Khabarpato logo

         

राजनीति

अमिक शेरचन भन्छन्: 'राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ' (वक्तव्यको पूर्ण पाठसहित)

खबरदाता

खबरदाता

अमिक शेरचन भन्छन्: 'राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पद अस्वीकार गरेको व्यक्ति हुँ' (वक्तव्यको पूर्ण पाठसहित)

सोमबार  गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त गरिएका माओवादी नेता अमिक शेरचनले आफूले विगतमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्ष पदसमेत अस्वीकार गरेको बताउँदै प्रदेश प्रमुखको पद आफ्नो इच्छाविपरीतको पद भएकाले पदमुक्त हुन पाउँदा खुसी लागेको बताका छन् ।

मंगलबार बिहान प्रदेश प्रमुखको निवासमा पत्रकार सम्मेलन गर्दै उनले उक्त धारणा व्यक्त गरेका हुन् । शेरचनले आफू पदको लोभी नभएको समेत जनाए ।

नेता शेरचनले आफूले पदका लागि राजनीति नगरेको दाबी गर्दै आफू पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपति बन्नका लागि आफूलाई आएको प्रस्ताव र राजा ज्ञानेन्द्रको कार्यकालमा प्रधानमन्त्री बन्नका लागि प्रस्ताव आउँदा पनि ठाडै अस्वीकार गरेको व्यक्ति भएको उल्लेख गरे ।

पार्टी अध्यक्ष बन्नेसम्बन्धी कुरा कोट्याउँदै उनले भने, 'सन्त नेता क. मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ ।'

नेता शेरचनको प्रेस वक्तव्यको पूर्ण पाठ

प्रेस वक्तव्य

आदरणीय पत्रकार साथीहरू

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ । यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबैप्रति आभार प्रकट गर्दछु । कार्यालयका कर्मचारी, सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरूबाट सहयोग र सम्मान पायौँ । यहाँहरूप्रति आभार व्यक्त गर्दछौँ ।

पदमुक्त भएकोमा अत्यन्तै खुसी छु । मुरीमुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई । पहिला ओलीजी र पुनः प्रचण्डजीमार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारेको पद हो यो । अधिकारविहीन खुला जेलबाट मुक्त गरिदिनुभएकोमा पनि धन्यवाद ।

म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै, ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क. यज्ञदेव आले, क. निर्मल लामा र क. मोहनविक्रम सिंह जस्ता शीर्षस्थ नेताहरूको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफ्नो जीवन समर्पित गरेँ । पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ ।

सन्त नेता क. मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि मैले स्वीकार गरिनँ । पद र सत्ताको लागि असंवैधानिक पद्धति र अपाच्य दृश्यहरू थोपर्ने पद जोगाउने व्यक्ति म होइन । न त पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति हुँ । म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ । श्रमजीवी सर्वहारा वर्गको इमान्दार साथी हुँ र वर्ग संघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ ।

राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिक्रमण गर्ने भारतीय विस्तारवाद र स्रमाज्यवादविरुद्धका संघर्षहरू, पञ्चायतकालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धका संघर्षहरूमा मैले कुनै प्रकारका षड्यन्त्र र गद्धारी गरेको छैन । न त अर्बौं कमिसन र भ्रष्टाचारमा डुबेको छु बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको जिउँदो उदाहरण छ मसँग । भ्रष्टाचार र कमिसनहरूको खेलमा डङडङी गह्नाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति पनि होइन म, बरु वैदेशिक हस्तक्षेप, सन्धि सम्झौता र भ्रष्टचारविरुद्धका संघर्षहरूमा ४ वर्षजति जेल यातना र हजारौँ पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ ।

संघर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा, हात, करङ र ढाड फुटेको छ भने गर्धन २ टुक्रा हुँदा र पटकपटक कैयौँ दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ । स्मरण रहोस्- कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन २ टुक्रा भयो भने १७ दिनपछि होसमा आएको थिएँ ।

आज देश कोभिडबाट आतंकित र आक्रान्त बनेको छ । दैनिक मृत्युदर बढिरहेको छ । यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरूको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्ने अहं बेलामा पार्टी–पार्टीबीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाइएको छ ।

एक पटक सबैले निधार खुम्चाएर सोचौँ, दैनिक सयौँको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तत्कालीन आन्दोलनकारी पार्टीहरूको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो ।

यस पदमा आएपछि मैले संवैधानिक मर्यादालाई पूर्ण पालना गरेको थिएँ । कुनै पनि पार्टी विशेषको प्रभाव र छायामा काम गरिनँ । सरकारले जे प्रस्ताव ल्यायो, त्यसलाई संवैधानिक नियमअनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरूबाट जेजे प्रस्ताव आए, त्यसलाई पनि संवैधानिक नियमबमोजिम नै निर्णयार्थ सम्पादन गरेको थिएँ । यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु ।

अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस्, यसका लागि पक्षधरताहरूबीचको सहकार्य र एकतामा अघि बढौँ, मेरो हार्दिक अपिल छ ।

अमिक शेरचन

२०७८/०१/२१

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…