मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारत रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राती ८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार गरिइँदै थियो ।
१४ फागुनमा नर्भिक अस्पताल भर्ना भएका जोशीको मुटुले शुक्रबार बिहानदेखि काम गर्न छाडेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वउद्योगमन्त्रीसमेत रहेका नेता जोशीलाई उच्चरक्तचापका कारण मस्तिष्कघात भएको थियो । जोशी लोकप्रिय नेता थिए । जोशीकै पहलमा नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आएको थियो ।
३ असार २०१९ मा काठमाडौँँमा जन्मिएका नेता जोशी काठमाडौँ क्षेत्र नं.- ८ बाट २०७० सालमा तत्कालीन संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत थिए ।
विद्यार्थी छँदा २०३६ सालदेखि नै राजनीतिमा लागेका नेता जोशीलाई राजनीतिक यात्राका क्रममा पटक-पटक पक्राउ गरी हिरासतमा राखिएको थियो ।
नेता जोशीको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जलि दिँदै आफू मर्माहत भएको जनाएका छन् ।
साथै उनले नेता जोशीको निधनले नेपाली कांग्रेसले एक इमान्दार र निष्ठावान् नेता गुमाएको बताउँदै मृतकको आत्माको चीर शान्तिको कामना गरेका छन् । उनले यस दुःखद् घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदनासमेत व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मालगायत नेताहरूले पनि जोशीको निधनमा दु:ख व्यक्त गरेका छन् । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।
अस्पतालद्वारा जारी विज्ञप्ति