नेप्सेले निफ्रासँग सोध्यो- सूचना किन चुहावट भयो ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नियामक निकायलाई सूचना दिनुपूर्व नै अनधिकृत रूपमा सूचना चुहावट गरेको भन्दै नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)सँग स्पष्टीकरण सोधेको छ ।
निफ्रालाई चित्तबुझ्दो जवाफसहित ३ दिनभित्र स्पष्टीकरण बुझाउन नेप्सेले निर्देशन दिएको छ ।
धितोपत्र मूल्यमा प्रभाव पार्ने खालका सूचना सम्प्रेषण गरेको उल्लेख गर्दै नेप्सेले मिडियामा आएको जस्तो निफ्राले ३० मिलियन डलरको बन्ड ल्याउने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुनेजस्ता सूचना कसरी आए ? भन्दै निफ्रासँग स्पष्टीकरण सोधेको हो ।
नेप्सेले चालू आर्थिक वर्षभित्रै ८.५ प्रतिशतको ब्याज तोकी निफ्राले बन्डा जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने भन्ने समाचारको सत्यबारे पनि सोधेको छ भने रणनीतिक साझेदार भित्र्याउने विषयमा के कस्तो छलफल भएको छ ? इन्स्योरेन्स कम्पनीहरूले खरिद गर्ने भनिएको इन्स्योरेन्स बन्डका सम्बन्धमा कस्तो छलफल अघि बढाएको छ ? भनेर पनि निफ्रासँग सोधेको छ ।
कम्पनीले मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तथा जानकारी सम्बन्धित निकायलाई जानकारी नगराई के कति कारणले प्रचार गरिएको हो भनेर पनि प्रश्न गरेको छ ।