पातलो शरीर
सुरिला दुई खुट्टाहरू
लमकलमक् लम्काउँदै
परको अतिधमिलो मौसमबाट
धेरै हतारमा दौडिएझैँ गरी
हावाको झोँकाभन्दा चाँडो
मेरो नजिक आइरहेको
एक अञ्जान छाया
पाँच अमलको दूरीमा
सबल एक मानव भएर
ठिङ्ग उभियो ।
पाङ्ग्रा जस्तै बाटुलो
पावरवाला चस्माको फ्रेमभित्र
सचेत हुँदै पल्याकपुलुक् हेर्दै गरेका
मसिना ती गुच्चा जस्ता आँखाहरूले
केही इशारा गरिरहेझैँ लाग्यो ।
उसको चनाखो हाउभाउले
मलाई सचेत गरायो
मैले उसको हुलिया हेरेँ ।
रङ उडेको अनुहार
फिँजारिएको मसिनो कपाल
ठूलो निधार अनि स्याहार नपुगेको
झुस्स दारीभित्र उडेको सेतो चाया
कच्याक्कुचुक् मैलो सर्ट
अनि दुई–चारवटा बटम चुँडिएर
दाँत झरेको थोते गिजाझैँ देखिने
टाँकघरका ससाना प्वालहरूबाट
सुइरो जस्तै सबैलाई छेडौँलाझैँ गरी
स्वाट्–स्वाट् बाहिर निस्किएका
ती सेता अनि ठाडाठाडा रौँहरू ।
करङे शरीरको दायाँ काँधमा भिरिएको
अतिपुरानो अनि मक्किन लागेझैँ देखिने
जुटको बोरा सिलाएर बनाइएको
त्यो झुत्रे भिर्ने झोला ।
हतारो, चटारो अनि गर्मीको समय
धावकले दौड जित्न कुदेझैँ धपेडी
असिनपसिन र तिर्खाएका ओठ ।
हप्ता, महिना र केही वर्षहरू बिते
पारदर्शी सिसाहरूमा
कालो स्टिकर टाँसिएको
चिप्लो गाडी
मेरो नजिक आएर अडियो
म झस्किएँ अनि पुलुक्क हेरेँ
‘चिन्यौ नानी ?’
उसले झ्यालबाट बाहिर
टाउको निकाल्दै मलाई सोध्यो ।
म एकछिन घोरिएँ अनि याद आयो
चुँडिन लागेको लोती
दुई औँलाले चेपेर घिसार्दै
ठुटो तिखारेको कोदालोको
बिँड जस्तै तीखोे देखिने कुर्कुच्चाले
भ्वाङ पारेको हात्ती छाप चप्पलको पैताला
अनि आजको शानदार गाडी
र, रुपैयाँको तुजुक
धन–सम्पत्तिको लेखाजोखा
कसले गर्ला यहाँ ?
कठै ! मेरो आजीवन कार्यकर्तामय दिमागले
कसरी पो सोच्थ्यो र
यी सब कायापलटहरू !
म कायल भएँ
अनि उसको महँगो चार चक्केलाई हेरेर
मेरा ओठहरू बिस्तारै खुले
नचाहेरै मैले फिस्स हाँसिदिएँ ।