आइतबारको शेयर बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार भएको बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो ।
आइतबार २०६ वटा कम्पनीको शेयर कारोबार भएको थियो, जसमध्ये लगानीकर्ताको आकर्षण लघुवित्त समूहमा देखिएको थियो । शेयर मूल्य बढ्ने १० वटामा २ वटा कम्पनीबाहेक बाँकी सबै लघुवित्त रहेका छन् । तीमध्ये ९ वटा कम्पनीको शृयर सर्किट लेभलमा कारोबार भएको छ । त्यसमा चन्द्रागिरि र युनाइटेड इदी मर्दी आरबी हाइड्रोबाहेक बाँकी सबै लघुवित्त संस्थाहरू रहेका छन् ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । यी कम्पनीको शेयर मूल्य बढेर क्रमशः १२८७, १७३८ र १९६९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत, समिट लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ९.९७ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९६ प्रतिशतले बढेको छ । सर्किट लेभलमा कारोबार भएको चन्द्रागिरि हिल्स र युनाइटेड इदी मर्दीको शेयर मूल्य क्रमशः ९.९८ प्रतिशत र ९.७९ प्रतिशतले बढेको छ । यी कम्पनीको शेयर मूल्य बढेर क्रमशः प्रतिकित्ता १४२१ रुपैयाँ र ३१४ रुपैयाँ पुगेको छ ।
त्यसैगरी सबैको लघुवित्तको सेयर मूल्य ९.१८ प्रतिशतले बढेर प्रतिकित्ता १३२० रुपैयाँ पुगेको छ ।
विभिन्न ५ कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।
३७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । सबैभन्दा बढी ग्रिन लाइफ हाइड्रोको शेयर मूल्य ६.०६ प्रतिशतले घटेर प्रतिकित्ता ३७२ रुपैयाँमा झरेको छ । बाँकी अन्यको भने ५ प्रतिशतभन्दा कमले घटेको छ ।