नापेर पाइला पाइला
चलिरहन्छ जिन्दगी- निरन्तर
पुग्छ कहाँ ? रोकिन्छ कहाँ ?
कहाँ ठोकिन्छ र क्षतबिक्षत बन्छ
तर, नापेर पाइला पाइला
चलिरहन्छ जिन्दगी- निरन्तर !
एक फोगटो आशामा
एक तप्को विश्वासमा
एक निमेष भरोसामा
दौडिरहन्छ जिन्दगी- निरन्तर !
देख्छ बाटोभरि
छरिएका छन् असरल्ल- सुन्दर फूलहरू
- अबोध शिशु जस्ता
- निरीह आमा जस्ता
- विवश बाबु जस्ता
- कति तपाईं जस्ता
- कति म जस्ता
- कति हामी जस्ता !
उफ् !
बूढो सिमल
जो उदास उदास ठिङ्गिएको छ बाटोमा
छन् निराश निराश
यी उराठिला वर र पीपलका जोडी !
छाडी गए कहाँ
यी रूखमा नाच्न आउने चराका
प्रेमिल जोडीहरू ?
हराए किन
यी रूखमुनि बसेर
घन्टौँ माया पिरतीका गफ गरेर नथाक्ने प्रेमीहरू ?
किन आउँदैनन्
- देश हाँक्ने गफ छाँट्नेहरू अचेल यहाँ ?
किन सुनसान छन् अचेल
चोक-चौताराहरू ?
किन उदास छन् अचेल
वन-पाखाहरू ?
केले उडाएको हो रङ
- फूलको
- मेरी आमाको अनुहारको
- मेरी प्रेयसीका ओठको
- मेरा अबोध शिशुहरूको ?
किन बिक्षत छ
मेरो देशको नक्सा ?
धमिराले खाएको पुस्तक जस्तो
किन विद्रुप छ
मेरो देशको संविधान ?
उसो त
धतुरो वा गाँजाको नशामा
मग्न, मस्त छ
मेरो देशको शासक
कुनै डान्स बार
वा दोहोरी साँझमा
रमाइरहेका छन्
मेरो देशका प्रशासक !
कति हिँड्नुपर्छ अझै
कति दौडिनुपर्छ अझै
अझै कति कुर्नुपर्छ
- भेट्टाउन एक अञ्जुली खुसी ?
यो दु:खको अनन्त गहिराइ
यो पीडाको भयङ्कर अग्लाइ
अविश्वास, अमानवीयता र अराजकताको
अनन्त शृङ्खला
जारी छन्- निरन्तर निरन्तर !