आइतबार शेयर बजार अघिल्लो दिनको तुलनामा १८ अंकले घटेको छ । कारोबार बन्द हुँदा बजारका सबै सूचक राताम्मे भएका छन् । सो अंकको गिरावटसँगै परिसूचक २६१८ अंकमा कायम भएको छ ।
दिनभर शेयर बजार उतारचढावमा रह्यो । खासगरी यतिबेला अन्योलपूर्ण राजनीतिक वातावरणका कारण शेयर बजारमा लगानीकर्ताको उत्साह बढेको देखिँदैन । आज ६ अर्ब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन बैंकिङ समूह जम्मा ०.२८ अंक मात्र घट्यो भने ब्यापार ६१, होटल तथा पर्यटन ४१, विकास बैंक १, जलविद्युत ३४, फाइनान्स १२, निर्जीवन बीमा ३१, उत्पादन ९२, अन्य २७, माइक्रोफाइनान्स ९७ र जीवन बीमा समूह १४७ अंकले घटेका छन्।
यस दिन समता घरेलु लघुवित्त र रुरु जलविद्युत आयोजनाका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत मूल्य कमाए ।
महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । ५ हजार नाघेको कम्पनीको मूल्य आज ५ हजार ५२७ रुपैयाँमा कायम भएको छ । त्यस्तै, विशाल बजार कम्पनीका लगानीकर्ताले पनि १० प्रतिशत नै गुमाएका छन् ।
कम्पनीको मूल्य प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा झरेको छ । सिँगटी हाइड्रोको मूल्य साढे ९ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा यस दिन एनसीसी र कुमारी बैंक अग्रस्थानमा रहे । ती कम्पनीको २८/२८ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरीको २४ करोड रुपैयाँ बराबरको कारोबार भयो ।