नेपाली कांग्रेस ताप्लेजुङले गत असार पहिलो साता गएको बाढी पहिरोबाट प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ । यही आइतबारदेखि प्रभावित क्षेत्रमै पुगेर राहत सामग्री वितरण सुरु गरेको हो ।
गत जेठ ३२ देखि असारको पहिलो सातासम्म अविरल वर्षासँगै गएको बाढी पहिरोबाट प्रभावित सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाका घर परिवारलाई राहत वितरण जारी छ ।
सिदिङ्वा गाउँपालिकाको मेहेले र सुरुम्खिमका ९६ घर परिवारलाई राहत वितरण भइसकेकोे तरुण दलका ताप्लेजुङका कार्यवाहक सभापति पृथ्वी पालुङ्वाले जानकारी दिए । उनका अनुसार प्रभावित परिवारलाई नुन, तेल, चामलसहितका खाद्यान्नका सामग्री वितरण गरिएको छ । यस्तै, आज सिदिङ्वाकै बाँकी परिवारलाई राहत वितरण गरिने जनाइएको छ ।
यसअघि मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई सो पार्टीले राहत वितरण गरेको थियो । कांग्रेसले जनप्रतिनिधि, शुभेच्छुक संस्थालगायतबाट राहतका लागि सहयोग रकम सङ्कलन गरेको थियो । यस्तै, कोशी प्रदेशका प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले समेत राहत वितरणका लागि सहयोग गरेका छन् ।
बाढी पहिरोबाट प्रभावित परिवारको विवरण लिएर राहत वितरण गरिएको कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले बताए । यस जिल्लामा बाढी पहिरोबाट ४०० भन्दा बढी परिवार प्रभावित बनेका छन् ।