Khabarpato logo

         

बहस

राजनीति, मदिरा र आगो

डा. नवीनबन्धु पहाडी

डा. नवीनबन्धु पहाडी

राजनीति, मदिरा र आगो

हरिवंश राय बच्चनको एउटा कविता म केही दशकदेखि हरेक नेपाली  संगोष्ठीहरूमा व्यक्त, अव्यक्त अनुभूति गरिरहेको छु ।

यम आएका साकी बनकर साथ लिए काली हाला ।
पी न होसमे फिर आएगा सुरा विसुध यह मतवाला ।
यह अन्तिम बेहोसी अन्तिम साकी अन्तिम प्याला ।।
पथिक प्यार से पिना इसको फिर नमिलेगा मधुशाला ।।
(मधुशाला)

एक मदिराबाज, जसले हरेक सभा, समारोह र गोष्ठी, संगोष्ठीहरूको अन्तिम लक्ष्य ऊ बिचार बाहक भएर आएको सोच्दैन, मधुशाला आएको सम्झन्छ । आयोजनको अन्तिम लक्ष्य नै सुरापान हो । उच्च ओहोदाधारीदेखि भारबाहकसम्म नै मदिराको तालमा बैठकहरू आयोजना गरिन्छ र निर्णयहरू त्यसैको उन्मादमा हुने गर्छन् । त्यसैले हिजोआज विशेष महत्त्वशाली बैठकहरू तारे होटलका नीला बल्बहरूका झिलिमिलीसँगै आरम्भ हुन्छन् र अन्त्य पनि । न मङ्गलाचरण, न त पूर्णता स्तुति । सधँै आलोकाँचो, सधैँ कचपल्टिलो । 

हाम्रो राजनीतिक समयरेखा पनि एक मदिराबाजले सोचेजस्तै र हरिवंश राय बच्चनको काव्याभिप्राय जस्तै छ । पाए अहिल्यै सिनित्त पिइदिऊँ सत्ताको अमृत, भोलि के थाहा, पाइन्छ कि पाइँदैन ? के थाहा, भोलि उज्यालो हुन्छ कि हुँदैन ? के थाहा अर्को दिन आफ्नालागि उदाउँछ कि उदाउँदैन ? त्यसैले पनि हाम्रो राजनीति सधैँ मदिरामय, सधैँ गन्धा र सधँै निकासबिहीन लागिरहेको छ । 

सर अर्नेस्ट बेमले भनेका थिए कि विपत्ति खोज्ने, सर्वत्र त्यसलाई पाउने, समस्याहरूको गलत उपचार गर्ने र अनुपयुक्त चिकित्सकीय उपचार गर्ने कलाकारिता नै राजनीति हो । नेपालको राजनीतिलाई हामीले पर्यवेक्षणीय नजर लगाउने हो भने यो अनौठो परिदृश्य आँखै अगाडि नाचिरहेको छ । भीमसेन थापाकालीन समयदेखि परहस्त नियन्त्रकको मदारी नाच पढिरहेका र हेरिरहेका हामी नेपालीको नियति आज ओलीराजसम्म यथावत् छ ।

असमयमा र अकारण भीमसेन थापाले मृत्युवरण गरे वा गराइयो । इतिहासले भनेका अनेक तर्कहरूको अझै प्रमाणीकरण हुन बाँकी छ । त्यसपछिका शक्तिका उदय र अस्तका लागि अज्ञात आशीर्वादका उतारचढावहरू चलिरहे । रााणाहरू अङ्ग्रेजको बलियो आडका कारण टिकिरहे । उता, राणपूर्व उनीहरूका प्रतिद्वन्द्वी फ्रान्सेली धुरीसँग आड खोजेकै कारण भीमसेन थापालाई दुर्नियति गराए । 
   
जर्ज अर्बेलले भनेका थिए कि राजनीति गर्नेहरूलाई असत्य सत्य लाग्न थाल्छ, उसले हत्या स्वाभाविक र सम्मानित देख्न थाल्छ । त्यस्तै देखे पश्चिमाहरूले र गरे भीमसेन थापाको हत्या । उसो त राणाहरूले गरेका सुब्बा कृष्णलाल अधिकारीदेखि  दशरथ, गङ्गालाल, धर्मभक्त, शुक्रराजलगायत अनेक नागरिकहरूको कत्लेआम मात्र नभएर प्रजातन्त्रकालमा मित्रमणि आचार्यसम्मका हिंसामा सबैले सम्मानित काम भनेर ठम्याएकै छन् । 

पञ्चायतकालमा दुर्गानन्द झादेखि राम, लक्ष्मणसम्म र रत्न वान्तवादेखि सरोज कोइरालासम्मका अस्वाभाविक मृत्यु शृङ्खलासम्ममा जसजसको सहभागिता छ, उसउसले आफ्नो गलत सिद्धान्तलाई सही, असत्य यात्रालाई सत्य र हिंसाजन्य परिघटनालाई सम्मान्य दर्जा दिइरहे, दिइरहे । 

२०४६ सालको आन्दोलन र त्यसका पक्ष, विपक्षमा तर्क र बाहुबल प्रयोग भएका थिए । व्यक्तिहत्याका शृङ्खला पनि उस्तै उत्तिकै सल्बलाए । भन्नेहरूले त भनेकै थिए कि पञ्चायतको अन्त्य सबै समस्याहरूको समाधान हो तर राज्यले गर्ने हत्या र संगठित संस्थाहरूले (एक किसिमको राज्य) गर्ने हत्या उस्तै रहिरहे । 

प्रजातन्त्रका सेना, प्रहरीले बोक्ने गोलीले पनि नागरिकको ज्यान उस्तै गरेर लिँदो रहेछ, जसरी राणा वा पञ्चायतका प्रहरीले बोक्ने गोलीले ज्यान लिन सक्थ्यो । कृष्ण सेन इच्छुकको ज्यान सुरक्षा गर्नुपर्ने प्रजातान्त्रिक राज्यले जसरी ज्यान लियो र भोलि राज्य चलाउँछु भन्नेहरूले (आज चलाइरहेका छन् र चलाउन रुवाबासी गरिरहेका छन्) मुक्तिनाथ अधिकारी तथा पं. नारायणप्रसाद पोख्रेलहरूको अकारण ज्यान लिएर हत्याको उत्सव उस्तै मनाएका थिए त । 

अनि जर्ज अर्बेलले भनेको सत्य यहाँनेर पुष्टि भएकै छ ।  राजनीतिमा केही मूर्खहरूले अर्को मूर्खलाई सधैँ एक्ल्याइरहन सक्छन् र अर्को प्रतिभाशाली छ भने त्यसलाई खेदो खनिरहन्छ भन्ने पनि कतै पढेको थिएँ । यहाँनेर मूर्खहरूको संयोजनको जोड घटाउको छताछुल्ल पटाक्षेपलाई भनिरहनै पर्दैन । कहिले महन्थहरूको उत्सर्जन पनि प्रिय हुन्छ र कहिले असल विचार पनि घिन लाग्छ महोदयहरूलाई । 
 
देशमा मृत्यु आतङ्कको त्रासदीय वितण्डा चलिरहँदा हामीले सत्तामा निदाइरहेका निरोहरूलाई देख्यौँ, सत्तारुढ हुन खुट्टा उचालिरहेका केही थान निरोहरूका बहुवचन पनि देख्यौँ । कथाले भन्छ कि रोम शहरमा मूर्ख राजा निरो थियो र उसले प्राचीन शहर जलिरहेको कथा सुनेको थियो । पूरै शहर जलिरहेको दारुण दृश्य कथाकारले उसलाई सुनाएको थियो । कथाले उसलाई यति प्रभाव पारेको थियो कि ऊ त्यो कहालीलाग्दो दृश्य हेर्न आतुर भयो । 

मूर्खतापूर्ण उत्साहको चरम उन्मादमा पुगेपछि उसले पूरै शहर आगो लगाउने आदेश गरेको थियो र आगाका लप्काहरू उसलाई फूल जस्ता लागेका थिए । आमनागरिकका चित्कारहरू उसलाई सङ्गीतमय भएका थिए । त्यसैको आनन्दमा निरोले आफ्नो मन परेको बाँसुरी झिकेर बजाउन थाल्यो र एक्लै कौसीमा निस्केर नाच्न थाल्यो । 

जतिबेला नागरिकहरू दारुण चित्कार गरेर छट्पटाइरहेका थिए, त्यतिबेला निरो सङ्गीतमा निमग्न थियो । यस्तो लाग्थ्यो कि उसमा एक किसिमको सत्ता उन्मादको उत्सव थियो । शहर खरानी भइरहँदा ऊ पागलपनको पराकाष्ठामा थियो ।
 
कथाले भन्छ, निरोको अन्त्य कारुणिक थियो । आगो मुटु कमाउने सिरेटोका लागि वरदान हो तर त्यही आगो एकै पटक शरीर तताउन छालामै लगाउनु भनेको आत्महत्या हो । निरोलाई पनि अन्त्यमा त्यसै भयो । जब आगो शहर निलेर खरानी बनाउँदै  दरबारमा प्रवेश गरेको थियो । निरो झसङ्ग ब्युँझिएर त्यही आगोमा हाम्फालेर आत्महत्या गरेको थियो ।  

अब नेपाली राजनीतिमा त्यो परिघटना बिम्बपरक नै मानौँ कि अहिले देशमा आगो लागेको छ । देशभर मृत्युको डढेलो लागिरहेको छ । रोमका जनता सरह नेपाली आमनागरिक मृत्युरूपी डढेलोमा परेर चित्कार गरिरहेका छन् । निरो सिंहदरबारमा बसेर सत्ताको बाँसुरी धून फेरेर बजाइरहेको छ । निरोका बहुवचनहरू सत्ताको तर मार्न खुट्टा उचालेर विदेशी इसारामा नाचिरहेका छन् । आगो जलिरहेको छ । थाहा छैन, यो ज्वालामा कुनकुन निरोहरूले आत्महत्या गरेका हुनेछन् ।

अन्त्यमा, जीवनको अन्तिम समाधि मृत्यु र आगो नै हो । आगो अहिलेका सबै सामाजिक, राजनीतिक फेहरिस्तहरू नयाँ आगोको धुवाँ पुतपुताउनकै लागि भइरहेको सम्झिरहेको छु । हिन्दी कवि दुष्यन्त कुमारको एक कविताः

सिर्फ हंगमा खडा करना मेरा मक्सद नहीं
सारे कोसिस है कि ये सुरत बदलनी चाहिए
मेरे सिनेमे नहीं तो तेरे सिनेमे सही
हो कहीं भी आग आग जलनी चाहिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…