२७ अंकको वृद्धिसँगै नेप्सेमा छायो हरियाली, कारोबार रकम पनि बढ्यो
साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २७.४७ अंकले वृद्धि भई २६७३.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ सूचक पनि ३.१२ अंकले बढेर ४७८.२४ विन्दुमा पुगेको छ ।
यस दिन २२० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ता शेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७०.६६ रुपैयाँमा कारोबार भएको छ ।
यस दिन नेप्सेका सबै उपसूचकमा हरियाली छाएको छ । नेप्से सूचकसँगै कारोबार रकममा भएको वृद्धिले लगानीकर्तामा उत्साह देख्न सकिन्छ ।
यस दिन ४ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, रुरु जलविद्युत परियोजना, युनाइटेड मोदी हाइड्रोपावर र गुहेश्वरी मर्चेन्ट बैंकिङको मूल्यमा सर्किट लागेको हो । त्यस्तै, समता माइक्रोफाइनान्सको मूल्य ९ प्रतिशतले बढेको छ । यीसहित १४५ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
लगातार नकारात्मक सर्किट लागेको विशाल बजार कम्पनीको मूल्य यस दिन पनि १० प्रतिशतले घटेको छ । योसहित २१ वटा कम्पनीका शेयरको मूल्य ओरालो लागेको छ ।
यस दिन उच्च कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो । अपि पावर कम्पनी लिमिटेड शिवम् सिमेन्ट जलविद्युत लगानी तथा विकास कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर पनि कारोबारका हिसाबले अग्रपंक्तिमा रहे ।