Khabarpato logo

         

कला/साहित्य

सजाय

भोजराज घिमिरे

भोजराज घिमिरे

सजाय

‘नियतिले कोरिदिएको अदृश्य बक्ररेखामा जिन्दगीको यात्रा जबर्जस्ती चलाउनुभन्दा बरु आफ्नै मर्जीले कोरिएको सरलरेखामा जिन्दगीका पाइला मोडिदिन्छु’ भन्दै एकल जिन्दगी जिउँदै आएकी मान्छे खै के भएर हो, आज भने कसैको प्रतीक्षामा भएजझैँ गरेर ‘अहो ! यो जेष्ठ नागरिक हेरचाह गृह आएर बसेको पनि ६ महिना २० दिन नै बितिसकेछ’ भन्दै हातका औँला पो भाँच्दै छु म ! कोही आएर साथै नलगेसम्म, अथवा स्वयंले परित्याग नगरेसम्म अथवा यमदूतका निर्दयी हातले कठालो समाएर नघिसारेसम्म मेरो बाँकी सास यही हेरचाहगृहमा फेरिनेछ । यो तीतो यथार्थको बोध मलाई नभएको पनि होइन ।

नजिकको साइनोले जोडिने भनेका नै को छन् र मेरा यस दुनियाँमा ? त्यही विरिता, विराज र छोरो विभूति न हुन् । विराज र विरितालाई त म आफैँले सजाय दिएर मेरो जिन्दगीबाट हटाएकी हुँ । ती त भेट्न आउने कुरै भएन । कुनै पनि छोराछोरीले बुढेसकालमा बाबुआमाको लौरो बन्ने चाहना नराख्ने यस्तो समाज र संस्कारमा हुर्किएको मेरो छोरो विभूति पनि आमा खोज्दै घर लैजान्छु भन्दै पक्कै आउँदैन । आई नै हाल्यो भने पनि सधैँ आफ्नो मर्जीको जिन्दगी बिताएकी मान्छे कसरी उसमाथि बोझ बन्न म पनि जान्छु होला र ? यही हो यथार्थ । यो यथार्थ मैले स्वीकार्नै पर्छ ।

तर, यथार्थ बुझेर पनि किन म नबुझेझैँ गर्दै छु । छोराको बाटो हेरेर किन आँखा बाहिरफेर बिछ्याइरहेकी छु ? आउँदैन भन्ने जान्दाजान्दै किन उसको प्रतीक्षामा बेचैन हुने गरेकी म ? के मेरो यो प्रतीक्षा र अपेक्षा पश्चिमी जीवनशैली, सामाजिक र पारिवारिक परिवेशअनुरूप छन् त ? प्रश्न पनि त गर्दै छु म आर्फैलाई ।

हुनत यो गृहमा मैले पाइला टेकेपछि एकचोटि विभूति हातमा फलफूलको एउटा बक्सा लिएर औपचारिकता निभाउनका लागि आएको पनि हो । छोराले दिएको त्यो उपहार आफ्ना हातले थाम्दा थोरै खुसी भएकी पनि हुँ । तर, यो दिलले के सोच्यो ? के खोज्यो कुन्नि ? फलफूलको बक्सामा छोराको माया भेट्दै भेटेन । फलफूल खान सकिनँ मैले । मायाबिनाको उपहार के राख्नु भनेरै त होला नि मैले सबै फलफूल अरूलाई नै त्यसै दिन बाँडिदिएकी ।

निर्दयी नियतिको बाटोलाई जतिसुकै आफैँले फेर्न सक्छु र नयाँ नियति आफ्नै कर्मले लेख्छु भने पनि कहाँ सक्दो रहेछ र मान्छेले ? नास्तिकको जीवन बिताउने पूर्वीय परम्परामा हुर्किएकाले त मृत्युको सङ्घारमा पुगेपछि ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने बोध गर्ने रहेछन् । जति टाढा भाग्न सक्छु भने पनि मान्छेको नियति निर्दयी बनेर सधैँ छायाजस्तो पछिपछि लाग्दो रहेछ । मैले पनि कर्मका हातले नियति फेर्ने कोसिस गरेकै हुँ नि ! आफ्नै शर्तमा जिन्दगी जिउन खोजेकी हुँ नि ! खै कहाँ सकेँ त ? नियति साथै यो गृहसम्म आइपुग्यो– निराशा, हतासालाई काखी च्यापेर । मैले जति नै अस्वीकार गरे पनि यथार्थ त आखिरमा यही नै हो । मेरो नियति मेरो निजी हो । नियति लेख्ने होइन, नियति भोग्ने रहेछ बुझेरै त दुईवटा अपार्टमेन्ट बेचेर यस गृहमा म आएकी हो ।

जुन दिनदेखि एक्लै जिन्दगी बिताउने अठोट गरी, त्यही दिनदेखि समय मात्र थियो यो वाणीका साथमा । हो, सधैँ चिप्लिएर अगाडि बढ्ने समय प्रशिक्षक बन्दै गयो, तालिम लिँदै गई र अभ्यस्त पनि बन्दै गई एकल जिन्दगी जिउनका लागि ।

एक्लो जिन्दगीका निकै उराठिला र उदास क्षण बिताएका ती दिनमा पनि नियतिसित मेरो खासै ठूलो गुनासो रहेको होइन । जिन्दगीका अनेकन् दुःखका खहरेमा एक्लै हेलिनुपर्दा पनि मलाई कहिल्यै आफू असहाय भएकी महसुस भएन, कहिले आफूलाई निरीह घोषित गरिनँ भने अहिलेचाहिँ किन यो यो बेचैनी, किन यो हतासा, किन यो निराशा ? एउटी कर्मठ जीवनयोद्धा बनेर जिन्दगीको एक्लोपनलाई के मैले हराइदिएकी थिइनँ ? कहिलेकाहीँ म आफैँलाई सोध्ने गर्छु ।

दुःख र पीरको भुङ्ग्रोमा पिल्सिँदै गएपछि बिछोडिएकी आमा र छाडेको जन्मभूमि सम्झेर रुँदा हुन् सायद धेरै विदेसिएका सन्तानहरू तर म त्यसरी खोइ कहिले रोएँ ? सम्झन्छु नै भन्दा पनि, रुन्छु नै भन्दा पनि आमा र मातृभूमि सम्झेर मलाई रुने फुर्सद र मौका कर्मले नै कहिले दियो र ?  यदि आमा र जन्मभूमि सम्झेकी हुँदी हुँ त एउटी असहाय महिलाको फुली छातीमा टाँसिदिँदै दुनियाँको सहानुभूति बटुल्दै गरेकी हुन्थी सायद यो वाणीले पनि । 

धमनी र शिरामा पूर्वीय सोच र संस्कार लिएर हुर्केकी मान्छे नै हुँ । नियतिकै हातमा आफूलाई असहाय बनाएर छोडिदिन सक्थेँ म । तर, त्यसरी छोडेकी भए जिन्दगीको गाडी यस दुनियाँका अप्ठ्यारा घुम्तीहरूमा सायदै एक डेग अगाडि बढ्ने थियो । बेलैमा होस पुर्‍याएँ । नियतिको सहारामा होइन, अपितु कर्मको बैसाखीमा उभिएर आफैँले निर्माण गरेको गोरेटोबाट जिन्दगीलाई हिँडाउन सुरु गरेकी हुँ मैले, विराजसँग अलग्गिएर बाँच्न थालेपछि । यसमा पो मैले गर्व गर्नुपर्छ ।

हिजो मभित्र रहेको त्यो अठोट, साहस अनि आफ्नै मर्जीमा जीवन जिउने ती सकारात्मक सोच र प्रयास तर खै आज कहाँ हराए ? के निख्रिएकै हुन् त ? एउटा अनिश्चित भोलिको कल्पनामा हुँदा कहिलेकाहीँ आफैँसँग म यस्ता प्रश्नहरू गर्न थालेकी छु आजभोलि । थिए अनेकन् रहर, चाहना, तृष्णा मभित्र पनि तर समयको प्रवाहसँगै सायद ती सबै बिलाउँदै गए हुन् । मभित्रका रहर, चाहना र तृष्णाका ज्वारभाटाहरू सिथिल हुन थालेपछि न हो– मैले यो जिन्दगीको रथलाई यस हेरचाहगृहमा ल्याएर थन्क्याइदिएकी र आफ्नो भोलिप्रति निस्पृह र निरपेक्ष रहेकी, सजिलो गरी बाँच्नुको अर्थमा मात्रै जिन्दगीलाई, सहजताको अर्थमा मात्रै दैनिकीलाई बुझ्ने अठोट गरेकी । नभए किन यहाँ आउँथेँ र ?

चयन त मेरै हो नि । ठीक भयो कि भएन, अरूका आँखामा मेरो चयन ? त्यो अर्कै कुरा होला । तर ज्यादै सजिलो र आरामदायी छ यस गृहको बास । जे खोज्छु म, त्यही मिल्छ । हिजोका दौडधुपलाई यहाँ आएपछि सहजताको तगाराले छेकिदिएका छन् । हिजो र आजको दैनिकीमा आकाश र जमिनको अन्तर छ । जीवनको कार्यतालिका फेरिएको छ । न कामको चटारो छ, न जोडिनुपर्ने इष्टमित्रको लठारो, न त उठ्ने र सुत्ने हतारो नै । न त बे्रकफास्ट बनाउने लण्ठा, न बिस्तरा मिलाउने टण्टा । न लुगा धुनको सास्ती, न कोठा सफा गर्नुको झन्झट । पैसा छ र त्यसकै भरमा सबै थोक व्यवस्थित र सहज भएका छन् यहाँ । 

त्यहाँ आएपछि मैले बितेको जिन्दगीका उकाली ओरालीलाई सम्झेर रुने होइन, अपितु तिनलाई विस्मृतिको गर्तमा हुत्याएर हाँस्ने प्रयत्न गर्नुपर्छ । यो यथार्थ बुझेकी छु । त्यसै गर्न पनि खोज्दै छु । अतीतका चोट र घाउका खाटालाई बाहिरी दुनियाँमा छाडेर खुसीसहितको जीवन अन्त्य खोज्दै मैले यहाँ पाइला टेकेकी हुँ ।  

आफ्ना चेतन ग्रन्थीको प्रवेशद्वारमा नै पर्दा लगाएर हिजोको अनुभूतिलाई मैले छेकिदिन खोजेकी पनि हुँ तर समय र नियतिले खै के सोचेर हो, बेलाबेलामा स्मृतिको पर्दा उघारेर मलाई अतीत चिहाउन बाध्य पार्दै छन् बारम्बार अहिले पनि । 

हुनत फुर्सदै फुर्सद छ । फुर्सदमा नै हो जिउँदा मान्छेले यादको सिँढी चढेर जिन्दगीले रचेका नाटक र आफूले त्यसको पात्र भई अतीतमा खेलेको भूमिका नियाल्ने । त्यही भएर चाहनाविपरीत नै भए पनि मैले पनि फुर्सदका यिनै क्षणमा कहिले जन्मथलोतिर त कहिले कर्मथलोतिर फर्केर  आलोपालो गरी सम्झने गरेकी । र त अहिले फेरि सम्झनाको भेलले पछिल्तिर धकेल्दिँदा जन्मथलोमा बिताएका सुखद पलहरू मेरो स्मृतिको पर्दाभित्र कैद हुन पुग्छन् । 

जन्मथलोतिरै अल्झिएर जिन्दगीका अन्तिम क्षण बिताउने मेरा दौँतरी र आफन्तसँग म आफ्नो जिन्दगी दाँजेर हेर्ने गर्छु । मलाई लाग्न थाल्छ– ‘उताको समाजको चस्माले हेर्ने हो भने म पनि एउटी एकल महिला हुँ, असहाय तथा निरीह देखिने नै छु । म जस्ता सत्तरी वर्ष काटेका महिलाले उता भए के यसरी पारिवारिक पासोबाट अलग्गिएर समयका पाइलालाई एक्लै गन्ने हिम्मत जुटाउँथे त ? सायदै सक्थे । म आफैँ पनि उता रहँदी हुँ त कसै न कसैका छहारीमुनि ओत लागेर जिन्दगीका घामपानी छेल्दै हुन्थेँ । उता हुँदो हो त यस्ता बेलामा कि विभूति, त्यो नभए माइतीतिरका कुनै दाजुभाइ, ती पनि नभए मैले सजाय दिएको त्यही विराज पनि मेरा लागि छहारी बनेर उभिने थियो । 

अरू कसैले नहेरे विभूतिले ‘बेफुर्सद छु, कसरी हेर्न सक्छु अथवा म आमाको जिम्मा लिन सक्दिनँ’ भन्नै पाउने थिएन । लोक–लज्जाका अगाडि केही लाग्दैनथ्यो । जिम्मा लिनै पर्थ्यो । मैले पनि त यसरी स्वतन्त्र निर्णय लिने अधिकार उमेरसँगै गुमाइसकेकी हुन्थेँ होला । छोराबुहारीको नक्कली मायाको चौतारीमा पल्टेर खटनको रासनलाई आँसुको झोलमा मुछेर अनिच्छाको गाँस हाल्न बाध्य पारिन्थेँ होला म । तर म त यताको दुनियाँमा छु, भिन्न परिस्थिति र परिवेशमा जिन्दगीका पलहरू बिताउँदै छु ।

‘भौतिक प्रगतिले मान्छेका सोच र चिन्तनमा परिवर्तन गर्ने होलान् ! सोच र चिन्तनमा भिन्नता हुनासाथ त्यसैसँग मान्छेले आत्मसात् गर्ने संस्कार, संस्कृति, मूल्य, मान्यता, व्यवहार अनि भोगाइ र जियाइका कथाव्यथा अलग हुने होलान् । त्यस्तै नै होला मेरो जन्मथलो र कर्मथलोमा देखिएको अन्तरमा पनि ! उता भए बाबुआमाको हेरचाह गर्ने बाध्यतालाई काखी च्यापेरै बाँच्ने थिए छोराहरू तर खै त्यो बाध्यताको माखेसाङ्लोमा अल्झिएका यताका सन्तान ?’ भनेर प्रश्न गर्दागर्दै ‘हुनत त्यस्ता दायित्व र कर्तव्यको जन्जीरमा अल्झेर रहने हो भने ऋणैऋणको दहमा फसेको सन्तानको जिन्दगीको गाडी कसरी अगाडि बढ्थ्यो होला ?’ कर्मथलोको यथार्थसित सम्झौता गर्दै म आफूलाई यदाकदा भन्ने गर्छु ।

हुनत अरू वृद्धवृद्धाझैँ स्वाभाविक उदासीमा नफस्ने होइन म पनि । मेरो कञ्चन र सफेद मनको आकाशमा निराशाको तुवाँलो नलाग्ने पनि होइन तर त्यही निराशा र हतासाकै बीचमा पनि ‘होइन, किन विरक्तिएकी हँ ए वाणी तँ यसरी ? के सुख र आरामको खोजी गर्दै आफन्त, इष्टमित्र, साथीभाइ र तेरो पहिलो प्रेमलाई समेत उतै छाडेर आएकी होइन ? यही नै होइन र तेरो चाहना, तेरो जिन्दगीको खेल, तैँले व्यहोरेको नियतिको झेल । जन्म दिने आमाले फेरेको अन्तिम सासको साक्षी किनारामा बसेर रुन भ्याइस् त तैँले ? त्यसो भए तेरो हृदयमा के तेरी आमाको माया नै थिएन त ?’ भन्दै सम्झाइदिने गर्छ मेरो मनले । अनि ‘आमाको माया नगर्ने सन्तान कोही हुँदैनन् यस दुनियाँमा । मान्छेका स्वभावअनुसार मायाको अभिव्यक्तिमा पृथकता होला । कसैले चाटेर देखाउलान्, कसैले भित्रभित्रै रोएर माया जनाउलान् । अनिश्चित भविष्यको मचानमाथि उभिएर महङ्खवाकाङ्क्षाको बन्दुकले सफलताको सिकार गर्न हिँडेका सन्तानलाई आफ्नी आमालाई आफूले गरेको माया दुनियाँलाई देखाएर हिँड्ने फुर्सद नै कहाँ मिल्छ र ? अरूलाई मिल्दैन भने त्यो विभूतिलाई कसरी मिल्दो हो ?’ भन्दै यो वाणीले पनि आफ्नो मन नबाँधेकी कहाँ हो र ?

हुनत हल्ला फैलिँदै गएपछि थोरै चिन्तित बनेकी हुँ । लोग्नेमा देखिएको व्यवहारगत परिवर्तन, जसलाई एउटी पत्नीको रूपमा मैले मात्र महसुस र अनुभूति गर्न सक्थेँ, गरेकी पनि हुँ । मनमा शङ्काको बादल उत्पन्न नभएको पनि होइन । त्यही कारण आफू कुनै दलदलमा फस्दै गएको सपना बारम्बार देखेकी पनि हुँ । त्यो सपना सायद एउटा सुनामीको पूर्वसङ्केत नै थियो

यो मनले त ‘भो धेरै नसोच्, धेरै चिन्ता नलिई है वाणी’ भन्दै छ अहिले पनि तर दिमागले मनका कुरा मान्दैन । मनको रहर बिर्सेर सम्झनाको तरेली र सोचाइको परिधिबाट बाहिर हुत्याइदिन खोजेको पनि हो मेरो दिमागले । तर आफ्नै जिन्दगीका पाना मेरा आँखा अगाडि पल्टिदिएपछि ध्यान अन्यत्र कसरी मोड्न सकूँला र मैले ? अतीतमा गुञ्जिएका अनेकन् सुख र दुःखका बेमौसमी सुसेली अहिले पनि मेरो छाती चिर्दै बज्न खोज्दै छन् । ’ऐया‘ भन्नसम्म नपाई सुन्नुपर्छ मैले । दुख्छ जोडले । अनि त ओखतीको खोजी गर्दै जन्मथलोतिर फर्किने हुँ म, थोरै रोमाञ्चित, अलिक बढी नै उदास बन्दै त्यसबेलाका हरेक घटना, परिघटनालाई मसिनोसँग केलाउन खोज्दै । जन्मथलोभित्र खोज्दै जाँदा आफ्नै जिन्दगीका डोबहरू भेटिएर उहिल्यै थाकिसकेका घाउका खिलहरू फेरि कोट्याइदिने पो हो कि भन्ने सोच्दै अरूको जिन्दगीमाथि नै प्रथम दृष्टि लगाइदिन्छु । 

त्यसरी हेर्दा भने नियतिले बालविधवा बन्न बाध्य पारिएकी आफ्नै आमा वैभवी तीस वर्ष पुग्दा नपुग्दै गाउँका जिम्दार बूढाकी चौथी पत्नीका रूपमा पिँढी लिप्दै गरेको टिठलाग्दो चित्र मन र स्मृतिका आँखामा देखापर्छ । त्यो दृश्य हेर्नुपर्दा ज्यादै भावुक मात्र होइन, हतप्रभ नै भएकी हुँ म । आमाको स्मृति–चित्रसँगै मेरो आफ्नै अतीत पनि साथै जोडिएर आइदिन्छ । 

अहिले पनि मलाई लाग्छ– पुगिसरीकै थियो मेरो बाल्यकाल । कुनै सपना र चाहना अधुरा र अपूरा थिएनन् । अभावको जिन्दगी जिउनेको हुलमा मिसिएर भविष्यको चिन्ता कहिल्यै गर्नुपरेन । सानु छँदा जेको म चाहना 
राख्थेँ, ती सबै बाबाले पुर्‍याइदिन्थे । बाल्यकाल बित्यो, विवाह भयो । 

लोग्ने विराजले सबै थोक पुर्‍याइदियो । अलिक पछि आफैँ कमाउने भएँ, सोचेका कुरा आफैँले पुर्‍याउन थालेँ । नहुने र हुँदा खानेले सोचेका कुरा सायद सपनामै पुर्‍याउँदा हुन् तर मलाई भने आफूले सोचेका कुरा पुर्‍याइदिन कहिल्यै सपनाको सहारा लिनुपरेको होइन । त्यही भएर मैले विरलै सपना देखेकी र देख्दा पनि सपनाले कहिल्यै रोमाञ्चित नभएकी म । 

रोक्न खोजेकी त होइन मैले तर नचाहँदा नचाहँदै पनि स्मृतिका पानाहरू पल्टिँदै गए । ध्यान अन्यत्र मोडिदिन खोज्दा पनि गाउँमा रहेर माध्यमिक विद्यालय पढ्दादेखि मियो कलेज, अजमेरसम्मको जिन्दगीका पाना सरर पल्टिए । मसिनो गरेर हेर्छु । त्यसरी हेर्दा रोमाञ्चित बनाउँदै लगेको छ मलाई । त्यही बेलामा त हो नि मैले यौवन, माया–प्रेम, अनुराग र अनुभूतिको पहिलो पाठ पढेकी पनि तर खै कस्तो पाठ पढिएछ ? मैले पढेका प्रेम र अनुरागका पाठमा कहिल्यै सुखद अन्त्य भेटिएन । त्यो देख्नासाथै अनायासै मभित्र एउटा अलग्गै छट्पटी सुरु भयो । मुक्त हुन चाहेँ तर सकिनँ ।

त्यही क्रममा स्मृति मोडिएर जाँदा अकस्मात् जिन्दगीको त्यस्तो मोडमा पुगेर अडियो, जहाँ एकपल्ट रड्किएको पाइलाले मेरो जिन्दगीको दिशा र गति नै परिवर्तन गरिदियो । देख्दा थोरै लघुताभास र धेरै ग्लानि महसुस भयो । त्यहाँबाट तुरुन्तै वर्तमानमा फर्किन खोजेँ । फुर्सदको क्षण तगारो बनेर अगाडि उभियो । अतीतकी कैदी बनेर त्यसैभित्र हराउन बाध्य भएँ म । 

विवश छु । मेरो विवशताको फाइदा उठाउँदै चलचित्रको दृश्यझैँ उल्झिएर आए मेरो आफ्नै जीवनरूपी नाटकका थप दृश्यहरू एकएक गरेर । मैले दृष्टि लगाउनै पर्‍यो । बाल्यकालदेखि नै विलासी जिन्दगी बिताउन अभ्यस्त भएकी म चाहनाको दासी बनेँँ यौवनकालमा । सुविधाको जिन्दगी र विदेशिने चाहना थिए ममा । त्यसका अगाडि माया र प्रीति मात्र होइन, सबै थोक महङ्खवहीन बने मेरा आँखामा । सायद म स्वार्थी थिएँ । यदि त्यसो नहुँदो हो त जोसँग मेरो प्रेमिल सम्बन्ध थियो, उसैसँग लगनगाँठो कसिनुपर्थ्यो । क्यानडामा बसेको भन्दैमा मैले कहिले नदेखेकी विराजसँग मेरो विवाह हुने थिएन । विनोदको मायाको जालोमा जेलिएर जिन्दगीका उकाली र ओराली छिचोल्ने अठोट दरिलो भए त ‘बाबुआमाको करकापमा परेँ’ भन्दै विराजसँग विवाह गर्ने थिइनँ । आफूले खनेको प्रेमिल जिन्दगीको गोरेटोबाट बाहिरिने थिइनँ ।

विराजसँग जोडिएका दिनको स्मरण हुनासाथ क्यानडा आएपछिका मीठा–तीता दिनको सम्झना नआउने कुरै थिएन । विनोदसँगको मेरो पहिलो प्रेम थियो । क्यानडा पुगेपछि धेरै अवधिसम्म ऊसित बिताएका पलहरू मेरो सम्झना नआएका होइनन् । आई नै रहे तर उसकै यादमा अल्झिएर आफ्नो भविष्य र दाम्पत्य जीवनप्रति अन्याय गर्न सकिनँ, दुर्भाग्यको खुकुरी प्रहार गर्न सकिनँ । लोग्नेको अँगालोमा हाँस्दै जाँदा मेरा अगाडि विनोदले झारेका आँसु पानी समान बन्न पुगे मेरा लागि । लोग्नेलाई देउता ठान्ने संस्कारमा हुर्किएकी मैले माया–प्रेम, मन–मुटु, रहर–बैँस मात्र होइन, आफूसित भएका र दिनसक्ने जति सबै कुरा एकैसाथ विराजका पाउमा चढाइदिएँ । उसैलाई प्रियतम् ठानेर रमाइदिएँ अनि त पुरानो प्रेमी र प्रेम दुवै म्याद सकिएका ओखती भए मेरा लागि र रद्दीको टोकरीमा फ्याँकिए ।

म त अहिले पनि दाम्पत्य जीवनका सुरुका दिनको विराज असल नै थियो भन्छु । उसबेलामा विराजको बोली र दैनिकी नै मेरो जिउने आधार बनेका पनि हुन् । उसकै आदेश, उसैका रहर र उसकै चाहनामा मैले आफ्नो जिन्दगीको पाइला चाल्नुमा कर्तव्य ठानेकी पनि हुँ । अथाह विश्वास र भरोसा थियो उसमाथि । सम्पूर्ण रूपमा उसैमाथि आश्रित मात्र होइन, समर्पित पनि भएकी हुँ, बिना कुनै शङ्का, बिना कुनै चिन्ता अनि बिना कुनै प्रश्न । अहिले पनि मलाई लाग्छ– ‘जीवनमा कहिले देखभेट नभएकी स्वास्नीमान्छेले लोग्ने–स्वास्नीका बीचमा विश्वासको मन्दिर खडा गर्नका लागि त्यसबाहेक अरू के नै गर्न सक्दी होला र ? त्यही भएर म हरहमेसा लोग्नेकै सपनाको बैसाखीमा हिँडेकी हुँ । मैले गरेको त्यो समर्पण अनि विश्वास र भरोसा के मेरो भूल हुन् त ? शङ्कालु नबन्नु नै मेरो गल्ती थियो त ? बिनाप्रश्न विराजले सोचेको र खोजेको पुर्‍याइदिन खोज्नु मेरो कमजोरी थियो त ?’ प्रश्न उठ्दै छ अहिले मेरो मनमा ।

‘समर्पित भएर तँ लोग्नेसँग जोडिँदै गएका क्षणहरू के साँच्चै सुन्दर र स्वर्णिम थिएनन् त ? खोइ कहाँ कञ्जुस्याइँ गरेको थियो तँलाई प्रेम गर्न र तैँले मागेको सुख र खुसी दिन विराजले भन् त वाणी ?’ भन्दै प्रश्न गर्छ मेरो मन बेलाबेलामा अभैm मलाई । हो नि, कति सुन्दर मान्थिस् ती दिन र पल, जब विराजको मायाको छहरा छचल्किँदै तँमाथि पोखिन्थे । पहरा ठान्थिस् तँ आफूलाई र मायाको चोट हाँसीहाँसी सहिदिन्थिस् । ‘ल भन् त वाणी ! भौतिक सुखको कहाँ कमी थियो ? मानसिक अशान्ति कहाँ थियो ? के दुई ज्यान एक आत्मा भएर बाँचेका थिएनौ तिमीहरू त्यो बेलामा ?’, प्रश्न गर्दै मलाई आहत पार्दै छ अहिले यो मन ।

हुनत विराजको मात्र होइन, मेरै पनि राम्रै जागिर भइसकेको थियो । दुई–दुईवटा घर, छुट्टाछुट्टै गाडी थिए । एउटा घर भाडामा दिएर तेस्रो किन्ने सुरसार गर्नु के अर्थमा समृद्धि थिएन ? त्यही भएर त हो नि मेरो जिन्दगी खुसीको एउटा छुट्टै राजमार्गमा हिँड्दै थियो । हिँड्दै जाँदा टेकेका पदचापसमेत फर्केर ठम्याउने फुर्सद थिएन उसबेलामा मलाई । 

आफ्नो मूल्याङ्कन आफैँले गर्दाखेरि मलाई मेरो विवेकले अहिले पनि भन्ने गर्छ– ‘तँ सानैदेखि सोझी होस् वाणी । अरूका कुरा झट्ट पत्याइहाल्ने र अरूले भनेका कुरालाई सोझो अर्थमा मात्र बुझिदिने । रहर र चाहनाकी दासी हुँदा उसबेलामा विनोदलाई ठगेकी भए पनि पछिल्लो जिन्दगीमा आएर कसैलाई केही गरेकी छैनस् । अरूले पनि ठग्दैनन् भन्ने नै सोचेकी थिइस् तैँले । कहाँ त्यति सोझो छ र यो दुनियाँ ? त्यति धेरै माया गर्ने लोग्नेले ‘ठग्ला, धोका देला’ त झन् के कल्पना गर्थिस् ? त्यही लोग्नेमाथिको अतिविश्वासका कारणले धोका खाइस् । तेरो जीवन नै तहसनहस पार्ने गरी अप्रत्यासित रूपमा यदि त्यो सुनामी आउँदैनथ्यो भने लोग्नेमाथिको तेरा ती विश्वास र भरोसा सायद कहिल्यै धूमिल हुने थिएनन्, खण्डित बन्ने थिएनन् ।’

जिन्दगीमा आएको त्यो सुनामी र त्यसका कारक तत्त्वको खोजी नगरूँ भन्दाभन्दै पनि फुर्सदिला क्षणले हेर्न बाध्य पार्छ ।  त्यतैतिर लैजान खोज्दै छ अझै पनि मलाई । कसलाई रोकिदिनू भनूँ ? आफैँ छेक्न खोइ के गरूँ म ? न कसैको सहयोगले स्मृतिका बाटो नै छेक्नसक्छु, न त आफैँले विस्मृतिको गुप्तगृहका तगारो खोल्न सकेँ । त्यसैले सम्झन बाध्य छु म ती दिन र क्षणहरू । 

प्रस्ताव सुन्नासाथै मैले विराजलाई पहिलोपल्ट त ‘नाइँ, अहिले होइन’ नै भनेकी हुँ । त्यो नाइँ भन्नुमा मैले भविष्य सोचेर अथवा देखेर कदापि भनेकी थिइनँ । म पनि आमा बन्न त चाहन्थेँ तर उसले भनेजस्तो त्यति चाँडै होइन । क्यानडाको गाह्रोसाह्रो बुझेकी हुँदा तत्कालै प्रजनन्को झमेलामा फस्ने मेरो मन थिएन । त्यो नाइँमा म दह्रोसँग उभिन सकेकी भए मैले त्यो सुनामीको सामना नै गर्नुपर्ने थिएन । विराजले देखाएको सन्तान जन्माइहाल्ने इच्छाको विपरीत मैले प्रजनन्सम्बन्धी आफ्नो अधिकार प्रयोग गर्न सकेकी भए न त विभूति नै जन्मिने थियो, न नेपालबाट सुत्केरी स्याहार्न विरिता नै आउने थिई, न त यसरी दुर्घटनाग्रस्त बनेर मेरो जिन्दगी कहिल्यै नउक्सिने दलदलभित्र फस्न पुग्ने थियो । पश्चिमा चेतनामाथि मेरो आफ्नै पूर्वीय चेतनाले विजय प्राप्त गर्‍यो । मेरो इच्छाले होइन, लोग्नेको चाहना र रहरले जित्यो । त्यसरी अनिच्छा हुँदाहुँदै गर्भधारण गर्न पुगेकी हुँ । 

त्यसबेला आफूले ‘चाँडै बच्चा जन्माएर म दुईतिर माया बाँड्न सक्दिनँ हजुर’ भनेकी हुँ । तर सन्तानको मुख देख्न लालायित विराजले ‘त्यसो होइन वानू, चाँडो सन्तान जन्मे चाँडै हुर्किन्छन् पनि । उताको जस्तो असुविधा छैन यहाँ । बच्चा जन्मेपछि सरकारले छुट्टै भत्ता दिन्छ । फेरि स्थायी आवासीय सुविधा पाएकै बेलामा जायजन्म भयो भने तिमीले नागरिकता नलिए पनि बच्चाका लागि भनेर यतै बस्न पाइन्छ’ भनेर सम्झाएको थियो ।

आफूलाई सम्झाउँदै ‘मूर्ख थिइनँ तर के गरूँ ? समयले मूर्ख बनाइदियो । नेपाल फर्कने इच्छा थिएन । लोग्ने नै मेरा लागि देउता थियो । देउताका इच्छा त पुर्‍याइदिनै पर्‍यो ! विदेशिने रहर मनमा नहुँदो हो त विराजसँग किन जोडिन आइपुग्थेँ ? त्यति धेरै माया गर्थ्यो विनोदले, उसैको अँगालोमा भरिएकी हुन्थेँ । विदेशिने रहरले नै हो नि त चोखो प्रेमलाई रहरको चितामाथि चढाइदिएकी । ढिलो भइसकेपछि पछुताएर के हुन्छ ?’, कहिलेकाहीँ हिजोआज म आफैँलाई व्यङ्ग्य गर्दै भन्छु ।

अहिले लाग्छ– ’हठी हुन्छन् लोग्नेमान्छे । विराज पनि लोग्नेमान्छे नै हो, पत्नीका कुरा सुन्न नखोज्ने लोग्नेमान्छे । त्यसैले उसको इच्छाको औँला मेरो चाहनाको ओठमाथि राख्दै ‘त्यसरी डराउनुपर्दैन । नेपाल जस्तो हो र छोराछोरी आमाले नै हेरिरहनुपर्ने ? यति धेरै ‘शिशु स्याहार केन्द्र’ छन् । बच्चा हेर्ने मान्छे पनि पाइहाल्छ । पैसा मात्रै हुनुपर्छ, इच्छा मात्रै गर्नुपर्छ, सबैथोक छिनभरमै जुट्छन् यहाँ । बच्चा जन्माएर तिमीमाथि दुःखको भारी थप्ने सोच त कहाँ हो र मेरो ? अप्ठ्यारो महसुस भए कोही राम्रो हेरालु राखौँला । यता पाइएन भने नेपालबाटै कसैलाई ‘स्पोन्सर’ गरेर ल्याए पनि हुन्छ । नपाइने होइन । मान्छे जति पनि पाइन्छन्’ भन्दा मैले नमानेकी भए पनि त हुन्थ्यो नि ! 

‘म गर्भवती भएपछि फेरि नेपालबाट हेरचाह गर्न कसैलाई ल्याउने कुरा गर्‍यो विराजले । पहिले त मान्दै मानेकी होइन तर विभूति जन्मिनुभन्दा छ महिनाअघिदेखि नै ‘बेड रेस्ट’ गर्नुपर्ने गरी जटिल समस्या देखापर्‍यो ।विराजले नभ्याउने हुँदा हेरालु राख्नै पर्ने स्थिति बन्यो । लामो अवधिसम्म क्यानडाकै हेरालु राख्न सम्भव भएन । परिस्थितिले बाध्य पार्‍यो । ‘आ, जे त पर्ला’ भन्नै पर्‍यो । त्यही भएर त हो– नेपालबाट मान्छे ल्याउने कुरामा सहमति मैले दिनुपरेको र त्यसपछिका केही दिनमा नै आफ्नै जेठी फुपूकी छोरी विरिता क्यानडा आएकी’, स्मृतिका पाना पल्टिँदा त्यसबेलाका वार्तालापका शब्दशब्द अभैm कानमा गुञ्जिँदै आउँछन् । आज पनि आए ।

अहिले त लाग्छ– विरितालाई केही समयपछि फर्काइदिएकी भए पनि हुन्थ्यो । कानुनी अड्चन थिएन तर त्यसरी फर्काइहाल्न मेरो मन र विवेकले नै अनुमति दिएनन् । आइसकेकी मान्छेलाई त्यत्तिकै फर्काएर के बिजोक बनाउनु भन्ने लाग्यो ? अप्ठ्यारा दिनमा गुन लगाएकी थिई । त्यो गुन तिर्ने इच्छा गर्‍यो उसबेलामा मेरो मनले । त्यसबेलाका मेरो इच्छा नै पछिका दिनमा मेरा लागि अभिशाप बन्लान् भन्ने अनुमानै गर्न सकिनँ मैले ।

हुनत विरिताको उपस्थितिले प्रसूतिअघि र पछिका दिनमा मलाई निकै सहज भएको हो । घरका सबै काम उसैले भ्याइदिन्थी । जन्मेको केही दिनपछि नै विभूतिलाई उसैसित सुताइदिएँ । झ्याम्मिँदै गयो उसैसित । मान्छे चिन्ने भइसकेपछि विरितालाई देख्नासाथै विभूति मेरै काखबाट हामफाल्दै विरिता भएतिर सर्थ्यो । मातृत्वमाथि गहिरो चोट पुगेको अनुभूति गर्थें म । भित्रभित्रै मन अमिलो हुन्थ्यो । सहनै पर्थ्यो र सहेर नै चार वर्ष बित्यो पनि ।

सुरुतिर त कुनै परिवर्तन भएको महसुस गरेकी होइन मैले विराजमा । कोठामा एउटा नयाँ खाट थपिएको थियो । कहिले त्यो नयाँ खाटमा त कहिले पुरानै खाटमा सुतेर विराजले मलाई माया जताइदिएकै थियो । त्यति मायाले पनि म खुसी नै थिएँ । प्रसूति पछाडि शारीरिक रूपमा निकै कमजोर भएकी थिएँ । थोरै डिप्रेसनको लक्षण देखिएको थियो ममा । त्यस्तो अवस्थामा छोराका कारणले अप्ठ्यारो महसुस नहोस् भनेर त्यस्तै वातावरण बनाइदिएको थियो । कुनै काम गर्नुपरेको थिएन । यदि विरिताको दूध आउँदो हो भने त्यो दूध चुसाउने काम पनि सायद मलाई गर्न दिने थिएन विराजले । 

छोरो जता हुन्थ्यो, विराज त्यतैत्यतै कुद्थ्यो । विभूति विरितासँग सुत्न थालेपछि छोरो नसुतुञ्जेल विरिताकै कोठामा अल्झिन्थ्यो विराज । ढिलै कोठामा फर्किन्थ्यो । ऊ फर्कंदा कहिले त म निदाइसकेकी हुन्थेँ । म निदाएकी भए नबोलाईकनै छेउको खाटमा सुत्थ्यो । शङ्कालु नजर पारेर मैले हेर्ने स्थिति नै थिएन ।

त्यो बेलामा पनि अचम्म हुन्थ्यो । कहिलेकाहीँ अकस्मात् निद्राबाट ब्युँझिन्थेँ र म विराजलाई खोजी हेर्थें । शङ्का छैन भन्दाभन्दै पनि शङ्कालु भएकैले त होला त्यसरी खोजेकी ? मैले त्यसरी खोजी गर्दा सुतेको खाटबाट म भएतिर सर्दै– ‘बाबू आज सुत्न मान्दै मानेन । एघार बजेतिर मात्रै सुत्यो । म आउँदा तिमी निदाइसकेकी थियौ । नबोलाईकन सुतेँ’ भन्दै ढिलो फर्केकोमा सफाइ पेस गर्थ्यो । विश्वास गर्थें म । सायद मेरो त्यही भूल भयो । बितेका दिन सम्झिँदा अहिले यस्तै लाग्छ मलाई । 

ठाउँ, समय र जिन्दगी सबै थोक त्यस्तै थिए । व्यस्ततामा रमाउने त्यो संसारमा ‘शारीरिक अस्वस्थता छ’ भन्दैमा हात बाँधेर बस्ने कुरा भएन । बाँच्नुपर्थ्यो, बाँच्नका लागि खानै पर्थ्यो । खानाकै लागि धेरै समय काम नगरीकन सुखै नहुने । सुत्केरी भएको पाँच महिनापछि मेरो जिन्दगीले पुरानो बाटो पछ्याइहाल्योे । विराज त दौडेकै थियो । म आफैँ पनि विभूतिलाई विरिताको जिम्मा लगाएर दौडधुप गर्न थालेँ ।  

विभूतिले वामे सर्ने, हिँड्ने र बोल्नेबाहेक खासै केही फेरिएका थिएनन् जिन्दगीमा । छोरो देख्दा मभित्रकी आमा रोमाञ्चित र तरङ्गित हुनेबाहेक थप नयाँ केही भएको होइन । त्यही बालक्रीडाको रमाइलोभित्र रुमल्लिँदै जाँदा विराज र विरिताबीचमा अन्तरङ्ग सम्बन्ध विकसित भएको पत्तै पाइनछु मैले । समुदायमा गाइँगुइँ कुरा चल्न थालेको रहेछ तर मलाई भन्ने आँट कसैले गरेनन् । 

सुरुतिर त ‘हल्लैहल्लाको देशका सन्तान्, जहाँ गए पनि आफ्नो संस्कार नछाडीकन साथै लैजाने रहेछन् नेपालीले’ भन्दै चित्त बुझाउने प्रयत्न गरेकी पनि हुँ । तर के गर्छेस् वाणी अहिले पछुतो मानेर ? उसबेलामा हल्लाको सत्य जाँच्ने तेरो बुद्धि नै भएन । त्यो फगत हल्ला मात्रै भए त कहाँ यस्तो जिन्दगी भोग्नपर्थ्यो तैँले अहिले ? तेरो जिन्दगीको त्यो तीतो यथार्थ तेरै कारणले देखापरेको हो’ भन्दै अहिले यो मनले सताउँदा खिन्न हुन्छु म । 

हुनत हल्ला फैलिँदै गएपछि थोरै चिन्तित बनेकी हुँ । लोग्नेमा देखिएको व्यवहारगत परिवर्तन, जसलाई एउटी पत्नीको रूपमा मैले मात्र महसुस र अनुभूति गर्न सक्थेँ, गरेकी पनि हुँ । मनमा शङ्काको बादल उत्पन्न नभएको पनि होइन । त्यही कारण आफू कुनै दलदलमा फस्दै गएको सपना बारम्बार देखेकी पनि हुँ । त्यो सपना सायद एउटा सुनामीको पूर्वसङ्केत नै थियो । त्यतातिर आफ्नो ध्यान खिचेर रोक्न खोज्दी हुँ त मैले त्यो जीवन दुर्घटना रोक्न पनि सक्थेँ होला । अहिले यस्तो महसुस गर्दा खासै उपलब्धि त हुने होइन तर पनि उसबेलामा आफूले त्यो अनपेक्षित घटना रोक्नेतर्पm हतारो नदेखाएकामा भने थोरै पछुतो हुने गरेको छ मलाई ।

अहिले पछुतो मान्दै गर्दा पनि मनले भनेजस्तो मैले रोक्नेतर्पm कुनै प्रयत्न नै नगरेको भन्नेचाहिँ किमार्थ होइन । उसबेलामा विभूति एक वर्षको भएपछि ‘आफ्नै कोठामा सुताऔँ न त हजुर’ भनेकै हुँ । तर मैले बोल्न नभ्याउँदै ‘आमाबाबुसँग सुत्ने बच्चा डरपोक हुन्छन् ! विकृत मानसिकताका दास हुन्छन् । हामीले आफूसँगै सुताउन हुन्न बानू’ त्यो विराजेले भन्दा ‘मैले किन जोड नगरेकी ? के अरूका छोराछोरी यहाँ बाबुआमासित सुत्दैनन् भन्दैमा म पनि त्यही मानसिकताको दासी हुनुपर्थ्यो त ? किन करबल गरेर छोरालाई आफूसँगै सुताउन नसकेकी ? अहिले पनि यस्तै प्रश्नले मेरो दिमागलाई भद्दा बनाइदिन्छ ।

शारीरिक सजायले मात्र आत्मसन्तुष्टि मिलेन मलाई । कानुनी सजाय दिन मनले खोजेन । आत्मग्लानि, आत्मपीडा र आत्मअपमानसहित पश्चातापको आगोमा जलेर बाँकी जिन्दगी ध्वस्त पारुन् विरिता र विराजले भन्ने चाहना भयो । त्यही भएर विराजसँगको सहयात्रा टुङ्ग्याएर उसलाई सजाय दिन म सरक्क अलग्गिएकी हुँ

मैले रोक्ने प्रयास नगरेकीले न हो त्यसपछि विभूतिले छाड्दै छाडेन भन्दै त्यो विराजे विरिताको कोठामा अझ बढी बस्न थालेको । त्यसो गर्दा सायद मैले शङ्का गर्नुपर्थ्यो । अलिक बढी चासो लिनुपर्थ्यो । अर्थोक केही गर्न नसके कमसे कम चिहाएर विरिताको कोठाभित्र हेर्नुपर्थ्यो । मेरा कथा सुन्नेले यसो पनि भन्न सक्छन् अहिले । शङ्का गर्दागर्दै पनि आफ्नो मन कञ्चन र सफा राख्न चाहन्थेँ म । शङ्काको डढेलोभित्र आफ्नै मन जलाएर कालो 
पार्ने इच्छा भएन । त्यसो गर्न सकिनँ पनि मैले । 

समुदायका मान्छेले कुरा काट्न थालेपछि एकचोटि त तँलाई ‘त्यो विरितालाई घरबाट निकाली दे वाणी मैले भनेको होइन ? खै कहाँ टेरिस् त मेरो आदेश तैँले ? ‘उसबेलामा मेरी आफ्नै फुपूकी छोरी हो, त्यस्तो अभद्र व्यवहार गर्नु हुँदैन’ भनिनस् ? मैले त ‘घर भत्किएला है होस् गर् भनेकी हुँ ।’ डर त मलाई पनि लाग्छ हेर् तर त्यसरी अभद्र बन्नुभन्दा त बरु मेरो भाग्यमा जे लेखेको छ, त्यही भोग्ने हुँ’ भनेकी होइन तैँले नै ? तैँले नै भाग्यका अगाडि लुलो खुुट्टा टेकेपछि मैले त के गर्नसक्थेँ ? शिवाय तँसँगै नारिएर हिँड्न’ भन्दै अहिले मेरो मन हाँस्दा खै कसरी रुनु मैले ? र त खिन्नता भरिएको मुस्कान लिएर त्यसबेलाको परिस्थिति नियाल्दै बस्न बाध्य हुन्छु म ।

धेरै सपना देख्ने मान्छे नै होइन म तर त्यतिबेला भने बारम्बार एउटै सपना देख्थेँ ? अचम्मै लाग्थ्यो । मनमा कुरा खेलेपछि यस्तो हुँदा हो भन्ने लाग्थ्यो । अरू कोसित सरसल्लाह गर्नु थियो र– आफन्तकै खडेरी परेको त्यो संसारमा ? सपनाको सङ्केत बुझ्न खोजेकी भए पनि हुन्थ्यो । सपनाले बेचैनी दिन्थ्यो । मनै अस्थिर बन्थ्यो ती कहालीलाग्दा र दिक्कलाग्दा दिनमा । अहिले त त्यो सपना सम्झिन पुगेँ भने ऐठनको अनुभूति हुन्छ भने 
उसबेलामा के हुन्थ्यो होला ? जति पटक सपना दोहोरिँदै आउँथ्यो, त्यति नै पटक निद्राबाट ब्युझिन्थेँ– ज्यादै अशान्त र क्लान्त बनेर । ओठ–मुख सुक्थ्यो, घड्कन रोकिएझैँ हुन्थ्यो, छट्पटी बढेर जान्थ्यो, अधैर्य बन्थेँ । बन्थेँ लाचार र निरीह । बहुलाउँछु कि जस्तो पनि लाग्थ्यो ।

‘त्यो त हो नि वाणी ! अस्थिर भएकैले तैँले त्यो सपनाको अन्तिम दृश्य देख्ने कहिल्यै दुस्साहस गरिनस् । तैँले नहेरेर के भो त ? तैँले नचाहेकै कुरा भो’ भन्दै आफ्नै मन मेरो कायरतामाथि प्रश्न उठाउँदै हाँस्दै छ अहिलेसम्म पनि । म त्यो हाँसोमा साथ दिन सक्दिनँ । 

हुन पनि हो, सपनाको अन्तिम दृश्यमा प्रवेश गर्नै लाग्दा म हठात् ब्युँझेर उठ्थेँ, सँगैको अर्को खाटतिर आँखा लगाउथेँ । विराज छेउमा सुतेको हुन्थ्यो । उसलाई देख्दा चैनको सास फेर्दै ‘धत्तेरिका ! छिः कस्तो सपना देखेकी हुँला’ भन्दै छेउको टेबुलमाथि राखेको पानी कलकल पिइदिन्थेँ र मन शान्त पार्न खोज्थेँ । त्यही पानीले चिन्ताका ज्वारभाटालाई आत्मविश्वासको शान्त सागरमा पुर्‍याएर मिसाइदिन्थ्यो अनि त म विराजतिर फर्कंदै निदाउने प्रयत्न गर्थें ।

अहिले पनि त्यो सपनाका अन्तिम दृश्य म आँखामा ल्याउन चाहन्नँ । त्यसैले स्मृतिका पाइलाहरू त्यहाँभन्दा अगाडि बढ्दै नबढून् भन्ने चाहन्छु । मैले नचाहेर के भयो ? समयले आखिरमा सम्झाउनै खोज्यो, त्यो दृश्य फेरि एकचोटि देखाउनै खोज्यो जिद्दी मनले ।

यथार्थमा नै चाहन्छु म आफ्नो अतीत भुल्न । धुजाधुजा पारेर च्यातिदिन चाहन्छु विगत । तर बिर्सन खोज्ने मेरै प्रयत्नमा पनि चस्स मुटुमै घोच्ने यादका तिनै घोचाले थाकेको घाउको खाटो कोट्याइदिन्छन् । चहर्‍याएको महसुस हुन्छ । मेरा मनका स्वचालित पाइलाहरू स्मृतिको त्यही दुनियाँभित्र फर्कन्छन्, जहाँ लोग्ने र स्वास्नीको बीचमा रहेको आत्मीय र पवित्र प्रणय सम्बन्धको मसिनो त्यान्द्रोलाई चटक्कै चुँडाएर मैले विभूतिसमेतलाई उनीहरूकै साथमा छाडेर विराज र विरितालाई आफ्नो जिन्दगीबाट अलग्याएकी थिएँ ।  

अहिले त लाग्छ ‘कस्तो नकच्चरो होला लोग्नेमान्छेको जात ? मैले घर छाडेर हिँड्ने अघिल्लो रातसम्म पनि त्यो विराजेले मलाई मायाको अँगालोमा कस्दै थियो ।’ त्यस्तो सोच्नासाथै ‘तैँले पनि त नाइँ भनेकी भए हुन्थ्यो नि ! किन भन्न नसकेकी, भन् त ? के माया बाँकी थियो त ? कि कुनै चमत्कारको अपेक्षा गर्दै थिइस् ?’, प्रश्न गर्छ मलाई मेरै मनले । उत्तर दिन नचाहेर होला, आफ्नो ध्यान मैले विरितातिर मोडिरहेकी छु । 

मलाई लाग्छ– ‘छिः त्यो विरिता पनि कस्ती ? विराजसितको शारीरिक सम्बन्धका बारेमा मलाई थाहा हुनासाथ त्यसमाथि पर्ने असर त अनुमान गरेकी हुँदी हो तर खोइ त त्यस प्रकारको व्यवहार देखाएकी ? भूल स्वीकार्न सक्थी, माफी माग्न सक्थी । मेरो जिन्दगीबाट अलग्गिने अनेक उपाय थिए । अलग्गिन सक्थी । तर, खोइ कहाँ त्यस्तो गरी ? के विभूतिको मायाले मात्रै त्यसको बाटो छेकिदिएको थियो त ? हुनत दुई जिउकी भएपछि त के गरोस् त्यसले पनि ? मसित अलग्गिनै पर्थ्यो । मैले नै सरक्क अलग्गिएर सजिलो बनाइदिएँ । के ठीकै गरेकी हुँ त मैले ?’ यस्तै प्रश्न उब्जिरहेका छन् अहिले मेरो मनमा ।

दुई धारमा बगेर अगाडि बढ्न सजिलो हुँदैन । त्यसैले विराजको मनस्थिति विचित्रको बन्दै थियो । न ऊ मलाई त्याग्न सक्थ्यो, न त एकलौटी विरितालाई नै अँगाल्न । विरिताको गर्भ नबसेको हुँदो हो त दुइटा डुङ्गामा खुट्टा टेकेरै सायद अगाडि बढ्ने कोसिस गर्थ्यो होला । गर्भ बसिसकेपछि जन्माथलोतिर भए सम्झौता गर्न मलाई बाध्य पार्थ्यो पनि होला तर क्यानडामा भने त्यो सम्भव थिएन । कानुन उल्लङ्घन गर्ने हैसियत थिएन उसको पनि । 

विराजको ठाउँमा आफूलाई राखेर अहिले सोच्दा मलाई लाग्छ– ‘गर्भ तुहाइदिने उपाय थियो । उता भए त लुकिछिपी गर्थ्यो पनि होला । 

विरिता तयार पनि हुन्थी होला ? तर यताको कानुनले त्यसो गर्ने अनुमति दिँदैन । उतै गएर तुहाइदिन्छु भन्दा पनि कुन मुख लिएर जानु ? चुपचाप बस्ने अथवा मलाई त्याग्ने, त्योबाहेक अरू के विकल्प थियो त्यो विराजेसँग ? मेरो परिस्थिति पनि त कहाँ भिन्न थियो त ? समय हुँदै हस्तक्षेप गरेकी भए कुनै बाटो भेटिन्थ्यो पनि । तर गर्भ नै बसेपछि लाचार बन्नु र नियतिलाई स्वीकार्नुबाहेक म र विरितासित अरू के बाँकी हुन्थ्यो ? मेरो जिन्दगीको त्यो अत्यन्त नै कठिन परीक्षा थियो । आफैँले गृहत्याग गरेर त्यो परीक्षा उत्तीर्ण गर्नेबाहेक अर्थोक म के गर्न सक्थेँ र ? उसबेलामा आफ्नो भूल देख्दै नदेख्ने म अहिले भने लोग्नेमाथिको आफ्नो अतिविश्वास अनि आफूले गरेको अनिच्छाको गर्भधारण नै भूल हो र त्यसकै सजाय भोग्दै छु भन्नेमा प्रष्ट छु ।

उसबेलाका विकल्पहरू पनि हेरिरहेकी छु अहिले । त्यसरी हेर्दा मलाई लाग्छ– कि त परिस्थितिसँग सम्झौता गर्दै बहिनीसित लोग्ने बाँडेर बस्नुपर्थ्यो । त्यसोे नभए विरितालाई विराजको जिन्दगीबाट हटाई एउटी कुमारी आमाको जिन्दगी जिउन बाध्य पार्नुपर्थ्यो । ती दुवै गर्न नसकेको खण्डमा म आफैँ सरक्क अन्यत्रै गएर उदारता देखाउनुपर्थ्यो । छनोट त सजिलो थिएन तर कसैलाई असहज बनाइदिने मन भएन । त्यसैले अन्तिम विकल्प आफैँ अलग्गिने चुनेकी हुँ । यो निर्णय मेरो भूलका लागि मात्रै होइन, अपितु विराज र विरिताले दिएको धोकाका लागि पनि सजायको रूपमा मैले बुझेकी हुँ ।

ठीक थियो अथवा बेठीक ? त्यो अहिले पनि भन्न सक्दिनँ तर लोग्नेबाट अलग्गिने निर्णय म आफैँले गरेकी हुँ । उसबेलामा मलाई लागेको थियो– ‘आफ्नो खुट्टामा उभिने सामथ्र्य मभित्र अझै बाँकी नै छ । म कसैमाथि जुका बनेर टाँसिन सक्दिनँ । एक्लै जिउन सक्ने सामथ्र्य बाँकी रहुञ्जेल मैले अर्कामाथि बोझ बनेर, अर्काको अशान्तिको कारण भएर किन टाँसिएर बस्ने ? कुमारी रहर त सबै रित्तिई नै सकेका छन् । पढेलेखेकी छु । सुख खोज्न विदेशिएकी म लोग्नेको साथ नपाउँदैमा कसरी दुःखी बनूँला र ? हाँसेर यस मुलुकमा बाँच्न लोग्नेकै साथ हुनुपर्छ भन्ने पनि त छैन । मान्छे हो त्यो विराजे, रहर भएको लोग्नेमान्छे । विरिताको शरीर चुम्ने, त्यसकै भाग्य बन्ने रहर गर्‍यो । मेरा लागि मर्‍यो, विरिताका लागि बाँच्ने भयो । काल गतिले पनि त त्यो मर्न सक्थ्यो ? काल गतिले नै त्यो मरेको भए के मैले एक्लै जिन्दगी बिताउन सक्ने थिइनँ त ? जिउनै पर्थ्यो र जिउँथेँ । 

लोग्नेको साथ रोजेर जिउँदै बारम्बार मर्नुभन्दा त लोग्ने मरेको ठानेर त्यसको जिन्दगीबाट अलग्गिएर किन नजिउने ? भन्ने अठोट बन्दै गयो मेरो ।

त्यस्तो अठोट गर्दै गर्दा आफ्नो पुरानो गाउँतिरका धेरै दौँतरी महिलाको अनुहार सम्झिन पुगेकी थिएँ, जो सानै उमेरमा जीवनसाथी गुमाएर विधवाको रूपमा एकल जिन्दगी बिताइरहेका थिए । उनीहरूको सम्झना आउनासाथ मभित्र हिम्मतको सगरमाथा चुलिँदै गएको थियो । त्यही सगरमाथाको आड लागेर ‘जीवनमा आउने अनेकन् आँधीबेहरीलाई म छेक्नसक्छु’ भन्ने अठोटले नै मैले अलग्गिने निर्णय गरेकी हुुँ । त्यस्तो निर्णय गर्दा उसबेलामा मलाई लागेको थियो– ‘हेर् वाणी ! स्रोत र साधनहीन ती उतातिरका सबै स्वास्नीमान्छेहरू त लोग्नेबिनाको जिन्दगी बिताउन सक्षम छन् भने यति सजिलो ठाउँमा आएर तैँले किन नसक्ने ? विरिता र विराजको यौनिक सम्बन्धलाई एउटा अनपेक्षित दुर्घटना ठानेर त्यही दुर्घटनामा लोग्ने भनाउँदो एउटा पुरुषको असामयिक मृत्युको कल्पना किन गर्दिनस् ?’ भनेकी हुँ ।

लोग्ने परित्यागका बखतमा विचारका यस्तैयस्तै लहरहरू धेरै दिनसम्म मेरो मनको तलाउमा उठ्दै बस्दै गरेका हुन् । मनग्य मन्थन पनि गरेकी हुँ । पक्ष–विपक्षमा तर्क गरेकी हुँ । जति तर्क गर्थ्यो मस्तिष्कले, उति नै विराज र विरिताप्रति कठोर बन्दै जान्थ्यो मन । विश्वासको जग हल्लाएर थिलथिलो पार्ने विरिता र विराजलाई सजाय दिन र आफ्नै भूललाई फेरि टाउको उठाउनै नसक्ने गरी थला पार्न उद्यत हुँदै गएकी हुँ म उसबेलामा– कमलो मनलाई कठोर पारेर ।

शारीरिक सजायले मात्र आत्मसन्तुष्टि मिलेन मलाई । कानुनी सजाय दिन मनले खोजेन । आत्मग्लानि, आत्मपीडा र आत्मअपमानसहित पश्चातापको आगोमा जलेर बाँकी जिन्दगी ध्वस्त पारुन् विरिता र विराजले भन्ने चाहना भयो । त्यही भएर विराजसँगको सहयात्रा टुङ्ग्याएर उसलाई सजाय दिन म सरक्क अलग्गिएकी हुँ । 

सोच्दासोच्दै मेरो मनले ‘त्यस्तो सजाय तोकेर अलग्गिएकी तँ जस्ती दह्री मान्छे आज फेरि उदास बनेर किन क्षितिजतिर हेर्न थालेकी भन् त वाणी ?’ भन्दै प्रश्न राख्छ मलाई । 

‘तैँले दिएकै सजायका कारण त्यो विराज र विरिता मानसिक तनावमा छन् रे ! विराजले मानसिक सन्तुलनसमेत गुमाएको छ रे ! ज्यादै दुखद स्थितिमा छ अरे विरिता पनि । न त विरिताको छोरो विमर्श नै अहिले त्यसको साथमा छ अरे ! न छ वाणीको काखबाट खोसेर विरिताले लगेकी विभूति नै त्यसको साथमा । विराज त साथैमा होला तर त्यसमा रहेको पागलपनको के भर ? आफन्तहरूको घृणा र तिरस्कारले विक्षिप्त बनेकी विरिताकोे घर भित्रभित्रै भत्केर जीर्ण भइसकेको र मन पश्चातापको अग्निमा दन्दनी जल्दै छ रे ! निख्रिएको बैँस बोकेर अशान्तिको जिन्दगी बिताइरहेकी छ अरे विरिता । तैँले त गर्व पो महसुस गर्नुपर्ने हो । तैँले त सन्तोकको सास पो फेर्नुपर्ने हो । किन त्यसो गर्न सकिरहेकी छैनस् वाणी ?’, थप प्रश्न गर्छ मनले ।

मलाई पनि लाग्छ– ‘जिन्दगीको एउटा सानो लडाइँमा त हारेकी होला मैले तर मैले दिएको सजायले जीवनको एउटा ठूलो युद्ध जितेकी पनि त छु ।’ मुस्काउँदै म क्षितिजतिर हेर्छु, जसमाथि सग्लो, सुन्दर र नीलो आकाशबाहेक अरू कुनै दाग थिएनन् ।

टिरिङ टिरिङ घन्टी बज्छ भन्साघर भएतिरबाट । त्यही सूचनाका साथ दिवा खानाका लागि मेरा पाइला डाइनिङ हलतिर मोडिन्छिन्– स्मृतिका तरङ्गलाई विस्मृतिको गर्तभित्र हुत्याइदिँदै ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…