एमाले र माओवादी केन्द्रलाई १५ दिनभित्र एकताका लागि निवेदन दिन आयोगको आग्रह
निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।
मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।
यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २३ जेठ २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गरेको थियो । तर, सर्वोच्च अदालतले गत आइतबार नेकपाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।
सर्वोच्चको फैसलाबारे छलफल गर्न बसेको आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आआफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी उक्त निर्णयसहित नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको छ ।
आयोगले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि खाली भएको ती नाममा दल दर्ता गर्नेहरूलाई पनि नयाँ नाममा १५ दिनभित्र दल दर्ता गर्न आग्रह गरेको छ ।