Khabarpato logo

         

राजनीति

एमसीसी: ज्यादा राजनीतीकरण र स्वार्थका कारण अलमल

न्युज कारखाना

न्युज कारखाना

एमसीसी: ज्यादा राजनीतीकरण र स्वार्थका कारण अलमल

नेपालको पूर्वाधार विकासका लागि अनुदान सहायता भनेर आएको बहुचर्चित एवं विवादित अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना अलपत्र परेको धेरै भइसक्यो । सम्झौताको २ वर्षमै संसदबाट पारित भई कार्यान्वयनमा आउनुपर्नेमा राजनीतिक असहमतिले ४ वर्ष बित्दा पनि प्रतिनिधिसभामा विचाराधीन छ ।

अमेरिकाले एमसीसी विशुद्ध आर्थिक विकासमा केन्द्रित रहेको भनेर पटक पटक प्रष्टीकरण दिए पनि नेपालमा शंकाको दृष्टिकोणबाट हेरिँदै आएको छ । खासगरी वामपन्थी दलले ‘सैन्य मामिला र इण्डो प्यासिफिक रणनीति’ हो कि भनेर आशंका जनाउँदै विरोध गरिरहेका छन् । नेकपा एमालेमा नेताहरू झलनाथ खनालदेखि भीम रावलसम्म, नेकपा माओवादी केन्द्रलगायत दलहरूले एमसीसीमा ‘रिजर्वेसन’ राखेर विरोधमा छन् । 

एमसीसी परियोजना उच्चक्षमताको विद्युत प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि ५० करोड अमेरिकी डलर अनुदान भनेर सन् २०१७ मा नेपाल र अमेरिकाबीच सम्झौता भएको हो तर राजनीतिक अलमलले यो संसदमा रोकिएको छ ।

एमसीसी सम्झौता तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वासिङ्टन डीसी पुगेर गरेका थिए । यसबीचमा सम्झौता अघि बढेन । अहिले फेरि देउवा प्रधानमन्त्री बनेका छन् । कार्की देउवा क्याविनेटमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको भूमिकामा छन् ।

देउवा सत्तामा आएसँगै अमेरिकी सक्रियता देखिएको छ । एमसीसी पनि चर्चामा आएको छ । प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउन खोजेका छन् तर सत्ता गठबन्धनमै एमसीसीलाई लिएर किचलो बढेको छ । सरकारलाई प्रभावकारी संचालन गर्न निर्माण गरेको साझा न्यूनतम कार्यक्रममा एमसीसी नपरेपछि प्रधानमन्त्री देउवामाथि प्रश्न उठिरहेको छ । आफैँले सम्झौता गरेको विषयलाई आफ्नै नेतृत्वमा सरकार हुँदा कार्यान्वयन गर्ने बेला न्यूनतम कार्यक्रममै नराखेपछि देउवा प्रश्नको घेरामा छन् ।

प्रधानमन्त्री देउवामाथि एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सदनमै एमसीसी के हुन्छ, किन साझा न्यूनतम कार्यक्रममा परेन भनेर प्रश्न गरेका छन् । एमसीसीबारे नागरिकले सरकारको धारणा जान्न चाहेको भन्दै ओलीले परिमार्जनसहित पारित हुनुपर्ने धारणा पनि अघि सारे ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एमसीसीलाई साझा न्यूनतम कार्यक्रममा राख्न नमानेको तथ्य बाहिर आएको छ । कांग्रेस पदाधिकारी बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले प्रचण्डले नमानेका कारण एमसीसीलाई सरकारको कार्यक्रममा राख्न नसकिएको जानकारी गराएका छन् । सत्ता गठबन्धनमा आन्तरिक किचलोले एमसीसीमा सरकारको स्पष्ट धारणा आउन सकेको छैन ।

गठबन्धनको माधव नेपाल खेमा पनि अहिलेकै अवस्था एमसीसी पारित गराउने पक्षमा छैन किनभने भीम रावल एमसीसी ‘राष्ट्रघाती’ सम्झौता भन्दै आमनागरिकमा धारणा बनाउने प्रमुख नेता हुन् । रावल सदस्य रहेको तत्कालीन नेकपाको प्रतिवेदनमा पनि परिमार्जन र संशोधनसहित पारित गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

दलहरू एमसीसीको पक्ष/विपक्षमा रहेका बेला प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सहमति औँल्याएका छन् । एमसीसीमा आमनागरिकको चासो रहेको भन्दै सापकोटाले ३ वटा विकल्पमा आफूले अघि बढाउने संकेत गरेका छन् । पहिलो त उनले राष्ट्रिय सहमति खोजेका छन् । दोस्रो भनेको दलहरूबीच सहमति । तेस्रो कांग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल खेमा), जसपा र राष्ट्रिय जनमोर्चा रहेको सत्ता गठबन्धनमा साझा सहमति, जुन अहिले असम्भव जस्तै देखिन्छ ।

एमसीसीलाई लिएर सत्ता गठबन्धन नै विभाजित भएका बेला प्रतिपक्षी एमाले पनि परिमार्जनसहित अघि बढाउनुपर्ने निचोडमा पुगेको छ । प्रतिपक्षी दलका नेता ओलीको सदनको सम्बोधनबाट यो बुझ्न सकिन्छ । त्यसैगरी एमसीसीमा राष्ट्रिय सहमति त अहिलेको अवस्थामा झन\ सम्भव नै छैन । सभामुखले अघि सारेका ३ वटै विकल्प अहिलेको परिस्थितिमा सिर्जना हुने अवस्था छैन ।

भू-राजनीतिक अर्थ

एमसीसीमा भू-राजनीति पनि जोडिएको छ । एमसीसी चर्चा बढेसँगै उत्तरी छिमेकी चीन पनि सक्रिय भएको देखिन्छ । चिनियाँ राजदूत होउ यान्छीको दौडधुप पनि बढेको छ । यान्छीले प्रचण्ड, माधव नेपालदेखि उपेन्द्र यादवसम्म वामपन्थी पृष्ठभूमिका नेताहरूसँग भेटेर छलफल गरिरहेकी छन् । चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनामा नेपाल संलग्न भइसकेको छ । एकातिर अमेरिकी राजदूतको भेटघाट बाक्लिएको छ भने अर्कोतिर चिनियाँ राजदूत सक्रिय भएकी छन् । बीआरआईमा नेपाललाई संलग्न गराएको चीन र एमसीसीमार्फत आउन लागेको अमेरिकाको रणनीतिक स्वार्थको भुंग्रोमा नेपाल परेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्ले एमसीसीलाई जबर्जस्त राजनीतिमा गिजोलिएको बताउँछन् । यसमा प्रशस्त बहस गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने वाग्लेको सुझाव छ । ‘नेपालको पूर्वाधार विकासमा एमसीसी परियोजना महत्त्वपूर्ण हो । हामी हल्लाभन्दा सम्झौता हेरेर अघि बढ्नुपर्छ । अमेरिकीहरू सम्झौताभन्दा दायाँबायाँ हुँदैनन् । हल्ला गरिएजस्तो सम्झौतामा सेना आउने, इण्डो प्यासिफिक रणनीतिअन्तर्गत हुने कुरा छैन । सुखी नेपाली समृद्ध नेपालको अभियान साकार पार्न यो अनुदान महत्त्वपूर्ण छ’, वाग्लेले भने ।

अमेरिकी राजदूत र्‍याण्डी बेरीले हालै एमसीसीमा रहेको अस्पष्टता प्रष्ट पार्न तयार रहेको बताएका छन् । नेपालीहरूको आशंकालाई स्पष्ट पार्न आफूहरू तयार रहेको राजदूत बेरीले उल्लेख गरेका छन् । ‘विद्युतको लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत् आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य छ । एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । वास्तवमा अमेरिकी कानुनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ’, उनले भनेका छन् ।

अमेरिकाले पटक पटक प्रष्टीकरण दिए पनि राजनीतिक संशय र आमजनमानसमा नकारात्मक धारणा र रणनीतिक टकरावले एमसीसी अलपत्र परेको छ । ज्यादा राजनीतीकरण र स्वार्थ भन्दा यथार्थमा एकरूपता नहुँदा नेपालले एमसीसी परियोजना स्वीकार गर्ने वा नगर्ने भन्ने टुंगो लाग्न सकेको छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…