणको लामो शृंखलाका कारण बहुसंख्यक हिन्दु समुदाय भारतका अधिकांश प्रदेशहरूमा कांग्रेसको विकल्प खोजिरहेको थियो ।

लामो समयदेखि भारतीय हिन्दु समाजले सशक्त राजनीतिक नेतृत्व खोजिरहेको थियो र सन् २०१४ को लोकसभा चुनावमा नरेन्द्र मोदी-अमित शाह जोडीले भाजपाको कमाण्ड समातेपछि हिन्दु स्वाभिमानको एउटा नयाँ लहर आयो । तुष्टीकरणमा आधारित कथित सेक्युलरिस्ट भाष्यलाई 'वन्दे मातरम्' र 'भारत माता की जय' भन्ने भाष्यले विस्थापित गर्दै गयो ।

सांस्कृतिक राष्ट्रियतामा आधारित हिन्दू प्राधान्यता भारतीय राजनीतिको मूलधार बन्न गएको हुँदा सोसलिस्ट, सेक्युलरिस्ट र कम्युनिस्टहरू मूलधारबाट पाखा पर्दै गए । राष्ट्रियता बहुसंख्यक समुदायको सांस्कृतिक पहिचानसँगै पुष्पित र पल्लवित हुन्छ भन्ने भाष्य त्यहाँको मूलधार बन्यो । सेक्युलरिस्ट भनिने पात्रहरू कोठे वार्तालापमा सीमित हुँदै गए । सडक र संसद् दुवैमा सांस्कृतिक राष्ट्रियताले प्रमुखता पायो ।

भाजपाले नेतृत्वमा आफूलाई आक्रामक रूपमा अगाडि बढाइरहँदा कांग्रेससँग भने भरपर्दो नेतृत्व नहुनु, साथसाथै कम्युनिस्टहरू र जातीयतावादी, क्षेत्रीयतावादीसँग गरिएका कतिपय स्वार्थका गठबन्धन कांग्रेसका लागि झनै घातक बन्न गएका हुन् । कांग्रेस अकुशलताको लामो शृंखलाका कारण यस दुर्दशाग्रस्त अवस्थामा पुगेको हो । हुन पनि हो,  न एजेन्डा, न नेतृत्व, न त संगठन तर तुष्टीकरण र इतिहास वाचनले पुगिने ठाउँ भनेको अरू ठाउँ होइन, वास्तवमा आज भारतीय कांग्रेस पुगेको ठाउँ नै हो ।

स्रोत: आईएसएन-स्वतन्त्र समाचार

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…