तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छन् । ३ बीस हिउँद–बर्खा काटिसकेका श्रेष्ठ अझै पनि ऊर्जाशील र अनुकरणीय पात्रका रूपमा परिचित छन् । खासगरी साहित्य र रचनात्मक लेखन यात्रामा दखल राख्ने श्रेष्ठ पोखरा मात्र होइन, स्वदेश तथा विदेशमा समेत उत्तिकै परिचित पात्र हुन् ।
जीवन र जगत्का कुरालाई सहज, सरस र सरल प्रस्तुति गर्नु नै साहित्य हो भन्ने श्रेष्ठ कविता र मुक्तक लेखनमा दिग्गज मानिन्छन् । तरलवादी आन्दोलनका एक हस्ती श्रेष्ठ शैक्षिक हित र सामाजिक विकासको उन्नयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेका छन् । उनी पञ्चायतकालको अन्त्यका ३ वर्ष उपप्रधानपञ्च भई पोखरामा सक्रिय राजनीतिमा होमिएका थिए ।
नेपाली कांग्रेसका आस्थावान् कार्यकर्ता भए पनि सबै विचारको सम्मान गर्नुपर्छ भन्ने धारणा राख्ने श्रेष्ठ साहित्यमा भने स्वच्छन्दतावादी धारको पक्षमा वकालत गर्छन् ।
७ वटा कविता, मुक्तक र गीतसङ्ग्रह प्रकाशन गरिसकेका श्रेष्ठ राष्ट्रिय तथा स्थानीय गरी २० वटाभन्दा बढी संघसंस्थामा आवद्ध छन् । उनी राष्ट्रिय प्रतिभा पुरस्कार, मोती पुरस्कार, शिरोमणि पुरस्कार, वासुशशी पुरस्कार, भूपि स्मृति साहित्य पुरस्कारसहित दर्जनभन्दा बढी सम्मान तथा पुरस्कारबाट विभूषित भइसकेका छन् । साहित्य लेखनलाई नै जीवनको पर्याय बनाएका उनै कवि तथा साहित्यकार तीर्थ श्रेष्ठ नेपाली लेखक संघको अध्यक्षमा निर्वाचित भएपछि स्वतन्त्र समाचार सेवा (आईएनएस)का लागि गरिएको समसामयिक भेटवार्ताको मुख्य अंश ।
तपाईं किन नेपाली लेखक संघको नेतृत्वमा जानुभएको हो ?
नेपाली लेखक संघमा म केन्द्रीय सदस्य र उपाध्यक्ष पदमा बसिसकेको र यसका माध्यमले नेपाली लेखकहरूको हक, हितको संरक्षणमा केही योगदान गर्न सकिन्छ भन्ने विश्वास राखेर नेतृत्वमा आएको हुँ । यसका अतिरिक्त साथीहरूले नेतृत्व लिन आग्रह गर्नुभएकाले पनि म नेपाली लेखक संघको नेतृत्वमा आएको हुँ ।
लेखक त स्वतन्त्र प्राणी हो, उसलाई संगठन किन चाहिन्छ र ?
लेखकहरूका केही साझा समस्या र उत्तरदायित्वहरू पनि छन् । तिनलाई वैयक्तिक स्तरमा सम्बोधन गर्न सकिँदैन । त्यसका लागि संगठन आवश्यक पर्छ ।
लेखक संघले लेखकीय स्वतन्त्रताको रक्षा र प्रवर्द्धन कसरी गर्छ ? केके योजना छन् ?
अहिलेको अवस्थामा संविधानले नै विचार र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ, तथापि बेलामौकामा स्रष्टाहरूका अभिव्यक्तिप्रति असहिष्णु स्वरहरू देखापर्ने गरेका छन् । यस्तोबेला संगठित रूपमा प्रतिवाद र लेखकीय स्वतन्त्रताको रक्षा गर्नका लागि आवश्यक कदम उठाउन सकिन्छ । अहिले नै लेखकीय स्वतन्त्रता अपहरण गर्ने दुष्साहस भने कसैले गर्न सक्ने अवस्था छैन ।
संघलाई दलीय संलग्नताको साँघुरो घेरामा किन राख्नुपरेको ?
संघ कुनै पनि दलको भ्रातृ संगठन होइन । लोकतान्त्रिक मूल्य, मान्यताभित्र हुने यही विश्वासको धरातलमा आधारित भएको राजनीतिक दलसँग निकटता स्वाभाविक नै होइन र ?
नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि आज राज्य र समाज दुवैले लिनुपर्ने सोच, नीति र योजना के हुन सक्छ ?
नेपाली भाषा संकटमा छ । अंग्रेजी माध्यमका विद्यालयहरू र आवश्यकताभन्दा बढी अंग्रेजीमोहले हामीलाई गाँजेको छ । आज हामी अंग्रेजीमा सोच्ने पुस्ताको उत्पादन गरिरहेका छौँ । हामी हाम्रो परम्परा, संस्कृति र संस्कारबाट टाढा हुँदै छौँ । यसबाट जोगिनु आवश्यक छ । मुलुकको शिक्षा पद्धतिमा पर्याप्त सुधारको आवश्यकता छ । मुलुकको इतिहास, संस्कृति, भूगोल र भाषाहरूको अध्ययन र अनुसन्धानमा सरकारले उदासीनता देखाएको छ । प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन् । यस्तो उदासीनताका दुष्परिणाम देखिँदै छन् ।
देशमा काठमाडौंकेन्द्रित प्राज्ञिक चिन्तनधारा प्रबल रहेको देखिन्छ, यस्तो परिवेशमा पोखराले सिर्जनात्मक आन्दोलनलाई कसरी हाँक्न सक्ला ?
अझै पनि राजधानी र मोफसलको भेद बाँकी रहनु दुर्भाग्य हो । संचारको क्षेत्रमा भएको अभूतपूर्व विकासले संसारलाई सबैतिर सहज पहुँचको सुविधा दिइसकेको छ । पोखराले नेपाली साहित्यमा विविध ढंगका गतिविधि र आन्दोलनमार्फत आफ्नो शक्ति र सामर्थ्य देखाइसकेको छ । त्यसका विषयमा म थप चर्चा गर्न चाहन्नँ ।
नेपाल लेखक संघमा आवद्ध नभएका तर नेपाली भाषा, साहित्यको साधनामा लागेकाहरूलाई कसरी जोड्नुहुन्छ ?
नेपाली लेखक संघमा आवद्धताका लागि हामी आग्रह गर्नेछौँ । उहाँहरूको आवद्धताका लागि उपयुक्त परिस्थिति निर्माण गर्नेछौँ ।
संसारको सिर्जनात्मक दुनियाँमा हामी कहाँ छौँ ?
सिर्जनात्मक क्षमताका दृष्टिले नेपाली लेखकहरू धेरै पछि छन् जस्तो लाग्दैन । लेखेर बाँच्ने परिस्थिति र राज्यबाट उचित प्रोत्साहनको अभावका कारणले नेपाली साहित्यले अपेक्षित प्रगति गर्न नसकेको हो ।
लेखक संघका आदर्श लेखक साहित्यकारहरू कोको हुन् ?
नेपाली लेखक संघको स्थापनामा संलग्न वीपी कोइराला, गोविन्दबहादुर मल्ल ‘गोठाले’लगायतका लेखकहरूप्रति संघ श्रद्धा राख्छ ।
साहित्य लेखन विधामा प्रदान गरिने पुरस्कारको प्रतिभा छनोट कार्य निष्पक्ष र पारदर्शी हुँदैन भन्ने गुनासो छ नि !
सबै ठाउँमा खराब भएको छ भन्नु पनि गलत हुन्छ । कमजोरीहरू छन् । त्यस्ता कमजोरीबाट मुक्त हुन आवश्यक छ ।
प्रस्तुति: यदुनाथ बञ्जारा, पोखरा
स्रोत: आईएनएस-स्वतन्त्र समाचार