Khabarpato logo

         

बहस

मदन भण्डारीको गाउँ पुग्दा

रश्मि असफल

रश्मि असफल

मदन भण्डारीको गाउँ पुग्दा

यात्रा गर्न मनपराउने मान्छे म । जागिर र परिवारको उल्झनले गर्दा लामो समयदेखि टाढाको यात्रामा निस्कन पाएकी थिइनँ । गत वर्षदेखि कोरोनाको कहरले गर्दा अब देश नै नडुली मर्ने भइयो भनेर कताकता चिमोटिरहेको थियो । 

२०७७ सालको अन्तिम महिना चैतमा नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङका २ वटा स्थानीय तहमा अभिमुखीकरणका लागि जाने अवसर मिल्यो । रातदिन कार्यालयको नियमित कामले थकित दिमागलाई पुनर्ताजगी पनि हुन्छ, भ्रमण पनि हुन्छ, जति गाह्रो भए पनि जान्छु भन्ने मनमा लाग्यो । सहकर्मी साथी राधा रिमाल अधिकारी पनि जाने हुनुभयो ।

ताप्लेजुङमा कामका लागि खटिएर गए पनि मलाई यात्रा मनपर्ने भएकाले मैले कामको बोझलाई दिमागमा आउन दिएकी थिइनँ । १४ गते मेरिङ्देन र १६ गते मैवाखोला गाउँपालिकामा कार्यक्रम थियो । १५ गतेको बाटोको म्याद थियो । त्यो समय पाथिभरा मातालाई दिएकी थिएँ । पाथिभराबाट फर्कंदा ढिलो भएर मैवाखोला गाउँपालिका जाने गाडी उम्किएर साह्रै दुःख पाइयो ।

टिकट काउन्टरले मैवाखोलाको हाइड्रो पावर जाने एउटा गाडीको बन्दोबस्त गरिदियो र हामी मैवाखोला वडा- १ सम्म पुगेर एउटा घरमा बास बस्यौँ । भोलिपल्ट ६ बजे धरान जाने गाडी पाइँदोरहेछ । हामी हतारहतार उठेर सोही गाडीमा गाउँपालिका रहेको स्थान ढुङ्गेसाँघु जानलाई चढ्यौँ ।

त्यति धेरै भीड त होइन तर हामी दुवै जना सँगैको सिटमा बस्न पाएका थिएनौँ । बसमा चढेका प्रायः सबै मातेको झैँ लागेको थियो । सबैजसोको मुखबाट मदिराको गन्ध आइरहेको थियो ।  मसँगै बसेको सिटमा एउटा १५-१६ वर्षको भाइ थियो । उसले ‘दिदी, कहाँसम्म जाने हो ?’ भन्यो । मैले गाउँपालिका जाने भनेँ ।

ऊः  कहाँबाट आउनुभएको ?

मः झापाबाट ।

एकछिनमा उसले म पहिलोचोटि त्यो ठाउँमा पुागेको पत्ता लगाइहाल्यो । पूर्वको मान्छेको एउटा राम्रो विशेषता नै हो- भेटेपछि बोलिहाल्ने, बोलेपछि चिनिहाल्ने । 

उसको मुखबाट मदिराको मन नपर्ने गन्ध आइरहेको थियो तर पनि नयाँ ठाउँ, बल्लबल्ल गन्तव्यमा पुगिने गाडी भेटेको, गन्तव्यमा ओर्लन नसकिएला कि ठाउँ नचिनेर भन्ने लाग्यो र बोलिरहेँ । 

उसले ‘दिदी पहिलोचोटि आउनुभएको रहेछ, राष्ट्रपतिको घर पनि जानु ल’ भन्यो । म अलमल्ल परेँ- ‘राष्ट्रपतिको घर ? को राष्ट्रपति ?’
 
उसले भन्यो, ‘विद्या भण्डारीको घर, यहीँ माथि हो ।’

उसले बसबाटै अलैँचीघारीतिर देखाउँदै भन्यो । ‘अनि योगेश भट्टराई पनि घर आएका छन् । उनलाई पनि भेट्नुहुन्छ होला नि ! उनको घर पनि जानुहुन्छ दिदी ? गाउँपालिका भन्दा अलिक तल छ ।’

भाइको कुरा घत लागिराखेको थियो । मैले अब उसकै बारेमा गफ गर्न थालेँ । गाउँमा काम गर्ने मान्छे त्यति धेरै नभएकाले काम र पैसाको खाँचो कसैलाई नभएको उसले बतायो । ४-५ दिन ताप्लेजुङको यात्रा गर्दा मलाई लाग्यो- ताप्लेजुङको हरेक ठाउँका हरेक जमिन अझ भनौँ एकएक चपरी उत्पादनमूलक छन् । कुनै जग्गा खाली छैन । जुनै पाखा पनि हराभरा देखिन्थे । सुख्खा ठाउँमा अम्रिसो, ओसिलो ठाउँमा अलैँची अनि सबै मानिस धनी थिए- मनका पनि, धनका पनि ।

झरना

झरना

बिहान ७ बजे ढुङ्गेसाँघुमा ओर्लिएपछि मलाई पानी पिउन मन लाग्यो, राधा म्याडमलाई चिया । बास बस्ने फ्रेस हुने ठाउँमा गएर व्याग बिसाउन मन पनि लागेको थियो । पहिले चिया, पानी पिऔँ भनेर नजिकैको होटलमा गयौँ र चिया मगायौँ । 

हामी बसेको एकछिनमा विवाहित २०-२२ वर्षका जोडी आएर ‘बहिनी, खोइ तातोतातो रक्सी देऊ त’ भन्दै मागे । होटलकी बहिनीले एक बोतल रक्सी र २ वटा गिलास दिइन् । केटोले २ वटा गिलासमा बराबर भाग लगायो र दुवैले २ घुट्कीमै स्वाट्ट पारे अनि ३०० रुपैयाा तिरेर गए । 

राधा म्याडम र म एकअर्काको मुख हेराहेर गर्यौ र मुस्कुरायौँ । हामी ३०० रुपैयाँको एउटा जुस किनेर खान ३ पटक सोच्छाँै । अघि बसमा चढेको भाइलाई सम्झिएँ । म्याडमको रातो मरिचवाला चिया आयो । मैले ‘म्याडम, उस्तैउस्तै छ त’ भनेर जिस्क्याएँ । 

हामीलाई त्यहाँ बस्न मन लागेन । उपयुक्त माछा, मासु नपाक्ने होटल कहाँ छ भनी खोजी गरेको- ‘माछा, मासु नपाक्ने होटल त कतै पाइन्नँ तर नजिकै एउटा निरौलाको होटल छ’ भन्दै स्थानीयले देखाइदिए । हामी निरौलाको होटलमा बस्ने भयौँ ।

होटलमा एक जना चिनेचिनेजस्तो लाग्ने मंगोलियन अनुहारकी महिला थिइन् । हामीले सोध्यौँ,  ‘निरौलाको होटल कुन हो ?’

उनले ‘यही हो’ भनेपछि हामीले फेरि मुखामुख गर्‍यौँ । 

‘खाना खान पाइन्छ ? बस्ने ठाउँ छ ?’

‘छ’ भनेपछि हामीले व्याग बिसायौँ र भान्छापट्टि गयौँ । २ जना महिला भान्छामा थिए । उनीहरूलाई देख्दाचाहिँ निरौलाकै होटल रहेछ भनेर विश्वस्त भयौँ । एक जना हँसिली संगत नगर्दै मिजासिली लाग्नेसँग कुरा गर्‍यौँ । उहाँ त वडा- ३ की वडा सचिव पार्वता प्रसाईं ओडारी पो हुनुहुँदो रहेछ । त्यो होटलमा प्रायः कर्मचारीहरूले खाना खाने र धेरै जना त्यहीँ बस्नुहुँदो रहेछ । हामीलाई खुसी लाग्यो र एकछिन चियापानी खाएर नुवाइधुवाइ गरेर फ्रेस भयौँ । 

अघि होटलमा पस्नेबित्तिकै देखेको चिनेचिनेजस्तो लागेकी महिला, जसलाई देखेर हामी गलत ठाउँमा त आएनौँ ? भनेर ‘निरौलाको होटल कुन हो ?’ भनी सोधेका थियौँ, उहाँ त इलामको मानवअधिकार मञ्चमा काम गर्ने गायत्री म्याडम पो हुनुहुँदोरहेछ, जोसँग म इलाममा बस्दा झण्डै १८ महिना केके कार्यक्रम, बैठक, तालिम सँगै सञ्चालन गरेका थियौँ । उहाँ न्यायिक समितिलाई तालिम दिन आउनुभएको रहेछ । एकछिन रमाइलो भयो । यति टाढाको गाउँमा आउँदा पनि कति अपत्यारिलो संयोग, आत्मीयता पाएको ? म छक्क पर्दै थिएँ । 

निर्माणाधीन मदन भण्डारी रंगशाला

निर्माणाधीन मदन भण्डारी रंगशाला

कार्यक्रम त एकातिर छँदै थियो त्यहाँको विशेषता र घुम्न लायक ठाउँहरू जान्न मन लाग्यो । वडा सचिवसँग केही बेर कुरा गर्‍यौँ । त्यहाँका घुम्ने ३ वटा विशेष ठाउँ रहेछन्- एउटा रमिते ढुङ्गो, अर्को झरना र मदन भण्डारीको जन्मथलो । 

अघि गाडीमा भेट भएको भाइले भनेको राष्ट्रपतिको घर त मदन भण्डारीको जन्मघर पो रहेछ । मलाई पार्वता म्याडमले फोटो पनि देखाउनुभयो । हेर्दै जाऊँजाऊँ लाग्ने रमिते ढुङ्गो र झरना । तर, हामीसंग समय थिएन । जुन कामका लागि हामी पुगेका थियौँ, त्यो काम पहिलो प्रथमिकतामा थियो । त्यो कार्यक्रम सकेर घुम्न जाँदा कि रमिते जान सकिन्थ्यो कि वा मदन भण्डारीको घर । मदन भण्डारीको घरको फोटो गायत्री म्याडमले देखाएपछि राधा म्याडमलाई त्यति रुचि लागेन । हामीले समयभन्दा निकै ढिलो कार्यक्रम सुरु गर्‍यौँ र ३ बजेसम्ममा सक्यौँ ।

बिहान उठेर हिँडेको । ‘घरबाट निस्कनुअघि घरभेटीलाई हामीले केही छुटाएका रहेछौँ भने सचिवज्यूलाई पठाइदिनु ल’ भनेका थियौँ । वडा- १ का सचिव सुवर्ण ढकाल कार्यक्रममा आएपछि ‘म्याडम, तपाईंले के सामान छाडेर आउनुभयो ? महत्त्वपूर्ण सामान छाड्नुभएको रहेछ’ भनेर रहस्यमय तरिकाले सोध्नुभयो । 

मैले यसो सोचेँ, केही छाडेको जस्तो लागेको थिएन । उहाँले फेरि सम्झाउँदै ‘व्याग चेक गर्नु अनि के छुट्यो भन्नु’ भन्नुभयो । मैले अझै सम्झन सकिनँ । राधा म्याडमलाई सोधेँ, उहाँले पनि ‘केही छुटेको याद भएन’ भन्नुभयो । फेरि सुवर्ण सरले एक पटक पैसा गन्न भन्नुभयो । कार्यक्रम संचालन गर्न लगेको पैसा कति खर्च भयो, कति बाँकी छ, त्यो त हिसाब नगरी थाहा हुँदैन थियो । ‘भरे हिसाब गर्छौं अनि थाहा हुन्छ’ भन्यौँ । 

पैसाजति सबै राधा म्याडमको व्यागमा थियो र खर्च पनि उहाँले नै गरिरहनुभएको थियो । उहाँको व्याग हेर्‍यौँ, पैसा त थियो तर कति छ भन्ने नगनीकन थहा थिएन । मलाई खुल्दुली भयो । सुवर्ण सरलाई फेरि सोधेँ, ‘पैसा नै भेट्नुभएको हो सर ?’ 

उहाँले ‘२१ हजार १०० रुपैयाँ खाटमा थियो । त्यो घरमा अन्य मान्छेहरू पनि आइरहन्छन् । अरूकै हो कि तपाईंहरूकै हो, थाहा भएन । तपाईंहरूकै हो भने दिन्छु नत्र फिर्ता लैजान्छु’ भन्नुभयो ।

हामीलाई झनै डर पनि भयो । त्यो घर सम्झियौँ । अपरिपक्व ढोका सम्झियौँ । साँच्चै कोही आएका पो थिए कि भन्ने डर पनि भयो । फेरि, व्यागबाट अन्य सामान निकाल्दा पैसा निकालेर पछि हतारमा व्यागमा थन्क्याउन बिर्सेको पनि हुन सक्छ भन्ने ठान्यौँ । ‘ठिकै छ, ठूलो रकम रहेछ । यदि हाम्रै हो भने गन्दा पत्ता लाग्छ, कार्यक्रम सकेपछि हेरौँला’ भनी सल्लाह गर्‍यौँ ।

त्यसपछि सुवर्ण सरले ‘यो तपाईंहरूकै पैसा हो, राख्नुस्, भरे हिसाब गर्नुहोस्’ भनेर दिनुभयो । नभन्दै पैसा हाम्रै रहेछ । सुवर्ण सर र घरभेटीलाई धेरैधेरै धन्यवाद दियौँ ।

कार्यक्रम सकिएपछि हामीले कहाँ घुम्न जाने भनेर सल्लाह गर्‍यौँ । मलाई मदन भण्डारीको घर हेर्न जान मन थियो तर राधा म्याडमलाई रमिते ढुङ्गो । गाउँपालिकाका स्वास्थ्य संयोजकलगायत अन्य कर्मचारीहरू पनि हामीसँगै घुम्न जाने सल्लाह हुँदै थियो । सबैलाई निस्कन अनुकूल नभएर हामीसँग वडा २ र ३ का सचिव नम्रता र पार्वता म्याडम रमिते ढुङ्गो हेर्न जान तयार हुनुभयो । मदन भण्डारीको घर जाने चाहना तुहियो ।

पहाडमा जन्मिए पनि धेरै वर्षदेखि पहाड नहिँडेकी म, फेरि अघिल्लो दिन पाथिभराको उकालो चढेको, पाइला सार्न सकेकी थिइनँ । अलिकति हिँडेपछि श्वास बढ्न थालिहाल्थ्यो । पार्वता म्याडम ‘मान्छे खेद्ने अघि लागेर नै हो’ भनेर अगाडि अगाडि कुद्दै हुनुहन्थ्यो, हामी पछाडि पछाडि उहाँलाई पछ्याउँदै थियौँ । 

ढुङ्गेसाँघुको अलिकति माथि ठूलो रंगशाला निर्माण हुँदै रहेछ । निर्माणाधीन मदन भण्डारी रंगशालामा केही फोटो खिच्यौँ । छेउमा ढकमक्क लालीगुराँस फुलिरहेको रहेछ । लालीगुराँससँग पनि केही थान फोटो खिचेर केही टिकटक बनाएर फेरि उकालो लाग्यौँ । बाटाभरि रमाइला गफ गर्दै, हाँस्दै, रमाउँदै टिकटक बनाउँदै । 

बिहान मात्र पहिलोचोटि देखेका र भेटेका म्याडमहरू वर्षौंदेखिको चिनाजानी भएको साथीँंग भेट भएको जस्तो अनुभव भइरहेको थियो । कसैकसैसँग त कति छिटो मन मिलेको ! आफू जस्तै हितैषी भेटेर हामी पनि दंग थियौँ, उहाँहरू पनि दंग हुनुहुन्थ्यो ।

रमिते ढुङ्गो साह्रै डरलाग्दो, अनौठो र रमाइलो रहेछ । ढुङ्गासँग निकै फोटो खिच्यौँ । ढुङ्गाबाट पूर्वतिर तल हेर्दा साह्रै डरलाग्दो देखिन्थ्यो । नम्रता म्याडम पनि सो दिन पार्वता म्याडमसँगै बस्ने हुनाले हामीलाई साह्रै हतार पनि थिएन तर रात पर्न लागिसकेको थियो । हामीलाई त्यहाँ भएको मनोरम दृश्य देखाउन पार्वता म्याडमलाई निकै इच्छा थियो ।

रमिते ढुङ्गो

रमिते ढुङ्गो

त्यहाँबाट परको एउटा भित्तोमा देखाउँदै ‘त्यहाँनेर एउटा झर्ना छ । हाम्रो वडाले केही बजेट छुट्याएर पर्यटन प्रवद्र्धन गर्न लागेको छ, जाऔँ’ भन्नुभयो । हामी त घुम्न आएका, भोलि बिहानै फर्कनु छ, आजको दिन नै हो । जति सक्छौँ, उति भुलौँ भइरहेको थियो । 

सबै थकान भुलेर गयाँै झर्ना हेर्न । चैत मासको झर्ना अलिक दुब्लाएको थियो र पनि साह्रै आनन्द आयो प्रकृतिमा हराउन । साँझ पर्न लागिसकेको थियो । गाडीको टिकट गरेका थिएनौँ । भोलिपल्ट बिहान ७ बजे गाडी पाइन्थ्यो धरान जाने । हामीलाई अलि हतार भयो र हिँड्यौँ । 

फर्कंदा बाटोमा पार्वता र नम्रता म्याडमसँग सल्लाह गरेँ- ‘भोलि ७ बजे गाडी जानु अगावै ५ बजे उठेर मर्निङ वाक गर्दै मदन भण्डारीको घर जान भ्याइन्छ भने जाऔँ है’ ।

सल्लाह मिल्यो । नम्रता म्याडम पनि बिहानै हामीसँगै गएर उतैबाट वडामा जाने हुनुभयो । हामी होटल पुग्दा रात परिसकेको थियो । अँध्यारोमा मोबाइलको टर्च बाल्दै हामी पुग्यौँ । ढुङ्गे साँघु सुनसान थियो । पार्वता म्याडमले फोनबाटै भोलिपल्टको टिकट कन्फर्म गरिदिनुभयो । 

हामी बसेको होटलमा सबै कर्मचारीहरू भएकाले खानापछि पनि निकैबेर गफ गरेर हाँसीमजाक गरेर आगो तापेर बस्यौँ । मैले मौकाको फाइदा उठाउँदै गोडामा तोरीको तेल लगाएर निकैबेर अँगेनाको छेउमा बसेँ । आनन्द भयो ।

भोलिपल्ट बिहान ४ः३० मा पार्वता म्याडमले बोलाउनुभयो । म त राम्रैसँग निदाएछु । राती पानी परेको रहेछ, थाहा पनि पाइनँ । राधा म्याडमले ‘म त जान्नँ, तपाईंहरू पुगेर आउनुहोस्’ भन्नुभयो । नम्रता म्याडमले पनि ‘मलाई त उठ्न मन छैन’ भन्नुभयो ।

शरीर त मेरो पनि गलेको थियो । सुत्न मन लागिराखेको थियो । तन गले पनि मन भने मदन भण्डारीको घर हेर्न पुगेको थियो । तर, फेरि पनि मेरो रहर चिमोटिएजस्तो लाग्यो । फेरि यो ठाउँमा आइन्छ कि आइँदैन भन्ने लाग्यो । म तयार त भएकी थिइनँ तर पनि ‘म त तयार भएँ है म्याडम’ भनेर पार्वता म्याडमलाई सुनाएँ । त्यसपछि ‘ल जाऔँ न त’ भनेर नम्रता म्याडमलाई उठाउनुभयो । 

झिसमिसेमा हामी लाग्यौँ । पानी परेर बाटोको धुलो मात्र मरेको थियो । मदन भण्डारीको घरसम्म हिँडेर जाने र फर्कंदा अघिल्लो दिन आएको गाडीमा फर्कने सल्लाह थियो । नम्रता म्याडमले ‘पानी परेको दिन त गाडी आउँदैन त’ भन्नुभयो । यतिको पानीमा नि आउँदैन र धुलो मात्रै मरेको छ भनेर अलि आशा गरेँ । उहाँले अलिक निराश बनाइदिनुभयो । नभन्दै गाडी नआउने कुराको कन्फर्म सुवर्ण सरलाई फोन गरेपछि भयो र हामीले पाइला अझै लम्कायौँ ।

१ घण्टाको राम्रै हिँडाइपछि बल्ल पुग्यौँ गाडी लाग्ने बाटोबाट १० मिनेटजति माथि बाटोको पत्कर र अलैँचीको झाडी पन्छाउँदै । खरले छाएको पहाडी पुरानो घर अनि ढिकीको राम्रोसँग संरक्षण गरिएको रहेछ । घर वरिपरि पर्खाल र धाराहरू बनाएर पर्यटकलाई आकर्षण गर्ने कामको सुरुवात भएको रहेछ । मैवाखोला गाउँपालिका- २ मा जीर्ण अवस्थामा रहेको मदन भण्डारीको घरलाई संरक्षण गरेकामा खुसी पनि लाग्यो । 

हामी सानै थियौँ । हाम्रो गाउँ (धादिङ)मा गाइनेहरूले सारङ्गी बजाउँदै गाएको याद छ-

२०५० साल जेठ ३ गते हो 
दासढुङ्गा भन्ने ठाउँमा जीप खसेको ।

मदन भण्डारीको जन्मघर

मदन भण्डारीको जन्मघर

हाम्रो कलिलो दिमागमा सबै कुरा त कहाँ पस्थे र तर गीतका लय र शब्द अझै ताजा रहेछन् । सायद त्यही गीतबाट मदन भण्डारीलाई चिनेकी थिएँ । राजनीति नबुझेको मान्छे म, राजनीतिक दलहरू धेरै रहेछन् भनेर चुनावमा मात्रै थाहा पाएकी थिएँ । 

अहिले पनि तटस्थ नै छु । पेसाले पनि अनि वातावरणले पनि मलाई जहिले तटस्थ बनायो । कुनै पार्टीप्रति आग्रह र पूर्वाग्रह पनि नभएका कारण सबैलाई उत्तिकै महत्त्व दिन्छु । 

तत्कालीन समयका चर्चित र प्रिय नेता मदन भण्डारीले यो संसारबाट बिदा पाएको २८ वर्ष भए पनि उनी अझै अमर छन् र पुस्तौँसम्म अमर रहन्छन् जस्तो लाग्छ । त्यसैले पनि मलाई मैवाखोला पुगेपछि एक पटक उनँको जन्मघर हेर्न मन लाग्यो र पूरा पनि भयो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…