Khabarpato logo

         

अर्थ/वाणिज्य

आफूमाथि लगाइएका ६ वटा आरोपबारे बतास समूहले यसो भन्यो (विज्ञप्तिसहित)

खबरदाता

खबरदाता

आफूमाथि लगाइएका ६ वटा आरोपबारे बतास समूहले यसो भन्यो (विज्ञप्तिसहित)

बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयदेखि पशुपतिको धर्मशाला संचाचालनसम्म आफूमाथि लगाइएको आरोपबारे मुख खोलेको छ ।

बतास समूहका अध्यक्ष आनन्दराज बतासले बुधबार बिहान २ हजार ५०० शब्दको विज्ञप्ति जारी गरी आफूमाथि एक सातादेखि शृंखलाबद्ध रूपमा आइरहेका समाचारलाई पहिलो दृष्टिमै प्रायोजित भनेका छन् । उनले आफ्ना सम्बन्धमा आएका ६ वटा आरोपबारे विस्तृत रूपमा व्याख्या गर्दै सबै टेन्डर कानुनी रूपमा बलियो भएको दाबीसमेत गरेका छन् ।

‘गत हप्तादेखि बतास अर्गनाइजेसनविरुद्ध विभिन्न छापा तथा विद्युतीय संचार माध्यम, अनलाइन र टेलिभिजनहरूमा प्रकाशन/प्रसारण भइरहेका समाचारहरूप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकरणमा जेजस्तो ढंगले एकांगी, मनोगत, भ्रामक र कपोलकल्पित समाचारहरू प्रकाशित भएका छन्, ती विषयमा हालसम्म यस अर्गनाइजेसनका कुनै पनि जिम्मेवार व्यक्तिहरूलाई आधिकारिक रूपमा सम्पर्क गरेर सत्य/तथ्य बुझ्ने प्रयत्न ती संचार माध्यमहरूले नगरेका हुनाले यो प्रेस विज्ञप्तिमार्फत तथ्य सार्वजनिक गर्नुपरेको हो’, विज्ञप्तिमा भनिएको छ ।

कतिपय संचार माध्यमका पक्षपातपूर्ण हर्कतबाट नेपालका उद्यमी, व्यवसायी पीडित भएको यो पहिलो घटना नभएको भन्दै बतास समूहले यस घटनालाई अचम्मको विषयका रूपमा नलिएको जनाएको छ । ‘यो प्रेस विज्ञप्तिमार्फत नेपाली संचार माध्यमहरूलाई पत्रकारिताको पाठ सिकाउने उद्देश्य विल्कुलै होइन । सो रूपमा बुझ्ने वा हाम्रो यो विज्ञप्तिलाई त्यसरी अर्थ्याउने काम नहोला भन्ने हाम्रो ठम्याइ हो । तथापि, पत्रकारिताका आफ्नै मूल्य, मान्यता, नैतिकता र धर्म हुन्छ । कानुनले नै निर्दिष्ट गरिदिएका आचारसंहिता र सीमाहरू छन् भन्ने कुरा स्मरण गराउँदा बतास अर्गनाइजेसनप्रति यहाँहरूले अन्यथा रूपमा लिनुहुने छैन भन्ने हाम्रो विश्वास छ’, विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

१. नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया भाडा सम्बन्धमाः

आमसंचार माध्यमहरूमा जेजस्ता कुरा आए पनि नेपाल सरकारको जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन र संचालन विकास समितीले मिती २०७७ साल साउन २६ गते गोरखापत्र दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरि नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया भवन र नारायणहिटी दरबार संग्रहालय अन्तर्गतको गणतन्त्र स्मारक भित्रको क्याफ्टेरिया भाडामा दिने गरी टेण्डर आह्वान गर्‍यो । पहिलो पटक सो बोलपत्रमा कसैले आवेदनपेश नगरेपछि असोज १८ गतेसम्म म्याद थपको सूचना प्रकाशित भएको थियो । जस मध्ये नारायणहिटी दरबार संग्रहालय परिसर भित्रको क्याफ्टेरिया भवनसंचालनको लागि हाल टेण्डर प्राप्त गरेको बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्ट प्रा.ली. लगायत चारवटा कम्पनीले आवेदन गरेकोमा छनौट प्रक्रिया मार्फत सम्बन्धित निकायले बि. पि. एस. लिजिङ एण्ड म्यानेजमेन्टलाई भाडामा दिने निर्णय गर्‍यो । उक्त सार्वजनिक सूचनामा नारायणहिटी दरबार संग्रहालय अन्तर्गतको गणतन्त्र स्मारक भित्रको क्याफ्टेरिया संचालनको लागि पनि प्रकाशित भएको टेण्डरमा कुनै पनि फर्म, संस्थाले उक्त क्याफ्टेरिया संचालनको लागि प्रस्ताव पेस गरेको थिएन ।

यसरी नारायणहिटी दरबार संग्रहालय परिसरभित्रको क्याफ्टेरिया बोलपत्र स्वीकृत गरिएको सूचनासमेत गोरखापत्र दैनिकमै प्रकाशित भएपछि मासिक दुई लाख २१ हजार ६१८ रुपैयाँ भाडा तिर्ने गरी बी. पी. एस. लिजिङ एन्ड म्यानेजमेन्ट र नारायणहिटी दरबार संग्रहालयबीच मिति २०७७ पुस १७ गते सम्झौता भएको हो ।

तर, स्थापित कतिपय अनलाइनहरूले मासिकलाई वार्षिक भन्दै समाचार प्रकाशन गर्नु अवश्य पनि सामान्य त्रुटी होइन। सो भाडा समेत हाल रहेको क्याफिटेरीया भवनको २३०० वर्गफिटको मात्र हो र त्यस भवन बाहेक प्रत्यक्ष रूपमा जे जति रूपमा जग्गा प्रयोग हुन्छ सो अनुपातमा नारायणहिटी दरबार संग्रहालयको बैठकले तोके बमोजिमको थप भाडा तिर्नुपर्ने शर्त सम्झौतामा स्पष्ट रूपमा उल्लेख हुदाहुदै सो विषयलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्नुमा नियत मै खोट देखियो भन्ने हाम्रो टिप्पणी गलत सिद्ध हुदैन । 'क्याफ्टेरिया वरिपरिको क्षेत्रहरूमा वातावरण सुधार गरी सौन्दर्यीकरण गरी हावाहुरीबाट बचाउन आवश्यक परेमा अस्थायी संरचना निर्माण गर्न सक्ने' पनि शर्तमा उल्लेख गरीएको छ । बरु, त्यस्ता ऐतिहासिक महत्वका र जनभावना प्रतक्ष्य रूपमा जोडिएका संबेदनशील संरचनामा निजी क्षेत्रलाई व्यवसाय गर्न दिने निर्णय किन र कुन उद्देश्यले राज्यले गर्‍यो भन्ने प्रश्नको जवाफ पो संचार माध्यमले खोज्नुपर्ने थियो भन्ने हाम्रो बुझाइ अवश्य पनि गलत होइन होला ।

सो सम्झौता गर्ने क्रममा बतास अर्गनाइजेसनले कुनै प्रकारको प्रभाव वा दबाव सिर्जना गरिएको थिएन भन्नेकुरा सम्झौता पत्रमा प्रयुक्त भाषाले नै स्पष्ट पारिरहेका अवस्थामा सो क्रममा ‘सेटिङ’ भएको भन्दै जे–जसरी समाचारहरू प्रकाशित, प्रशारित भइरहेका छन् ती समाचारहरूका शीर्षकदेखि व्यहोरासम्ममा पुरापुर भ्रम र झुट मात्र प्रस्तुत भएको यहाँहरूलाई स्पष्ट पार्न चाहन्छौँ ।

जम्मा तीन वर्षका लागि अत्यन्तै कडा शर्तहरूसहित सो संग्रहालय क्षेत्रको क्याफ्टेरिया भाडामा लिएको र त्यहाँ आफ्नो तर्फबाट पाँच करोड भन्दा माथिको लगानी गर्ने योजनासहित तीन करोडभन्दा बढी लगानी गरिसकेको अवस्थामा बतास अर्गनाइजेसनमाथि गैरकानुनी ढंगले जे–जसरी आक्रमण गर्ने र भौतिक संरचनाहरू समेत नष्ट गर्ने काम भयो, त्यसबखत हामीमाथि राज्यले गरेको अन्याय र अपराधबारे समेत आम जनमानसलाई जानकारी गरिदिनुहुन यहाँहरूलाई अनुरोध गर्न चाहान्छौं ।

यसबीच अघिल्लो दिन भाडा भुक्तान गर्नु भन्ने पत्र प्राप्त भए बमोजिम हामीले भाडा भुक्तानी गर्‍यौँ र अर्को दिन निर्माण गरिएका भौतिक संरचनाहरू नष्ट गरिदिने जस्ता गैरकानुनी र निन्दनीय हर्कतहरू राज्यका तर्फबाट भएको तथ्य यहाँहरूबाट छुपेको छैन । तर, सो तथ्य सार्वजनिक हुनबाट रोक्ने शक्तिहरूको जोडबललाई यो महत्वपूर्ण विज्ञप्तिका आधारमा निस्तेज पार्दै यहाँहरूले आफ्नो पेशागत इमान्दारिता र धर्मलाई पालना गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं । कानुनको ठाडो उल्लङ्घन गर्दै मौखिक आदेशका भरमा जसरी राज्य संचालन गर्न खोजिएको छ, त्यो संस्कार र पद्दतिलाई निरुत्साहित गर्ने कार्यमा आम संचारमाध्यम र सिंगो राष्ट्रको ध्यान जानेछ भन्ने हामीले विश्वास लिएका छौं । साथ,ै नारायणहिटी संग्रहालय सम्बन्धमा बनेको छानबिन समितिले हामी सरोकारवालाहरूसँग केही सोधखोज नगरी एकतर्फि रूपमा पूर्वाग्रह भई प्रतिवेदन सार्वजनिक गरेकाकुरा पनि यहाँलाई अवगत गराउन चाहन्छौँ ।

२. नेपाल-भारतमैत्री पशुपति धर्मशालाका सम्बन्धमाः

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भई डेढ वर्षभन्दा बढी समयसम्म संचालनमाा आउन नसकेको पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको नेपाल भारतमैत्री पशुपति धर्मशाला भाडामा लगाउनेसम्बन्धी सो कोषले मिति २०७५/१०/२९ गते प्रकाशित गरेको बोलपत्रमा रितपूर्वक आवेदन दिई छनोट भएको होटल आनन्द प्रा.लि र पशुपति क्षेत्र विकास कोषबीच २०७६ वैशाख ३० गते होटलस्तरमा धर्मशाला संचालन गर्ने सम्झौता भएको हो । सम्झौताले निर्दिष्ट गरेका शर्तहरूको अधिनमा रही हालसम्म होटल आनन्द प्रा.लि.ले धर्मशाला संचालन गरिरहेको छ ।

धर्मशाला भाडामा दिने जिम्मेवार निकायलाई नै पशुपति विकास कोषलाई किन धर्मशाला भाडामा दिइएको भनेर प्रश्न गर्नुको सट्टा आफ्नो व्यवसायिक धर्म निभाउँदै धर्मशाला भाडामा लिई संचालन गर्ने व्यापारिक कम्पनीलाई अनेकौँ कपोकल्पित र भ्रामक आरोपहरूसहित बदनाम गर्ने काममा नलाग्न हामी आग्रह गर्न चाहन्छौं । आशा छ, संचार माध्यमहरूबाट हामीमाथि न्याय हुनेछ ।

धर्मशालाका सम्बन्धमा प्रश्न उठाउँदा पशुपति विकास कोषले बिसौ वर्षदेखि भाडामा दिएको गौशाला स्थित धर्मशालार निजी क्षेत्रले भाडामा लिएर संचालन गरिरहेको धर्मशालाबीच सेवाग्राहीले तिर्नु पर्ने सेवाशुल्कको मात्रै तुलना नगरी त्यहाँ उपलब्ध सेवा र सुविधाहरूका बारेमा समेत तुलना गरिदिनुहुन हाम्रो आग्रह छ । धर्मशाला परिसरमा त्यसको सौन्दर्य थप गर्ने तथा निःशुल्क दृश्यावलोकन गर्न नेपालका भिन्टेज गाडीहरूको संरक्षण गर्ने उद्देश्यले राखिएका पुराना मोडलका गाडीहरूलाई सोरुममा बेच्न राखिएका गाडीका रूपमा प्रचार गरिएकोमा हामीलाई दुःख लागेको छ । साथै, सम्झौतापत्रमा उल्लेख भएबमोजिम नै धर्मशालामा कतिपय कम्पनीको कार्यालय रहेको कुरालाई अन्यथारूपमा प्रस्तुत गरिएकोमा हामी दुःखित छौं । यसक्रममा नियम, ऐन, कानुनको कहीँ कतै उल्लंघन नगरिएको हामी स्पष्ट पार्न चाहान्छौं  । यदि त्यस्तो भएको ठहर भएमा कानुनले तोकेको अधिकतम् कारवाहीको भागिदार बन्न हामी तयार छौँ ।

३. पाटन दरबारक्षेत्र, मानहुँकोट, गण्डकी कृषि सामग्री केन्द्रका सम्बन्धमा

पाटन दरबार क्षेत्रमा केही वर्ष अघिदेखि नै बतास अर्गनाइजेसनले त्यहाँका केही कवलकोठाहरू भाडामा लिएको सत्य हो । ऐन, नियम र कानुनअन्तर्गत नै बतास अर्गनाइजेसनले भाडामा लिएको सो क्षेत्रका कवलहरू पसल संचालनका लागि अन्य पक्षलाई भाडामा दिनेगरी नै लिइएको हो । त्यहाँका सम्पूर्ण पसलकवलहरू अहिलेसम्म समेत भाडामा लागिसकेका छैनन् । बरु, ती खाली पसल कवलहरूलाई भाडामा लिएर विभिन्न व्यापार व्यवसाय गर्न आम नागरिकलाई प्रोत्साहित गरिदिएमा बतास अर्गनाईजेसन सबैप्रति कृतज्ञ रहनेछ ।

व्यास नगरपालिका अन्तर्गत रहेको मानहुँकोटमा बतासको पनि केहि शेयर रहेको व्यास हिल्स प्रा.लि.ले सोही नगरपालिकाको मेयरको अनुरोधमा त्यस क्षेत्रमा पर्यटन विकासको पूर्वाधारमा लगानी गरी पर्यटन व्यवसाय संचालन गर्न प्रस्ताव पेश गरेकोमा दुई मत छैन । तर, पर्यटन क्षेत्रसंग सम्बन्धित व्यवसाय फष्टाउने र समग्ररूपमा सो क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने योजनाहरू रोक्नेगरी जे–जसरी समाचारहरू सार्वजनिक गरिएका छन्, त्यसको एक मात्र लक्ष्य भनेको नेपालको पर्यटन व्यवसायलाई फस्टाउन नदिने र ग्रामीण पर्यटनलाई निरुत्साहित गर्ने हो भन्ने कुरामा दुईमत हुन सक्दैन । त्यसैले, यसप्रकारका विकास विरोधी प्रचारहरूखेदजनक मात्र होइन, चिन्ताको विषयसमेत हो ।

गण्डकी कृषि सामग्री केन्द्रको जग्गामा विगत १५ वर्षदेखि सार्वजनिक टेण्डर प्रतिस्पर्धाबाट पसल कबलहरू नियम, कानुन, प्रक्रिया र पद्दतिभित्र नै रहेर बतासका एकाघर परिवारका सदस्य रेजी श्रेष्ठले उपभोग र संचालन गरिरहेको आम जनसमुदायमाजानकारी गराउन चाहन्छौं । असान्दर्भिक विषय र प्रशंगलाई जोड्ने तथा कुनै व्यक्ति वा संस्थालाई खलपात्रकारूपमा चित्रण गर्ने परिपाटीप्रति बतास अर्गनाइजेसनखेद प्रकट गर्दछ ।

४. अक्सिजन प्लान्ट सम्बन्धमाः

कोभिड संक्रमित बिरामीलाई देशैभर अक्सिजनको हाहाकार भएको र गण्डकी प्रदेशकै सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा पनि सोही समस्याकै कारणले कयौको ज्यान गएको हामी सबैलाई बिदित नै छ । सो समस्यालाई न्यूनिकरण गर्ने उद्देश्यले बतास फाउण्डेसनको नेतृत्वमा पोखरामा अत्याधुनिक अक्सिजन प्लान्टहरू स्थापना गर्न सर्वसाधारणदेखि व्यापारिक घरानाहरूसम्मबाट संकलन गरेको रकममा स्वयम बतास अर्गनाइजेसनले समेत करिब ५० लाख रूपैयाँ थप गरी फ्रान्सको एक कम्पनीबाट अक्सिजन प्लान्ट खरिद गरिसकेको छ ।

हालसम्म रु. ३,३७,४३,८६१।३१ (अक्षरेपी तीन करोड सर्तीस लाख त्रीचालिस हजार आठ सय एक सठी रुपियाँ एकतीस पैसा मात्र) संकलन भई सकेको र सप्लायर मेडिअक्सी प्रा.लि.लाई रु. ३,०७,३६,५११।५७ (तीन करोड सात लाख छतीस हजार पाँच सय एघार रुपियाँ सन्ताउन्न पैसा) र जहाजको कार्गाे भाडा बापत नपुग रु. ३०,००,०००।०० (तीस लाख मात्र) अग्रिम पूर्ण भुक्तानी गरी ३ वटा (प्रति प्लान्ट प्रति दिन ५० सिलिण्डर उत्पादन गर्ने) अक्सिजन प्लान्ट र १ वटा फिलर सिस्टम अर्डर भईसकेको जानकारी यहाँलाई गराउँदछौ । सो वापतको पूर्ण भुक्तानी समेत भैसकेको छ ।

सो अक्सिजन प्लान्ट नेपालसम्म ल्याउने जिम्मेवारी नेपाल सरकारले लिएको तर सो काम विगत ९ महिनादेखि सरकारको प्रक्रियागत रूपमा ल्याउन ढिलो भएको कारणको स्थितिमा सो पैसाबारे उठेको प्रश्न स्वभाविक र जायज हो । निर्धारित समयभन्दा अत्यन्तै ढिलो समयसम्म अक्सिजन प्लान्ट स्थापित हुन नसक्नुमा बतास फाउण्डेसनको कुनै कमजोरी वा दोष नरहेतापनि हालसम्म आम नागरिकहरूले सो सुविधाबाट बञ्चित बन्नुपरेको अवस्थाका लागि बतास फाउण्डेसन पोखरेली जनता प्रति क्षमायाचना गर्न चाहन्छ ।

नेपाल सरकारलाई ढुवानीकार्य अबिलम्ब पूरा गरी बतास फाउण्डेसनको अग्रसरतामा भएको यो महत्वपूर्ण परोपकारीकार्य सम्पन्न गर्न सहयोग गरिदिनहुन हामी विनम्र अनुरोधसमेत गर्न चाहान्छौं । यसबीच संकलन भएका प्रत्येक पैसाको हिसाब–किताब चुस्त दुरुस्त र पारदर्शी रहेको समेत हामी यसै विज्ञप्तिमार्फत सबैमा जानकारी गराउन चाहान्छौँ ।

५. सेती नदीअन्तर्गत रामघाट र मोरे खहरे क्षेत्रमा ड्याम निर्माण सम्बन्धमा:

पोखरास्थित सेती नदीका रामघाट र मोरे खहरे क्षेत्रमा स्थायी ड्याम निर्माण गरी ३५ वर्ष सम्म नदीजन्य सामाग्री संकलन तथा निकासी गर्ने प्रयोजनका लागि पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडेलमा काम गर्न २०७७ कार्तिक ७ गते सार्वजनिक सुचना मार्फत प्रस्ताव आह्वान गरेको थियो । सो प्रक्रियामा बतासको एकाघर परिवारको केहि शेयर रहेकोबि. रिभर माईनिङ्ग प्रा.लि. र मोरे खहरे रिभर माईनिङ्ग प्रा.लि.ले आवश्यक प्रक्रिया पूरा गर्दै छनौटमा परेका हुन् । आजको मितिसम्म सो प्रक्रिया अन्तर्गत पोखरा महानगरपालिका र हाम्रा कम्पनीहरू बिच कागजात आदान प्रदान र छलफल जारी नै छ । हामी दुई पक्ष सम्झौता गर्ने चरणमा पुगेका बेला आम पोखराबासीको दिर्घकालिन हितलाई केन्द्रमा राखेर पोखरा महानगरपालिकाले अघि बढाएका यस्ता परियोजनाहरू असफल पार्न योजनाबद्ध ढङ्गले पोखराको विकास विरोधी तत्व लागि परेको हाम्रो ठहर छ ।

पोखराको भविष्यका रूपमा पोखरेली जनता र उनीहरूका जिम्मेवार जनप्रतिनिधीहरूले चित्रित गर्ने गरेको यो दिर्घकालिन महत्वको परियोजना कार्यान्वयन हुनबाट रोक्ने प्रयत्नका रूपमा पोखराबासीहरूले यसलाई लिएका छन् । दशकौदेखि अनियन्त्रित ढङ्गले गैरकानुनी तवरबाट ती क्षेत्रहरूमा नदिजन्य सामाग्री र खनीजको दोहन गर्दै आएका तत्वहरूले यो बेला ‘धमिलो पानीमा माछा मार्ने’ प्रयत्न गरेको र त्यसका लागि जिम्मेवार संचार माध्यमहरूको दुरूपयोग गरेको देखिएको छ ।

यी दुई महत्वपूर्ण ड्यामहरूको निर्माणले पोखराका महत्वपूर्ण क्षेत्रहरूमा सेती नदीले बढाउदै गएको जोखिम न्यूनीकरण मात्र गर्ने होईन की त्यसबाट उल्लेख्य आर्थिक लाभका साथै विकासका पूर्वाधार निर्माणमा पोखरालाई अकल्पनीय राहत मिल्नेसम्मको फाइदाबारे सबै पोखराबासीहरू ज्ञात छन् । विषयान्तर गर्ने उद्देश्यले छर्न खाजिएका भ्रमहरूलाई कमजोर पार्नका लागि र सो कार्य मार्फत आम पोखराबासीहरूको सेवा गर्नको लागि बतास अर्गनाइजेसन नेपालका जिम्मेवार संचार माध्यमहरूलाई विशेष अनुरोध गर्दछ । यो अर्गनाइजेसनको व्यावसायिक उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याएका पोखराबासीहरू हामी माथि अहिले भईरहेका सुनियोजित आक्रमणको शिकार बन्न नपरोस् भन्ने उद्देश्यका कारण पनि यो विषयका सत्य, तथ्य र यथार्थ मात्र सार्वजनिक होस् भन्ने हाम्रो चाहना हो । यसमा संचार माध्यमहरूको महत्वपूर्ण योगदान आम पोखराबासीहरूका लागि समेत चिर स्मरणीय रहने छ भन्ने हाम्रो बुझाइ हो ।

६. विभिन्न दलका नेता तथा उच्चपदस्थ कर्मचारीसँगको सम्बन्धका बारेमा:

बतास समूह नेपालको राजधानी सहर र प्रमुख पर्यटकीय नगरी पोखरामा सार्वजनिक सेवा, पर्यटन देखि सवारी र स्वास्थ्य क्षेत्रसँग समेत सम्बन्धित व्यापार व्यवसायमा सक्रिय रहेको हुँदा नेपालका सबैजसो दलका उच्च तहका नेता, सरकारी सेवाका वरिष्ठ कर्मचारी, विभिन्न तह र तप्कामा रहेका व्यवशायिक व्यक्तित्व देखि सर्वसाधारणसम्म सँग हाम्रो अनेकौँ आयामका सकारात्मक सम्बन्धहरू रहनु स्वाभाविक हो। यस्तो सम्बन्ध न हामीले लुकाउनु पर्ने विषय हो न त संचार माध्यममा समाचार बन्न लायक कुरा नै हो। तर हाम्रा स्वच्छ, पारदर्शी र स्वाभाविक सम्बन्धहरू बारे आम रूपमा छरिएका भ्रमहरूमा भने कुनै सत्यता छैन। यो अर्गनाइजेसनका अध्यक्ष कुनै राजनीतिक नेतृत्वमा पुग्ने लालसाबाट सुरु दिन देखि नै मुक्त रहेको धारणा हामीले यस अघि नै विभिन्न माध्यमहरू मार्फत सार्वजनिक गरिसकेको अवस्थामा समेत यस प्रकारका आरोपहरू लाग्नु वाञ्छनीय होइन ।

बतास अर्गनाइजेसन जस्तो एक स्थापित समूहसँग यो समाजका विभिन्न तप्काका व्यक्तित्वहरूको सम्बन्ध/सम्पर्क नरहनु चाहिँ अनौठो कुरा हुन्थ्यो। तर, यो स्वाभाविक कुरा कसरी चर्चाको केन्द्रबिन्दुमा रहने विषय बन्यो भन्ने चाहिँ खोजीको विषय हुनसक्छ। आपराधिक मानसिकताबाट ग्रसित तत्वहरूले जसरी हामीसँग सबै प्रकारका स्वार्थहरूबाट मुक्त रहेर निकटस्थ सम्बन्ध निर्माण गर्नु भएका सम्माननीय र आदरणीय व्यक्तित्वहरूलाई समेत केहिदिन यता मान मर्दन हुने गरी संचार माध्यममा प्रस्तुत गरिरहेका छन् त्यो खेदजनक र निन्दनीय छ। उल्लेखित सबै वर्ग र तहका व्यक्तित्वसँग हाम्रो अनैतिक र स्वार्थ केन्द्रित सम्बन्ध रहेको भन्ने आरोपलाई हामी एकमुष्ट रूपमा खारेज गर्न चाहन्छौँ ।

७. संचारमाध्यमसँग हाम्रो गुनासो र अनुरोध

तथ्यहरू तोडमोड गर्ने र प्राप्त प्रमाणहरूलाई समेत गलत ढंगले व्याख्या, विश्लेषण र प्रस्तुत गर्नेदेखि लिएर एउटा प्रमाण प्रस्तुत गर्दै अर्कै तर्क पेश गर्नेखालका कार्यहरू कतिपय संचार माध्यममा प्रकट भएको देखियो । जतिसुकै कुशलतापूर्वक र सिर्जनशील ढंगले गरिएको भए पनि अपराध अपराध नै हुन्छ । यसप्रकारका समाचारहरूमा रहेका कमजोरी र गलत सूचनाहरूबारे आम नागरिकले जानकारी प्राप्त गरेको मितिमा नेपाली संचार माध्यमहरूको विश्वसनियता कुन स्तरमा क्षयीकरण हुने हो भन्ने चिन्ता नेपालमै व्यवसाय गरिरहेको एउटा व्यवसायिक अर्गनाइजेसन भएको नाताले बतास अर्गनाइजेसनलाई पनि लागेको छ । हामी प्रार्थना मात्रै गर्न सक्छौं कि संचारमाध्यमले आफ्नो विश्वासनियता नगुमाओस् । राज्यको चौथो अंगसमेत कमजोर पारेर यो मुलुकलाई नै असफल बनाउनेहरूको कुत्सित चाहना पूरा गर्ने साधनको रूपमा संचार माध्यमहरू प्रयोग नहुन् भन्ने हाम्रो आग्रह छ ।

अहिले बतास अर्गनाइजेसनमाथि भइरहेको सुनियोजित आक्रमण एउटा कुनै अर्गनाइजेसन लक्षित परिघटना मात्र होइन । नेपालमै बसेर नेपालको आर्थिक विकासमा योगदान दिन चाहने हरेक उद्योगी, व्यवसायी र व्यापारीहरूमाथी गरिएको सुनियोजित आक्रमणको प्रतिनिधि घटनाको रूपमा भविश्यले यसलाई स्मरण गर्ने नै छ । यस घटनाले नेपालका उद्योगी, व्यवसायी, व्यापारीहरू, नयाँ पुस्ता र विदेशमा बसेका नेपालीहरूलाई त्रसित, निरुत्साहित बनाएको छ। सरल रूपमा हेर्दा बतास एक प्रतिनीधि पात्र भएको छ तर स्मरणीय रहोस् यस किसिमको संचार माध्यमहरूले एकतर्र्फीय रूपमा प्रवाग्रह रही एक सरल र सफल व्यावसायीलाईबदनाम गर्ने गराउने कार्यलाई सारा निजी क्षेत्रले सन्देह पूर्वक मूल्याड्ढन गरेको विषय निर्विवाद सत्य छ ।  नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने सर्वाधिक क्षमतावान क्षेत्र (पर्यटन क्षेत्र) सँग सम्बन्धित व्यापार व्यवसायलाई निरुत्साहित गर्ने गरी भइरहेका यसप्रकारका आक्रमणहरू कुन स्तरको शक्तिकेन्द्रबाट भइरहेको छ भन्ने कुरा कुनै एक मन्त्रीको मौखिक आदेशमा कानुनसम्मत निर्माण गरिएका करोडौंका संरचनाहरू क्षणभरमा नै भत्काइएको घटनाले स्पष्ट पार्छ ।

बतास अर्गनाइजेसनलाई जोडेर उठान गरिएका विषयहरूमा एक-एक गरी प्रवेश गर्नुअघि अहिलेसम्म बतास अर्गनाइजेसनलाई बदनाम गराउने उद्देश्यबाट प्रेरित भई जेजति मात्रामा, जस्ताखालका भ्रमहरूको उत्पादन, प्रकाशन र प्रशारण भयो/गरियो, त्यसमा प्रत्यक्ष/परोक्ष रूपमा सहभागी बनेका आम पत्रकार मित्रलगायत सबैलाई कुनै प्रकारको कानुनी कारबाही नगर्न बतास अर्गनाइजेसन नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछ ।

स्वार्थ समूहका कपटपूर्ण पासोमा परेर उनीहरूको इच्छा अनुसार भ्रामक समाचार उत्पादन र प्रकाशन गर्ने पत्रकार मित्रहरूको बाध्यताप्रति संवेदनशील बनिदिएर कुनै प्रकारको नैतिक वा अन्य दवाब दिने वा स्पष्टीकरण लिने काम नगर्न आम संचार माध्यमका संचालक तथा प्रकाशक साथै सम्पादकज्यूहरूलाई समेत बतास अर्गनाइजेसन बिनम्र अनुरोध गर्दछ ।

अन्त्यमा, बतास अर्गनाइजेसन इमान्दारिता, नैतिकता र आचरणमा सम्झौता नगर्ने व्यावसायिक संस्था हो । 'बचनमा पक्का' भन्ने हाम्रो नारा हो । हामी जे भन्छौँ, सत्य भन्छौँ र जे गर्छौं, त्यो स्वीकार्छौं । हामीमाथि अनर्गल रूपमा लागेका आरोप र हामीलाई खलपात्रकारूपमा चित्रित गर्नेगरी प्रकाशित समाचारहरूप्रति हाम्रो कडा आपत्ति होइन । तर, आम नेपाली नागरिकले समाचारकारूपमा गलत सूचना प्राप्त गरिरहेको प्रति भने हामीलाई चिन्ता लागेको छ ।

बतास अर्गनाइजेसनले कानुनसम्मतरूपमा भाडामा लिएर संचालन गरेका सम्पूर्ण व्यावसायिक सम्झौताहरू कानुनबमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ । त्यसैले बतास अर्गनाइजेसनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरू एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरासमेत यहाँहरूमार्फत आमजनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहन्छौँ । धन्यवाद । 

आनन्दराज बतास, (अध्यक्ष), बतास अर्गनाइजेसन

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…