म्यान्मारको सेनाको दमनले सीमा नाघेको छ ।
गत फेब्रुअरीमा 'कू'मार्फत सत्ता हातमा लिएको सेनाको कृत्यपछि चर्किएको प्रदर्शनका क्रममा शनिबार मात्र सुरक्षाकर्मीको गोलीबाट ११५ जनाभन्दा बढी मारिएका जनाइएको छ । २० जनाभन्दा बढी बालबालिका मारिएको स्थानीय संचार माध्यमलाई उदृत गर्दै रोयटर्सले जनाएको छ । 'कू'पछि हालसम्म मारिनेको संख्या ४०० नाघेको छ ।
सशस्त्र फौज दिवसका क्रममा टेलिभिजनमार्फत सम्बोधन गर्दै सेना प्रमुख मीन ह्यालिङले देशमा निष्पक्ष चुनाव गर्ने प्रतिबद्धता दोहोर्याएका भए पनि चुनावको मितिबारे उनले केही उल्लेख नगरेको जनाइएको छ ।
सैन्य शासक जुन्ताले शनिबार राजधानी नेइपिडअमा ७६औँ सशस्त्र फौज दिवस मनाउँदै गर्दा प्रदर्शनकारीहरूले सैनिक तानाशाहीविरुद्धको दिवस भन्दै प्रदर्शन चर्काएका थिए । त्यसै क्रममा राजधानी नेइपिडअ, यांगुन र म्यान्डले शहरमा सुरक्षाकर्मीले दमन गरेको थियो ।
म्यान्डले सहरमा मात्र १३ वर्षीया किशोरीसहित कम्तीमा ४० जनाको ज्यान गएको समाचार छ । त्यस्तै, यांगुनमा २७ जना मारिएका छन् । अन्य शहरहरूबाट पनि थुप्रै हताहतीका खबर प्राप्त भएका छन् ।
सेनाले गत १ फेब्रुअरीमा सत्ता कब्जा गरेपछि आङ सान सु कीसहित एनएलडीका दर्जनौँ नेताहरूलाई पक्राउ गरिएको थियो भने लोकतन्त्र पक्षधरहरूले लगातार आन्दोलन गरिरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय दबाबस्वरूप अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्ध घोषणा गरिसकेका छन् । उनिहरूले सेनाले जननिर्वाचित सरकार बहाली गरी पक्राउ परेका लोकतन्त्र पक्षधर नेताहरूलाई बिनासर्त रिहा गर्न आग्रह गरेका छन् ।