नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । घोषित दोस्रो चरणको आन्दोलन कार्यक्रम जेठ ५ गतेदेखि सुरु हुने महासंघले जनाएको छ ।
महासंघका अनुसार जेठ ५ गते नेपाल शिक्षक महासंघको मागबारे प्रधानमन्त्री, सभामुख, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीलाई खुलापत्र पठाएर ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको छ । खुलापत्र हरेक शिक्षक कर्मचारीले आफ्नो फेसबुक वालमा शेयर गर्ने समेत जनाइएको छ ।
त्यस्तै जेठ ७ गते हरेक शिक्षक तथा कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र अर्थमन्त्रीको मोबाइल नम्बरमा 'शिक्षक तथा विद्यालय कर्मचारीलाई अविलम्ब कोभिड बिरुद्धको खोप दिइयोस्', 'बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलव बृद्धि गरियोस्' भन्ने नारा पठाउने बताइएको छ ।
त्यसरी नै जेठ ९ गतेको कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक पार्टीका संसदीय दलका सचेतक तथा महासंघ बीच महासंघबाट पेश भएका माग र समसामयिक विषयमा अनलाइन अन्तरक्रिया तथा छलफल गर्ने र जेठ ११ गते हरेक शिक्षक तथा शिक्षक महासंघले केन्द्रबाट बनाएको कालो स्टिकरमा राखिएका ६ वटा हाइलाइटेड माग लेखी छातीमा टाँस्ने र टाउकोमा कालोपट्टी समेत बाँधेर फोटो खिचि उक्त फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्ने योजना महासंघले सार्वजनिक गरेको छ ।
कार्यक्रमलाई निरन्तरता दिने क्रममा जेठ १३ गते हरेक शिक्षक तथा कर्मचारीले नेपाल शिक्षक महासंघले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समक्ष पेश गरेको विरोधपत्र, मागपत्र र सम्झौतापत्रका छायाँप्रति आफू रहेको निवार्चन क्षेत्र भित्रका संघीय तथा प्रदेश सभाका सांसदहरुको इमेल तथा फेसबुकको म्यासेज बक्समा पठाउने र जेष्ठ १८ गते तेस्रो चरणको कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ ।