एकाएक धुमिल बन्दै गएको छ आकाश
उदास बनेर घोप्टिएको छ धर्ती
चराचर छ स्तब्ध
मूर्दा शान्तिले ढाकेको छ छपक्क ।
मान्छे भाग्दै छ मान्छेदेखि
चिन्ता छ- मान्छेसँगै भाग्ने हो कि मानवता पनि ।
दुर्दान्त विवशता
सकसपूर्ण कहर
उफ !
आफन्त भएन कोही, कोही भएन आफ्नो
न भयो टाउको दुख्दा समाइदिने प्यारो हात
न त दु:खमा सुम्सुम्याइदिने
नजिकको साथ नै ।
खबर छ-
महामारी हो यो
सतर्क रहनू/सुरक्षित रहनू
मृत्युको भयावहका खबरहरू
आइरहेका छन्- छिनछिनमा
लाग्छ-
ध्वस्त बन्दै छ विश्व अब
सकिँदै छ मानव अस्तित्व एकाएक ।
न भन्यो वृद्ध वा न त बालक नै
न छुट्यायो बलिया वा न त निर्धा नै
एकनास, एक रूप
मच्चाउँदै कोकोहोलो
बढाउँदै आतङ्क
बन्दै भयानक त्रास
छिरेको छ हरेक वस्तीमा
घर र आँगनमा ।
तथापि,
लड्नु छ नडराई
भिड्नु छ नभागी
जित्नु छ नहडबडाई
र, पुन: सिर्जना गर्नु छ
- नयाँ सभ्यताको/नयाँ संसारको ।
विपत्तिलाई हराएर
विश्वासलाई जगाएर
फेरि बनाउनु छ
यो धर्ती सुन्दर, शान्त ।
ओ मान्छेहरू !
बाँच्नु छ युगौँ युग यो सभ्यता
बचाउनु छ वर्षौं वर्ष यो विश्वास
सजाउनु छ अझै शिशुहरूका आँखामा
सौम्य, सभ्य र समृद्ध सपनाहरू
हुर्काएर तिनै सपनाहरू
बनाउनु छ एउटा
उन्नत, सुखी र शान्त संसार ।
त्यसैले
नखाऊ हार/नमार आस
विश्वास नडगमगाऊ
हरेस नखाऊ
आएको छ जसरी
जानेछ उसरी नै
हरेक कहर/हरेक विपद
तथापि, हार्नुहुन्न तिमीले
भाग्नुहुन्न तिमी ।