केपी शर्मा ओलीलाई चड्कन हान्न कांग्रेससँग घाँटी जोड्न लागेको माओवादी केन्द्रले त साथ देला तर घाटा-नाफाको हिसाब राम्ररी गर्न जान्ने दोमुखा जनता समाजवादी पार्टीले यसै गर्ला भन्न गाह्रो छ । फोहोरी खाले राजनीतिको खेलमा दौरा-सुरुवालमा आइरन गरेर मुखबाट पानी चुहाउँदै बसेका शेरबहादुर देउवाभन्दा बढी होलान् तर कम छैनन्, ओलीजी ।
समाजवादी पार्टीको ओलीतिरको मुखमा बुझो लगाउने अन्तिम काइदा उनीसँग नहोला भन्न सकिन्न । झण्डै डेढ वर्ष बाँकी रहेको संसदको कार्यकालका लागि सरकारको नेतृत्व गर्न तम्सिएको कांग्रेसको नियत त्यहाँ गएर बिग्रिएकोलाई सपार्ने भन्दा पनि मुखमा आइपुगेको परिकार मिलिमिली चबाइहालौँ भन्नेजस्तो देखिन्छ । आन्तरिक विरोधीहरूमा आमूल परिवर्तन आई धनुष्टङ्कारासनमा एकाएक जम्लाहात गर्दै देउवाको भजन गर्न थाल्नु नेपाली कांग्रेस पार्टी, नेपाली जनता र नेपाल राष्ट्रका लागि घातक सिद्ध हुन सक्छ ।
हो, मिल्नु नराम्रो कुरा होइन तर साँच्चै मिल्नु र मिलेको नाटक गर्नुमा सूर्य-चन्द्रको फरक छ । बुज्रुकहरू भन्छन्, 'यो मिलाप सैद्धान्तिक र कार्यगत मुद्दाहरूको छिनोफानोपछिको मिलाप होइन । यो मिलाप राज्य संचालनको रेखांकन गरी दीर्घकालीन यात्राको मिलाप होइन । न त यो मिलन वर्तमान राजनीतिक समस्याहरूको निराकरण गर्ने प्रयास स्वरूप एउटा जिम्मेवार राजनीतिक दलको नाताले उठाएको बाध्यात्मक कदम नै हो ।'
यो मिलन र यो आन्तरिक प्रेम कहानीको जरो मुलुक गरिबै भए पनि विलासी सत्ताको स्वादसँग जोडिएको धेरैको बुझाइ छ । धमिलोलाई सङ्ल्याउन होइन, धमिलोमै बल्छी खेल्न, 'हेर, यिनीहरूलाई हतारो' भनेर निकै राम्रा मानिसहरूले पनि चर्चा गर्ने गरेको सुन्न पाइन्छ ।
कटु यथार्थ के छ भने त्यसरी बन्ने त्रिशंकु सरकार, जहाँ ३ तिर फर्किएका समाजवादीका एकसे एक पदप्रिय नेता र माओवादी केन्द्रका भर्खरै अहंच्यूत हुन गई अभूतपूर्व रूपमा विचलित भएका र ग्लानि एवं अनिश्चितताले निथ्रुक्क भिजेका नेताको संतुलित र मनोकूल पदीय भागबण्डाको सौदावाजीमै आगामी एकाध साल अस्ताउनेछ
राष्ट्र निर्माणको उद्देश्य नभई मुठ्ठीभर व्यक्तिहरू र गुटकै पेट भर्नका लागि हुने अबको सरकार गठन जनताका लागि हर्ष न बिस्मातको विषय हो । उपयुक्त शासकीय विधिसहितको प्रष्ट राजनितीक एवं सैद्धान्तिक मार्गचित्र बनाएर इमानदारीपूर्वक नलागेसम्म 'जुन जोगी आए पनि कानै चिरेको' भनेझैँ केपी नै रही रहे पनि या देउवा वा भट्टराई वा प्रचण्ड, जो आए पनि केही नौलो उथलपुथल हुनेवाला छैन ।
अहिलेसम्म जे भयो, भइगयो, बुढेसकालमा ज्ञान-बुद्धि फर्किएला भन्ने अग्लो अपेक्षा नेपालको सबैभन्दा पुरानो र अनुभवी दल कांग्रेससँग पक्ष, विपक्षका सबैले गरेका थिए । परिस्थितिको आँकलन गरेर हस्तक्षेपकारी विधिबाट राष्ट्र निर्माणका लागि सही दिशा तय गर्नुपर्नेमा कम्युनिस्ट सरकारले टोकेर फालेको टुक्रो टिप्ने लुछाचुँडीको प्रतिस्पर्धामा भाग लिन लागेको सुन्दा धेरैको आशा र सद्भावमा तुषारापात भएको छ ।
ठीक हुन्थ्यो कांग्रेस सरकारमा जानु, यदि आफ्नो दलको प्रजातान्त्रिक समाजवादको मर्मअनुसारको मानचित्र निर्माण गरेर राष्ट्रलाई दिशा दिने उद्देश्यले गएको भए । आवश्यक थियो अगाडि बढ्नु, यदि राष्ट्रिय स्वाभिमानको रक्षा गर्न तथा कठपुतलीवाद र दलाल प्रवृत्तिको सफाया गरी छिमेक र विश्व मन्चमा आत्मनिर्णयको क्षमताको उदाहरण प्रस्तुत गर्न हतारिएर सत्ता हत्याउन खोजेको भए । परन्तु, अहिलेको हतारो पुरानै प्रकारको, उही दूषित गुटगत राजनीतिक संस्कारबमोजिमको कुनै दीर्घकालीन योजनाविहीन हतारो हो भन्ने कुरा आजको सूचना प्रविधिको युगमा सबैले बुझेका छन् ।
कांग्रेसभित्र मन्त्री पद पड्काइहाल्न पाइएला भनेर दाँत उध्याउँदै बसेका केही धुरन्धर नेताहरूको हाउभाउ पत्याई नसक्नुको आत्मविश्वासले भरिपूर्ण छ । पहिले पनि केही मन्त्रालयहरू सम्हालेर असफल भइसकेकाहरू नै जिब्रो पड्काउँदै ठेलमठेल गर्दै अघि सर्दै छन् ।
माओवादी केन्द्रले टाउको नबटारेमा र जनता समाजवादीभित्र पद बाँडफाँटमा मतान्तर नभएमा वा ओलीजीबाट समाजवादी पार्टी समक्ष प्रधानमन्त्री पदकै लागि प्रस्ताव गरिएर ती २ दलहरूबीचमा सहमति नबनेमा कांग्रेसले पाउला सरकारको नेतृत्व ।
तर, कटु यथार्थ के छ भने त्यसरी बन्ने त्रिशंकु सरकार, जहाँ ३ तिर फर्किएका समाजवादीका एकसे एक पदप्रिय नेता र माओवादी केन्द्रका भर्खरै अहंच्यूत हुन गई अभूतपूर्व रूपमा विचलित भएका र ग्लानि एवं अनिश्चितताले निथ्रुक्क भिजेका नेताको संतुलित र मनोकूल पदीय भागबण्डाको सौदावाजीमै आगामी एकाध साल अस्ताउनेछ । बाँकी समय गाडी/आवास रङरोगन गरी सक्दा नसक्दै आउने चुनावमा जनता समक्ष जाँदा कांग्रेसले फुर्ती लगाएर भोट माग्ने आधार के होला, उसै बेला देखिएला ।
तर, कांग्रेस २०४६ सालको परिवर्तनपछि संभवत: सबैभन्दा बढी सत्ताको भोजन गरेको पार्टी हो, सिद्धान्त जेसुकै होस्, संगठनको क्रियाशीलता र प्रभावकारिता जस्तोसुकै होस्, फेरि पनि पदमा लाप्पा खेल्न पुग्नेगरी भोट आइहाल्छ । निर्दोष र इमान्दार देशभक्त, प्रजातन्त्र र प्रगतिप्रेमी जनताले आँखा चिम्लिएर गरेको त्यस्तो विश्वास र भरोसाको कांग्रेसले सधैँ अपमान गर्दै आएको र राष्ट्र निर्माणको दीर्घकालीन परियोजनालाई ध्वस्त गर्न सहायक बनेकोमा सबै शुभेच्छुकहरू निराश देखिन्छन् ।