रङभेदको विषयलाई गम्भीरताका साथ लिएका छौँ: बेलायती राजदरबार
बेलायती राजदरबारले राजकुमार ह्यारी तथा उनकी पत्नी मेगन मार्केलले दिएको अन्तर्वार्तामा उठाइएका जातीय प्रकृतिका प्रसंग निकै चिन्ताजनक भएको प्रतिक्रिया दिएको छ ।
महारानी एलिजाबेथको तर्फबाट एक वक्तव्य जारी गर्दै दरबारले ती विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ओप्रा विन्फ्रीसँगको अन्तर्वाताका क्रममा राजकुमार ह्यारी र उनकी पत्नीले यो विषय उठाएका थिए ।
राजदरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसंबारे भिन्नभिन्न सम्झना रहेको र तिनलाई आफ्नो तबरले सम्बोधन गर्ने उल्लेख गरेको बीबीसीले जनाएको छ ।
अन्तर्वार्ताका क्रममा मेगनले नाम नखुलाइएका शाही परिवारका एक सदस्यले उनीहरूको छोराको छाला कति कालो होला ? भनेर सोधेको बताएकी थिइन् । ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले आफूलाई उक्त कुरा सुनाएको मेगनको भनाइ थियो ।
ह्यारी र मेगनको छोराको छालाको रङका सम्बन्धमा भएको टिप्पणी अन्तर्वार्तामा उठेपछि दरबारमाथि प्रतिक्रियाका लागि दबाब परेको थियो ।
दरबारले ह्यारी र मेगन सधैँ दरबारका प्यारा सदस्य भएको जनाएको छ । साथै पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति दुःखद र चुनौतीपूर्ण भएको सुन्दा सम्पूर्ण परिवार दुःखी भएको पनि उल्लेख छ ।