प्रतिनिधिसभा विघटन: विपक्षीको तर्फबाट बहस सुरु
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा विपक्षीको तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरूको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस सुरु गरेका छन् । बडाललाई बहस गर्न ३ घण्टा समय दिइएको छ ।
संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएकाले सोमबारदेखि विपक्षीको तर्फबाट सरकारी वकिल र कानुन व्यवसायीहरूले बहस सुरु गरेका हुन् । रिटमा विपक्षी बनाइएका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस गर्नका लागि १५ घण्टाको समय छुट्याइएको छ ।
त्यसपछि रिट निवेदक पक्षले थप ३ घण्टा जबाफी बहस गर्न पाउनेछ । जबाफी बहसपछि एमिकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य, उषा मल्ल पाठक, कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीले आआफ्नो राय दिनेछन् । अन्त्यमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।
गत ७ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरूमाथि गत ९ असारदेखि निरन्तर बहस हुँदै आएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीका रूपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ जना सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।