निकै प्रगाढ छन् यादहरू बेनी मोर्चाका । मोर्चाबद्ध तरिकाले म सहाभागी भएको जनयुद्धको मोर्चामध्येको सबैभन्दा लामो समयसम्म शाही नेपाली सेना र जनमुक्ति सेना मोर्चा कसेर १२ घण्टासम्म लडेको युद्ध थियो त्यो । लामो दूरीको मार हान्न सक्ने हतियार जीपीएमजी, ८१ लन्चर, रकेट लन्चर, ट्विन्च मोटारलाई नजिकबाट छोएर नजिकबाट जंगलमा फायरिङ गरेर पड्किएको देखेको दिन र टाढाटाढासम्म पुगेको कम्पन कानको जालीलाई तरंगित पार्दै सिस्ने, जलजला पहाडमा लामो दूरीको हतियारको आवाज ठोकिँदै तरंगित भएको सम्झना ताजै छ ।
त्यति धेरै जनमिलिसिया, जनमुक्ति सेना, स्वयंसेवकहरूले मोर्चाबद्ध लडाइँमा जान गरेको तयारी । प्रचण्ड, पोस्टबहादुर बोगटी, नेत्रविक्रम चन्द ‘विप्लव’लाई नजिकबाट भेटेको र आफू पूर्वी कमाण्डबाट बेनी मोर्चामा सहाभागी भएको भनेर खबर सुनाएको पल । जनमुक्ति सेनाका डेपुटी कमाण्डरहरू बलदेव, जनार्दन, पासाङलगायतका मध्य र पश्चिम कमाण्डका कमाण्डर कमिसारसँग भेट भएको सम्झना । इन्डियन आर्मीका रिटायर्ड हवल्दार र जनमुक्ति सेनाको ब्रिग्रेड कमाण्डर रिखबहादुर क्षेत्री (क. अग्नि)ले दिनुभएको हतियारसम्बन्धी प्रशिक्षण ।
यति धेरै जनमुक्ति सेना स्वयंसेवक जनताको निरन्तर यात्रामा हिँडेको कमिलाको ताँती जस्तो फर्मेसन । जनयुद्धको उद्गम थलो थवाङको दृश्य । माओले लेख्नुभएको लामो यात्राको कथा आफैँले भोग्न पाउनुको अनौठो अनुभूति अनि निकै गहिरा याद र प्रेमहरू छन् बेनी मोर्चासँग मेरा ।
आठौँ जनमुक्ति सेना दिवस सर्लाही जिल्लाको चम्पा बाजेको गाउँको आसपासमा मानायौँ । त्यतिखेर जीवनसाथी आनन्दको शाहदत भएको लामो समय पनि भएको थिएन । बलिदानीको हिसाबले पनि पूर्वभन्दा पश्चिममा निकै ठूलाठूला बलिदानीका कीर्तिमानीहरू थिए । वासु घिमिरे (क. पावेल)ले मलाई पश्चिमका लागि यात्रा तय गरिदिनुभएको रहेछ । केही नयाँ अनुभव पनि हुन्छ, कतिपय सुनेको कुराले भन्दा देखेको दृश्यले मानिसलाई अर्को चेतनाको विकास गराउँछ भन्ने लाग्यो ।
फागुनको दोस्रो साता हामी सर्लाहीको लालबन्दीबाट गाडी चढेर पश्चिम प्युठानसम्मको यात्रामा निस्कियौँ । प्युठान ३ दिनभित्रमा पुग्ने योजना हामीले अधिल्लो दिन नै तय गरेका थियौँ । साथमा राधा घिमिरे (क. निशाना), जो बेथान स्मृृति ब्रिगे्रड सहकमाण्डर वासु घिमिरेकी जीवनसाथी हुनुहुन्छ, उहाँकी सानी २ वर्षकी छोरी निशा साथमा थिइन् ।
पहिलो दिन हेटौँडामा बस्ने निर्णय भयो, मेरो अंकलको घरमा । भोलिपल्ट बिहान उठेर वरिपरि नियालेँ, १०० मिटर नजिकै सुपारीटार आर्मीको ब्यारेक रहेछ । संकटकालको समय, सेनाको ब्यारेकलाई दिउँसो उज्यालोमा नजिकबाट नियालेको पहिलो पटक हो । एउटा विद्रोही सिपाहीमा नजिकै रहेकोे शाही सेनाको क्याम्प देख्दा मनमा अनेकौँ भावहरू आए । दुश्मनको फोटिफिकेसन कस्तो छ ? सेन्ट्री पोस्टहरू कति छन् ? काँडेतार, ब्लेडतारको घेरा कस्तो छ ? सबै कुरा घरको छतबाट नियालेँ ।
बेलुका ४ बजेतिर शाही सेनाको गस्ती सुरु भयो । हामीले उनीहरूलाई राम्रोसँग देखिरहेका थियौँ । सबैको हातमा इन्सास, एसएमजी, गलिल, एम- १६ हतियार थिए । उनीहरू हामी बसेको घर छेउमा आइपुगे । हामी डरायौँ- कसैले सुराकी गर्यो र उनीहरू हामीलाई कब्जा गर्न आए भनेर ।
घरमा आएर सोधे अंकल आन्टीलाई- ‘कोही नयाँ अनुहारका मान्छे आएका छन् रे तपाईंका घरमा, को हो ?’
अंकलले भन्नुभयो, ‘पहाडबाट छोरी, नातिनी आएका भेटघाट गर्न ।’
जवानले कडा स्वरले भन्यो, ‘के थाहा, माओवादी नै हो कि ?’
मैले भनेँ, ‘हामी माओवादी जस्ता देखिन्छौँ त सर ?’
गफले भुल्याउन ‘माओवादी त जंगलमा बस्छ रे ! हामीलाई के थाहा ?’ भनेँ ।
जवानको नेम प्लेटमा लेखिएको थियो- सुरेन्द्र धमला ।
‘सर पनि धमला हुनुहुँदो रहेछ, हामी पनि धमला हो नि !’ भनेँ ।
मेरा शब्दसँग रोकिएर भने, ‘बाँच्न गाह्रो छ बैनी ! नयाँ मान्छे कोही आए भने हामीलाई भन्नू ।’
मैले ‘हुन्छ’को भावमा मुन्टो हल्लाएँ । उनीहरू घरबाट निस्किएर आफ्नो बाटो लागे ।
भोलिपल्ट हामी बिहान ७ बजेको गाडी चढेर हेटौँडाबाट दाङको भालुवाङसम्मको टिकट काट्यौँ र हामी दाङतर्फ लाग्यौँ । चितवन र मकवानपुरको सिमाना सुनाचुरी भन्ने ठाउँमा सेनाहरूले जी- ३६ ग्रिनेड बनाउने कारखाना स्थापना गरेका थिए । निकै कडा जाँच थियो त्यसबेलामा शाही सेनाहरूको । करिब ३ घन्टापछि हाम्रो पालो आयो । निशाना दिदी र म सँगै निस्किएनौँ, गिरफ्तार भयौँ भने पनि दुवै जना पर्नुहुँदैन भनेर हामी पहिले नै योजना बनाएर गाडी चढेका थियौँ ।
दिदी र छोरी सुधा पहिले निस्किए । उहाँहरूभन्दा केही पछाडि म । जाँच सकियो । एउटा छापामारलाई दुश्मनको क्याप अगाडि उभिएर ‘म माओवादी होइन सर ! साधारण मान्छे हुँ’ भन्ने कुराले पनि मनमा चिसो बनाउँदो रहेछ । अनुहारमा हाउभाउ कस्तो थियो, देखिनँ तर मन भने खुब डराएको थियो- कसैले सुराकी गर्छ कि भनेर ।
बस अगाडि बढ्यो । हामी नारायणगढतर्फ अगाडि बढ्यौँ । ठीक ९ महिना अगाडि दोस्रो युद्धबिराम भएपछि यही बाटो जीवनसाथी आनन्दसँग घर भेटघाटमा गएका सुन्दर दृश्यलाई मनमा साजाउन खोजेँ तर सकिनँ । कतिखेर आँखाबाट आँसु झरेका थिए, पत्तै भएन । सिटमा सँगै बस्ने मान्छेले पो सोध्यो, ‘तपाईं सन्चो त हुनुहुन्छ ?’
यतिखेर बस नारायणघाट बजार नजिक पुगिसकेको रहेछ । गाडी बजारमा रोकियो । आँखाले आनन्दलाई नै खोज्यो तर ऊ मसँग थिएन । म ऊसँगै काठमाडौं जान चाहन्थेँ । नारायणगढ बजारबाट परसम्म देखे पनि पोखरा बस पार्कलाई नियाल्दै नवलपरासी गैँडाकोटतर्फ मोडियो बस ।
त्यो पुल नजिकसम्म त आनन्दसँगै गरेको यात्राको याद थियो, अब भने मलाई नितान्त एक्लै भएको महसुस भयो । आनन्दको अभाव लाग्यो । पल्लो सिटमा बसेकी दिदी र सानी छोरीलाई नियालेँ, उनीहरू पनि निन्याउरो अनुहार लगाएर यात्रा गरिरहेका थिए । सायद दिदी निशाना युद्धको कमाण्डर आफ्नो जीवनसाथी र छोरी निशा बाबालाई सम्झिँदै थिए ।
हामी नवलपरासी जिल्ला कटेर कपिल्पस्तु जिल्लामा प्रवेश गर्यौँ । कपिलवस्तुको गोरुसिंगे भन्ने ठाँउमा पनि उस्तै गरी केरकार गरे शाही सेनाहरूले । ३ घन्टा लगाएर जाँच गर्नका लागि लाम लागेका गाडीहरू । तातो घामले बसभित्र तातिएर बमिट गर्दे बसेका यात्रुहरू सबैको अवस्था उस्तै थियो । फागुन महिनाको घाम, तराईको गर्मीले सेकिएर ओइलाएको साग जस्ता भएका थियौँ हामी । एउटा पोस्टको जाँच सकेर अर्काे पोस्टमा अगाडि बढ्दै थियौँ, एक्कासि दिदी र निशा बहिनीलाई रोकिन आदेश गरे शाही सेनाहरूले । दिदी टक्क अडिनुभयो छोरीको साथमा । म ५ जनाको पछाडि थिएँ । एउटा सेनाको अफिसर जस्तो देखिने मान्छे आएर छोरीलाई सोध्यो, ‘कहाँ गएर आएकोे छोरी ?’
उनी २ वर्षकी थिइन्, केही बोली स्पष्ट थिएन । ऊ हतियार देखाएर सोध्दै थियो, ‘छोरीको बाबाले पनि यस्तै बन्दुक बोक्नुहुन्छ हो ?’
‘छोरी बाबा भेटेर आएकी हो ?’, फेरि सोध्यो ।
छोरीले ‘हो’ भनेर मुन्टो हल्लाई । उसलाई थाहा थिएन के हो र होइन भनेर †
म डरले काँपेँ । दिदीले भन्नुभयो, ‘मेरो श्रीमान् पनि तपाईंहरू जस्तै आर्मी हो । म भेटघाटमा गएर आएकी हुँ । त्यसैले छोरीले हो भनेकी हो ।’
उसले कति पत्यायो वा पत्याएन, उसको कुरा हो तर शंकाको दृष्टिले हेर्दै उसले दिदीलाई जान अनुमति दियो । बस दिदी र छोरीलाई नै पर्खेर बसेको थियो केही पर । बस फेरि आफ्नै रफ्तारमा गुडिरह्यो ।
अब भने दिदी, बहिनी र म एउटै सिटमा लाइनै बस्यौँ- मर्यौँ वा गिरफ्तार भयौँ भने पनि सँगै हुने भनेर । करिब साँझको ७ बजे हामी दाङ जिल्लाको भालुवाङ पुग्यौँ । त्यहाँ पनि कडा जाँच हुन्छ भन्नुभएको थियो दिदीले । भाग्यवश, त्यो दिन जाँच भएन त्यहाँ ।
हामी पुग्नुपर्ने त प्युठान हो तर बस छुटिसकेका कारण हामी भालुवाङकै होटलमा बस्यौँ । जनमुक्ति सेनाले दाङको सदरमुकाम घोराही आक्रमण गरेपछि भालुवाङ आसपासमा पनि निकै कडा निगरानी गरेका थिए तर हामी उनीहरूलाई छक्याउँदै भोलिपल्ट प्युठानको तिराम पुग्यौँ, जहाँ वासुदेव घिमिरेको जन्म घर थियो । त्यहाँ पुगेर सन्तोषको सास फेर्यौँ, सुरक्षित अनुभूति गर्यौँ ।
क्रमश: