नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साधारण सदस्यबाटै निलम्बित गरेपछि नेता माधवकुमार नेपाल खेमा आक्रोशित बनेको छ । केही दिनअघि नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेका ओलीले आज उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि कारबाही गरेका छन् ।
यसैबीच नेता नेपालले पोखरा पुगेर ओलीलाई प्रश्न गरेका छन्, 'केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेका हुन् ?'
बिहीबार पोखरामा आयोजित आफ्नो खेमाका कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेपालले अध्यक्ष ओलीले पार्टीलाई आफ्ना समर्थकको समूह मात्र बनाउन चाहिरहेको बताए ।
केपी ओलीले पार्टी विधान र पार्टीको हितविपरीत काम गरिरहृको भन्दै नेता नेपालले ओलीले गरेको कारबाही मान्य नहुने बताए ।
‘केपी ओलीले काराबाही गरेर कसले टेर्छ, कसले मान्छ ? उसले मलाई वरिष्ठ नेताबाट हटाएर, स्थायी कमिटीबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलाई हटाएर हट्ने कुरा हुन्छ?’ भन्दै नेता नेपालले एमाले केपी ओलीको निजी कम्पनी नभएको जिकिर गरे ।
ओलीले राज्यका निकायलाई कब्जा गरिरहेको आरोप पनि नेपालले लगाए । ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरिरहेर सत्तामा टिकिरहेको पनि नेता नेपालले बताए ।
केपी ओली पछुवा समाजका पछुवा तत्त्वमध्ये पर्ने भन्दै उनले व्यंग्य पनि गरे ।