Khabarpato logo

         

फिचर/स्थानीय विकास

डुबानमा अल्झिएको विराटनगर प्रमुखका उम्मेदवारको नारा

आईएनएस-स्वतन्त्र समाचार

आईएनएस-स्वतन्त्र समाचार

डुबानमा अल्झिएको विराटनगर प्रमुखका उम्मेदवारको नारा
  • कमल कौशिक

विराटनगर महानगरपालिकाको प्रमुख समस्या भनेको डुबान हो । वर्षायाममा विराटनगरका मुख्य सडकसहित घर, बस्ती डुब्ने गरेका छन् । पछिल्लो समय महानगरले ढल निकास व्यवस्थापन गर्न ठूलै लगानी गरेको भए पनि दक्षिणी क्षेत्रमा बनेको रेलवेले पानीको निकासमा अवरोध पुर्‍याएको हुँदा डुबान समस्या यथावत् हुने गरेको छ ।

आगामी ३० वैशाखमा हुने निर्वाचनका लागि प्रमुखका उम्मेदवार बनेका महानगरका नेताहरूले विराटनगरको प्रमुख समस्या डुबान भएकाले त्यसको सही समाधान गर्ने बाचा गर्दै भोट माग्ने गरेका छन् । उनीहरूका अरू योजना भनेका देशभरका जनप्रतिनिधिले गर्ने शिक्षा, स्वास्थ्य, रोजगार, पानी, कृषि जस्ता साझा छन् ।

नेकपा एमालेबाट प्रमुखको उमेदवार रहेका सागर थापा भन्छन्, ‘वर्षा याममा महानगर डुब्छ । खोलाबाट नगरमा बाढी पस्ने समस्या बढ्दो छ । बाइपास सडक नभएकाले प्रदेशको राजधानीमा जाम हुने गरेको छ ।' डुबानरहित शहर बनाउने योजना सुनाएर भोट माग्न हिँडेका थापाले फोहोर र सुकुम्बासीमुक्त, स्वच्छ, सफा, व्यवस्थित पार्किङसहितको डिजिटल प्रविधियुक्त शहर बनाउने बताए ।

त्यसका लागि केन्द्र सरकार, प्रदेश सरकार र दातृ निकायसँग समन्वय गर्ने उनको योजना छ । ‘सीमित स्रोत-साधनको अधिकतम प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको महानगर, ढाटदेखि रानीसम्म हरित सडक, विमानस्थलको स्तर उन्नति गरी अन्तर्राष्ट्रिय उडान गर्न सक्ने, जेष्ठ नागरिक, युवा, बालबालिका, महिलामैत्री आधुनिक पार्क निर्माण गर्ने’ प्रमुख भएपछिका योजना उनले सुनाए ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा २ पटक स्वतन्त्र विद्यार्थी युनियनका सभापति भएका विद्यार्थीमाझ चर्चित युवा नेता थापा हाल एमाले महानगर कमिटीका अध्यक्ष पनि हुन् । प्रदेशको अस्थायी राजधानी विराटनगरलाई स्थायी र भौतिक पूर्वाधारसहितको समृद्ध शहर बनाउने बताउँदै उनले विराट राजाको प्राचीन दरबारलाई धार्मिक पर्यटकीय क्षेत्र बनाएर शिक्षा र स्वास्थ्यको हवको रूपमा विराटनगरको विकास गर्ने बताए ।

हुँदा खाने र हुने खानेका बीच शिक्षामा देखिएको खाडल पुरेर सबैका लागि सहज र समान बनाउने, खोला किनारमा बस्ने २० हजार सुकुम्बासीलाई ५ वर्षभित्र घर बनाइदिने, यदि उनीहरूलाई घर दिन नसके आफू पनि घर नबनाउने उनको भनाइ छ । उनको घर सडक विस्तारका क्रममा भत्किएपछि बनाएका छैनन् ।

‘म गरिब परिवारबाट आएको भुइँमान्छे हुँ । त्यसैले वर्षैपिच्छेको बाढीमा घर डुब्ने सुकुम्बासीले घर पाएपछि मात्र आफ्नो घर बनाउने सोचमा छु', थापाले भने ।

नेपाली कांग्रेसका तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखमा उमेदवार रहेका नागेश कोइराला नगर पूर्वको सिंघिया र पश्चिमको केशलिया खोलालाई नियन्त्रण गरेर डुबानमुक्त महानगर बनाउने योजना रहेको बताउँछन् । ठूला बिल्डिङ र संरचना बनाउने आफ्नो योजना नभएकाले डुबानमुक्त विराटनगरलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

‘मजत्तिको मान्छे प्रमुखका रूपमा भेट्दा सबैले राम्रै हुन्छ भन्ने भावना व्यक्त गरेर स्थानीय समस्या उठाउने गरेका छन्, सबै समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै आएको छु', कोइरालाले भने । नेपाली कांग्रेसका मोरङ जिल्ला उपसभापति रहेका कोइराला विराटनगरका अतिसम्पन्न परिवारका सदस्य हुन् । शून्य सहनशीलता र भ्रष्टाचाररहित महानगरका बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा अगाडि बढेको उनले सुनाए ।

इच्छा हुँदाहुँदै पनि पढ्न नपाएका गरिबका छोराछोरीलाई निजी सरहको सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिन महानगरले सक्नुपर्ने उनको भनाइ छ । राजतन्त्र, पंचायती व्यवस्था फालेर प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउने, विराटनगरबाटै निस्किएका नेताहरूले देश बनाएकाले आफूहरू विराटनगर बनाउने योजना लिएर चुनावमा गएको कोइराला बताउँछन् । विराटनगरबासीले कल्पना गरेजस्तो, मानिसको दिनचर्यामा असर हुनेगरी जनतालाई अनुभूति दिने गरी आफू काम गर्न तयार रहेको उनले बताए ।

विराटनगर महानगरमा  प्रमुखका उमेदवार रहेका विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य अमलेश कर्ण विकासका कारण विराटनगर थप डुब्न थालेको बताउँछन् । ‘वर्षामा पानी जम्ने यहाँको प्रमुख समस्या हो, रेलवे बनेपछि दक्षिणतिर पानीको निकास बन्द भएजस्तै छ । महानगरको मापदण्डअनुसार कुनै पनि काम भएको छैन, शिक्षा, स्वास्थ्य, बजार अस्तव्यस्त छ', उनले भने ।

डुबान, सुकुम्बासी र गरिबको समस्या समाधान गरेर व्यवस्थित विराटनगर बनाउने योजनाका साथ चुनावमा लागेको उनको भनाइ छ । कर्णले २०७४ सालमा मोरङ क्षेत्र नम्बर- ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा उमेदवारी दिएका थिए । पछि मोडलिङ र बडी बिल्डिङमा लागेका उनी यहाँका चर्चित व्यक्ति हुन् । भ्रष्टाचारविरोधी र उपभोक्ता अधिकारको अभियानमा सक्रिय रहने उनी प्रमुख भएपछि विराटनगर महानगरपालिकाका सबै कर्मचारीको सम्पत्ति सार्वजनिक गर्ने बताउँछन् । उनले विद्यार्थीका लागि संचयकोषको व्यवस्था गर्ने योजना ल्याएका छन् ।

‘सही कुरा स्थापित र गलत विस्थापित मेरो नारा हो, भ्रष्टाचारविरुद्ध र उपभोक्ताको हितमा सामाजिक अभियन्ताका रूपमा चिनिन्छु, व्यवस्थित विराटनगर बनाउने मसँग क्लियर भिजन छ', कर्णले भने । विराटनगरका नाममा राजनीति गर्नेले आफ्नो र नेता, कार्यकर्ताको भरणपोषण मात्र गरेकाले विराटनगर अन्य शहरको तुलनामा पछि पर्दै गएको उनको तर्क छ । भारतका पर्यटक आकर्षित गरी विराटनगरलाई केन्द्र बनाएर यहाँ बास बसाउने उनको योजना छ ।

स्रोत: आईएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…