Khabarpato logo

         

कला/साहित्य

'प्रिय मौनता': कवितामा डा. एटमको मैलिक चिन्तन

रूपक अलङ्कार

रूपक अलङ्कार

'प्रिय मौनता': कवितामा डा. एटमको मैलिक चिन्तन

मौन समय सकिएर केही चहलपहल सुरु हुनै लाग्दा बजारमा कवि डा. नेत्र एटमको ‘प्रिय मौनता’ कवितासंग्रहको हल्ला आयो । नाम र कामको कस्तो विरोधाभास ? कृति आएपछि जति हल्ला भयो, त्यति नै राम्रो तर एउटा सामान्य पाठकका लागि कृति प्रकाशन भएको खबर मात्र भए पनि हुन्छ, खोजेर पढ्ने उसको धर्म हो । आफू पनि त्यस्तै धार्मिक प्रवृत्तिको मान्छे भएकाले किताब हातमा प¥यो । 

नेत्र एटमका एटम जस्ता या एटम बम जस्ता (अणोरणीयान् महतो महीयान्) सानाभन्दा पनि साना वा ठूलाभन्दा पनि ठूला (पाठकले कसरी हेर्न सक्छ ?) कविता पढ्न पाइयो । त्यसैको झिनो मसिनो प्रतिक्रिया मात्र हो यो । गहन समीक्षा वा सैद्धान्तिक शोध गर्ने आँट मसित छैन । गुरुहरूको कवितामा दोष देखाउन गुरुभन्दा जान्ने हुनुपर्छ । प्रशंसा गर्न खासै जान्ने हुनुपर्दैन ।

कवि नेत्र एटमको नवीनतम कविता कृति ‘प्रिय मौनता’ कवितासंग्रह पढ्न थालेपछि थाहा भयो, यो मौनता भन्ने कुरा कति महत्त्वपूर्ण रहेछ । सर्वप्रथम आफूले आफूलाई नै हेर्ने खोपो रहेछ मौनता । हुनत समयले हामी सबैलाई मौन रहन आदेश गरेको हो, सबै मान्छे आज्ञाकारी हुन कहाँ सक्छन् र ? कराउनेहरू कराइरहे । एकान्तमा हराउनेहरू हराइरहे । कराउनेले आफ्नो घोक्रो सुकायो फगतमा । जो एकान्तमा हराए, तिनले मिठो अनुभूति पाए । 

वास्तमा ती संसारबाट हराएका थिए । हामीबाट हराएका थिए । तर, आफूबाट हराएका थिएनन् । ती त आफूमै प्रवेश गरेका थिए । अरूमा हराउनु मोहमा पर्नु हो, आफूमा हराउनु आत्मबोध गर्नु हो, आत्मानुभूति गर्नु हो । त्यस्तो आत्मबोध, आत्मसमीक्षा वा अन्तदृष्टिबाट प्रस्फुटित भएका कविताहरूको संग्रह हो, प्रिय मौनता । 

कृतिलाई अझ खुलस्त पार्न होला– कोष्ठकमा ‘उपासना कविता’ पनि लेखिएको छ । यसबाट यो कस्तो खालको कविता होला ? भन्ने जिज्ञासा पाठकमा उत्पन्न हुन्छ । आजसम्म पढिएका कविताचाहिँ के रहेछन् त ? भन्ने विस्मयकारी अन्योल पनि साथसाथै उत्पन्न भइहाल्छ । तर, कवि स्वयंले उपासना कविताका सन्दर्भमा ऐतिहासिक प्रसंगसहितको लामो विज्ञप्ति दिएका छन् । साथै, पुष्प दमाईंको सैद्धान्तिकताले भरिएको बौद्धिकतापूर्ण र समालोचनात्मक व्याख्यान पनि यसै पुस्तकमा समावेश छ, जसले एटमको कवितालाई सैद्धिान्तिक हिसाबले प्रभावशाली ठम्याउन खोजेको छ । जसलाई उपासना के रहेछ भन्ने जिज्ञासा छ, उसका लागि दुवै आलेखहरू उपयुक्त खुराक बन्न सक्छन् तर कविताको रसास्वादनका लागि कविता आफैँमा पूर्ण छन् । तिनको महत्ता सिद्ध गर्न अरूको टेको आवश्यक देखिँदैन । 

एक हिसाबले कोरोनाको लहर फिँजिएपछि सबै मानिस एकान्तबासको प्रक्रियमा समाहित भए । होहल्ला र भीडमा हराइरहेका मानिसले आफूलाई अचानक एकान्तमा पाउँदा कतिपय मान्छे हच्किए पनि । वर्षौंदेखि आफैँलाई देख्न नपाएका मानिस आफैँलाई देखेर डराए पनि । अफूभित्रको आवाजले आफैँ तर्सिए पनि । 

सबैले यो एकान्ततालाई अवसरको रूपमा उपयोग गर्न सकेनन् । हुल्लडबाजहरूले यस्तो समयमा पनि सामाजिक सञ्जालका माध्यमबाट हल्ला मच्चाइरहे । चुस्सचुस्स कवि नेत्र एटमले पनि सामाजिक फेसबुकको कुनामा बिस्कुन हालेकै हुन् । के हुन लागिरहेछ यस्तो भन्ने हामीलाई लागेको हो । 

सुन्दर आवरण कलाले सजिएको कुटगाताले बाँधिएको, चिनो लागाउन धागो पनि हालिएको दिक्क लागेको बेलामा पढ्दा पनि ओखतीको काम गर्न सक्ने, छिटा, छरिता, रसिला उपासना कविताले भरिएको किताब शिखा बुक्सबाट प्रकाशन भएर हामीमाझ आउनलाई पो रहेछ ।

हुनत सबै कविता उपासना नै हो । अभ्यास, साधना, सूचना, कल्पना जस्ता कुरा कविताका कच्चा पदार्थ हुन् । कच्चा पदार्थको उपलब्धताले मात्र इन्द्रप्रस्थ बन्छ भन्ने छैन । त्यसका लागि मयको माया पनि चाहिन्छ । त्यसलाई प्रतिभा भन्दा अनुपयुक्त नहोला । 

यस कृतिमा कविको मायाको लेप बाक्लै लागेको देखिन्छ । साधना वा अभ्यासभन्दा अलिक जटिल प्रक्रिया हो उपासना । उपासनाले तन्मय गराउँछ । तपाईंले ब्रह्मको उपासना गर्नुभयो भने तपाईं ब्रह्म बन्नुहुन्छ । तपाईंले कविताको उपासना गर्नुभयो भने तपाईं कविता बन्नुहुन्छ । उपासना कवितालाई आफैँ कविता बन्ने प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त हुन्छ । 

उपासनाका लागि स्थान कालको महत्त्व हुन्छ । आसनसिद्धि र वाक्सिद्ध पनि चाहिएला । मैले कुनै काली या भैरवको उपासनाको कुरा गरेको होइन तर कविताको उपासनाका लागि पनि त एकान्त, ध्यान र आसन चाहिन्छ । कविता भनेको चित्तको स्थिरता र आवेगशान्तिबाटै उत्पन्न हुने हो । कवितामा आवेग भए पनि, विद्रोह भए पनि कविमा शान्त हुँदा मात्र कविताले उन्मुक्त अभिव्यक्ति पाउँछन् । जब समय र स्थानबाट उम्केर वैश्विक या सार्वकालिक सत्यलाई अनुभूत गरिन्छ, तब मात्र उपासनाका कविता अभिव्यक्त हुन्छन् । ‘प्रिय मौनता’लाई यसरी नै हेरिनुपर्छ जस्तो लाग्छ ।  

कविताका प्रा‘प वैदिक ऋचा हुन्, जसमा कविकपटभन्दा स्वाभाविकता झल्किएको पाइन्छ । सार्वजनीन चिन्तनलाई वैदिक ऋाचाहरूले यति सरल र सहज तरिकाले उठाएका छन् कि ती विचार वास्तवमै रागतिरोहित सत्त्वोद्रेक हृदयको प्रतिच्छाया हुन् । जति पटक व्याख्या गरे तापनि नसकिने (क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपम् रमणीयतायाः) कालान्तरमा झन् नयाँ हुँदै जाने उपासना कविताको मौलिकता पहिचान गर्दै हामी वैदिक ऋचासम्म पुग्न सक्छौँ । तहाँ उप्रान्त पनि यस किसिमको अभिव्यक्तिको एउटा छुट्टै महत्त्व रहेकै छ । 

एकाथरि कविहरूले मञ्च नै भत्काउँला जस्तो गरिरहँदा एकाथरि कवि आफ्नै हृदयको आलाप गाइरहेको हुन्छ । यस्ता कविता समाज र समसामयिकताबाट बेखबर हुन्छन् भनेको होइन । यिनका शब्द विस्फोटक नहुन सक्छन् तर आशय विस्फोटक हुन्छन् । 

मैले यस संग्रहका कविता वैदिक ऋचा समान छन् भन्न खोजेको किमार्थ होइन, कविताको सात्विकताको प्रशंसा मात्र गरेको हुँ । राग र अभिनयकलाले थिचिएको नेपाली कविताका बीचमा यस संग्रहका कविताले आफूलाई कविताकै रूपमा देखाउन सकेका छन् मात्र भनेको हुँ । 

यौटा युगभोक्ता महर्षिले आँखा चिम्लेर व्यक्त गरेको अनुभूति वन्यप्रान्त नदी तटको पर्णकुटीमा बसेर सुनेजस्तो लाग्छ कविता पढ्दा । सायद नीरवताको सौन्दर्य यही होला । जगत् निरपेक्ष भएर जगतका कुरा बोल्नु यस कृतिको शक्ति हो । विकृति, विसंगति, अस्थिरता, भ्रष्टाचार जस्ता पेचिला विषयमाथिको धमाकेदार प्रस्तुति यस संग्रहमा पाइँदैन । केही कवितामा चलनचल्तीका विषय छन् तर तिनले पनि मौनताको धर्म निर्वाह गरेका छन् । 

संग्रहमा भएका  प्रत्येक कवितामाथि रौँचिरा दृष्टि लगाउने मेरो उद्देश्य र प्रयत्न दुवै होइन । कविताको सौन्दर्यको प्रतीति समष्टिको अभिव्यक्तिमा हुन्छ भनेझैँ मेरो मन्तव्य पनि समष्टिमा नै हो ।  

कवितालाई कविले सकेसम्म सहजग्राह्य बनाउने प्रयास गरेका छन् तर कतैकतै बिम्बहरूको यसरी आँधी आउँछ कि पाठक नै पुरिएला भन्ने पिर हुन्छ । कतैकतै उपनिषद्का मन्त्रमा घोरिएजसरी घोरिनुपर्छ । 

अधिकांश कविता कोमल, लयालु र रेसादार नै छन् । फाइबरयुक्त भएकाले कविता अपच होलान् भनेर डराउनुपर्दैन । यहाँभन्दा उत्कृष्ट कविता हुनै सक्दैन भन्नलाई म को हो र ? तर, कविताको मौलिक स्वादको कुरा गर्दा वर्तमान समयका हिसाबले फरक स्वाद यस कृतिमा पाइन्छ भन्नलाई कोही हुनै पर्दैन ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…