Khabarpato logo

         

कला/साहित्य

सिस्टर लता लामिछाने

अश्रु सिन्धुलीय

अश्रु सिन्धुलीय

सिस्टर लता लामिछाने

१. यो कथा केही सत्य हो र केही काल्पनिक पनि हो । जस्तो कि कथाकी पात्राको नाम नै काल्पनिक हो तर कतिपय घटना भने सत्य घटनामा आधारित छन् ।  सामान्यतः यसो भन्ने गरिन्छ ।

२. आजभन्दा ठिक ४० वर्षअघिको सम्झना हो, जुनबेलामा बिरामीहरूको सिधै पहुँच हुन्थ्यो अस्पतालमा र बिरामीहरूलाई बिनापक्षपात भर्ना गरिन्थ्यो । तर, डाक्टरसँगको चिनापर्चीले यसै पनि काम गथ्र्यो नै । त्यसबेलामा पनि लाग्थ्यो- स्वास्थ्यको खर्च महँगो नै छ । तर अहिले जस्तो बेथितिको थिएन भन्ने गर्छन् भुक्तभोगीहरू । स्वास्थ्यको अवस्था भने अहिलेभन्दा सरल थियो जस्तो लाग्छ । 

३. मैले सम्झना गर्न लागेको सिस्टर लताका बारेमा हो । सिस्टर लता लामिछाने । यो नाम कतै मिलेमा संयोग मात्र मान्नुहोला । तर, मैले सम्झेसम्म उनको नाम सिस्टर लता नै थियो । अहिले ती सिस्टर पनि आफ्नो औपचारिक पेसाबाट निवृत्त भइन् होला पक्कै तर मलाई अहिले पनि उनको त्यही अनुहार, त्यही उमेर नै झल्झली यादमा आउँछ । 

४. उनी महिलाको शल्य चिकित्साको कोठामा थिइन् । महिलाहरूका कुरुवा पुरुष पनि हुन्थे धेरैजसो । मुस्किल के पनि पर्ने रहेछ भने एउटी बिरामीको लुगा परिवर्तन गर्नुपर्दा, उनलाई यदि बेडमा नै शौच गराउनुपर्दा पुरुषहरूलाई बारम्बार बाहिर जानका लागि भन्नै पर्ने । धेरै सिस्टरहरू झर्को फर्को गरेर कराउँथे र भन्थे, ‘कस्ता लोग्नेमान्छे हुन् भनेको, अर्की स्वास्नीमान्छेका लुगा फेर्ने बेला भएको छ, दिसा-पिसाब गराउने बेला भएको छ, थाहा नपाएजस्तो गरेर बस्छन् बा !’

तर, सिस्टर लताले भने त्यो समस्याको समाधान बडो कूटनीतिक पाराले गर्थिन् र भन्थिन्, ‘कृपया, एकछिनलाई यसो बाहिर गइदिनुहोस् न है ! तपाईंको बिरामीलाई कुनै समस्या आइहाल्यो भने मै सेवा गर्दिन्छु नि, हुन्न र ?’

किनभने कुरुवा बाहिर जान नमान्ने कारण हुन्थ्यो- बिरामीको हेरचाह गर्नुपर्ने । कुनै काममा बाहिर गएको रहेछ कुरुवा भने पनि ऊ आउनेबेलासम्ममा कराउँदै, फत्फताउँदै बस्थे अरू सिस्टरहरू । तर, हामी कुरुवाका लागि भने लता सिस्टर सधैँ बसिरहून् आफ्नो ड्युटीमा भन्ने लाग्थ्यो । 

अरू त अरू, हामी नभएको बेलामा डाक्टर आएर राउन्डमा कुनै ओखती लेखेका रहेछ भने पनि उनले या त सञ्चित ओखतीबाट दिन्थिन् या बाहिरबाट किन्न लगाएर बिलसमेत राखिदिन्थिन् बेडमा, जुन हामी पछि आएपछि भुक्तानी गथ्र्यौं ।  उनी हुनु भनेको त्यो फिमेल सर्जिकल वार्डमा सबै बिरामीको अनुहार हँसिलोल हुनु थियो । हामी कुरुवाहरूका लागि काम छ भने बाहिर जानका लागि छुट थियो किनभने हामी सबैको काम उनी एक्लै भ्याउँथिन् । 

५. डाक्टरहरू पनि उनको सेवाबाट अत्यन्त खुसी थिए । हाम्रा बिरामीहरू पनि उनको अनुहार देखेपछि खुसी हुन्थे र हामी कुरुवाहरूले पनि कम्तीमा पनि गाली खानुपर्दैन थियो किनभने उनले सम्झाउँदा कोही पनि निहुँ खोजर वार्डमा बस्दैन थियो । 

कसैलाई अपरेसनका लागि तयारी गर्नु छ भने उनले सबै कुरा सम्झाएर भन्थिन् र ओखतीहरूको व्यवस्था गर्नका लागि अस्पतालको सेवागृहबाट आवश्यक सामग्री लिएर आउँथिन् अनि भन्थिन्, ‘कसैले सोधे भने भन्नु है, किनेर ल्याएको ।’

उनलाई थाहा थियो, अस्पतालमा किन हो, भएको ओखतीको प्रयोग गर्दैनन् र सरकारी अस्पतालका लागि आएको करोडौँ रुपैयाँको सामान कति त बिग्रेर जान्छन्, कति समय गुज्रेर फाल्नुपर्छ, कति त चोरिन्छन् र बाहिर बेचिन्छन् । उनी कडा थिइन् र स्टोरमा गएर बिरामीका लागि आवश्यक सामग्री छ भने किन्न लगाउँदिन थिइन् । 

६. मैले एक दिन सोधेँ, ‘भन्न मिल्छ भने भन्नुस् न, तपाईंको घर कहाँ हो ? कति वर्षकी हुनुभयो ? कति पढ्नुभएको छ ? यस प्रकारको सेवा भाव कसरी तपाईंमा आयो ? अरू सिस्टरहरू त तपाईं जस्तै सेवाभाव राख्दैनन् ।’ 

७. मलाई उनले सोझै तरिकाले जबाफ दिइन्, ‘मेरो घर चितवन हो । पहिले हाम्रो घर लमजुङमा रहेछ तर म चितवनमा नै जन्मेकी हुँ । अहिले म २३ वर्षकी भएँ र अविवाहित नै छु । यो पेसामा आउने विचारले मैले भरतपुरमा स्टाफ नर्सको कोर्स सिध्याएँ र यो अस्पतालमा काम पाएँ । नर्सिङ पेसामा लाग्ने हो भने सेवाभाव जरुरी छ, मानवीय संवेदनालाई आमा जस्तै भएर बुझ्नु जरुरी छ । अरू साथीहरूका बारेमा उहाँहरूलाई नै सोध्नुहोस् ।’

उनले हाँसेर दिएको जबाफ भए पनि कति मार्मिक थियो र कति स्पष्ट थियो । कतिसम्म भने अपरेसन कक्षमा हुँदासमेत उनले बिरामीका परिवारलाई ढाडस दिएर जान्थिन् र भन्थिन्, ‘धेरै चिन्ता नगर्नुस्, तपाईंलाई भन्दा बढी चिन्ता हामीलाई हुन्छ बिरामीको किनभने तपाईंहरूले सम्पूर्ण विश्वास हामीमाथि राख्नुहुन्छ अनि हामी त्यो विश्वासको जगमा भगवान्सँग प्रार्थना गर्छौं । हामी त निमित्त मात्रै हौँ ।’

८. म त छक्क परेको थिएँ उनको जबाफबाट र दैनिक सेवा व्यवहारबाट । उनी अस्पतालको निवासमा नै बस्ने हुनाले कतिपय सिस्टरहरूको अप्ठ्यारो पर्दा उनी ओभर टाइमको कुनै वास्ता नगरी सेवामा हाजिर हुन्थिन् । डाक्टरहरू पनि उनको खोजी गर्थे किनभने वार्डका सबै बिरामीको उनले रेकर्ड यसरी राखेकी हुन्थिन् कि बिरामीको फाइल नै हेर्नुपर्दैनथ्यो । 

९. राम्री पनि बिछट्टैकी थिइन् । लुगा पनि कति सुहाएको हुन्थ्यो तर उनमा अरू जस्तो राम्री भएकीमा घमण्ड देखिँदैनथ्यो । सबैसँगको उनको व्यवहार हेर्दा लाग्थ्यो, सबैसँग उनको परिचय पहिलेदेखिकै हो । 

१०. मलाई दिउँसो काममा जानुपथ्र्यो । उनको ड्युटीमा म निस्फिक्रीका साथ जान सक्थेँ । करिब १ महिनाजति म अस्पतालमा बिरामीलाई लिएर बसेँ । अरू सिस्टरको समय तालिका भने कसैलाई वास्ता थिएन तर लता सिस्टरको कुन बार कति बजे आउने, कुन बार नाइट ड्युटी पर्छ, सामान्यतः बिरामी र कुरुवाहरूलाई थाहा थियो । हप्तामा शनिबार नाइट ड्युटी हुन्थ्यो अनि एकैचोटि सोमबार मात्र उनी आउँथिन् किनभने त्यो समय तालिका अहिले पनि मलाई सम्झना छ । 

११. अहिले कहाँ होलिन् लता सिस्टर ? बिहे गरिन् कि गरिनन् ? बिहे गरेको भए उनका श्रीमान् के गर्दै होलान् ? किनभने त्यसबेलाको उनको उमेरसँग अहिले गणना गर्दा उनी ६३ वर्षकी भइन् र उनका श्रीमान् पनि त्यही उमेरको हाराहारी या बढी नै भएका होलान् । कुनै डाक्टरसँग बिहे गरिन् कि बाबुआमाले खोजेको केटासँग बिहे गरिन् ? मागी बिहे गरिन् कि प्रेम विवाह गरिन् ? छोराछोरी, नातिनातिनी भए होलान् र ? उनका सन्तान पनि जञ्जालले देशबाट बाहिरिए या देशमै छन् कि ? 

१२. यस पटकको कोरोना कहरमा नर्स, डाक्टर, प्रहरी, सेनाहरूले गरेको सेवा भावले मलाई उनलाई सम्झिन बाध्य पारेको हो कि जस्तो लाग्छ । मेरी श्रीमतीलाई त्यहाँबाट डिस्चार्ज गरे पनि फेरि म त्यो अस्पतालको सर्जिकल फिमेल वार्डमा गइनँ । मलाई अहिले पनि ती लता सिस्टर त्यहीँ सफा सेतो इन्द्रकमल जस्तो ड्रेसमा नीलो बेल्ट लगाएर, कपालमा कलम घुसारेर, आवश्यक पर्ने सामग्रीहरूको जोहो गर्ने जाँगर भएकी ती साक्षात् देवीको कल्पना आउँछ । 

मैले के पनि देखिनँ भने, त्यो उमेर उनमा कुनै उत्ताउलोपन पनि थिएन उनमा र कुनै घमण्ड पनि थिएन । सायद समय मिलाएर पद्मकन्या क्याम्पसमा पढ्दै पनि थिइन् कि ? उनका हातमा कुनै न कुनै किताब हुन्थ्यो साहित्यको तर पढ्न फुर्सद त तिनलाई कहाँ हुन्थ्यो र ? 

१३. म अहिलेको उनको अनुहार कस्तो भयो होला भनेर कल्पना गर्छु । कपाल सेतै फुल्यो होला, गालामा चाउरी परेको होला तर उनको अनुहारमा त्यो चमक पक्कै होला स्वाभिमानको र सेवाको सन्तुष्टभावको । तर, म उस्तै लता सिस्टर मात्र सम्झन्छु, जसलाई ४० वर्षअघि अस्पतालको फिमेल सर्जिकल वार्डमा देखेको थिएँ । उनलाई हजारौँ बिरामी र हजारौँ कुरुवाले दिएको आशीर्वादले पक्कै पनि जीवन सहजताका साथ चलेको होला । सन्तानको राम्रै अवस्था होला या के भएको होला ? 

यदि तपाईंले चिन्नुभएको छ भने मलाई एक पटक ती सेवामूर्तिको दर्शन गर्नु छ, जसले मलाई अहिलेसम्म एउटा सकारात्मक प्रभाव छाडेको छ परिचारिकाहरूको सेवाको । पक्कै पनि यो कोरोना कहरमा उनले निःशर्त सेवा गरिहोलिन् संक्रमितहरूको र उनलाई पक्कै पनि कोरोनाले छोएको छैन होला भन्ने अपेक्षा गरेको छु ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…