संसद बैठकको पहिलो दिन: प्रचण्ड-माधव खेमाको बहिष्कार, कांग्रेस-जसपाको विरोध
आइतबारको पुनर्स्थापित संसद बैठक नेकपाको प्रचण्ड-माधव खेमाले बहिष्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।
संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेस गर्ने विषय र वर्तमान र पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव गर्ने विषय उल्लेख गरेको थियो ।
प्रचण्ड-माधव खेमाका सांसद भीम रावलले शोक प्रस्ताव पारित हुने दिन अन्य विषय कार्यसूचीमा राख्न नहुने बताएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशहरु संसद बैठक बसेकै दिन पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको भनी बचाउ गरेपछि प्रचण्ड-माधव खेमाका सांसदले प्रतिनिधिसभा बैठकस्थल छाडेका थिए ।
त्यसपछि नेपाली कांग्रेसका सांसदहरूले पनि उठेर विरोध जनाएका थिए । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालले सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक परिषद्को मर्ममाथि प्रहार गरेको भन्दै उक्त अध्यादेश पेस गर्न नदिने बताए ।
सभामुख सापकोटाले कांग्रेसका विरोधका बाबजुद कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई संवैधानिक अध्यादेशसम्बन्धी विधेयक पेस गर्न अनुमति दिएपछि कांग्रेस र जनता समाजवादी पार्टीका सांसदले रोस्टममा नाराबाजी गरेका थिए ।
नाराबाजीका बीच सभामुख सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरे र त्यसपछि सूचना टाँस गरेर २६ फागुनसम्मका लागि बैठक स्थगित गरे ।