Khabarpato logo

         

कला/साहित्य

विद्रोहको नूतन काव्यशास्त्र: रेमिकाको 'महाकाल सिसिफस'

महेश पौड्याल

महेश पौड्याल

विद्रोहको नूतन काव्यशास्त्र: रेमिकाको 'महाकाल सिसिफस'

मेरो हातमा 'महाकाल सिसिफस' छ- रेमिका थापाको । देख्नमा कविता छन् । यानिकी, अक्षर छन्, शब्द छन् । एउटा निश्चित संरचना छ । तर, अन्तर्यमा एउटा प्रलयङ्कार छ, एउटा विद्रोह छ । 

आँखाले पढेर र मस्तिष्कले बुझ्न खोजेर पुगिरहेको छैन । एकैचोटि कानहरू संवेदित छन् । पूरा शरीर संलग्न छ यी कविताको पठनमा अनि बल्ल प्रयोगका, सहमतिका, असहमतिका, अविष्कारका र विद्रोहका पाटाहरू खुलिरहेका छन् ।

रैखिक समयप्रवाहको एउटा विघटन छ, विनिर्माण छ । समय न अगाडि बग्छ, न त पछाडि । मिथकीय कलेवरमा विगत, विकृत रङमा वर्तमान र अनिश्चिताको घेरोभित्र भविष्य यी तीनै काल एकाकार भएर एउटा महासमयको निर्माण पनि यहीँ भएको छ । भौतिक, आदिभौतिक र आध्यात्मिक जगतको त्रिवेणी पनि यहीँ छ । 

यहाँ जनजातीय सुवास छ । माटोको कुमारी गन्ध छ । किरात सभ्यताको एउटा वृत्तचित्र उभिएको छ । हुँकार छ, विलाप छ, प्रतिकार छ, विद्रोह छ । मान्छे र प्रकृतिको प्रेमालाप छ । ऋतुहरूको उत्सव छ । संसारलाई हेर्नका निम्ति अख्तियार गरिएको एउटा निर्दोष आदिवासी र किराती विश्वदृष्टि छ, जुन नैतिक परीक्षामा विफल तथाकथित आधुनिक दृष्टिविन्दुहरूको विकल्पको रूपमा यस कवितासङ्ग्रहमा आएका छन् । 

समाजमा शक्ति हुनेहरूले बनाएका भर्‍याङमा तल परेका किनारीकृतहरूको मर्म कथा पनि छ । के छैन भनौँ ? मेरो हातमा 'महाकाल सिसिफस' छ ।

दार्जिलिङका कवि रेमिका थापाको कविताकारिता एउटा मूर्तिभञ्जकको वृत्तचित्र जस्तो लाग्छ मलाई । उनी अरूले बनाएको पक्की बाटो हिँड्न भन्दा आफैँले बनाएको जोखिमको बाटो हिँड्न रुचाउने कवि हुन् । यस बाटोमा पनि आफूलाई कुनै मोडमा पुर्‍याएपछि आफैँलाई छोड्ने र एक नयाँ अवतरणमा फेरि अर्को जोखिमको बाटो अख्तियार गर्ने कवि हुन् । तर, उनको विविध, सततः नवीकृत कविवृत्तलाई जोडी बस्ने केही तन्तुहरू भने अवश्यै छन् । 

समाजलाई तल्लो तहबाट हेर्नु र बझ्नु, देशलाई किनारबाट स्पर्श गर्नु, मानवतालाई हेर्ने दृष्टि गाउँमा खोज्नु र विकासको आधुनिकतम वेगले कतै टाढा छोडेका आदिवासी बाआमाका आँखाबाट जीवनका मूल्यलाई हेर्नु रेमिका थापाको कविताको रजतपट हो । उनलाई केही हदसम्म पढिसकेपछि, उनका बारेमा केही धारणा बन्छन् र केही अपेक्षा पनि विकसित भएर आउँछन् । नयाँ कृतिमा आवतरित हुँदा पहिले बनेका तमाम धारणालाई तोड्नु, अपेक्षाहरूलाई विस्मित तुल्याउनु र अगाडि बढिरहनु उनको कविताकारिताको एउटा 'ट्रेडमार्क' हो । 

उनका बारेमा कुनै पनि भविष्यवाणी सटिक हुँदैन । उनलाई शैली र कथ्यका दृष्टिले कनै पनि प्रकारका कोष्ठकभित्र राखेर विश्लेषण गर्ने प्रयास सफल हुन सक्दैन । विभिन्न असम्बद्ध परिवेशबाट टिप्दै उन्दै गर्ने 'कटआप’ मोडलको कविता हो यो । तर, त्यसभित्र निहित सम्बन्धको निरूपण एउटा तीब्र बौद्धिक क्षमता भएको पाठकले बाहेक अरूले गर्न सक्ने सम्भावन न्यून छ ।

कविता कविको संवेदनशीलताका साथसाथै अध्ययन र चिन्तनको रेञ्च नाप्ने एउटा माध्यम पनि हो । यो पाठकको पनि अध्ययन र ग्रहण क्षमताको रेञ्ज नाप्ने क्षेत्र हो । रेमिका थापाका कविताको रेञ्ज मिथकदेखि विज्ञानसम्म, प्रकृतिदेखि संस्कृतिसम्म, भौतिकदेखि पराभौतिक र आध्यात्मिक ज्ञानधारासम्म, यथार्थदेखि अतियथार्थसम्म, केन्द्रदेखि सीमासम्म..., कहाँसम्म एउटा मान्छेको अध्ययन र कल्पनाको सीमा विस्तारित हुन सक्छ, त्यहाँसम्म छ । 

तीन काल, सबै लोक, जन्मजन्मान्तर, मानवीयदेखि दैवी अनुभूति, गुण र दोष सबैसबै अटाउने गर्छन् उनका कविताभित्र । त्यसैले उनका कविताको सम्यक पठनले पाठकहरूलाई मिथक, विज्ञान, पुराण, प्रकृति, समाज, संस्कृति, धर्म, परम्परा, राजनीति आदि सबैसबै क्षेत्रका ज्ञानकोशको न्यूतम जानकारी राख्नु अनिवार्य बनाइदिन्छ । र, यी आधारभूत ज्ञानकोशसँग अपरिचित पाठकका लागि रेमिकाका कविता फलामका चिउरा पनि हुन सक्छन् । 

कुनै पनि पाठकले 'महाकाल सिसिफस'को सूक्ष्म अध्ययन गर्‍यो भने थाहा पाउँछ, रेमिकाको कविता लेखनको मूल श्रोत-ऊर्जा भनेको वर्तमानको सामाजिक/राजनैतिक व्यवस्थाप्रतिको उनको असहमति नै हो । उनीभित्रको विद्रोहचेत नै हो । र, त्यसको प्रकटीकरणका लागि उनको कविता परम्परामा व्यवहारतः रहेका कतिपय पद्धतिलाई नै चुनौती दिएकी छन् । यस कुरालाई उनका ३ वटा लक्षणबाट पुष्टि गर्न सकिन्छ । 

यसो गरिहँदा, विगत, वर्तमान र भविष्य एकै मोडमा उभिएका छन् र मिथकीय पात्रका माध्यमबाट आजको समयको गतिहीन, अनिश्चित र अलमल समयलाई रेमिका थापाले आनो कविताको अन्तर्यमा उभ्याएकी छन्

पहिलो, उनी नारी श्रष्टा हुन्, जसबाट परम्पारावादीहरू समान्यतः कोमल भाष्य, भावनापरक अभिव्यक्ति र मृदु ध्वनिविन्यासको अपेक्षा गर्छन् । तर, उनको कवितामा प्रयुक्त वीभन्त अलङ्कारको प्राधान्य, कठोर रसहरूको संयोजन, कर्कश र कहरपूर्ण सुनिने ध्वनिसूचक व्यञ्जन, युद्धका त्रासद ध्वनिबिम्ब, भूतप्रेतको सल्बलाइरहने छायाचित्र आदिको प्रयोगले उनले परम्परागत अपेक्षालाई अर्थहीन तुल्याएकी छन् । 

पहिलेपहिले कविहरू कविताको भाषा कि कविताको आदिम स्रोत धर्मग्रन्थबाट टिप्थे, अमरकोशबाट टिप्थे, संस्कृति बाग्धाराबाट टिप्थे अथवा आनो समयभन्दा अगाडि अएका मानक श्रष्टाहरूले छाडेर गएको काव्य-धरोहरबाट टिप्थे । अचेल कविहरू कविताको भाषा भीडबाट र घरघरबाट टिप्छन् । रेमिकाले कतिपय कविताका सन्दर्भ मिथकबाट टिपेकी हुन् । तर, वर्तमान समयका विपर्यास र विसङ्गतिहरू लेख्न उद्यत कवि रेमिकाले आजको समयको आमभाष्य र विल्कुलै अकाव्यिक र कोरा गद्यको भाषा टिपेर, ठाडो सम्वादको शैलीमा अधिकांश कविता पस्केकी छन् । यो एउटा नौलो र जोखिपूर्ण प्रयोग हो । तर, यो एउटा सचेत र सटिक प्रयोग पनि हो, कारण समयले छाडेका घाउहरूको कथाव्यथाका लागि प्राञ्जल र लालित्यपूर्ण भाषाको प्रयोगलाई उपयक्त मन्न सकिन्न ।

जेलाई पनि कलात्मक र मृदु बनाइदिने बानी कविहरूको एउटा अणुवांशिक दुर्व्यसनको हो, जसबाट आज पनि धेरै कविहरू मुक्त छैनन् र आज पनि 'अमरकोश' र 'छन्द र अलङ्कार' आफू अगाडि राखेर मधुरतम पर्याववाची र लय टिपेर कविता कोरिरेहेका छन्, जबकि समयले आजको मान्छेको जीवनलाई गद्य जस्तै सुष्क बनाउँदै लगेको छ । यस कुराको पूर्ण बोध कवि रेमिकामा रहेको प्रतीत हुन्छ । 

दोस्रो, उनले आफ्ना कवितामा समयको रैखिक प्रवाहलाई स्थगित गरेकी छन् । उनका कविताभित्र विगत, वर्तमान र भविष्य एक बिन्दुमा उभिएका छन् र निरन्तको घर्षणमा छन् । उदाहरणका लागि शीर्ष कविता 'महाकाल सिसिफस' नै हेरौँ । ग्रिसेली मिथकको श्रापित पात्र सिसिफस यस कवितामा पूर्वीय चिन्तन परम्पारका ईश्वरका लागि अन्तिम आशा र अन्तिम बिसौनी भएको छ । मिथकीय इतिहासका कुनै पनि पात्रबाट संसारको मुक्ति सम्भव नभएको सन्दर्भमा आफैँले श्राप दिएका सिसिफसलाई महाकाल घोषणा गर्न ईश्वर आफैँ तत्पर छन् । यो मानवीय सभ्यताले आफ्नो रैखिक बाटोमा आफैँले गरेका महाभूलबाट निस्रित एक ग्लानिभावबाट विकासित सोचको अभिव्यक्ति हो । 

यसो गरिहँदा, विगत, वर्तमान र भविष्य एकै मोडमा उभिएका छन् र मिथकीय पात्रका माध्यमबाट आजको समयको गतिहीन, अनिश्चित र अलमल समयलाई रेमिका थापाले आनो कविताको अन्तर्यमा उभ्याएकी छन् । 

तेस्रो, कविताको निर्मिति र भाषिक विन्यासमा उनले स्वभाविक र प्राकृतिक भाषाको पक्षमा मतदान गरेकी छन् र कतै पनि कविको आनो विज्ञता कमसे कम भाषाको प्रयोगको हकमा हावी हुन दिएकी छैनन् । यस अर्थमा उनको कविताको भाषा रंगमञ्चमा कुनै पनि कलाकारले प्रयोग गर्ने भाषा जस्तो छ, जसमा ऊ जस्तो छ, उसको भाषाको त्यस्तै स्वाभाविक गन्ध आउनु अपेक्षित रहन्छ । त्यसैले उनले प्रयोग गर्ने कविताको भाषामा देवी-देउताका, भूत-प्रेतका, आदिवासीका, जङ्गलीका र चराचर जगतका प्राकृत बोलीको बाहुल्य छ, जुन मस्तिष्कको कारखानामा प्रशोधित भएर आउने कृत्रिम काव्यकारिताको भाषाभन्दा कोशौँ टाढा छ । त्यसैले यो विल्कुलै मौलिक छ । 

यस सङ्ग्रहको गठन हेर्दा यसमा कुल २ खण्ड छन् । प्रथम खण्डमा 'महाकाल सिसिफस'मा महाकाल सिसिफस, लोक अदालत, कालपुरुष, डब्लु डब्लु डब्लु डट च्याब्रुङ डट कम, रिस, डर, निन्दा, निषेध, हिंसा, शब्दातीत, पुरुष पर्व र ढटुवारे शीर्षकका कविता छन् ।

'कन्ये धरती' शीर्षकको दोस्रो खण्डमा कन्ये धरती, जङ्गल १, जङ्गल २, जङ्गल ३, जङ्गल ४, जङ्गल ५, टिस्टा १, टिस्टा २, टिस्टा ३, टिस्टा ४, टिस्टा ५, बगरमा उभेको सिमलको रूख, तीजको गीत, अग्निदाह, म बिन बजाइरहेँ, मारुनी, किरात बाजे, वसन्त उत्सव, मुर्च्छना, प्रेम कविता १ र प्रेम कविता २ सामेल छन् । यी खण्ड र शीर्षक नै यस अवतारमा कवि रेमिका थापाको काव्यिक अनुहार हेर्ने भावदर्पण हुन् । 

पहिलो खण्डको सुरुमा राखिएका, आकारमा लामा ३ कविता अन्तरविषयक छन्, संवादात्मक छन्, र मिथोपोयटिक शैलीका, अपरम्परित विषयकेन्द्री कविता हुन् । 

'याम, याम, याम', 'छ्वाम, छ्वाम, छ्वाम', 'ढङ, ढङ, ढङ, ढाकुटी, ढाकुटी, ढाङ' जस्ता पुनरावृत्त गेयात्मक तालहरूले किराती शैलीको चिन्ता बसाइ र देउता जगाउने पराम्परागत रीतको प्रस्तुति यहाँ गरिएको छ । यो जनक्रान्तिको नवीन संस्करणको एउटा लाक्षणिक तर निर्दोष प्रक्षेपण पनि हो । सामयिक चेतना र हस्तक्षेपको रूपक अलङ्कार पनि

'कालपुरुष सिसिफस' आफैँले एउटा विद्रोह हो किनकि, भगवान् आफैँले श्राप दिएर जन्मजन्मान्तर अभिसप्त जीवन बाँच्न विवश सिसिफसलाई आज कल्पकल्पको अन्तरालपछि भगावन् आफैँ कालपुरुष घोषित गरिरहेका छन् र आफूले देवत्वकरण गरेका तमाम पात्रहरूलाई विफल तुल्याइरहेका छन् । भगावनको आफ्नो नयाँ, लेख्न बाँकी तर कालयुगी काव्यको काव्यपुरुष हो सिसिफस, जसलाई यसरी खडा गरेर भगावान् आनो ग्लानि खण्डखण्ड अध्यायहरूमा पोखिरहेका छन् । भगवान् आफैँ सिसिफसलाई भन्छन्, 'तिमी शिरहरूको शिर/महाशिर आख्यानआख्यान महाआख्यान ।'

भगवान् सिसिफसलाई आफ्नो मोक्षको माध्यम बनाउन चाहन्छन् । आफ्नै अन्यायी पाइलाहरूको सिकार एकलब्यहरूमाथिको पापलाई मोचन गर्न चाहन्छन् । तर, लेखिन बाँकी उक्त नयाँ काव्यमा नायकत्व माग्न आउने अनेकाथरि ती पात्रहरू पनि छन्, जसलाई यसमाथि व्यास र वाल्मीकिले भगवानको गरिमामण्डनका लागि लेखेका काव्यहरूमा घोर अन्याय गरिएको छ । छल र कपटले भरिएको महाभारतको ठाउँमा अब एउटा नयाँ धर्मयुद्ध लड्न चाहन्छन् भगवान् र त्यसको नायक सिसिफसलाई घोषणा गर्छन् । र, त्यो युद्ध आफ्नै कोशलले प्राकृत पारामा लड्न चाहन्छन् ।

यानिकी, यी हरफभित्र आयातीत विचारहरूको पूर्णतामा वहिष्करण भेटिन्छ र जङ्गलको कुमारी मौलिकताको उत्सव भेटिन्छ । यो आफैँमा आजको दृष्टिविन्दुबाट गरिएको पुरानो महाकाव्य र मिथकको विपठन हो, निनिर्माण हो । काल्पनिक होस् वा वास्तविक, बितेको इतिहासभरि अन्याय र पापका कतिथरि शृङ्खला थिए भन्ने यो एउटा नवइतिहासवादी दृष्टिकोण पनि हो । भगवान् आफैँलाई आफ्नो निर्णय र आफूले सञ्चालन गरेको व्यवस्थाप्रति खेद छ । यसको अर्थ हो, यसबेला समाजको नयाँ मूल्य र नयाँ मापदण्डको खाजी तीब्र भइरहेको छ । 

यस खण्डको दोस्रो कविता 'लोक संवाद' अदालती कार्यवाहीको संरचनामा, संवादात्मक शैलीमा लेखिएको कविता हो, जसको अन्तर्यमा कुनै पनि जिम्मेवारी नबोकेका मानिसहरू कुनै पनि व्यवस्थाप्रति जवाफदेही र गम्भीर हुँदैनन् भन्ने बुझाइको पक्षमा छ । विभिन्न प्रयोजनका लागि ऋण लिएका तर न प्रयोजन सिद्ध गर्न सकेका, न त ऋण चुक्ता गर्न सकेका अनोकानेक पात्रहरूका विशृङ्खल संवादमा आधारित यो कवितामा खण्डखण्ड लोकभाष्यको बीचतिर गम्भीर कवित्व स्थापित गर्ने कोसिस कवि रेमिकाले गरेकी छिन् । स्वरूपमा बेतुका संवादहरूको शृङ्खला जस्तो लाग्ने यस कविताभित्रको करुण रसप्रवाह बुझ्नका लागि प्रचुर मानवीय संवेदनाका साथ पढ्नु जरुरी छ । 

गैरजिम्मेवर र अर्थहीन जस्ता लाग्ने संवादको पृष्ठभूमिमा अवस्थित मानवीय अस्तित्वको दारुण यथार्थ यस्ता कविताको प्राणतत्त्व हो । यी पात्र जुन जीवन बाँचिरहेका छन् वा जुन संवाद बोलिरहेका छन्, ती पललाई एक पल पनि बाँच्नु र ती संवाद बोल्नुपर्ने समयलाई एक निमेष पनि कल्पना गर्न सक्नु एउटा आममान्छेका लागि कहालीलाग्दो यथार्थ हुन सक्छ । कल्पना गर्दै पनि यस्तो कहालीलाग्दो यथार्थ बाँचेर आएका भुइँमान्छेहरूको कारुणिक आत्मकथा हो- 'लोक अदालत ।'

यस खण्डको तेस्रो लामो कविता 'कालपुरुष' हो, जसमा मानिसहरू आफ्नो देवता शङ्करलाई आजको समयका तीता यथार्थलाई सम्बोधन गर्नका लागि उठ्ने अनुरोध गरिरहेका छन् । कवितामा पुनः मिथकीय परिवेशलाई पुनरावृत्त गरिएको छ तर नयाँ सन्दर्भमा त्यसलाई पुनर्परिभाषित पनि गरिएको छ । भगवानलाई धुप, दीप, पूजा, आरती आदिले जगाउने मिथकीय सन्दर्भका विपरीत यहाँ भगावनलाई 'ह्याकुला समातेर' झक्झक्याएर उठाउने कुरा गरिएको छ र “सिस्नुपानीले छम्किँदै” पाँसुलामा हान्न आग्रह गरिएको छ । यसको अर्थ, जागरण र अधिकार प्राप्तिको आधुनिक शैली अनुनय विनयबाट निकै पर हटेको र त्यो एउटा सत्याग्रह अथवा शान्तिपूर्ण सङ्घर्ष वा आन्दोलनको तहमा उठेको छ भन्ने कुराको सङ्केत गरिएको छ । 

परम्परागत शैलीमा चिन्ता बसेर धामी वा बिजुवाले देउता जगाएको दृश्य र ध्वनिबिम्ब यस कविताले पाठकमाझ प्रस्तुत गरेको छ । 'याम, याम, याम', 'छ्वाम, छ्वाम, छ्वाम', 'ढङ, ढङ, ढङ, ढाकुटी, ढाकुटी, ढाङ' जस्ता पुनरावृत्त गेयात्मक तालहरूले किराती शैलीको चिन्ता बसाइ र देउता जगाउने पराम्परागत रीतको प्रस्तुति यहाँ गरिएको छ । यो जनक्रान्तिको नवीन संस्करणको एउटा लाक्षणिक तर निर्दोष प्रक्षेपण पनि हो । सामयिक चेतना र हस्तक्षेपको रूपक अलङ्कार पनि । 

यस कवितामा शिव अथवा पारोहाङको सम्पूर्ण जागरण, प्राणप्रतिष्ठा र युद्धको तयारीलाई पूरै आदिवासी पारामा व्याख्या गरिएको छ, जसका लागि लोक शब्द, भाष्य, बिम्ब, प्रतीक र ध्वनिको प्रयोग गरिएको छ । यो कवि रेमिका थापाको पेटेन्ट स्टाइल पनि हो र यो एउटा नयाँ विन्यासको खोजीको हुँकार पनि हो । यो पुरानो र प्रकृत चेतनाको नवीकरणको एउटा उपक्रम हो ।

यही खण्ड र यसपछि राखिएको दोस्रो खण्डका कविता मोटामोटी रूपमा लोक संस्कृति, जङ्गलको प्राकृत जीवन, टिस्टासँगको कविको गहिरो सम्बन्ध, धरती र मान्छेको अनोन्याश्रित सम्बन्ध, किरात जीवन दर्शन, लैङ्गिक विभेद र समानताका प्रश्न आदि विषयमा केन्द्रित छन् । 'डब्लु डब्लु डब्लु डट च्याब्रुङ डट कम' एक प्रयोगशील कविता हो, जसमा फेरि पनि किरात लोक तालहरूको लयमा संरचित कठोर व्यञ्जन उच्चारणहरूको ध्वनिविन्यासका माध्यमबाट युगौँदेखि दमित चेतनालाई एउटा बिस्फोटसहित जाग्रित हुनुपर्ने लेखकीय आग्रहलाई आवाज दिइएको छ । च्याब्रुङ र यसको ताललाई जागरणको एउटा रैथाने शैलीको रूपक अलङ्कारको रूपमा प्रस्तुत गरिएको छ । यो नेपाली कविताको फाँटमा एउटा स्तुत्य प्रयोग हो । 

सन् २०२० को दशकमा अमेरिकाको हार्लेममा काला जातिका कविहरूले आफ्नो मुक्तिका लागि चलाएको हार्लेम पुनर्जागरणकालमा जाज सङ्गीतको स्वरूपलाई कवितामा प्रयोग गरेर उनीहरूले कविताको पश्चिमा शैलीको बहिष्करण मात्रै गरेका थिएनन्, आफ्नै एक रैथाने शैली पनि प्रस्तुत गरेका थिए । पछि यसै शैलीलाई बिट पोयट्रीका सदस्यहरू जेक केरोएक र एलेन गिन्स्बर्गले पनि कुशलताका साथ अनुकरण गरे । रेमिका थापाले किरात र जानजातिका प्राकृत सङ्गीत र ध्वनिलाई कवितामा कुशलताका साथ प्रयोग गरेर हामीले कविताको स्वरूपमा पनि आफ्नै मूलतर्फ फर्कन सम्भव छ भन्ने सङ्केत गरेकी छन् । यस शैलीले कवितालाई लोकसँग जोड्न ठूलो सहयोग गर्न सक्छ । नत्र कविता फेरि पनि एक मुठ्ठी प्रज्ञिकहरूको बुद्धिविलासमै सीमित हुने खतरा उत्तिकै रहन्छ । 

रिस, डर, निन्दा, निषेध र हिंसा विषयमा राखिएका यसपछिका कवितामा यी मानवीय आवेगहरूका शास्त्रीय र सैद्धान्तिक पक्ष पनि केलाएर कवि रेमिकाले यिनीहरूलाई बहुअर्थी मात्र बनाएकी छैनन्, यिनको रचतात्मकताको पनि व्याख्या गरेकी छन् । यस अर्थमा यी भावहरूमाथि लेखिने परम्परागत कविताभन्दा यी कविता विल्कुन भिन्न छन् । अँगारमा परेर पनि आगो अर्थात् रिसलाई शृङ्गार बनाउने कल्पना होस् वा डरकै कारणले एउटा कविले हतियारको कविता नलेखेको श्रेष्ठतम भूलको कुरा होस्, उनको कविताको मियो यी भावहरूको वैकल्पिक तर सकारात्मक पक्षको उत्खनन हो । एउटा कविले घोर निराशा र नकारात्मक परिवेशबाट पनि उज्यालोकै फिलिङ्गाहरू टिप्नुपर्छ र सभ्यातालाई उज्यालो तुल्याउुनपर्छ र यो जिम्मेवारी यी कवितामा कवि रेमिकाले सम्यक तरिकाले गरेकी छन् । 

'कन्ये धरती' शीर्षकको दोस्रो खण्डमा कन्ये धरती, जङ्गल १, जङ्गल २, जङ्गल ३, जङ्गल ४, जङ्गल ५, टिस्टा १, टिस्टा २, टिस्टा ३, टिस्टा ४, टिस्टा ५, बगरमा उभेको सिमलको रूख, तीजको गीत, अग्निदाह, म बिन बजाइरहेँ, मारुनी, किरात बाजे, वसन्त उत्सव, मुर्च्छना, प्रेम कविता १ र प्रेम कविता २ सामेल छन् । अपेक्षाकृति कोमल भावका यी कविता बढी 'लिरिकल' लाग्छन् र यिनमा कविको निर्बन्ध भाव बढी पोखिएको छ । तर, यो स्वच्छन्दता फगत कल्पनाकै प्वाँखका कावा खाने परम्परागत कविता भने होइन । धरती, माटो, नदी, वन, जङ्गल र प्रकृतिका अन्य अवयवहरूसँगको साक्षात्कार, र आफूले विरासतमा पाएको नैसर्गिक ज्ञानकोशको उत्सव यस खण्डमा छ । ऋतुहरूको राग र प्रेमको मुच्र्छना यस खण्डका कविताको अर्को पाटो हो । लोक संस्कृतिको प्राज्ञिक र सामाजिक पाटोसँग पाठकलाई परिचित गराउनु यस खण्डमा राखिएका केही कविताको अभीष्ट हो । 

यसरी हेर्दा, 'कालपुरुष सिसिफस' एउटा प्रयोगशील, अपरम्परित तथा स्थानीय ध्वनिहरूको सुन्दर संयोजनमा आधारित कविताहरूको सङ्ग्रह हो । मिथकहरूको विपठन र नवीकृत प्रयोगले यस सङ्ग्रहलाई वजनदार बनाएको छ तर यसले पाठकहरूबाट निकै धैर्य र मिहिनेतको अपेक्षा पनि गर्छ । 

यी कविता मस्तिष्कले मात्र पढेर पुग्दैन । यिनको स्वरूप, ताल र ध्वनिपक्षभित्र निहित अर्थको सतहलाई खुट्याउन यी कवितालाई कानले र शरीरले पनि पढ्नुपर्छ । महसुस गर्नुपर्छ । यी कवितामा सचेततापूर्वक प्रयोग गरिएको संरचनागत नवीनता र साङ्गीतिक लयविधानलाई छुटाउने हो भने त्यस्तो पठन पूर्णतः खण्डित हुन जान्छ । त्यतातिर पाठकको ध्यान पुगोस् । 

यस सङ्ग्रहले भत्काएका मूल्यहरूप्रति कसैलाई खेद नहोस् । यसले उमारेका नवीन मूल्यपुटहरूलाई हुर्काउनु हामी सबैको जिम्मेवारी बनोस् । कविलाई शुभकामना ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…