सीईडीबी हाइड्रोको आईपीओ १७ वैशाखदेखि
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक शेयर (आईपीओ) १७ वैशाखदेखि भर्न पाइने भएको छ । कम्पनीले सो दिनदेखि शेयर निश्कासन गर्ने भएसँगै सर्वसाधारणले उक्त दिनदेखि शेयर भर्न पाउने भएका हुन् ।
कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीको जारी पुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
यससँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर बिक्री गर्नेछ, जसमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयरका लागि आवेदन दिन सक्ने छन् । उनीहरूले १७ वैशाखदेखि २१ वैशाखसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा शेयर बिक्री नभएमा कम्पनीले ३१ वैशाखसम्म शेयर बिक्री खुला गर्ने जनाएको छ ।
उक्त शेयर निश्कासनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । यससँगै सर्वसाधारणले मेरो शेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक, वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।