वर्षौँ पहिले
माग्दामाग्दै आाफ्नै भाग्यको भीख
सजिँदै बस्दा हरसाँझ
र, कुर्दाकुर्दै बिहानीको बालिका घाम
नभेटेपछि कतै उज्यालोको चुनरी
फुटेपछि तमाम रङ्गीन सपनाका ऐना
आँखाबाट आफ्नै औँलीले सोहोरेर
रगतको आँसु चढाउँदै
अन्तिम पटक फूलले आत्महत्या गरेको
यही मन्दिरमा हो ।
त्यही दिनदेखि
पवित्र मानिएको यो मन्दिरकाे मूर्तिलाई
आफ्नै भाग्यरेखा मान्दै छन् श्रद्धालु भक्तजनहरू
र, चढाउँदै छन् फूलको हृदय चुँडेर
पत्थरको पाउमा ।
मुटु निचारेर पत्थरकै हातमा
निधारभरि लेख्दै छन् भाग्य
अबीर जस्तो रगतको मसीले ।
ओ मूर्तिका प्रेमिकाहरू !
त्यसरी निराहार बसीबसी
पत्थरका शिवलिङ्गमा दूध नचढाउनू
किनभने संसार भोकानाङ्गाहरूको गाउँ हाे !
तर, तिम्रो देवता
गाँजा तानेर गीत गाइरहेको छ
उसले देख्दैन आँसुको रङ
उसलाई कुमारी फूलहरू चाहिन्छ
- तिम्रा शिशुहरू जस्तै फूल !
नचढाउनू मनका कोमल फूलहरू
किनभने ईश्वरलाई फक्रिँदो जवानी मनपर्छ
उसलाई रगत मनपर्छ भनेर
नरित्याउनू नानीहरूको रक्तकोषिका
ओ मूर्तिका प्रेमिकाहरू !
तिम्रो उत्तरआधुनिक ईश्वर अचेल
मन्दिरमा होइन, क्याबिनमा बस्छ
र, तिम्रा छोरी-फूलहरूको सिउँदो चिथोर्छ !
सुन !
मन्दिरमा फूलले आत्महत्या गरेको आवाज !
जो कुनै भजनभन्दा लाखौँ गुणा तिखो छ ।