Khabarpato logo

         

फिचर/स्थानीय विकास

देवेन्द्र केसीः एटीसी अफिसरदेखि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसम्म

घनेन्द्र ओझा

घनेन्द्र ओझा

देवेन्द्र केसीः एटीसी अफिसरदेखि अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसम्म

आजभन्दा ५९ वर्षअघि ३ मंसिर २०१९ मा प्रकृतिकी रानी कास्कीको तत्कालीन भलाम गाउँ पञ्चायतको २ नम्बर वडामा पिता हर्कबहादुर खत्री र माता पद्मकुमारी खत्रीका साहिँला छोराका रूपमा जन्मिनुभएको हो देवेन्द्र केसी (देवु) । नेपाली ग्रामीण परिवेश लगभग सबैको जीवनशैली उस्तै नै हुने भइहाल्यो । फरक यति हो कि ठाउँअनुसार पारिवारिक आर्थिक अवस्थाले खानपान, लालनपालन, शिक्षादीक्षामा सहजता र असहजता भने हुन्छ, हुन्थ्यो । 

देवेन्द्र केसीको परिवार औधी सम्पन्न पनि होइन, निकै विपन्न पनि थिएन आर्थिक रूपमा । कृषि कर्म त छँदै थियो, उहाँका बुबा ब्रिटिस लाहुरे अर्थात् त्यसबेला बेलायती सेनामा जागिर खाने । परिवार अलिक ठूलै थियो, ४ जना छोरा र २ जना बाआमा । तर, आर्थिक हिसाबले उति भार भने थिएन ।

बुबा बेलायती सेनामा जागिर खाँदाखाँदै ६ वर्षमै जागिर छाड्नुभयो । पछि नेपाली सेनामा आएर पुनः जागिर खानुभयो । तर, त्यहाँ पनि उहाँ टिक्नुभएन ।

बुबाको नेपाली सेनाको जागिर छाडेको घटना पनि रमाइलै छ । बुबा कवाजमा निकै पोख्त हुनुहुन्थ्यो । उहाँलाई प्रशिक्षक बनाइएछ । जम्दारबाट सुबेदारमा बढुवा हुने पालो रहेछ बुबाको । पोखराकै फूलबारी ब्यारेकमा जागिर खाँदै रहनुभएका बुबालाई बढुवा हुने बेलामा क्याप्टेनले अनर्गल आरोप लगाएछन् । बुबाले उक्त आरोप झूटो भएको जिकिर गरिरहनुभए पनि क्याप्टेनले पेलिरहेछन् । झोँकी बुबाले क्याप्टेनलाई पड्काइदिनुभएछ ।

क्याप्टेनलाई पिटेपछि बुबा ब्यारेकको बार फड्केर दौडँदै घर आइपुग्नुभएछ । सेतो घोडा चढेर क्याप्टेन बुबाको पछिपछि घरमै आएछन् ।

क्याप्टेनले फकाएछन्, ‘तिमी ठिक रहेछौँ, म गलत रहेछु, हिँड जाऔँ ।’

बुबाले भन्नुभएछ, ‘यो सतीले सरापेको देश हो, म जागिरमा फर्किन्नँ ।’

क्याप्टेनले पुन फकाएछन् बढुवा गरिदिन्छु भनेर । तर, बुबाले ‘चाहिएन बढुवा’ भन्नुभएछ र जानुभएनछ ।

उसो त बुबालाई डर थियो, कतै लगेर सैनिक कानुन लगाएर पेल्ने हो कि क्याप्टेनले, पिटिएको जो छ ।

अन्याय सहनुहुँदैन भन्ने मान्यता राख्ने बुबाको हात छिटो चल्ने, त्यसमाथि झोँकी स्वभावका । देवेन्द्र सम्झिनुहुन्छ, ‘बुबाको उचाइ नै ६ फिट, त्यसमाथि बडेमाको ज्यान ।’

सैनिक छाडेर बुबा वनमा जागिर खान थाल्नुभयो । स्वभाव त सँगै नै थियो, त्यहाँ पनि निकै मान्छे पिटेको सुनाउनुहुन्छ देवेन्द्र । सामान्य मान्छेले जान्नुपर्ने व्यावहारिक सबै खालका सीप बुबामा भएको उहाँ सम्झिनुहुन्छ ।

तथापि, आफ्ना बुबामा समाजसेवी भावना, सामाजिक एकता र विकासका काममा अग्रसरता भने भएको देवेन्द्रको भनाइ छ । ‘विकासका र सामाजिक काममा मानिसलाई एकजुट गराउन सक्ने खुबी बुबामा थियो’, देवेन्द्र भन्नुहुन्छ, ‘उहाँको त्यस्तै खुबीले गाउँमा केही विकासका राम्रा काम पनि भएका छन् ।’

गाउँ, समाजको विकासका कार्यमा भने बुबाले कहिल्यै विवाद हुन नदिएको स्मरण गर्नुहुन्छ देवेन्द्र । सांस्कृतिक, धार्मिक कार्यमा पनि बुबाको अग्रसरता निकै थियो ।

देवेन्द्रको पारिवारिक अवस्था खान लगाउन पुग्ने नै थियो । छोराहरू मात्र बाआमाका । चेलीबेटी छैनन् देवेन्द्रका । देवेन्द्रका २ जना दाजुहरू शहरतिर पढ्नुहुन्थ्यो भने देवेन्द्र र भाइ गाउँमै । गाउँमा खोलो, वारपार गर्न समस्या । बुबाले राजा वीरेन्द्रकहाँ विन्तीपत्र हालेर उक्त खोलामा झोलुङ्गे पुल हाल्न सफल हुनुभयो । १४ वर्षअघि देवेन्द्रका बुबा बित्नुभयो । उहाँको पार्थिव शरीर त्यही पुल हुँदै लगियो घाटसम्म । देवेन्द्रलाई बुबाको सम्झनाले निकै बिथोलेको सुनाउनुहुन्छ । अझै पनि त्यहाँ पुग्दा बुबाको यादले पिरोल्छ उहाँलाई । 

उहाँको जन्मबारे आमाले सुनाउनुहुन्छ अझै, मंसिरको ३ गते आमा दाइँ सकेर धान भकारीमा हालेर साँझ घरमा आएपछि जन्मिनुभएको हो रे देवेन्द्र । ‘न अस्पताल, न आधुनिक कुनै सुविधा’, देवेन्द्र भन्नुहुन्छ, ‘ऊबेलाको गाउँको जीवन, कहाँ जन्मिइन्थ्यो, कहाँ मरिन्थ्यो, के थाहा ?’

रोचक कुरा त के भने, देवेन्द्र जन्मिँदा दाजुहरू सानै । जेठो दाजु मोहनलाई बुबाले सोध्नुभएछ, ‘आमाले के पाइन् ?’

दाजुले भन्नुभएछ, ‘भाइ ।’

बुबाले निराश हुँदै भन्नुभयो रे, ‘हत्तेरिका, छोरी होला भनेको !’

अगाडि नै २ वटा छोरा भइसकेकाले बुबालाई छोरीको चाहना थियो सायद । यही अनुमान गर्नुहुन्छ देवेन्द्र ।

देवेन्द्रहरू ५ भाइ जन्मिनुभएको हो । गाउँघरमा उहाँहरूलाई देखेर ‘पाँच पाण्डव’ भन्थे रे ! अत्यन्त रमाइला दाजुभाइ, साह्रै मिलनसार पनि ।

अचानक दुःख आइलाग्यो परिवारमा । काहिँलो भाइ उपेन्द्र २ कक्षामा पढ्नुहुन्थ्यो । ७ वर्षको उमेरमा पेटको व्यथाले भाइ उपेन्द्रको निधन भयो । परिवारमा शोक थपियो । भाइको निधनमा देवेन्द्र मर्माहत हुनुभयो । कुराकानीका क्रममा पनि भाइ सम्झिएर तरक्क आँसु चुहिए देवेन्द्रका आँखाबाट ।

उनै दिवंगत भाइ उपेन्द्रका नाममा जेठा दाजु मोहनले उपेन्द्र पढेको विद्यालयमा उपेन्द्र स्मृति पुरस्कार स्थापना गर्नुभएको छ । 

परिवारका कोही प्रिय सदस्यको मृत्यु उसै पनि दीर्घकालीन पीडा बनिदिन्छ । त्यसमा पनि ७ वर्षकै उमेरमा दिवंगत भएको छोरो, भाइ, दाजुको पीडा अनुमान गर्न मात्र सकिन्छ ।

‘अहिले पनि दशैँ जस्ता चाडबाडमा घरमा एक प्रकारको उदासी छाउँछ’, देवेन्द्र भन्नुहुन्छ, ‘भाइ सम्झिएर आमा विरक्त बन्नुहुन्छ, हामीलाई पनि उदासीले छोप्छ ।’

शिक्षा

देवेन्द्रको प्रारम्भिक शिक्षादीक्षा गाउँकै विद्यालयमा भयो । उहाँ बच्चैदेखि मेधावी हुनुहुन्थ्यो । विद्यालयममा दोस्रो भएको उहाँलाई याद छैन रे ! विद्यालयको पढाइमा र अतिरिक्त क्रियाकलापमा पनि देवेन्द्र अगाडि हुनुहुन्थ्यो । विद्यालयमा हुने प्रायः सबैजसो अतिरिक्त क्रियाकलापमा उहाँ सहभागी हुने र प्रायः पुरस्कृत भइरहने सुनाउनुहुन्छ ।

गाउँको जीवन, कृषक परिवार, खेतीपाती, घाँसदाउरा, मेलापात, घरधन्दा सबै काम उहाँले गर्नुभएको छ । यी काम गरेर अन्य गाउँले परिवेशका नेपालीले जसरी नै उहाँले पनि बाल्यकाल बिताउनुभयो । यसरी नै काम र पढाइलाई अगाडि बढाउनुभयो ।

देवेन्द्र बच्चैदेखि मेधावी छात्र । उहाँ घरका धेरै कामहरू भ्याएर पनि विद्यालयमा सधैँ अगाडि । हरेक वर्ष वर्षे बिदा हुने विद्यालयमा । खेती किसानी गर्नुपर्ने बिदामा । विद्यालयले गृहकार्य दिएको हुन्थ्यो, त्यो पनि गर्नुपर्ने । 

देवेन्द्रलाई सम्झना छ, स्व. माधव पौडेल हुनुहुन्थ्यो उहाँलाई पढाउने । अलिक प्रगतिशील स्वभावका माधव सर विद्यार्थीलाई अनुशासनमा राख्न चाहने ।

माधव सरले वर्षे बिदामा घरमा गर्ने कामको सूची बनाउन लगाउनुभएछ । देवेन्द्रले कुनै पनि कामको सूची नढाँटी, नठगी बनाउनुभएछ । माधव सरलाई शंका लागेछ, ‘यतिका धेरै काम कसरी गर्न सम्भव छ यो समयमा ? अनि यतिका काम गरेर पनि कसरी सधैँ पहिलो हुन्छ कक्षामा देवेन्द्र ?’

‘माधव सर आफैँ मेराबारे बुझ्न घरमा आउनुभएछ’, देवेन्द्र भन्नुहुन्छ, ‘सरले हजुरआमालाई सोध्नुभएछ घरमा कसले के काम गर्छन् भनेर ।’

हजुरआमाले देवेन्द्रले गर्ने कामबारे सबै बताइदिनुभएछ । अझै पत्यार नलागेर माधव सरले सोध्नुभएछ हजुरआमालाई, ‘घाँस कसले काट्छ ?’

‘दूध नभई खान भागै बस्दैन देवू, उसैले काट्छ वस्तुभाउलाई घाँस’, हजुरआमाले भन्नुभएछ ।

घाँसबारे सोध्नुको कारण रहेछ, देवुले गृहकार्यमा उल्लेख गरेकामा घाँस नकाटेको दिन नै रहेनछ ।

पछि देवुले उनै माधव सरको सम्मानमा लेख्नुभयो, ‘अनुशासनका पर्याय माधव सर ।’

देवेन्द्रको उक्त गृहकार्य माधव सरले प्रधानाध्यापकको कोठामा टाँसिदिनुभयो । यो विद्यालय जीवनमा खुसीको क्षण सम्झिनुहुन्छ देवेन्द्र ।

२०३५ सालमा मेहन्द्र मावि भलामबाट एसएलसी दिनुभयो देवेन्द्रले । २०३६ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा आईएस्सी भर्ना हुनुभयो । त्यहीबेला जनमतसङ्ग्रहको राजनीतिक गर्मी बढिरहेको थियो ।

‘समाजसेवा गर्दा झण्डै कुटिएँ’

त्यही समयमा एक जना साई बाबाका भक्त पोखरा शहरबाट भलाम गाउँमा आएर हरिहर गुफामा रहेको आश्रममा आएर बस्नुभयो । उहाँ हुनुहुन्थ्यो तपानन्द गिरी ।

उनै तपानन्दले देवेन्द्रमा रहेको अध्यात्मभावलाई जाग्रत गराइदिनुभयो । देवेन्द्रमा रहेको भगवत् भक्तिलाई देखेर तपानन्द गिरीले त्यस स्थानमा लक्ष्य होम गर्ने र त्यसका लागि प्रमुख पात्र देवेन्द्रलाई चयन गर्ने निर्णय गर्नुभयो ।

जनमतसङ्ग्रहको माहोल चर्को बन्दै थियो । त्यही बेला लक्ष्य होम गर्ने निर्णय । काठमाडौँबाट विद्वान् गुरुहरू ल्याउनुपर्ने । त्यहाँका केही धार्मिक अनुष्ठानविरोधीहरूले आफूलाई त्यसबेला निशाना बनाएको सम्झिनुहुन्छ देवेन्द्र । 

‘खान प्रयोग गर्नुपर्ने अन्न पोल्न पाइँदैन भन्दै मलाई कुट्न आए’, देवेन्द्र भन्नुहुन्छ, ‘बुबा र गुरुबाट प्राप्त शिक्षाका आधारमा उनीहरूलाई सम्झाउन कोसिस गरेँ ।’

देवेन्द्रलाई कण्ठ थियो, ‘यज्ञात् भवति पर्जन्य’ अर्थात् यज्ञद्वारा पानी वर्षन्छ ।

यही मन्त्र सुनाउँदै देवेन्द्रले आफूलाई आक्रमण गर्न आएका विरोधीहरूलाई भन्नुभयो, ‘यो कुरा विज्ञानले समेत प्रमाणित गरेको तथ्य हो , तपाईंहरू विरोध नगर्नुहोस् ।’

यसपछि ती विरोधीहरू गम्भीर बनेका र लक्ष्य होम सम्पन्न भएको देवेन्द्र बताउनुहुन्छ ।

उक्त होमबाट संकलित सबै रकम स्थानीय व्यक्तित्वहरूको पहलमा सदुपयोग गरिएको र भलाममै रहेको श्री ३ जंगबहादुर राणाका पालामा निर्मित हरिहर आश्रमको सुधार गरिएको सम्झना छ देवेन्द्रलाई ।

राजनीतिक माहोलका कारण उहाँले ४ वर्षपछि मात्र आईएस्सी पूरा गर्नुभयो ।

आफ्ना साथीभाइहरू र दाजुहरू पनि राजनीतिमा चासो राख्ने, राजनीतिमा सक्रिय रहेका भए पनि देवेन्द्र भने राजनीतिप्रति आकर्षित हुनुभएन । उहाँका माहिला दाजु र कान्छा भाइ राजनीतिमै सक्रिय हुनुहुन्छ ।

उहाँ भने राजनीतिमा लाग्नुभएन । यसको कारण रहेछ, दाजुको एउटा कविता ।

उहाँका जेठा दाजु मोहन साहित्यमा रुचि राख्ने । दैनिक डायरी लेख्नुहुँदोरहेछ । एक पटक देवेन्द्रले दाजुको डायरी पढ्नुभएछ , डायरीमा लेखिएको रहेछ, ‘राजनीतिमा लागुँ भने भाइ फुट्ने डर छ ।’ यही कुरा उहाँको मस्तिष्कमा यसरी गडेछ कि उहाँलाई राजनीतिप्रति कहिल्यै आकर्षण भएन ।

आईएस्सी पूरा गरेर बीएस्सी पढ्न काठमाडौँ आउनुभयो देवेन्द्र, २०३९ सालमा । त्यसबेला उहाँका सहपाठी हुनुहुन्थ्यो वर्तमानका नेता, मन्त्रीसमेत बन्नुभएका टोपबहादुर रायमाझी, सञ्चारकर्मी दिनेश डीसी, कलाकार साम्दे शेर्पा आदि ।

उहाँले राजनीतिमा कुनै सक्रियता देखाउनुभएन । कलेज पढ्दा पनि सबै राजनीतिक संगठनका साथीभाइसँग उस्तै हार्दिक र आत्मीय सम्बन्ध राखेको बताउनुहुन्छ देवेन्द्र ।

२०४१ सालमा बीएस्सी पूरा गर्नुभयो । २०४२ सालमा रसायनशास्त्रमा एमएस्सी भर्ना हुनुभयो । त्यसबेला त्रिवि क्याम्पसमा स्ववियु सभापति हुनुहुन्थ्यो बालकृष्ण खाण । पछि हालका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सभापति हुनुभयो । ‘तर, सबैसँग मेरो सम्बन्ध उस्तै सामान्य र निकट थियो’, देवेन्द्र भन्नुहुन्छ ।

जागिरमा

देवेन्द्र एमएस्सी पढ्दै हुनुहुन्थ्यो । उहाँका मित्र पपुलर जेन्टल भुसालले नागरिक उड्डयन प्राधिकरणमा एटीसी (एयर ट्राफिक कन्ट्रोलर) अधिकृतको तालिमका लागि आवेदन खुलेको बताउनुभयो । उहाँहरू दुवै जनाले उक्त पदका लागि आवेदन दिनुभयो । देवेन्द्रको नाम निस्कियो, भुसालको निस्किएन । भुसालले पछि फरेस्ट्रीमा टप गर्नुभएको सुनाउनुहुन्छ देवेन्द्र ।

एटीसी अधिकृतको तालिममा नाम त निस्कियो तर तालिम निकै कडा । अत्यन्त कडा अनुशासनमा बस्नुपर्ने । कलेजको पढाइ डामाडोल तालिमकै कारण । भन्नुहुन्छ, ‘एमएस्सी केमेस्ट्रीको पढाइ यस कारण रोकियो मेरो ।’

तालिम सकियो तर जागिर पाइएन । के गर्ने त अब ?

सोच्नुभयो, ‘रोकिएको पढाइ पूरा गर्ने सुवर्ण अवसर हो यो ।’

पुनः एमएस्सी भर्ना गरेर पढ्न थालेको २ महिना के भएको थियो, ‘एटीसीका लागि जागिर खुल्यो, आउनू’ भन्ने खबर आयो ।

यो १७ जेठ २०४५ को कुरा हो । उहाँलाई मुस्ताङको जोमसोममा रहेको एयरपोर्टका लागि अस्थायी नियुक्ति दिएर पठाइयो, एटीसीमा ।

स्थानीय जनप्रतिनिधि, स्थानीयबासी र सरकारी संयन्त्रसँग अत्यधिक निकट र हार्दिक सम्बन्ध बनाएर काम गर्दै हुनुहुन्थ्यो देवेन्द्र । निकै प्रिय बन्नुभएको थियो त्यस ठाउँमा उहाँ । 

उहाँले जागिर खाएको एक वर्षमै विवाह गर्नुभयो । १३ असार २०४६ मा विवाह गर्नुभएका देवेन्द्रले नवदुलही चन्द्रा के.सी.लाई लिएर घुम्नका लागि मुक्तिनाथतिर जानुभएको थियो । अचानक खबर आयो, ‘तपाईंको सरुवा (काज) दार्चुला भएको छ ।’

उहाँ भन्नुहुन्छ, ‘मेरो स्थानीय र सरकारी संयन्त्रका व्यक्तिसँगको निकट र हार्दिक सम्बन्ध अनि कामप्रतिको बफादारितामा उपल्लो तहकाहरूलाई इष्र्या लाग्यो सायद, मलाई दार्चुला ठेलियो ।’

उहाँ जोमसोम बसाइ छोटो भए पनि अविष्मरणीय ठान्नुहुन्छ । जोमसोम बसाइमा धोको नपुगेको बताउनुहुन्छ उहाँ ।

मुस्ताङमा रहँदाका केही व्यक्तित्वहरूलाई अझै सम्झिनुहुन्छ देवेन्द्र । तत्कालीन जिल्ला विकास समितिका सभापति विष्णुराज हिराचन, भक्ति हिराचन, आनन्द शेरचन, नरबहादुर हिराचन, विष्णुकुमारी थकाली, प्रेम तुलाचन, रोमी गौचनको प्रेम र सद्भाव जीवनपर्यन्त सम्झिइरहने देवेन्द्र बताउनुहुन्छ । ‘त्यहाँका असल मानिसहरू हो उहाँहरू’, देवेन्द्र भन्नुहुन्छ, ‘असल मान्छेको याद सदैव हुनेरहेछ ।’

उहाँ दार्चुलाको गोकुलेश्वर विमानस्थलमा काजमा जानुभयो । त्यहाँको स्थानीय भाषा (भाषिका) नबुझ्दा केही समय निकै अप्ठ्यारो परेको अनुभव छ देवेन्द्रको । तर, कार्यकाल सकिएर फर्किने बेला स्थानीयले दर्शाएको माया र हार्दिकता सम्झिएर अझै भावुक बन्नुुहुन्छ देवेन्द्र ।

उहाँ भर्खर विवाह गरेकी नवदुलहीलाई घरमै छाडेर दार्चुला जानुभएको थियो जागिरका लागि । भर्खर विवाह गरेकी दुलहीलाई छाड्नुपर्दाको एउटा नवविवाहित युवाको मनोदशा अनि दुलहीको मनोविज्ञान अनुमान गर्न सकिन्छ । सोही पीडालाई उहाँले एउटा लामो गद्यकवितामा उतारेर पठाउनुभयो जेठीसासू (श्रीमतीकी दिदी) प्रसिद्ध गायिका हरिदेवी कोइरालाका नाममा ।

‘एउटा युवक, जसले भर्खर विवाह गरेर श्रीमतीचाहिँ घरमै छाडेर घरबाहिर बस्नुपरेको अवस्था छ’, देवेन्द्र भन्नुहुन्छ, ‘त्यस्तो बेला कस्तो महसुस होला, अनुमान गरौँ न ।’

देवेन्द्र दार्चुलापछि बाग्लुङको बलेवा विमानस्थलमा आउनुभयो । करिब साढे ३ वर्ष बाग्लुङमा रहनुभयो उहाँ ।

देवेन्द्र त्यहाँ पुग्दा त्यहाँको अवस्था अत्यन्त दयनीय देख्नुभयो । सदरमुकामबाट विमानस्थल निकै टाढा थियो । ग्रामीण भेग बढी भएको स्थान, न बिजुलीको व्यवस्था, न त टेलिफोनको । टेलिफोन गर्न एक घन्टा पैदल हिँडेर कुस्मा जानुपर्ने बाध्यता । 

त्यहाँ भौतिक विकासका काममा समेत आफूले सक्दो सहयोगी भूमिका निर्वाह गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

त्यही क्रममा २०४६ सालको राजनीतिक आन्दोलनको प्रभाव, राप र ताप कायम थियो । जनआन्दोलनपछिको राजनीतिक पक्षधरता निकै बढेको थियो । बाग्लुङमा त्यसबेला ढुंगो, माटो पनि मशाल भएका उहाँको भनाइ छ ।

‘मलाई लाग्छ, माओवादीको खास जन्म पनि बाग्लुङबाटै भएको हो’, देवेन्द्र भन्नुहुन्छ ।

उहाँको सम्झनामा छ, पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह त्यसताका भेष बदलेर बाग्लुङका गाउँठाउँमा डुल्नुहन्थ्यो । स्थानीयहरूले विरोध स्वरूप सेता लुगा लगाएर सरकारी कार्यालय अगाडि राँको बाल्दै पुत्ला दहन गर्ने गरेको उहाँ सम्झिनुहुन्छ ।

बाग्लुङपछि देवेन्द्रको सरुवा भयो जुम्लामा । जुम्लामा पहिलोपल्ट देवेन्द्रलाई राजपत्राङ्कित द्वितीय श्रेणीमा कायमुकायम गरी पठाइयो । उहाँ त्यहाँ ५ वर्ष बस्नुभयो ।

त्यही समयमा सरकारले ल्याएको ‘लिवरल स्काई पोलिसी’अन्तर्गत अन्य निजी एयरलाइन्सहरू खुले । सरकारी शाही नेपाल वायु सेवा निगम (अहिले नेपाल वायु सेवा निगम)को एकाधिकार तोडियो । 

अत्यन्त थोरै फ्लाइट मात्र हुने जुम्लामा समेत दैनिक ३५ देखि ४० वटा फ्लाइट हुन थाले । त्यसबेला जुम्लाबाट आन्तरिक विमानस्थलको संचालनमा समस्या, चुनौती र अवसर एकै पटक आएको देवेन्द्र बताउनुहुन्छ ।

उहाँ जुम्लामै रहँदाको एउटा सन्दर्भ सुनाउनुभयो ।

ललितपुरमा रहेको होटल हिमालयमा ३ दिने कार्यशाला आयोजना गरिएको थियो । उक्त कार्यशालामा तत्कालीन पर्यटनमन्त्री चक्रप्रसाद बाँस्तोला, पर्यटन सचिव दीपेन्द्रपुरुष ढकाल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक वीरेन्द्रबहादुर देउजालगायतको उपस्थिति थियो । 

देवेन्द्रले उक्त कार्यशालामा दुर्गम भनिएका जुम्ला, जोमसोम, लुक्लालगायतका उच्च उचाइमा रहेका विमानस्थलमा पर्यटकीय र अत्यावश्यक आवागमनका सम्भावना प्रचुर रहेको बारे कार्यपत्र प्रस्तुत गर्नुभयो ।

‘मैले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख भएबमोजिम नै नीति र कार्यक्रम तयारी पारी ३ वटै विमानस्थललाई स्तरोन्नति गर्ने काम भयो’, देवेन्द्र गर्वका साथ सुनाउनुहुन्छ, ‘त्यसपछि यी क्षेत्रको पर्यटकीय सम्भावना कति बलियो रहेछ भन्ने पनि देखियो ।’

जुम्ला बसाइका क्रममा आफूले निकै मिहिनेत गरेको, विमानस्थल र हवाई सेवालाई चुस्त, सहज र समृद्ध बनाउन सक्दो काम गरेको देवेन्द्रको भनाइ छ । ‘जुम्लामा हुँदा यति धेरै खटाइ भयो कि’, देवेन्द्र भन्नुहुन्छ, ‘ट्राफिक यति धेरै हुने, समयमा खानपान हुन नसक्दा पेटको रोग नै लाग्यो ।’ 

रातदिन नभनी जुमलाको चिसोमा काम गर्दा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य अदनसिंह कठायतले भन्नुभयो रे, ‘तपाई दारूपानी नलिने मान्छेले यसरी काम गर्दा पछि समस्या हुन सक्छ ।’ भयो पनि त्यस्तै, उहाँलाई पेटको बिमारले सताइरह्यो ।

उहाँ जुम्लामै हुँदा जुम्लामा झाडा पखाला फैलियो । निकै ठूलो जनको क्षति हुने खतरा देखियो यसबाट । तत्कालीन प्रमुख जिल्ला अधिकारी शंकर पाण्डेको अनुरोधमा नेपालगञ्जबाट औषधिमूलो नेपाल वायु सेवा निगमका नेपालगञ्ज प्रमुख गोवद्र्धन थापाको सहयोगमा मगाएर झाडा पखालाको ठूलो जोखिमबाट जुम्लाबासीलाई बचाएको उहाँ स्मरण गर्नुहुन्छ ।

त्यही समयमा जुम्लाका लागि मात्र नभएर समग्र कर्णाली अञ्चलकै लागि खाद्यान्न र अत्यावश्यक माल सामान ओसारपसार गर्न नेपाल वायु सेवा निगमको भूमिका उल्लेख्य रहेको उहाँ बताउनुहुन्छ ।

कर्णाली क्षेत्र आफैँमा पिछडिएको, दुर्गम र अविकसित क्षेत्रका रूपमा परिचित थियो, अझै छ । तर, देवेन्द्र कर्णाली क्षेत्रलाई यस्तो मान्नुहुन्न । उहाँको विचारमा कर्णाली क्षेत्र त अथाह सम्भावना बोकेको क्षेत्र हो तर त्यसको उपयोग गर्न नजान्नु वा नसक्नु सरकारी निकाय र सम्बन्धित सरोकारवालाको समस्या हो ।

‘म विज्ञानको विद्यार्थी भएर पनि होला, कर्णाली क्षेत्र त आर्थिक हिसाबले अत्यन्त उर्वर र सम्भावना बोकेको क्षेत्र देख्छु’, देवेन्द्र भन्नुहुन्छ, ‘त्यहाँका जडिबुटी तथा प्राकृतिक सुन्दरतालाई सदुपयोग गर्न सकेमा कर्णाली क्षेत्र नेपालको मात्र नभई विश्वकै उत्कृष्ट गन्तव्य र आकर्षणको क्षेत्र बन्छ ।’

जुम्लामा करिब आधा दशक बसेपछि देवेन्द्र पोखरा आउनुभयो, २०५४ सालमा । पोखरा आएपछि ३ जना प्रमुखहरू स्व. माधव रायमाझी, त्रिरत्न मानन्धर र सागर प्रधानसँग सहकार्य गर्ने अवसर पाएको उहाँ बताउनुहुन्छ । 

उहाँ पोखरामा रहँदै हवाई विभाग नागरिक उड्डयन प्राधिकरणमा परिणत भयो । उहाँको पदोन्नतिसमेत भयो, एटीसीबाट आठौँ तहमा ।

पोखरा अत्यन्त व्यस्त विमानस्थल हो । सँगसँगै पोखरा स्पोर्ट्स टुरिजमका लागि पनि महत्त्वपूर्ण छ । त्यसमाथि देवेन्द्र आफैँ पनि पोखराकै स्थानीय ।

उहाँले पोखरामा खेल पर्यटनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो त्यसबेला । अल्ट्रालाइट, प्याराग्लाइडिङ जस्ता साहसिक खेल पर्यटनको सुरुवातमा आफूले निर्वाह गरेको भूमिकाप्रति गर्व गर्नुहुन्छ देवेन्द्र ।

सोही क्रममा पोखरा विमानस्थलका एटीसीहरूलाई स्तरीय र प्रतिस्पर्धी बनाउन प्रधान कार्यालयबाट नेपालकै पहिलो एटीसी नारायणमानसिंह डङ्गोलको संयोजकत्वको टिमले रेटिङ लाइसेन्सिङ सेवा प्रदान गरेपछि देवेन्द्र आफैँ पोखरा विमानस्थलका रेटिङ ट्रेनिङ अफिसर नियुक्त हुनुभयो । 

सोही समयमा प्याराग्लाइडिङ, अल्ट्रालाइट उडानका लागि नयाँ पाठ्यक्रम तयार पार्ने र पाइलटहरूलाई हवाई सेवासम्बन्धी विषयहरूको ज्ञान दिने काममा पनि देवेन्द्रको सक्रियता र सहभगिता रह्यो ।

बढुवा हुने बेला मुद्दा सामना

पोखरामा छँदै उहाँको आठौँ तहबाट बढुवा भएर नवौँ तहमा जाने पालो थियो । बढुवा त भयो तर आफ्नै सहकर्मी साथीहरूले उहाँविरुद्ध मुद्दा हाले । कारण रहेछ, शैक्षिक योग्यता ।

उहाँले रोकिएको एमएस्सी पूरा गर्न समय लाग्यो । साथीहरूलाई यो कुरा थाहा थियो कि देवेन्द्रको एमएस्सी रोकिएको थियो । तर, उनीहरूलाई थाहा भएन, देवेन्द्रले त्यहीबीचमा एमपीएको अध्ययन पूरा गर्नुभएको थियो ।

अत्तो थापेछन् साथीहरूले, ‘साइन्सको विद्यार्थीले एमपीए कसरी अध्ययन ग¥यो ?’ भनेर ।

२ वर्षमा मुद्दा छिनियो । देवेन्द्रले जित्नुभयो मुद्दा ।

नवौँ तहको सिनियर नै देवेन्द्र हुनुभयो पोखरा विमानस्थलमा । उहाँले बढुवा भएको केही समयमै कायमुकायम दशौँ तहको जिम्मेवारी पाउनुभयो । र, उहाँ सोही कार्यालयको प्रमुख बन्नुभयो ।

द्वन्द्को चरम अवस्थामा समेत देवेन्द्रले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरिरहनुभयो । अहोरात्र खटेर पोखरा विमानस्थललाई सुरक्षित, भरपर्दो र विश्वसनीय विमानस्थलका रूपमा राख्न सफल हुनुभयो । 

उहाँका ससुरा बुबा प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार गराइरहनुभएको थियो । उपचारकै क्रममा २० भदौ २०५५ मा पोखराबाट काठमाडौँ फर्किंदै गरेको नेकोन एयरको विमान थानकोटमाथि दहचोकमा रहेको भीएचएफ टेलिफोनको टावरमा ठोकिएर दुर्घटना भयो । त्यही दुर्घटनामा परी ससुरा बुबा, पोखराका प्रथम पर्यटन व्यवसायी योगेन्द्रबहादुर भट्टराई र उहाँकी कान्छी श्रीमती, देवेन्द्रकी सासू आमा सीता भट्टराईसमेतको निधन भयो । यो घटना उहाँको पारिवारिक जीवनमा मात्र नभएर पेसागत जीवनको पनि दुखद् र अविष्मरणीय घटना बन्यो ।

तर, उहाँले एटीसीका रूपमा सेवा गर्दाका २० वर्षमा आफ्नै ड्युटीका समयमा भने यस्ता कुनै पनि अप्रिय घटना नभएको देवेन्द्र सुनाउनुहुन्छ ।

उहाँ पोखरा रहुन्जेल पोखरा विमानस्थललाई समृद्ध, सुन्दर र विश्वसनीय बनाउन लागिपरिरहनुभयो । आफ्नै जन्मथलो भएका कारण पनि पोखराप्रति देवेन्द्रको विशेष चासो र ध्यान थियो नै । नयाँ र प्रभावकारी काम गर्न उत्साह र जाँगर पनि निकै रहेको बताउनुहुन्छ उहाँ ।

‘पोखराका सबै पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि, प्रशासन, राजनीतिकर्मी र स्थानीयसँगको सहकार्य, सद्भाव र सहयोगले निकै राम्रा काम गर्न सकियो’, देवेन्द्र प्रफुल्ल हुँदै भन्नुहुन्छ ।

उहाँको पोखरा रहँदाको समयमा ३५ वर्षदेखि थाँती रहेको पोखरा विमानस्थल निर्माण कार्यले गति लियो । विमानस्थल बिस्तारका लागि ५० रोपनी जग्गाको मुआब्जा वितरण हुन सकिरहेको थिएन । तत्कालीन पर्यटनमन्त्री पृथ्वी सुब्बा गुरुङले खगराज अधिकारी संयोजक र देवेन्द्र सदस्य सचिव रहनुभएको सबै राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी सम्मिलित समिति गठन गरेर पश्चिमाञ्चल विकास मञ्चसमेतको सहयोगमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले पनि स्वीकार गरेपछि ५१ रोपनी जग्गाको मुआब्जा दिने तयारी गरियो ।

त्यस क्रममा तोकिएको सरकारी रकम न्यून भएका कारण उक्त रकम राहत स्वरूप भनेर छुट्टै निकासा गरी निकै मुस्किलले विमानस्थल बिस्तार र निर्माणको काम गरिएको स्मरण गर्नुहुन्छ देवेन्द्र ।

त्यस क्रममा स्थानीय व्यक्तिहरूको अवरोध त छँदै थियो, राजनीतिक खिचातानी पनि थपिएको र विभिन्न स्वार्थ समूहहरूको नियत र स्वार्थका कारण उहाँलाई काट्छु, मार्छु भनेर धम्की दिनेहरू पनि निकै भएका सुनाउनुहुन्छ । ‘असल नियतले गरिएका असल कामका लागि आउने हरेक चुनौती सामना गर्नुपर्छ भन्ने लाग्यो’, देवेन्द्र भन्नुहुन्छ, ‘मलाई मार्नेसम्मका धम्की आए पनि काम पूरा गरेरै छाडियो ।’

बुबाको निधनकै बेला सरुवा

२६ भदौ २०६४ मा देवेन्द्रका बुबाको निधन भयो । उहाँ मृत्युपछिको संस्कार गरिरहनुभएको थियो बुबाको । उहाँलाई हठात् सरुवा गरियो काठमाडौँमा नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा ।

उहाँले जागिरका क्रममा हुने यस्ता घटना अगाडि पनि भोगिसक्नुभएको थियो, जसले गर्दा केही तीतो लागे पनि अस्वाभाविक ठान्नुभएन ।

उहाँ प्रतिष्ठानमा आउनुभयो । आफूले पाएको जिम्मेवारीमा लगनशील र दत्तचित्त रहने उहाँको स्वभाव थियो नै, त्यही स्वभावअनुसार अघि बढ्नुभयो ।

उहाँले प्रतिष्ठानमा सरुवालाई अवसर र चुनौती दुवै रूपमा लिनुभयो । त्यहाँ आएपछि देवेन्द्रले पाठ्यक्रम विकास प्रमुख भएर काम सुरु गर्नुभयो । 

एक दिन कामका सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँदा तत्कालीन महाप्रबन्धक त्रिरत्न मानन्धरले देवेन्द्रको आवाज उहाँको कार्यकक्षभित्रैबाट सुन्नुभएछ । त्रिरत्नले बोलाएर भन्नुभएछ, ‘तपाईं एकेडेमी (प्रतिष्ठान)मा होइन ? यतै (विमानस्थल) आउनुहोस् ।’

यसपछि प्रतिष्ठानमा केही समय मात्र काम गरेर उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउनुभयो र हवाई सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्नुभयो ।

उहाँ यहाँ रहँदा केही महत्त्वपूर्ण कामहरू भएका सुनाउनुहुन्छ । विमानस्थलमा आइपर्ने संकटकालीन अवस्थाबाट बच्न नेपालमै पहिलो पटक आयोजित ‘एन्टी हाइज्याकिङ’सम्बन्धी ‘सिमुलेसन एक्सरसाइज, २०१०’का लागि कोअर्डिनेटरको भूमिकामा रहँदा गरिएको कामको धेरैबाट प्रशंसा पाएको उहाँको भनाइ छ । ‘यस कामबाट स्वदेशी र विदेशी सम्बद्ध निकायको स्याब्बासी, हौसला र प्रेरणा साँच्चै उत्साहप्रद र ऊर्जाशील रह्यो मेरालागि’, गर्वानुभूतिसहित भन्नुहुन्छ देवेन्द्र ।

उहाँको काममा इमान्दारी र लगनका कारण बढुवाको क्रम पनि चली नै रह्यो । त्यहीँ रहँदा उहाँ ११औँ तहका निर्देशकमा बढुवा हुनुभयो । विमानस्थल सञ्चालन तथा सुविधादेश विभाग प्रमुखको जिम्मेवारी सम्हाल्न थाल्नुभयो उहाँले ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘स्पेस’ साँघुरो भएको, थोरै मात्र पार्किङ एरिया, विमानस्थलको जमिन समथर नभएर उबडखाबड रहेका कारण विमानस्थलको ‘ल्याण्डस्केप’ राम्रो नदेखिएको लाग्छ देवेन्द्रलाई । तर पनि नेपाल सरकार, सम्बद्ध तालुक निकायसँग सहकार्य गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले काम गरिरहेको उहाँको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वर्ष काम गर्दाका सुखद अनुभूतिहरू धेरै र केही दुखद् अनुभूति सँगालेर देवेन्द्र प्रधान कार्यालयको हवाई सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभयो ।

त्यहाँ गएपछि उहाँले लामो समयदेखि हुन नसकेको राष्ट्रियस्तरको हवाई सुरक्षा बैठक बसाउने र आईकाओबाट नेपालको हवाई सुरक्षा अडिट (एभिएसन सेक्युरिटी)मा औँल्याइएका कमी कमजोरी हटाउन आवश्यक पूर्वाधार तथा दस्ताबेज तयार पार्ने काममा लाग्नुभयो । त्यस क्रममा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न बाधा अवरोधका प्रयास भए पनि तिनलाई निस्तेज पार्दै काम सम्पन्न गरेको उहाँ बताउनुहुन्छ ।

११औँ तहमा रहनुभएका देवेन्द्र अब १२औँ तहमा कायमुकायम हुनुभयो । भइरहेका ११औँ तहकामध्ये सिनियर भएका कारण देवेन्द्रलाई कर्पोरेट निर्देनालयम रिक्त रहेको १२औँ तह उपमहानिर्देशकमा प्रतिष्ठान बोर्डको निर्णयले का.मु. १२औँ तह कायम गरियो ।

बढुवामा प्रपञ्च

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो व्यवस्थित रूपमा सञ्चालन गर्न प्राधिकरण बोर्डले निर्दिष्ट गरेअनुसार ठेक्का प्रक्रिया अगाडि नै सुरु भएको र ५ वटा अन्तर्राष्ट्रिय कार्गो कम्पनीलाई योग्य ठानिएको रहेछ । तिनैमध्येबाट प्रतिस्पर्धात्मक रूपमा बोलपत्र जारी गरिएको रहेछ । त्यसका लागि महानिर्देशकस्तरीय निर्णयले गठन भएको मूल्याङ्कन समितिले सिङ्गापुरमा रहेको स्काई लिफ्ट कार्गो कम्पनीलाई चयन गर्न उपयुक्त रहेको राय पेस गरेको थियो ।

सोही व्यहोरा महानिर्देशक समक्ष पेस गरेर बोर्डमा निर्णयार्थ पेस गर्दा उक्त निर्णय उपयुक्त नभएको तत्कालीन बोर्डका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री कृपासुर शेर्पाले बताए ।

त्यही बेला बरिष्ठताका आधारमा १२औँ तहमा बढुवा हुन नदिन आफूमाथि अनेक गलत आरोप र लाञ्छनाको निकृष्ट खेल खेलिएको उहाँ बताउनुहुन्छ । ‘ममाथि अत्यन्त तुच्छ खेल खेलियो, गलत प्रपञ्चको सिकार बनाइयो’, देवेन्द्र भन्नुहुन्छ, ‘यसबाट मलाई लाग्यो, एउटा इमान्दार राष्ट्रसेवकलाई जीवनमै अत्यन्त ठूलो चोट दिइयो । म बडो उदास भएँ । राम्रो सोचेर राम्रै काम गर्दा पनि खेदो त खनिने नै रहेछ ।’

बढुवा सूचीका ७ जनामध्ये उहाँ दोस्रो नम्बरमा हुनुहुन्थ्यो । उहाँलाई १२औँ तह हुनै नदिने योजनाअनुरूप अनेक हथकण्डा भएका उहाँ सुनाउनुहुन्छ । नियोजित प्रपञ्चबाट बढुवा रोक्का भएमा देवेन्द्र अदालत जाने सम्भावना देखेपछि दोस्रो नम्बरबाट पाँचौँ नम्बरमा झारिएको तीतो स्मरण उहाँ गर्नुहुन्छ । ‘त्यसपछि सम्झिएँ, यो सतीले सरापेकै मुलुक रहेछ’, देवेन्द्र भन्नुहुन्छ ।

तर, अन्ततः उहाँ केही समयपछि नै १२औँ तहमा बढुवा हुनुभयो । ‘आखिर इमानको फल त मिल्छ नै, ढिलो चाँडो मात्र रहेछ’, सन्तुष्टिको सास फेर्दै भन्नुहुन्छ देवेन्द्र ।

बढुवा त भयो तर उहाँमाथिको कर्के दृष्टि छँदै थियो माथिल्ला तहका र मन्त्री शेर्पाको । बढुवापछि देवेन्द्रलाई उहाँकै शब्दमा ‘तह लगाउन’ नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा पठाइयो । प्रतिष्ठानमा उहाँ आफैँले अध्ययन गर्नुभएको थियो । ‘मेरो विद्याको मन्दिर पनि हो प्रतिष्ठान’, देवेन्द्र भन्नुहुन्छ, ‘मलाई तह लगाउनै पठाइएको भए पनि २ वर्षसम्म सन्तुष्ट हुने गरी काम गरेँ त्यहाँ ।’

उहाँ त्यहाँ रहँदाको गर्व गर्न सकिने काम थियो– अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ट्रेन एयर प्लसको पूर्ण सदस्यता प्राप्त गरेर नेपालमै पहिलो पटक विदेशी सहभागीलाईसमेत तालिम दिन सक्षम बनाइयो प्रतिष्ठानलाई ।

अब उहाँको सरुवा भयो प्रधान कार्यालयको उपमहानिर्देशक (१ र ४) हेर्ने गरी । सो पदमा रहेर केही समय काम गरेपछि नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईको कार्यकालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकका रूपमा सरुवा हुनुभयो, २३ कात्तिक २०७६ मा ।

तर, यसअघि पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले पनि तत्कालीन महानिर्देशकलाई ‘केसीजी महाप्रबन्धकका लागि उपयुक्त व्यक्ति हो’ भन्दा पनि महानिर्देशकले नमानेको उहाँ सुनाउनुहुन्छ ।

३ मंसिर २०७७ मा उहाँ अनिवार्य अवकास हुनुभयो ।

जागिरका क्रममा उहाँले विभिन्न २० वटा देश घुम्नुभएको छ । आफूले तालिमका लागि उपल्लो निकायसँग हारगुहार नगरेका कारण विदेशमा हुने धेरै तालिममा सहभागी हुन नपाएको बताउनुहुन्छ देवेन्द्र । तर पनि उहाँलाई ठूलो गुनासो छैन । जति तालिममा सहभागी हुनुभयो र जति ज्ञान अनि सिप आर्जन गर्नुभयो, ती अनुभव र प्राप्त गरेको ज्ञानलाई आगामी दिनमा पनि नेपाली उड्डयन क्षेत्रको विकास र बिस्तारमा प्रयोग गर्न चाहेको उहाँको भनाइ छ । ‘हामीकहाँ अनुभव र विशेषज्ञता लिने चलन कम छ’, देवेन्द्र भन्नुहुन्छ, ‘राज्यले हामी रिटायर्डहरूका अनुभवका लागि चाहना व्यक्त गरेमा हामी तयार हुनुपर्छ ।’

उद्देश्य डाक्टर बन्ने, भइयो ए.टी.सी.

एसएलसी पास गरेर देवेन्द्र आईएस्सी पढ्न थाल्नुभयो । उहाँको उद्देश्य डाक्टर बन्ने थियो । जनआन्दोलनको रापले आईएस्सी पास गर्न नै ४ वर्ष लाग्यो । बिस्तारै डाक्टर बन्ने उद्देश्यमा ‘ब्रेक’ लाग्यो । पारिवारिक, राजनीतिक सबैतिर माहोल अर्कै बन्यो ।

अन्ततः देवेन्द्रको भाग्यमै लेखिएको रहेनछ डाक्टर बन्ने । उहाँ नागरिक उड्डयनमा जागिरे बनेर लामो समय सेवा गर्दै उच्चपदमा पुगेर सेवा निवृत्त हुनुभयो ।

आफू डाक्टर बन्न नपाए पनि देवेन्द्रका जेठो छोरा सगुन के.सी. र बुहारी अदिती डाक्टर हुनुहुन्छ । आफू डाक्टर बन्न नपाए पनि सन्तानलाई डाक्टर बनाउन सकेकामा उहाँ सन्तुष्ट हुनुहुन्छ । २ जना छोरामा कान्छो छोरा सविन के.सी. एमबीए पढ्दै हुनुहुन्छ ।

साहित्यमा

देवेन्द्र सानै हुँदा बुबाले बालुन खेलाउने, भजन गाउने, गवाउने गरेको देख्नुभएको थियो । उसै पनि सङ्गीतले तानेकै थियो । बच्चा बेलामा पनि देवु लोक भाकाका गीतहरू गुनगुनाउनुहुन्थ्यो ।

पोखराको प्राकृतिक सौन्दर्यले पनि साहित्य, कला र सङ्गीतका पारखीहरूलाई आकर्षित गर्छ नै । कला, साहित्य र सङ्गीतको उर्वर भूमि पनि हो कास्की, त्यसमा पनि पोखरा क्षेत्र ।

विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा देवेन्द्रको सहभागिता हुने गथ्र्यो । उहाँले त्यही बेला कविताहरू लेखेर सुनाउनुहुन्थ्यो । ठूला दाजु मोहन आफैँ त्यस बेलाका राम्रा कवि । मोहनले भाइ देवेन्द्रलाई साहित्य लेखनमा प्रोत्साहन गर्नुभयो । विद्यालय पढ्दा कविता र निबन्ध लेख्न थालेको देवेन्द्र सुनाउनुहुन्छ ।

उसो त देवेन्द्र बच्चादेखि नै लोकगीतहरू गुनगुनाउनुहुन्थ्यो । यतिसम्म कि खाना खाँदै गर्दा पनि उहाँ गीत गाउनुहुन्थ्यो । गाइनेले आँगनमा आएर गाउँदा गाइनेसँगै आफूले पनि गाउने गरेको उहाँ सम्झिनुहुन्छ ।

उहाँहरूको साथी समूहमा त्यसबेला चलचित्र हेरेपछि चलचित्रका कथा र गीत कण्ठ पारेर सुनाउनुपर्ने । हुँदाहुँदा उहाँमा यस्तो बानी बसेछ कि रेडियोमा बज्ने गीतका अन्तरा पनि ध्यान दिएर सुनेर टिपिहाल्ने । 

त्यसबेला महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याललगायतका कविता पढ्नुहुन्थ्यो उहाँ । विद्यालय तहमै हुँदा स्थानीय पत्रपत्रिकामा आफ्ना रचना छापिने गरेका देवेन्द्र सुनाउनुहुन्छ ।

विक्रमको २०३० को दशकमा पोखराका त्यसबेलाका चर्चित युवाकविहरू सरुभक्त, उषा शेरचन, तीर्थ श्रेष्ठ, प्रकट पँगेनीहरूको पहलमा मुक्तक माहोल तातेको थियो । टिकट किनेर मुक्तक सुन्नेहरूको भीड लाग्थ्यो । देवेन्द्रको संगत यी कविहरूसँग भयो । उहाँ कवितामा अझ आकर्षित हुनुभयो ।

उहाँले त्यतिबेलै गीतहरू पनि लेख्नुभयो तर ती गीत गाइएनन् । अहिले आएर गीत संगीतमा सक्रिय साथीहरूको संगतले उहाँका गीत गाइएका छन् ।

कलेज पढ्न थालेपछि भने देवेन्द्रको साहित्य चेत र सक्रियता बढेको हो । विद्यालय स्तरमा हुने अतिरिक्त साहित्यिक कार्यक्रम र त्यहाँ उहाँको उपस्थिति त छँदै थियो ।

सीडीओको त्यो थर्काइ

कलेजमा पढ्दा जेठा दाजु मोहन साहित्यकै विद्यार्थी भएकाले उहाँका समकालीनहरू गणेश केसी, कृष्ण बस्ताकोटी, दुर्गा बस्ताकोटीलगायत मिलेर मोहनकै अध्यक्षतामा ‘साहित्य सदन भलाम’ गठन गर्नुभएको थियो । तर, मोहन सरकारी संस्थानका जागिरे भएकाले पञ्चायतको त्यो कालखण्डमा सरकारी कर्मचारीले संघसंस्थामा बस्न नहुने नीति भएका कारण उक्त संस्था छाड्नुपर्ने भयो ।

मोहनले नेतृत्व छाडेपछि उक्त पदमा देवेन्द्रले जिम्मेवारी लिनुभयो । उक्त संस्थाले वार्षिक रूपमा विभिन्न साहित्यिक कार्यक्रम गर्ने गरेको देवेन्द्र सम्झना गर्नुहुन्छ ।

एक पटक उक्त संस्थाबाट महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयनती मनाउने क्रममा भएको एउटा घटना ताजा छ उहाँको स्मरणमा ।

लक्ष्मी जयन्तीमा कविता प्रतियोगिता गरियो । उहाँकै माहिला दाजु नगेन्द्र पहिलो हुनुभयो । धेरै स्रष्टाको उपस्थिति थियो कार्यक्रममा । 

कार्यक्रम सकिएको भोलिपल्ट केमेस्ट्री पढाइ भइरहेको कक्षामा हुनुहुन्थ्यो देवेन्द्र । उहाँलाई कक्षा कोठाबाटै ‘केही कुरा सोध्नु छ’ भनेर सीडीओ कार्यालय लगियो ।

सीडीओ कार्यालयमा सीडीओको कोठामा छिर्न नभ्याउँदै सीडीओले भने, ‘यो कम्युनिस्ट रहेछ, यसले कम्युनिस्टको अखडा खोलेछ, लगेर खोरमा हालिदे ।’

टेबलको घण्टी थिचेर सीडीओले सहयोगीलाई बोलाए । संयोग, देवेन्द्रकै छिमेकी हुनुहुँदोरहेछ सहयोगी– अमरबहादुर कार्की ।

अमरले सोध्नुभएछ, ‘बाबू, कता ?’

‘कस्तो मान्छे हो यो, चिन्छौ ?’, सीडीओले अमरलाई सोधेछन् ।

‘यी बाबू त समाजसेवा गर्ने मान्छे हुन्, असल छन्’, अमरले भन्नुभएछ ।

सीडीओले अमरलाई अझै खेरेछन्, ‘यी कम्युनिस्ट हुन् ?’

‘होइनन्, आफ्नै श्रम र लगानीमा साहित्यका र अन्य समाजसेवाका काम गरिरहेका छन्’, अमरले भनेपछि सीडीओले छाडिदिएको स्मरण गर्नुभयो देवेन्द्रले ।

भएछ के भने, नवीन थापाले आफ्नो कवितामा ‘नश्ल सुधार गरिएका पञ्चहरू’ पढ्नुभएछ । उक्त शब्दावलीका कारण पञ्चायतविरोधी भनेर बोलाइएको रहेछ देवेन्द्रलाई ।

प्रकाशन

देवेन्द्रले कविता, गीत, मुक्तक लेखिरहनुभयो । उहाँको हालसालै ‘यो जुनीमा यस्तै भयो’ गीति एल्बम सार्वजनिक भएको छ । संगीतकार शक्तिबल्लभको संगीत रहेको उक्त एल्बममा चर्चित गायक, गायिकाको स्वर रहेको छ ।

उक्त एल्बम तयारीका लागि शक्तिबल्लभसँग भेट गराइदिने गायक नवीन कार्की र स्व. रोहिणी भट्टराईप्रति देवेन्द्र कृतज्ञ बन्नुहुन्छ ।

उसो त उहाँका ‘यसरी पोखियो मन’ र ‘परेलीभित्रै छु’ कविताकृति तथा ‘इमानको पहाड’ र मनकाृे पहिरो’ मुक्तककृति पनि प्रकाशन भएका छन् ।

गीतमा प्रकृति र प्रेम लेख्न रुचाउने देवेन्द्र मुक्तक र कवितामा भने देश, प्रकृति, विकृति, गिर्दो मानवीयतालाई लेखनका विषय बनाउन रुचाउनुहुन्छ ।

(लेखकको प्रकाशोन्मुख कृति 'व्यक्ति एक: व्यक्तित्व अनेक'बाट)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…