आजदेखि सुरु हुनृ गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको कार्यसूचीअनुसार सोमबार प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोल्नेछन् । त्यसपछि अरू प्रदेशसभा सदस्यले बोल्न समय पाउनेछन् । अविश्वासको प्रस्तावमाथि छलफल सकिएपछि मतदान हुनेछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन् ।
अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावमा हस्ताक्षर नगरे पनि पक्षमै मतदान गर्ने विश्वास विपक्षी दललाई छ ।
६० सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउउन ३१ मत आवश्यक पर्छ । एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२ सांसद छन् । जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ जना सांसद छन् ।
अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि १ वैशाख मध्यरातमा मुख्यमन्त्री गुरुङले संसद अधिवेशन अन्त्य गराएका थिए । तर, अविश्वासको प्रस्ताव दर्तासँगै ३ दलले विशेष अधिवेशनका लागि प्रदेश प्रमुख समक्ष समावेदन दिएका थिए ।
केही समयअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेको माधव नेपाल खेमाका ४ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो भने फ्लोर क्रस गर्ने सांसद कारबाहीमा परेका थिए ।