आजदेखि संसद अधिवेशन सुरु हुँदै, प्रधानमन्त्री अविश्वास प्रस्ताव सामना गर्ने तयारीमा
प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु हुुँदै छ । संसद बैठक अपराह्न ४ बजे बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा विघटन गरिदिएको प्रतिनिधिसभा सर्वोच्च अदालतले ११ फागुनमा असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
नेकपा २ खेमामा बाँडिए पनि औपचारिक रूपमा विभाजित नभइसकेको र दुवै पक्षले आआफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा संसद बैठक बस्न लागेको हो ।
ठूलै दबाबमा रहेका प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।
यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिनेछ ।
विधेयक अधिवेशनका रूपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरू पनि पेस हुनेछन् । बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरू गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ ।