लाभांश वितरणका लागि उन्नति लघुवित्तको साधारणसभा
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने र एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्न छैठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा भैरहवामा बिहान साढे १० बजे सभा बोलाएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १७.८१०३८७२१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।
लघुवित्तले बोनस शेयर बाँडफाँटपश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजानिक निश्कासन गर्ने प्रस्तावसमेत पारित गर्ने भएको छ ।
बोनस शेयर र एफपीओ जारीपश्चात लघुवित्तको चुक्ता पुँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ पुग्नेछ ।
सभाले अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा संस्थासँग गाभिने प्रयोजन र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
साधारण सभा प्रयोजनको लागि लघुवित्तले १८ चैतमा १ दिनका लागि बुक क्लोज गर्ने भएकाले १७ चैतसम्म कायम शेयरधनीहरूले मात्र लघुवित्तले दिने लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।