Khabarpato logo

         

बहस

रामायणका पात्रहरूको ऐतिहासिक खोज

विपुल सिजापति

विपुल सिजापति

रामायणका पात्रहरूको ऐतिहासिक खोज

रामकथा या रामायण वाल्मीकिद्वारा रचित इतिहासको एक अहं महाकाव्य कृति हो । ३०० भन्दा बढी भाषामा अनुवाद भइसकेको यो काव्य हरकोहीको जीवनमा सूक्ष्म विनम्रतासँगै मनलाई छुने काव्य हो । वाल्मीकि रामायण (आदिरामायण)सँगै तुलसी रामायण पनि उत्तिकै चर्चा भएको रामायण हो । आदिरामायण र रामचरित मानस दुवैमा रामकथा नै छ, तथापि, दुवैमा थुप्रै विभेदहरू छन् ।

रामचरित मानसको श्रोत आदिरामायण नै हो तर यसमा थुप्रै कल्पनात्मक कथाहरू छन् । यो पूर्णतः भक्ति भावलाई बढाउन लेखिएको छ, रामलाई विष्णुको सातौँ अवतार बनाइएको छ, हनुमानलाई रुद्रको अवतार मानिएको छ । यसबाहेक पुष्पक विमान, सवरीको जुठो बयर, सेतु निर्माण, अहिरावण, महिरावण आदि थुप्रै यस्ता प्रसङ्गहरू आदिरामायणमा भन्दा बढी छन् । यसैले रामकथाको सुरुवातको श्रेय वाल्मीकिलाई जाने भएकाले यहीँबाट चर्चा सुरु गरिन्छ ।

पौराणिक कथाअनुसार इक्ष्वाकु प्राचीन भारतका एक राजा थिए । पौराणिक कथाअनुसार विवस्वान (सूर्य)का नाति र वैवस्वत मनुका अमैथुनी (मैथुन नगरी जन्मिएका) पुत्र थिए । उनको राजधानी कोसल (अयोध्या) थियो । उनका १०० जना पुत्र थिए, जेठा छोरा विकुक्षी थिए । यिनै विकुक्षीलाई इक्ष्वाकुले श्राद्धका लागि यज्ञमा आहुति दिन जङ्गलबाट जनावरको मासु ल्याउन अह्राए । विकुक्षीले थुप्रै जनावरहरू मारे तर भोकको कारणले एउटा खरायो पोलेर खाए ।

होताले यसलाई पवित्र मानेनन् र इक्ष्वाकुले विकुक्षीलाई राज्यबाट निकालिदिए । विकुक्षी भगवानको भजन गर्दै जङ्गलमा घुम्न थाले र इक्ष्वाकुको मृत्युपश्चात् फर्किए र शशादको नामबाट राज्य गर्न थाले । रामकथाका राम यिनै इक्ष्वाकु वंशमा दशरथका पुत्रको रूपमा देखापर्छन् ।

रामकथाको सिरान खोज्ने क्रममा वेदतिर जाँदा रामको पूर्वज इक्ष्वाकु शब्द ऋग्वेदमा एक पटक मात्र प्रयोग भएको पाइन्छ, यसबाट उनी कुनै राजा भएको मात्र प्रतीत हुन्छन् ।  

यस्येक्ष्वाकुरूप व्रते रेवान् मराय्येघते

यसबाट कुनै रामकथा या कुनै कुलको जानकारी पाइँदैन ।  

ऋग्वेदमै अन्य राजाहरूको नामसँगै दशरथको पनि प्रशंसा गरिएको छ । ४० वटा खैरो रङका घोडासहित एक हजार घोडावाल दलको नेतृत्व गरेको भनेर दशरथको नाम उल्लेख भएको छ । यसबाट पनि राम दशरथका पुत्र या अयोध्याका राजा भनेर कतै सङ्केत भेटिँदेन भने वेदमा रामकथाको कुनै सूत्र पनि भेटिँदैन । इतिहासमा मितन्नी जातिका राजा तुसरथ (वैदिक संस्कृत नाम दशरथ) देखापर्छन्, जो १४०० इ.पू.का हुन् । उनको कथाबाट पनि रामकथाको कनै स्रोत खुल्दैन ।

रामकथाका नायक राम नाम पनि ऋग्वेदमा एक पटक मात्र उल्लेख भएको छ ।

प्र तद्दुःशीमे पृथवाने वेने प्र रामे वोचमसुरे मघवस्तु

यहाँ रामलाई अन्यको साथसाथै असुर भनिएको छ ।

ऐतिहासिक आधारमा एम. वैकटरमन र बालकृष्ण पोखरेल (खस जातिको इतिहास) रामसेस नै राम हुन् भन्ने तर्क गर्छन् तर आधुनिक खोजले रामसेसका बारेमा जे खुल्न आएको छ, त्यसका आधारमा रामसेस राम भएको कुरा गलत हो भन्न सकिन्छ ।

सीता शब्दको प्रयोग केवल कृषिको देवीको रूपमा ऋग्वेदमा भएको छ । यहाँ सीता प्रकृतिको देवीको रूपमा छन्, रामकी भार्या सीता या रामायणसँग यिनको कुनै सम्बन्ध छैन । ऋग्वेदमा इन्द्रलाई उर्वरापति भनिएको छ र सीतालाई इन्द्र पत्नी भनिएबाट सीता शब्दबाट पनि वेदबाट रामकथाको कुनै सूत्र हात लाग्दैन ।

वाल्मीकि शब्द पनि वेदमा उल्लेख भएको छैन । यस आधारमा वाल्मीकि वैदिक ऋषि होइनन्, वेदपश्चातका ऋषि हुन् भन्ने स्पष्ट हुन्छ । महाभारत ३ कालखण्डमा पूरा भएको देखिन्छ । यसको पहिलो प्रारूप व्यासले लेखे र त्यसलाई जय संहिता नामकरण गरे

नारायणं नमस्कृत्य, नरञ्चैव नरोत्तमम्, देवीं सरस्वतीं वाचं ततो जयम् उदीरयेत् ।

व्यासले नै लेखेको यस श्लोकमा प्रस्टसँग यस काव्यलाई जय संहिता नै भनिएको छ । कालान्तरमा व्यासका शिष्य वैशम्पायनले यसमा भरत वंशको कथा जोडेर २४ हजार श्लोकको संहिता बनाए र भारत नामकरण गरे । तत्‌पश्चात् सूत तथा अन्य ऋषिहरूले यसमा अनेक आख्यान उपाख्यानादि जोडेर १ लाख श्लोकहरूको महाभारत संहिता बनाए । विद्वान्‌हरूको भनाइअनुसार महाभारतमा पनि पछि थुप्रै कथाहरू जोडिँदै गए । व्यासको जय संहितामा रामकथा या वाल्मीकिको नाम उच्चारण छैन । यसलाई आधार मान्ने हो भने वाल्मीकि व्यासभन्दा पछिका या हाराहारीका भए पनि नाम नचलेका देखिन्छन् । त्यसपछिको महाभारतमा भने रामकथा देखिएको छ ।

वेदमा या जय संहितामा रामकथा किन देखिएन भन्ने खुल्दुली उठ्नु स्वाभाविक हो । यसबारेमा चर्चा गर्दा पहिलो तर्क भनेको रामकथा वेद र जय संहितापछि नै लेखिएको हो भन्नु उपयुक्त हुन्छ । दोस्रो कुरा भनेको राम क्षत्रीय कुलमा जन्मिएका थिए, यसैले ब्राह्मण जातिले उनलाई वेदमा समावेश गरेनन् । तेस्रो तर्क भनेको दशरथ र रामलाई शिक्षा दिने जावली चार्वाक सिद्धान्तका थिए । चार्वाक मतलाई आर्यहरूले कहिल्यै स्वीकार नगरेकाले अनार्यको सूचीकरणमा दशरथ र राम पनि परेका हुन सक्छन् । चौथो कुरा वाल्मीकिका शिष्य कुशीलव थिए ।

नामकै आधारमा कु शील भएकाले इक्ष्वाकु वंशलाई समाजमा तल्लो या नीच जातिको मानिएका पनि हुनस क्छ । यसलाई बल दिने अर्को आधार के हो भने कुशले राज्य गरेको स्थानलाई कुश द्विप भनिएको छ । कुश द्विपको दिक्पाल भनेर कुशको नाम पुराणमा उल्लेख छैन, यो धेरै पछि मात्र जोडिएको कथन हो । कुश द्विप नाइल नदीपारिको स्थान हो । यस स्थानमा रहनेहरूलाई आर्यहरूले सदैव असुर या राक्षसको संज्ञा दिएर घृणा गरेका छन् । अनुशासन पर्वमा वाल्मीकि युधिष्ठिरलाई भन्छन्, 'कुनै विवादमा मुनिहरूले मलाई ब्रह्मघ्न भनेका थिए, यो भनाइले मात्र पनि म पापी भए र मैले शिवको शरण लिएँ र शिवले मलाई पापमुक्त गरिदिए ।'

वाल्मीकिले यहाँ शिवको महिमा गाएका छन् । वेदमा शिवलाई अनार्य देव भनिएको छ । महाभारतमै मन्थरा दुन्दुभि गन्धर्वीको अवतार भएको लेखिएको छ । रामकथाका थुप्रै पात्रहरू अनार्य छन् । यसरी आर्य अनार्यको भेदका कारण पनि वेद या जय संहितामा रामकथा उल्लेख नभएको मान्न सकिन्छ । त्यसपछिको महाभारतको रामकथामा भने अवतारवादको प्रस्ट छाप देख्न सकिन्छ, जुन आदिरामायणमा वाल्मीकिले कल्पनासम्म गरेका छैनन् । वाल्मीकिकृत रामायणमा उत्तर काण्ड र बाल काण्ड थिएनन् । प्रचलित रामायण पाठ र आदिरामायण पाठ तुलना गर्दा केही ससाना प्रक्षिप्त पाठहरू छाडेर मूल पाठ भने दोस्रो शताब्दीको भएको बहुसङ्ख्यक विद्वान्‌हरूको मत छ ।

वाल्मीकि नामकरण

महाभारतमा रामकथाका रचयिताका रूपमा भार्गव भनिएको छ । संभवत यो एक सम्मानित पद हो, तथापि, रामकथाका रचयिता वाल्मीकि नै हुन् । महाभारतमा वाल्मीकि या भार्गवलाई कतै पनि दस्यु (डाँका) भनिएको छैन । वाल्मीकिले आदिरामायणमा राम वाल्मीकि संवादमा एक श्लोक छ, यस श्लोकमा वाल्मीकिले रामलाई भनेका छन् -

'मनसा कर्मणा वाचा भूतपूर्व न किल्विषम्' (मैले विगतमा मन, कर्म र वचनले पनि कुनै पाप गरेको छैन ।) 

यसर्थ बाँकी रामकथामा वाल्मीकिलाई डाँका या दस्यु भनिनु सरासर गलत हुन्छ, झुटो ठहर्छ ।

वाल्मीकिलाई दस्यु भन्ने पहिलो अधार या सूत्र भनेको महाभारतको अनुशासन पर्व हो । यहाँ वाल्मीकिले आफूलाई मुनिहरूले कुनै विवादमा ब्रम्ह्घ्नको लाञ्छना लगाएको उल्लेख गरेका छन् । महाभारत आरण्यक पर्वमा भृगु पुत्र च्यवन तपस्या गर्न निश्चल उभिँदा उनको शरीरमा वाल्मीकि आच्छादित भएको थियो । यही सूत्रलाई पछि अवतारवादका कथाहरूमा, पुराणहरूमा जोडियो र उनको नाम नै वाल्मीकि भएकाले यो आधार नामकरणमा सघाउन पुगेको देखिन्छ ।

अवतारवाद, रामकथा र वाल्मीकि

फारसी धर्मको जेन्द अवेस्ताको बहराम यश्तमा विजयको देवता वरथ्रघ्नको दश अवतारको वर्णन छ । वरथ्रघ्न (वृतघ्न)को सम्बन्ध इन्द्रसँग छ । फारसीमा वरथ्रघ्नको नाम बहराम लेखिन्छ । जेन्द अवेश्ताको आठौँ यश्तमा एक नक्षत्रको अधिष्ठाता देवताको पनि उल्लेख छ, जो मनुष्य, वृषभ र घोडाको रूप धारण गरेर प्रकट हुन्छ र अनावृष्टिको अपदेवतालाई परास्त गर्छ । बौद्ध धर्ममा पनि अवतारवाद बुद्धको अवसानपछि महायान मतसँगै गाँसिन आइपुगेको देखिन्छ ।

वैष्णवालम्बीहरूको विष्णु अवतार ८०० इ. सम्म साम्य भएको देखिँदैन, यसमा नामावली थपघट भइरह्यो । विष्णुको अवतार ४ अवतारबाट सुरु भएर १० वटा अवतारमा पुगेर टुङ्गिएको देखिए तापनि एक पुराणअनुसार विष्णुको २१ अवतारसम्म भएको लेखिएको छ । शैवमार्गीहरू पनि अवतारवादबाट अछुतो भने रहेका छैनन् । यसरी सनातन धर्ममा, बौद्ध धर्ममा र जेन्द अवेस्तामा भएको अवतारवादको धारणा कुन अघिको या कसले अनुकरण गरेको भनेर भन्न निक्कै गाह्रो छ, तथापि, यी दुवै उही कालका हुन् भन्न सकिन्छ ।

अवतारवादमा वैष्णव मतावलम्बीहरू नै बढी चढी देखाउने भए तापनि त्यसमा साम्यता या एकरूपता भने छैन । नारायणीय अवतारमा वराह, नृसिंह, वामन, भार्गव राम, दाशरथी राम र कृष्ण गरेर ६ नाम छ भने यसै उपाख्यानमा वराह नृसिंह, प्रजापति र मनुष्यावतार गरेर केवल ४ अवतार उल्लेख छ । विष्णु पुराणको एक ठाउँमा प्रजापति, मत्स्य, कुर्म र वाराह अवतार उल्लेख छ भने एक स्थानमा आदित्य, भार्गव, राम र कृष्ण ४ अवतार भनिएको छ । त्यसैमा वराह, कुर्म, मोहिनी, नृसिंह राम दाशरथी र कृष्णको सम्बन्ध विष्णुसँग जोडिएको छ ।

हरिवंश पुराणमा ४ पटक विष्णुको अवतारको बारेमा भनिएको छ तर त्यसमा पनि एकरूपता छैन, पहिलो उल्लेखमा १० नामहरू पौष्कर, वराह, नृसिंह, वामन, दत्तात्रेय, परशुराम, राम, कृष्ण, वेद व्यास,र कल्की लेखिएको छ । दोस्रो उल्लेखमा वामन, नृसिंह, वराह, परशुराम, राम, कृष्ण गरेर ६ नाम मात्र लेखिएको छ । तेस्रो उल्लेखमा वराह, नृसिंह, वामन, राम, र कृष्ण गरेर ५ नाम छन् भने भागवत पुराणमा कतै २१ त कतै २२ अवतार भनिएको छ ।

वाल्मीकि शिवभक्त हुन्, यसमा शङ्का छैन । रामले शिवको पूजा गरेको बाट नै वाल्मीकि शिवलाई देवता र रामलाई साधारण मनुष्यका रूपमा हेर्दथे भन्नुमा अत्युक्ति नहोला । अध्यात्म रामायणमा वाल्मीकिलाई परोक्ष रूपमा ब्राह्मण बनाइएको छ, वाल्मीकिलाई अनेक नाम दिएर उनको यशलाई पुराणका कथाहरूमा विष्णुको कृपाका रूपमा चर्चा गरिएको अनेक उदाहरणहरू छन्  ।

अहं पुरा किरातेषु किरातैः सह वर्धितः
जन्ममात्रद्विजत्वं मे शूद्राचारतः सदा । (अध्यात्म रामायण ६५)

'म पहिले किरातहरूसँग रहने गर्दथे र शूद्रहरूकै आचरण गर्ने हुँदा मेरो ब्राह्मणत्व जन्म मात्रको थियो ।'

कृत्तिवासीय रामायणमा वाल्मीकिलाई 'यवन पुत्र रत्नाकर' भनिएको छ । यसबाट पनि वाल्मीकिलाई अनार्य भएकोतिर सङ्केत गरिएको छ ।

शिव र नारदसँग व्याधको भेटले पनि वाल्मीकि शिवभक्त नै भएको देखाउँछ । तथापि, यो शैव मतावलम्बीहरूबाट लेखिएको प्रक्षिप्त कथा नै हो ।

स्कन्द पुराणको वैष्णव खण्डको वैशाखमास महात्म्यमा वाल्मीकिलाई कृणुका पुत्र व्याधको (पुनर्जन्म) भनिएको छ । अवंती खण्डमा अग्नि शर्माको वाल्मीकि भएको कथा छ । नागर खण्डमा द्विज वाल्मीकि भएको कथा छ, (अध्याय १२४) प्रभास खण्डमा शमीमुख नामक ब्राह्मण वाल्मीकि भएका छन् । वाल्मीकिले दस्यु भएको या तपस्या गर्दा शरीरमा धमिराले गुँड लगाएको कथा आदिरामायणपछिको हो, यसैले यी सबै कथाहरू प्रक्षिप्त हुन्, पछि लेखिएका थपिएका हुन् । महाभारतमा च्यवन ऋषिले तप गर्दा उनको शरीरमा धमिराले गुँड लगाएको कथा वाल्मीकिको नामसँग मिल्न गएकोले च्यवनकै कथालाई वाल्मीकिसँग जोडिएको देखिन आउँछ ।

वाल्मीकि नामकरणको अधिकतम कथा वैष्णवालम्बीहरूको कथा र पुराणमा पाइन्छ । यसको कारण एकातिर रामकथाका रचेता यश्यश्वी वाल्मीकिलाई विष्णुबाट उद्धार गरेको देखाएर विष्णुको महिमा उच्च गर्नु थियो भने अर्कोतिर राम र वाल्मीकिलाई नै अवतार बनाइदिएर वैष्णव मतको प्रचारमा अझ बल पुग्ने नै थियो । विष्णु धर्मोत्तर पुराणमा त्रेता युगको अन्त्यमा भगवान् विष्णु वाल्मीकिको रूपमा जन्मन्छन् र रामायण लेख्छन् भनिएको छ । चीनमा वाल्मीकि मूर्ति र उनी विष्णुको अवतार भएको शिलालेख भेटिएको छ । यसैले वाल्मीकिको त्यहाँका हिन्दुहरूले पूजा गर्थे र पूजा गर्नुको आधार यही विश्वास नै हो ।

भारतमा एक कथाअनुसार वाल्मीकि ब्रह्माको आसन पुछ्ने काम गर्थे । एक दिन आसन पुछ्ने कपडाबाट एउटा बालक निस्कियो । वाल्मीकिले यो कुरा ब्रह्मालाई सुनाए, ब्रह्माले वाल्मीकि बूढो भएकाले अब आसन पुछ्ने काम यही बालककै सन्तानले गर्नेछन् भने । यसैले भारतका भङ्गीहरू आफूलाई वाल्मीकिका सन्तान मान्छन् र उनको पूजा गर्छन् । वाल्मीकिको नाम सिखहरूको गुरु नानक साहेबसँग जोडेर पनि कथा लेखिएको छ ।

अध्ययनअनुसार काव्यबद्ध नगरिए पनि रामकथा वैदिककालकै हाराहारीमा जनमानसमा मौखिक आख्यानका रूपमा प्रचलित र लोकप्रिय थियो (पछि चर्चा गरिनेछ) । लोकमा जनमानसले अत्यधिक रुचाएको रामकथाको प्रख्यातिलाई उपयोग गर्न नै वाल्मीकिलाई अवतारवादका कथाहरूमा दस्यु वाल्मीकिलाई विष्णुबाट उद्धार गरिएको देखाइएको छ । यो केवल राम, वाल्मीकि र रामकथालाई वैष्णवीकरण गर्ने प्रयास हो भन्ने बुझिन्छ भने अर्कोतिर रामकथा पहिल्यैदेखि लोकमा प्रचलित र मान्य थियो भन्ने देखाउँछ ।

महाभारतमा रामकथा

महाभारतमा आरण्यक पर्वमा ब्रह्मा रामावतारको रहस्य प्रकट गर्छन् । यहाँ के कुरा बुझ्नु जरुरी छ भने पुराण कथाहरूमा अवतारवादको जन्म भएपछि नै रामायण लेखिएको प्रष्ट हुन्छ । अर्कोतिर जयसंहिता रामायणभन्दा जेठो ठहर्छ, महाभारतमा गाभिएका अन्य रामकथाहरू पछि थपिएका प्रष्ट हुन्छ । दुंदुभि गन्धर्वीको अवतार मन्थरा । च्यवन वाल्मीकि कथा उस्तै भएर भार्गव उपाधि पाए ।

महाभारतको रामकथाको आधार आदिरामायण नै हो, जुन प्रचलित रामायणको पूर्व रूप हो । यसमा राम जन्मका लागि दशरथले पुत्रेष्टि यज्ञ गरेका छैनन् र रानीहरूलाई पायस खुवाएको चर्चा पनि छैन । सीतालाई जनककी पुत्री पुत्री मानिएको छ, हलोबाट या आयोनिजा पुत्री भनेर उल्लेख छैन, सीताबाहेक अन्य भाइहरूका पत्नीको नाम उल्लेख छैन । रामलाई अवतार नमानेर साधारण पुरुष मानिएको छ । महाभारतमा रामकथाका रचयिता भार्गव भनिए पनि ती वाल्मीकि नै प्रतीत हुन्छन् ।

रामकथाको स्रोत

डा. बेवर रामकथाको मूलपुर बौद्ध दशरथ जातक कथालाई मान्छन् तर बौद्ध दशरथ जातक कथामा सीता हरण तथा रावण युद्ध उल्लेख भएको छैन । डा. बेवर भन्छन्, 'सीता हरणको स्रोत सम्भवतः होमरमा वर्णित पेरिसद्वारा हेलेनको अपहरण र लङ्का युद्ध ट्रोयको युद्ध हुन सक्छ ।' डा. बेवरको यो तर्कलाई सबै विद्वान्‌हरूले अमान्य भनेका छन् ।

डा. याकोबी रामायणको प्रथम भाग इक्ष्वाकु वंशी कुनै राजकुमारको निर्वासन र त्यसपछिको राज्यप्राप्तिको कथा हुन सक्छ भन्छन् । उनको सङ्केत इक्ष्वाकु पुत्र विकुक्षीतिर भएको स्पष्ट देखिन्छ । विकुक्षी (शशाद) निर्वासनमा परेर इक्ष्वाकुको मृत्युपश्चात् फर्किएर राज्य गरेको र थुप्रै यज्ञादि गरेको मात्र कथा छ । उनको कथामा सीता, रावण, भाइ लक्ष्मण र युद्धको कतै चर्चा छैन । डा. याकोबीको मतलाई केवल राम वनवासको स्रोतबाहेक अरू मान्न भने सकिँदैन ।

आदिरामायणमा बौद्ध धर्मसम्बन्धी कुनै सङ्केत छैन । त्रिपिटकका ५४७ जातक कथाहरूमा यक्ष, दानव, नाग, राक्षस, बाँदर आदि अनेकन पशु आदिका विषयमा कथाहरू पाइन्छ तर कतै पनि राक्षस रावण या हनुमान आदि रामायणका अन्य कपी जातिको उल्लेख भएको छैन तसर्थ रामकथाको स्रोत बौद्ध धर्म या जातक कथा होइन भन्ने स्पष्ट हुन्छ ।

वाल्मीकि रामकथाको बारेमा स्पष्ट छन् अर्थात् उनलाई कथा स्रोतका बारेमा पूर्ण ज्ञान छ, कथाहरूमा एकरूपता छ । वाल्मीकिले रामकथामा कुनै अलौकिक घटना देखाएका छैनन्, रामबाट कुनै चमत्कार पनि गराएका छैनन् । आदिरामायणमा रामलाई विष्णुको अवतार मानिएको छैन । आदिरामायणको अन्त्यमा 'ब्रह्मलोकं प्रयास्यति' वा राम ब्रह्मलोक गए भनिएको छ । राम यदि विष्णुको अवतार भएको भए 'विष्णुलोकं प्रयास्यति' भनिनुपर्थ्यो तर त्यसो भनिएको छैन, विष्णु लोक पछि थपिएको मात्र हो ।

ताटका वधपछि विश्वामित्र 'विष्णुले यहाँ तप गरेका थिए' भन्छन् अर्थात् विश्वामित्र राम अवतार भएको बारे अनभिज्ञ छन् (सर्ग २९) । आदि रामायणमा वाल्मीकि रामको तुलना विष्णुसँग १८ ठाउँमा गर्छन् भने ७७ ठाउँमा इन्द्रसँग गर्छन् । यसबाट के स्पष्ट हुन्छ भने राम विष्णु या इन्द्रका अवतार होइनन्,  भिन्न हुन्, पृथक् र लौकिक हुन भन्ने प्रस्ट हुन्छ । रामलाई विष्णुसँगभन्दा इन्द्रसँग धेरै ठाउँमा तुलना गरिएको आधारमा त्यतिबेला इन्द्रको स्थान विष्णुभन्दा उँचो थियो भनेर बुझ्न सकिन्छ ।

रामले इन्द्रको सहायताले नै रावणसँग विजय पाएका कारणले पनि इन्द्र विष्णुभन्दा उँचो भएको स्पष्ट हुन्छ । अरण्य काण्डमा इन्द्र शरभंगसँग कुरा गर्दै भन्छन्, 'राम यता आउँदै छन्, उनी आउनु अगाडि नै हामी यहाँबाट जाऔँ किनभने राम मलाई देख्न अयोग्य छन्, रावणलाई जितेपछि मात्र उनको मसँग भेट हुनेछ ।'

यसबाट पनि वाल्मीकिले इन्द्रलाई देवतातुल्य देखेका छन् । यी सबैको आधारमा के भन्न सकिन्छ भने वाल्मीकि रामायणको रामकथा अवतारवादबाट पर थियो र इन्द्रको अगाडि विष्णुको स्थान गौण थियो । अर्कोतिर रामकथा इन्द्रकालमै अर्थात् वैदिककालमै प्रचलित थियो भन्ने स्पष्ट बुझिन्छ । वाल्मीकि रामायणको रामकथाको भूमि रामसे या इजिप्ट नभएर मध्य भारत खण्डको कथा हो । यसमा उल्लेख भएको अयोध्या, वैदेह र लङ्का पनि मध्यभारतकै कुनै स्थान हुन् । रामायणमा उल्लेख भएको लङ्का हालको लङ्का होइन । लङ्काको प्राचीन संस्कृत नाम सिंहल द्वीप हो, जसलाई युनानीहरू 'टप्रोवाने' भन्थे भने अशोकको शिलालेखमा पनि यसलाई 'तम्बपम्नि' भनिएको छ । संस्कृत काव्यअनुसार पनि सिंहल र लङ्का भिन्नभिन्न देश भएको देखिन्छ ।

रामकथाका पात्रहरू टोटमका आधारमा लिइएका छन् र सबै पात्रहरू लौकिक छन् । बालीलाई मार्न छलको प्रयोग भएको छ । राम अवतार भएको भए बालीलाई मार्न कुनै छलको सहारा लिनुपर्दैनथ्यो, यसैले बालीसँगको राम युद्ध लौकिक सूत्रबाट नै उठेको कथा हो । अथर्ववेदमा (४६१) एक ब्राह्मणको उल्लेख भएको छ । ती ब्राह्मण दशशीर्षे दशास्य (१० शिर भएका १० जिब्रा भएका) भनेर उल्लेख भएको छ । यिनै ब्राह्मणको प्रभावमा पछि रावणको कल्पना गरिनु असम्भव छैन ।

रामकथाको बारेमा सोधखोज र अनुसन्धान गर्दा यो कथा वाल्मीकिले रामायण लेख्नु अगाडि नै लोकमा प्रचलित थियो भन्ने कुरा बुझिन्छ ।

कृत्स्नं रामायणं काव्यं गायतां परया मुदा
ऋषिवाटेषु पुण्येषु ब्राम्हणावसथेषु च
रथ्यासु राजमार्गेषु पार्थिवानां गृहेषु च । (उत्तर काण्ड ९३)

रामकथा सम्भवतः वैदिककालमै मौखिक रामायण प्रचलित थियो । जसरी नेपालमा कर्खा या सवाईँ गाएर सुनाएर आजीविका चलाउने गन्धर्वहरू छन्, त्यसरी नै कुशीलव (कुशीलव जातिका मानिसहरू) त्यसलाई गाएर सुनाउँथे र आजीविका चलाउँथे, वाल्मीकिले यसलाई सङ्कलन गरे र काव्यमा उतारे भन्नुमा अत्युक्ति नहोला । वेदमा या जय संहितामा रामकथा नपर्नुमा सम्भवतः यो कथा कुनै अनार्य या नीच कुलको मानिएको क्षत्रीय राजाको गर्व गाथा थियो भन्न सकिन्छ ।

वाल्मीकिले रामकथाको सार नारदबाट सुन्छन् र श्लोकबद्ध गर्छन् । यही कथा शिष्य लवकुशलाई सिकाउँछन्, लवकुश यही कथा राजमहलमा राम र उनका भाइहरूलाई सुनाउँछन् । अर्थात् रामकथामा भएको वियोगको पीडा पहिलेदेखि श्रुतिका रूपमा सुनाउँदै आइएको छ । वाल्मीकिलाई दशरथको मित्र मानिएको छ । उनैको आश्रममा लवकुश जन्मन्छन् अर्थात् वाल्मीकि नै ती प्रथम व्यक्ति हुन्, जसले रामकथा काव्यमा उतारेर थप प्रचार गरे ।

रामायण रचनाकाल

रामकथा निश्चित रूपमा वैदिककाल हाराहारीदेखि नै मौखिक रूपमा विकसित हुँदै आएको स्वतन्त्र कथा हो, जसलाई वाल्मीकिले सङ्कलन गरेर काव्यरूप दिए । आदिरामायण रचनाकलालाई लिएर विद्वान्‌हरूको मत फरकफरक छ । विद्वान् जी. गोरेसियोँ यसलाई ११०० इ.पू. तिर लेखिएको मान्छन् भने जे.टी. ह्विलर १२०० इ.पू.मा लेखिएको मान्छन् । तर, माथि विवेचना गरिएअनुसार हेर्दा भने आदिरामायण जय संहितापछि र पुराण तथा बुद्धकाल अगाडिको रचना देखिन आउँछ । पारसीहरूको ऐतिहासिक धर्मग्रन्थ सातिरमा  व्यासको जरथ्रुस्त्रसँग वार्तालाप भएको उल्लेख पाइन्छ ।

अकनु बिरमने व्यास्नाम अज हिंद आयद ! दाना कि अक्ल चुना नेरस्त

अर्थात्, व्यास नामका एक ब्राह्मण हिन्दबाट आएका छन् । यिनी असाध्यै चतुर छन्, यिनी समान बुद्धिमान अरू कोही छैनन् ।

जरथ्रुस्त्रलाई व्यासकै समकक्षी मानिन्छ । यिनले इ.पू. ८३६ तिर वेद समकक्षी जेन्द अवेस्ता सङ्कलन गरेको मानिन्छ । सातिर जेन्द अवेस्तापछिको ग्रन्थ हो । व्यासले पनि वेदलाई ४ भागमा विभाजन गरेको मानिन्छ । भारतीय इतिहासले व्यासलाई ८०० इ.पू.तिरको मानेको छ । यस आधारमा वाल्मीकिलाई व्यासको समकक्षी या पछिको मान्ने हो भने पनि वाल्मीकि ८०० देखि ७०० इ.पू.का देखिन आउँछन् । यसैले आदिरामायण लेखनकाल ८०० देखि ७०० इ.पू.लाई मान्दा उपयुक्त देखिन्छ ।

अवतारवादबाट निरपेक्ष आदिरामायण, रामकथा र वाल्मीकिको यश, चर्चा र प्रभाव यति धेरै थियो कि अवतारवादी वैष्णवमागी, बौद्धमार्गी तथा जैनमार्गीहरू पनि अछुतो रहन सकेनन् । वैष्णवमागीहरूले उत्तरकाण्डमा रामलाई नारायण अवतारको खोल ओढाए भने बौद्ध धर्ममा रामलाई बोधिसत्त्व र जैन धर्ममा आठौँ बलदेवको रूपमा रामलाई अवतरित गरियो । राम वास्तवमा कुनै अवतार थिएनन् तर वैष्णवमार्गी र बौद्धमार्गीहरूको आपसी प्रतिस्पर्धा र एकअर्काको धर्म प्रसारण रोकी आफ्नो मार्गको यश उठाउने क्रममा रामलाई अवतारको रूपमा चित्रण गरे । यस प्रतिस्पर्धामा अन्ततः वैष्णवमार्गीहरूले छैटौँ या सातौँ शताब्दीमा बुद्धलाई नै दशौँ अवतार मानेर बुद्ध र बौद्ध मतलाई अनुयायी बनाउने चेष्टा भयो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…