एमालेको पार्टी कार्यालय थापाथली सर्दै, अध्यक्ष ओलीद्वारा निरीक्षण
निकट भविष्यमा धुम्बाराहीबाट नेकपा(एमाले) को पार्टी कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सार्न लागिएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भनिएको उक्त भवनको आज निरीक्षण गरेका छन् ।
एमालेको पार्टी कार्यालय रहने भनिएको त्यस भवनमा यसअघि यूएन वुमेनको नेपालस्थित कार्यालय रहेको थियो ।
एमाले निकट स्रोतका अनुसार वैशाख १ गते वा त्यस अगाडि नै पार्टी सो पार्टीको कार्यालय थापाथली सर्ने योजना रहेको छ । धुम्बाराहीस्थित हालको कार्यालय भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानलाई नै चाहिने भनिएकाले आफूहरुले कार्यालय सार्नुपरेको जनाइएको छ ।
०७२ सालमा गएको भूकम्पमा बल्खुमा रहेको एमालेको पार्टी कार्यालय भत्किएपछि धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिइएको थियो ।
गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले उक्त पार्टीको नाउँमा बल्खुमा रहेको करिब १३ रोपनी जग्गामा सो पार्टीको अत्याधुनिक भवन बनाउन नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन अर्थात आगामी वैशाख ९ गते शिलान्यास गर्ने निर्णय गरिसकेको छ ।