Khabarpato logo

         

बहस

जँड्याहा जुवाडे, देश र जनताको नियति

आकाश शर्मा

आकाश शर्मा

जँड्याहा जुवाडे, देश र जनताको नियति

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले सत्ता प्रतिस्थापनतर्फ संकेत गरेको छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मध्यमार्गी बाटोबाट आफ्ना विमतिहरूलाई सहमतिमा परिणत गरी वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अग्रसर देखिएका छन् । जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेस-माओवादी गठबन्धनलाई साथ दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । 

दलहरूले एकातिर प्रधानमन्त्री केपी ओलीका विरुद्ध केही दिनभित्रै अविश्वास प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका छन् भने अर्कोतिर लगत्तै संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने गरी संकल्प प्रस्ताव ल्याउने सहमति जुटाएका छन् । कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको सरकार भएका बेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले एमसीसी सम्झौतामा नेपालका तर्फबाट हस्ताक्षर गरेका थिए । पछि ओली नेतृत्वमा नेकपाको सरकार बनेपछि सोही पार्टीको एउटा खेमाले एमसीसीको विरोध गर्दै आएका कारण यो सम्झौता २ वर्षदेखि संसदमा दर्ता भएर रोकिइरहेको अवस्था छ । 

यस्तो अवस्थामा एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले समेत उक्त सम्झौता अनुमोदन गर्ने विषयमा हरियो बत्ती देखाएपछि त्यही विषयमा अड्किएको कांग्रेसको हलो अघि बढ्ने सम्भावना देखिएको छ । परन्तु, विकृत बनिसकेको नेपाली राजनीतिमा कतिबेला के हुने, कुन दलले कतिबेला कस्तो कदम चाल्लान् भन्ने कुरा यकिनका साथ कसैले भन्न सक्न्ने अवस्था छैन । 

जस्तोसुकै परिस्थितिमा र जोकोहीसँग पनि प्राचीन पूर्वीय राजनीतिक दर्शनमा आधारित 'साम, दाम, दण्ड, भेद'को नीति अपनाउन अभ्यस्त नेपाली राजनीतिकर्मीहरूले उक्त नीतिरूपी हतियारलाई आफ्नैका विरुद्ध प्रयोग गर्दै आएको कसैका सामु छिपेको छैन । 'अघिअघि सम्झौता, पछिपछि उलंघन' हुँदै आएका थुप्रै घटना सबैसामु छँदै छन् । यसर्थ कुनै दीर्घकालीन निकास दिने खालका अर्थपूर्ण विमर्शहरूको सुरुवात नहुन्जेल यस्ता प्रकारका कोठे बैठकहरूको खासै औचित्य रहँदैन । 

अझ यस्ता बैठकहरूको मूल उद्देश्य राष्ट्रिय स्वार्थमा केन्द्रित हुनु कम र निजी एवं गुटगत हित साँध्नका निमित्त लेनदेन, मोलमोलाइ हुने काम बढी हुने हुँदा त्यस्ता छलफलको निचोडमा पुग्न गरिने कारोबारको मूल्य अवश्य राष्ट्रले चुकाउनुपर्ने हुन्छ । त्यसैले त्यस्ता छलफल र वार्ताले कुनै अर्थपूर्ण निकास दिनुको सट्टा राष्ट्रमाथि अझ बोझ थप्ने हुनाले बुज्रुकहरूले त्यसतर्फ पनि आँखा घुमाउन आवश्यक छ ।

उता, कोरोना माहामारीले विश्वलाई नै धरासायी बनाउन लागेको छ । गत सालको सुरुदेखि फैलिन थालेको उक्त महामारी १ वर्षपछि केही मत्थर हुन लागेको देखिएको भए तापनि यस वर्षको सुरुवातदेखि नै अभूतपूर्व एवं अधिक भयावह रूपमा प्रस्तुत भइरहेको छ । छिमेकी मुलुक  भारतमा दैनिक ३ लाखमाथिको संख्यामा नयाँ कोरोना संक्रमित बिरामीहरू थपिँदै छन् । नेपालमा पनि सोमबारको ३ हजार ५५६ को नयाँ संक्रमितको तथ्यांकलाई झन्डै १ हजारले उछिन्दै मंगलबार ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । सँगै थप १८ जनाको ज्यान लिएको छ त्यो भाइरसले । 

केही दर्जन लाख खोप ल्याएर पहिलो चरणमा वितरण गरिएको भए पनि पुनः थप खोप ल्याउन नसक्दा पहिलो चरणको लगाएकाहरूले दोस्रो चरणको लगाउन पाएका छैनन् । विज्ञहरूले दोस्रो चरणको खोपको मात्रा पूरा नगरे पहिलो चरणको खोप लगाएको औचित्य समाप्त हुने बताइरहेका बेला भारतीय कम्पनीद्वारा निर्मित खोप आउने संभावना तत्काल नरहेको, चिनियाँ खोप के कति आउन सक्ने अन्योल रहेको र तेस्रो मुलुकको एवं महँगो खोप ल्याउने संभावना न्यून रहेको परिप्रेक्ष्यमा प्रधानमन्त्रीले कुनै बेला भनेझैँ '…बेसारपानी खानुस्, कोरोना चट्…' भन्ने 'गफ'मै भर पर्नुपर्ने देखिन्छ । 

अनुभवमा, (उमेरमा होइन) पाकाहरूले उदेकचाहिँ केमा मानेका छन् भने यत्रो भयंकर महामारीले पृथ्वीभरका मानिसहरूलाई सोत्तर बनाउन सक्ने गरी आक्रमण गरेका बखत त्यसको प्रतिकार गर्नमा एकजुट हुनुपर्नेमा इतिहासकै सबैभन्दा दुर्गन्धित राजनीतिक चालबाजीहरू यसैबीच देख्नुपरेको छ अरे । कसैले यस्तो सुनेकै उखान दोहोर्‍याउँछन् र भन्छन्, 'जुवा खेलिरहेको जँड्याहा जुवाडेलाई उसको पिताको देहान्त भएको खबर आउँदा उसले भन्यो- 'लाँदै गर है, म यो हात सकेर घाटमै आउँछु ।'

त्यही  जुवाडेले जस्तै नेपालका नेतृत्वदायी संस्था एवं व्यक्तिहरूले आफ्नो कर्तव्यको रत्तिभर हेक्का नराखी निकृष्ट कार्यमा मात्र लागिपरेको यथार्थ तीतो भए पनि यथार्थ नै हो ।

कोरोना अहिले सोचेजस्तो त्यति सजिलोसँग मानिसको साथ छाड्ने खालको भाइरस नहुन सक्ने कुराहरू विज्ञहरूका माझ चर्चामा रहेको सुनिन्छ । यसका विभिन्न प्रजाति हुन सक्ने, केही पहिचान भएका र केही अरू छुट्टै विशेषताका साथ समाजमा प्रवेश गर्न सक्ने सम्भावना कायमै छ । खोपहरू पनि परीक्षणकै क्रममा रहेका र भोलिका दिनमा यदि खोपले काम गर्न नसकेको वा विश्वव्यापी व्याधीका कारण पर्याप्त खोप नै प्राप्त हुन नसक्ने अवस्था आएमा नेपाली जनताको संरक्षण कसरी गर्ने भन्ने सोच्ने, छलफल गरी विकल्पसहितको तयारी गर्ने जिम्मा कसको हो ? ध्यान एकअर्काको जुँगा उखेल्न लगाउनुपर्ने थियो कि यत्रो असाधारण जैविक आक्रमणको सशक्त प्रतिकार गर्न ? 

अबको इतिहास उहिलेका राजा, महाराजाले आफ्नो इच्छामुताबिक लेख्न लगाएको जस्तो हुनेछैन । झुपडीमै बसेर दरबारको भान्सा कोठा छर्लङ्ग देखिने समय आइसकेको छ । त्यसैले बुझ्नेहरूले हालका आफ्ना कर्तुतहरू आउने इतिहासमा कसरी पोतिनेछन् भन्ने कुरा विचार गरेर कार्य गर्नुपर्ने हो । तर, जान्नेबुझ्ने फेरि पनि उही भन्छन्, 'जँड्याहा जुवाडेलाई इतिहासको के मतलब ?'

यहाँ यस्तो भएन, उस्तो भएन, छैन/पुगेन, फलानाले गरेन जस्ता नानाथरीका 'भएन' मात्र सुन्न पाइन्छ । आफू नाकमुनि मुखुण्डो लाएकाले सिधै देशको प्रधानमन्त्री केपी ओलीलाई धारे हात लाएर तथानाम गाली गरिराखेको हुन्छ । खै, पचिसकेर, थेत्तरो भएर हो कि किन हो, त्यसकै तुच्छ भाषण सुनेर खाइलाग्दाहरू मुस्काइरहेका देखिन्छन् । 

गालीगलौज सामाजिक संस्कार नै बनिसकेको अवस्था छ । गाली खानेहरू थेत्तरा वा ठेट भइसकेका महसुस हुन्छ । हाम्रा हजुरबाले भन्नुहुन्थ्यो, 'बाबू, सबैभन्दा खराब मान्छे भनेका थेत्तरा भइसकेका मानिसहरू हुन्, तिनीहरूसँग होस गर्नू ।' अर्कालाई अन्न बिक्री गर्दा उसको चित्त बुझ्दैन भनेर कहिल्यै आफूले भरेर नदिने 'आफैं भरेर लैजाऊ' भन्ने हाम्रा हजुरबाले भनेको कुरा हो रहेछ । 

एक पटक नाङ्गिएको मान्छे पटकपटक नाङ्गिन सक्दो रहेछ । अगाडि नै नाङ्गिएका नेपाली राजनीतिक मुखियाहरूले कसैको सुझाव, गाली आलोचना जस्ता कुराहरूलाई अन्देखा गर्न थालेको निकै भइसक्यो । ठेट बनिसकेको यस्तो नेतृत्वले यत्रो कोरोनाको जैविक महामारीलाई पनि हदैसम्म बेवास्ता गर्‍यो, गर्दै छ ।

थाम्न नसक्ने अवस्था आउन लागेको भेउ पाएर पर्सि १६ वैशाखदेखि उपत्यकामा समेत निषेधाज्ञा जारी भइसकेको  छ । पोहोर जस्तै निषेधाज्ञा लगाउने निर्णय त भयो तर यत्रो जनसंख्याको बसोबास रहेको उपत्यकालगायत मुलुकका विभिन्न भागमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू, रत्तिभर वित्तीय बचत नभएकाहरू, साना-ठूला लगानीका व्यवसायहरू, पहिलाको लकडाउनले थला परेका सम्पूर्ण नेपाली जनतालाई कसरी संरक्षण गर्दै कोरोनासँग लड्दै जाने भन्ने ठोस योजना बनाउन भ्याइएको पाइँदैन । 

घरझगडामा व्यस्त सरकार र अन्य दलहरू छिमेकीको त्यही झगडाको रमिता हेरेर मस्किँदै बसिरहेको परिप्रेक्ष्यमा देश र जनताको दु:ख-सुखको विषयमा कसले राख्ने चासो ? सबै 'उही ड्याङका मूला' भएपछि कोरोनालाई हराएर परिवर्तन, विकास र सम्मृद्धि ल्याउला भनेर कुनचाहिँ 'मूला'को आशा गर्ने नेपाली जनताले ?

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…