Khabarpato logo

         

कला/साहित्य

मौनतामा अल्झिएकी एक पात्र

तीर्थ सिग्देल

तीर्थ सिग्देल

मौनतामा अल्झिएकी एक पात्र

प्रिय मौनता !
तिम्रा मौन आवाजमा कति शक्ति रहेछ
आज म महसुस गर्दै छु
तिम्रो आँशुमा कति बल रहेछ
आज म अनुभूत गर्दै छु
नबोलेरै पनि संसार जितिने रहेछ 
हारेर पनि जितिरे रहेछ संसार
हार त एउटा क्षणिक कुरा मात्र रहेछ
जित्न त दौडनुपर्छ
प्रायः जित्नेहरूले दौडेरै जितेका हुन्
तर, जित्नु मात्र जीवन होइन
हारेर पनि जीतको अनुभूति गर्न सकिन्छ ।

कतै पढेको थिएँ-
'मौन आवाजका चित्कार' शीर्षकको कविता
कतै सुनेको थिएँ-
मौनताबारेका गीत/गजल
आखिर ऊ पनि त मान्छे हो 
तिमी पनि मान्छे नै हौ
उस्तै मान्छे 
आखिर मान्छे मनको कैदी त रहेछ !

तिम्रा मनका भावना
तिम्रा मनका चाहना र अव्यक्त भावहरू
तिम्रो नबोल्ने ओठ, कुरा नफड्कार्ने जिब्रो
र, हाउभाउ बुझ्छु म
मुखले नबोलेर के भयो र ?
आखिर मनको भाव आँखाले बोल्छ
ओठले संकेत नगरेर के भयो र ? 
निधारले खोल्छ मनको कुरा ।

प्रकृति पनि स्वार्थी हुन सक्दो रहेछ
धर्ती पनि बाँझो हुन सक्दो रहेछ
यी दुवैले कसैलाई अन्याय गर्दैनन् भनेको सुनेको हो 
तर, यहाँ यो नियम लागू भएन
सामाजिक मूल्य र मान्यताले पनि चिनेन
तिम्रो मौनतालाई
चिनेन तिम्रो महानतालाई
तिम्रो क्षमता र योग्यतालाई ।

के तिमी साँच्चै बोल्न सक्दिनौ ? 
के तिम्रो मन र मुटु छैन ?
तिम्रो मनले कुनै आशाको संचार गराउँदैन ?
के तिम्रो मनले पीडा, खुसी 
र, दुःखलाई आत्मसात गर्न सक्दैन ? 

तिमी पनि त मान्छे नै हौ
तिम्रा पनि कथाहरू छन्
बस्... नलेखिएको मात्र त हो 
तिम्रा पनि वेदना छन्
कविहरूले वर्णन नगरेका मात्र त हुन्
तिम्रा पनि त सपना छन्
कुनै इन्जिनियरले नकोरेको मात्र हो 
तिम्रो पनि त ओठ छ
बस्... नबोलेको मात्र हो ।

प्रिय मौनता !
तिम्रो त्यो मुहार देखेर 
कुनै चलचित्रको निर्देशक मख्ख पर्न सक्छ
तिम्रा दन्तलहर हेरेर
कुनै विज्ञापनमा खेलाउन सक्छ
तिम्रो त्यो केशराशि
कुनै नायिकाको भन्दा कम छैन
तिम्रो त्यो हेराइमा 
जो कोही पनि मोहित हुन सक्छ
तैपनि तिमी बोल्दिनौ
अब त बोल मौनता
तिम्रो मौनताले हद गरिसक्यो
मानिसहरू अब आफैँ बोल्न थाले तिम्रोबारे
नानाथरीका कुरा काट्न थाले
तिम्रो सुन्दरताको बारेमा
तिम्रो महिमाको जताततै चर्चा मात्र छ 
तिम्रो मौनताको !

चौरस्तामा बसेर पनि कोही बोल्न सक्छ ? 
रात-बिरात, अन्धकारमा
घाम, जून र वर्षायाममा
चोक, बजार र गल्लीनिर
हल्लिएर र रल्लिएर बसेका 
हुलका हुल मान्छेहरूका माझ ।

भट्टीहरूबाट, चलचित्रघरहरूबाट
गिर्जाघर र मस्जिदहरूबाट 
फर्केका मान्छेहरूले तिम्लाई 
दिनदहाडै गिज्याउँछन्
दिनभर निदाएर, रातभर भुक्ने कुकुरहरूले 
तिम्रै समीपमा सु... गर्दा पनि तिमी बोल्दिनौ
जँड्याहाहरू, हुल्याहाहरू
श्रीमतीको डरले घर नपुगी
तिम्रै समीपमा निदाउँदा पनि तिमी बोल्दिनौ ?

मलाई थाहा छ-
तिमी एउटी नारी हौ
नारी हुनुको खास पीडा तिमीलाई थाहा छ
म त एउटा पुरुष हुँ, पुरुष
पुरुषप्रति कतिपय महिलाहरूको 'रिजर्वेसन' छ
खास गरेर 'फेमिनिस्ट'हरूको 
फेमिनिस्टहरू पनि महिला नै हुन् 
तिमी पनि महिला नै हौ
तर, खोइ ? आज ती फेमिनिस्टहरू 
तिम्रो बोलीमा लगाम लाग्दा 
उनीहरू किन बोल्दैनन् ? 

कैयौँ पटक उनीहरू यही बाटो भएर गए
नेताहरूले यही चौबाटोमा मन्च बनाए
भाषण कुर्लिए, नाटकहरू देखाइए
महिला अधिकारको नारा उर्लियो
सत्ता र भत्ताका लागि थरिथरिका आन्दोलनहरू गरिए
तिनै मान्छेहरू मन्त्री भए
हिजो मात्र डन मन्त्री भयो 
ऊ आज यही बाटो भएर गयो ।

खासमा 
तिमीले नचाहेर नबोलेकी होइन
बोल्न नसकेर हो 
मलाई थाहा छ-
तिम्रो ओठ कोमल छैन
तिम्रो जिब्रो मासुको होइन
सोच्न सक्ने मगज छैन
बुझ्न सक्ने क्षमता छैन
तिम्रा आँखाले देख्दैनन्
फर्काउन सक्ने विवेक छैन
तिम्रो मुटु ढुंगाले बनेको छ
किनभने तिमी मान्छे होइनौ
किनभने तिमी त ढुंगाको मूर्ति हौ
तिमी त चौरस्तामा सिंगमर्मरबाट कुँदिएकी
फगत एउटी नबोल्ने मूर्ति हौ
मौनतामा अल्झिएकी एउटी पात्र हौ
'फर्गेट मी...'
तिम्रो मुटु छैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…