Khabarpato logo

         

कला/साहित्य

भोजराज घिमिरेको ‘इन्द्रमाया’ उपन्यासको अंश

भोजराज घिमिरे

भोजराज घिमिरे

भोजराज घिमिरेको ‘इन्द्रमाया’ उपन्यासको अंश

त्यसबखत मैले दिएका सारा तर्क असङ्गत र अर्थहीन हुन्थे सायद उसका लागि । त्यसैले त्यसमा असहमत हुँदै एक दिन पीताम्बरले ‘त्यसो भए तिमी नै रमेशकोमा किन जान्नौ ?’ (पेज: ११५) भन्नसमेत भ्याएको थियो । प्रत्युत्तरमा मैले स्पष्ट भनेकी थिएँ, ‘त्यसको कारण त एकदम स्पष्ट छ, किनभने रमेश मेरो पति होइन’ (पेज: ११५) ।

त्यस दिन भने मलाई लागेको थियो- प्रेमतङ्खव र मातृतङ्खव मात्रै होइन, पत्नीतङ्खव पनि खोसेर पीताम्बरले मलाई उसकी पत्नीको ठाउँबाटै च्यूत गर्न खोज्दै छ । त्यसैले ऊ स्वयंसँग र रमेशसँग गरेको प्रेमलाई देख्न नखोज्दै रमेशसँगको यौनलाई मात्र प्रमुख बनाएर हरबखत यौन, यौन, फगत यौन जपिरहेको थियो ।

यस्तो सोच्दै आफू हराएको बेला मुमा हजुरले ‘निकै दिनदेखि तिमीलाई एउटा कुरा गरुँ जस्तो लागिरहेको छ विनिता तर सकिरहेकी छैन’ भन्नुभयो । 
सुनसान वातावरण तोड्दै त्यसरी आएको मुमा हजुरको बोलीले मलाई तर्साइदियो । टाउको उठाएर हेरेँ । मेरै मुखतिर हेर्दै हुनुहुँदोरहेछ । ‘छ्या ! कस्तो एकोहिरिएकी ?’ भन्दै आफैँसँग लजाएकी थिएँ म ।

मेरो मनेदशा देखेर मुमा हजुर ‘कुन दुनियाँमा हराएकी छोरी ?’ भन्दै हाँस्नुभयो ।

‘खै के भो कुन्नि मुमा हजुर ! रमाले गुडिया खेलेको हेर्दाहेर्दै त्यतैतिर पो लाटिएछु’, लाज मान्दै भनेकी थिएँ मैले ।

सुनेर मुसुक्क हाँस्नुभयो र थप्नुभयो, ‘आमाको त जातै त्यस्तै हो नानी ! छोराछोरी र लोग्ने भन्दाभन्दै स्वयंलाई बिर्सिंदै गएको थाहा पाइन्न । म पनि तिमी जस्तै थिएँ । बाबु-छोरीको पछि लाग्दालाग्दै मैले ‘म वैधवी हुँ’ भन्ने नै बिर्सिसकेकी थिएँ । मुमा हजुरको नाम वैधवी भन्ने पहिलोपल्ट थाहा पाएँ ।

के भनूँ, के भनूँ ? भयो । ‘लोग्नेको प्रेमको छायामा हजुर जस्तो कहाँ हराउन पाएँ त मुमा हजुर मैले ?’ भन्नु पनि भएन । त्यसैले ‘खै, त्यस्तै त होला नि मुमा हजुर ! हजुरको अनुभवका अगाडि म त के हुँ र ?’ सम्म भन्ने आँट गरेकी थिएँ । 

एकछिन अगाडि बूढी मान्छेले ‘एउटा कुरा सोधूँ ?’ भन्दै गरेको सम्झिन पुगेँ । त्यति धेरै माया गर्ने मान्छेले नराम्रो त पक्कै सोध्ने होइन होला भन्ने लाग्यो मलाई । त्यही भएर मैले ‘एकछिन अगाडि हजुरले के सोध्ने कुरा गरिसिँदैथ्यो, भनिबक्स्योस् न’ भनेँ ।

मेरा कुरा सुनेर पनि नसुनेझैँ गरेर एकछिन बाती कात्नैतिर लाग्नुभयो । मलाई आफैँ कुरा कोट्याइरहन उचित लागेन । मौन भयौँ हामी दुवै जना । 

त्यो मौनतालाई निकैबेरपछि उहाँ स्वयंले तोड्दै ‘हुनत मैले सुन्दैमा तिम्रो दिलमा लागेको चोट कहाँ निको त होला विनिता ? आफ्ना पीर-व्यथा अरूलाई सुनाउँदैमा कम हुन्छ भन्ने ठान्दिनँ म पनि । तर, दुनियाँले भन्छ- मनको वह र परेको दुःख-पीर अर्कालाई सुनाए कम हुन्छ, दुखेको घाउ बिसेक हुन्छ । कुनै गहिरो दुःख अथवा चोट नपरीकन यति सानी छोरी काखी च्यापेर तिमी घरबाट फुत्त बाहिर निस्किने पक्कै थिइनौ । घरमा अनमन भएरै हिँडेकी होला । के भएको हो भन त ? सक्ने रै’छु भने अप्ठ्यारो हटाउने कोसिस गर्नेछु’ भन्नुभयो ।

घर छाडेर हिँड्न जति सजिलो भयो, मुमा हजुरको जिज्ञासा शान्त पार्न त्यति नै गाह्रो थियो मलाई । जबाफ नै नभएको होइन तर दिएको उत्तरले सिर्जना गर्ने पूरक जिज्ञासाको जबाफ दिन भने किमार्थ सक्दिनथेँ । 

हुनत निग्रहद्वारा बिचित्रवीर्यकी दुइटी महारानीले पाण्डु र धृतराष्ट्रलाई जन्म दिएकोमा विश्वास गर्ने, अर्जुनसँग अथाह प्रेम हुँदाहुँदै द्रौपदीले पाँच पतिको वरण गरेकी सहज मान्ने अनि देवताहरूलाई आह्वान गर्दै सन्तान जन्माउने कुन्तीलाई पञ्चकन्यामा गणना गरेर पूजा गर्ने मुमा हजुरलाई मैले दुइटा पति वरण गरेकै भए पनि खासै फरक नपर्नुपर्ने हो । 

‘ती सब अर्कै युगका कुरा हुन् र देउताका लीला हुन्’ भन्न सक्ने मुमा हजुरले ‘हामी त मान्छे हौँ । पति हुँदाहुँदै परपुरूषसँग प्रेम गर्दै बच्चा जन्माएर ठिक गर्‍यौ । तिमी द्रौपदी जस्तै पवित्र छ्यौ’ भन्नुहुन्छ र सद्चरित्रकी महिला मलाई ठान्नुहुन्छ भन्ने मैले सोचेँ भने भूल हुन्छ भन्ने लाग्यो । त्यही भएर सत्य कुरा बताइहाल्न सकिनँ ।

मैले भनेकी थिएँ, ‘खै के भयो भनूँ ? बुढा-बुढीको मन मिलेन । मन नमिलेपछि सोचाइमा खाडल पर्दोरहेछ मुमा हजुर ! सोचाइमै खाडल परेपछि दुइटा ज्यान नजिक बन्न गाह्रै हुँदोरहेछ । एउटै छानोमुनि त थियौँ तर हामीबीचमा लोग्ने र स्वास्नीको सम्बन्ध नै रहेन । मैले सोचेँ, ‘पेट भर्नैका लागि मात्र लोग्नेको घरमा किन बसिरहूँ ? अलिअलि भए पनि पढेकी छु । सानोतिनो काम कसरी नपाइएला ? काम गरेर खान सकिन्छ भने किन कसैको गुलामी गरुँ मैले ? त्यसैले यो छोरीलाई लिएर फुत्त हिँडेकी हुँ’ मात्र भनेकी थिएँ मुमा हजुरलाई । 

‘किन त्यस्तो स्थिति पैदा भयो त नानी ?’, मैले दिएको उत्तरमा प्रश्न त्यही उठ्छ भन्ने मेरो पूर्वानुमान सही निस्कियो । मुमा हजुरले फरक शब्दमा त्यही कुरा भन्नुभयो । 

मैले अलिकति कुरा बङ्ग्याएर ‘पति-पत्नीबीचमा विश्वासको अंश नै बाँकी नरहेपछि यस्तै हुन्छ मुमा हजुर ! मेरी रमालाई उसले स्वीकार गर्न सकेन । ‘रमालाई अनाथालयमा पठाए हुन्छ’ (पेज: ११८) लोग्नेले भनेपछि म कसरी र किन त्यो लोग्नेसँग जोडिएर बस्ने ? भनिबक्सियोस् त ! मैले सोचेँ, केका लागि त्यो घरमा म बसिरहने ? त्यही भएर मैले उसलाई सोधेकी हुँ, ‘त्यसो भए मैले यहाँ किन बस्ने त ? के भोजन र वस्त्रका लागि ?’ (पेज: ११९) हजुर नै भनिबक्स्योस् त मुमा हजुर, छोरीलाई अनाथालयमा राखेर केवल भोजन र वस्त्रका लागि कुन आमाले पतिको घर भन्दै लिपेर बस्न सक्छे अनि म बस्नू ?’, प्रतिप्रश्न उठाएर मुमा हजुरको मुख बन्द गर्ने कोसिस गरेकी थिएँ मैले ।

‘तैपनि नानी, घरै छाडेर हिँड्नुभन्दा कुरा मिलाउनतिर लाग्नुपथ्र्यो तिमीले । आफ्नो घर परिवार त्यागेर फुत्त हिँड्ने स्वास्नीमान्छेलाई समाजले हेर्ने दृष्टिकोण ठिक हँुदैन । बाइफाले स्वास्नीमान्छे रै’छे भन्ने ठान्छ’ भन्नुभयो ।

अरूले यति अप्रिय शब्द प्रयोग गरेको भए म के गर्थें ? त्यो अहिले पनि भन्न सक्दिनँ । तर, त्यसो भन्दै गर्दा उहाँको नजरमा जुन ममता, जुन वात्सल्यको धारा छचल्किँदै थियो, त्यो देख्दा मुमा हजुरको भनाइमा मैले कुनै आरोप मिसिएको अनुभूति गरिनँ । त्यसैले त्यसरी रिसाउनु मैले पर्दै परेन ।

बरू मैले भनेकी थिएँ, ‘भन्नेले त जे पनि भन्छन् मुमा हजुर ! तर, लोग्ने-स्वास्नी भनेर मात्रै के हुन्छ ? त्यतिबेलाको अवस्था नै त्यस्तै भइसकेको थियो । लोग्ने भनाउँदो र यो इन्द्रमाया भिन्नाभिन्नै लोकका प्राणी हुँदै गएका थिए, जसका बीचमा न विचारको, न भावनाको, न त भाषाको नै आदानप्रदान हुन सक्थ्यो । यो इन्द्रमायातिर असीम प्रेमको पारावार उर्लिरहेको भए पनि के भो त ? जब लोग्नेतर्फ त्यसले स्पर्शसम्म पनि गर्न सकेको थिएन ।’ (पेज: ११९)

मेरा कुराले मुमा हजुरमा के असर पार्‍यो होला ? त्यो त म भन्न सक्दिनँ तर त्यसपछि थप प्रश्न गर्नुभएन बरू मैले नै ‘लोग्ने-स्वास्नीका बीचमा शारीरिक र मानसिक रूपमा सम्बन्ध नै बन्न नसकेपछि त्यो सम्बन्ध, त्यो नाता नै के रह्यो त मुमा हजुर ? अलिक दिन म त्यहाँ बसेकी भए म आफूलाई घरकी एउटी हेरालु, दासी मात्रै ठान्न पुग्थेँ । मैले मात्रै प्रेम गरेर वा पति मानेर के हुन्छ मुमा हजुर, जबकि पति भनाउँदोको दिलमा न मेराप्रति कुनै प्रेम-भाव बाँकी थियो, न अपनत्व भाव, न त मैत्री-भाव नै । उसको दृष्टिमा मेरो अस्ङ्खिव शून्य बराबर बनिसकेको थियो । लोग्नेको दिलमा रहेको शून्यतालाई निकालेर प्रेमैप्रेमले भर्न नखोजेकी होइन मुमा हजुर ! उसको त दिल नै जमेर ढिक्का भइसकेको रहेछ, कठोर पत्थर भइसकेको रहेछ अनि यो तपाईंकी छोरीको आँसुले कसरी पगाल्न सक्थ्यो ? पत्थर पग्लेर कहाँ पानी बन्थ्यो मुमा हजुर, बनेन’ भनेकी थिएँ ।

भन्दाभन्दै मेरो गह भरिएर आएछ । स्वर नै कम्पित बन्दै गएछ । त्यसको महसुस मैले र मुमा हजुर दुवैले गर्‍यौँ ।

मेरो बिग्रिँदै गएको मनोदशा बुझेर होला, मुमा हजुरले ‘जे गर्‍यौ, ठिकै गर्‍यौ छोरी ! आफ्नो घर तिमीले परित्याग नगरेकी भए यो वैधवीले बिछोडिएकी छोरीलाई कहाँ भेट्न पाउँथी ? मेरै लागि भनेर होला नि छोरी, भगवान्ले त्यस्तो परिस्थिति सिर्जना गरिदिनुभएको’ भन्दै ‘जाऊ त भान्सामा गएर बज्यैलाई एक गिलास खानेपानी लिएर आउनू भन । अचेल अलिक बढी नै प्यास लाग्न थालेको छ मलाई । जँचाएकी छैन । मधुमेह पो भयो कि !’ भनेर कुरालाई अर्कोतिर मोड्न खोज्नुभयो मुमा हजुरले ।

मुमा हजुरसँगको यो नौ-दश महिनाको उठबसले त्यति कुरा बुझ्ने भइसकेकी थिएँ म । उठेर आँसु पुछ्दै भान्सातिर लागेँ ।

(भोजराज घिमिरेको हालै प्रकाशित उपन्यास 'इन्द्रमाया' बाट)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…