Khabarpato logo

         

अर्थ/वाणिज्य

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

खबरदाता

खबरदाता

कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङ्टारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकातर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको छ । 

नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमबार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेजअन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरियो । 

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको यस प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकमार्फत दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । 

कोसी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङ्टारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ)देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै, प्रदेश १ का जिल्लाहरूमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण संजाल बन्नेछ । 

कार्यक्रममा एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र काबेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरूको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत् आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने दाबी गरे । 

प्रधिकरणले कोसी कोरिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई मध्यनजर गर्दै आयोजनाहरूबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सबस्टेसनहरूमा २२० केभी लाइन वे तथा पावर ट्रान्सफर्मरहरूको क्षमता विस्तार गर्ने योजना बनाएको बताइएको छ ।
 
आयोजनाको प्रथम चरणको कार्यका लागि जस्तै दोस्रो चरणको निर्माण कार्य अर्थात् दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सबस्टेसनहरूको क्षमता विस्तारका लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैंकलाई पत्राचार गरिसकिएको प्राधिकरणले जानकारी दिएको छ । 

प्रसारण आयोजना ३ वटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा-तुम्लिङ्टार प्रसारण लाइन, दोस्रो प्याकेजमा ३ वटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरदेखि ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने रहेको छ ।

अरुण र तमोर नदी तथा यी नदीहरूका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । प्रदेश १ का भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमश ः ८० र ७० प्रतिशत निर्माण सकिएको बताइएको छ । 

प्राधिकरणले निजी क्षेत्रका २८ वटा आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् । आयोजनाको दोस्रो प्याकेजअन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङ्टार र वसन्तपुरमा २२०/१३२/३३ केभीका ३ वटा सबस्टेसनहरू र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

इनरुवामा अहिले २२० केभीको सबस्टेसन निर्माणाधीन छ । उक्त सबस्टेसन निर्माण पूरा नहुन्जेलसम्मका लागि इनरुवा-वसन्तपुर-तुम्लिङ्टार प्रसारण लाइनलाई अस्थायी रूपमा ३३ केभीमा चार्ज गरी संचालनमा ल्याइएको छ । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किलोमिटर प्रसारणलाई २ भदौ २०७८ मा ३३ केभीमा चार्ज गरिएको हो । 

प्याकेज २ अन्तर्गत सबस्टेसनहरूको निर्माण र नेपाल-भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट निर्माणाधीन २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन सम्पन्न गरी इनरुवा-वसन्तपुर-वानेश्वर-तुम्लिङ्टार प्रसारण लाइनलाई डिसेम्बर २०२१ सम्ममा २२० केभीमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ । 

हाल ३३ केभीमा चार्च गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट बर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । 
तिरतिरे-वसन्तपुर-धनकुटा-धरान ३३ केभी प्रसारण लाइनको क्षमताले नपुग्दा भोेजपुर, संखुवासभा र तेह्रथुममा संचालित आयोजनाहरू बर्खाको समयमा पूर्ण क्षमतामा चल्न सकिरहेका थिएनन् । आयोजनाहरूको जडित क्षमता करिब ३३ मेगावाट छ । संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोसी करिडोर प्रसारण लाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका- १७ स्थित चतरा-धरान ३३ केभी लाइनमा ल्याइएको छ । 

करिडोरको पहिलो प्याकेजको इनरुवा-वसन्तपुर-वानेश्वर-तुम्लिङ्टार  २२० केभी प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि.सँग २५ फेब्रुअरी २०१६ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्का सम्झौता १४ जुन २०१६ मा कार्यान्वयमा आएको थियो । पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७३ लाख डलर (करिब ४ अर्ब रुपैयाँ) छ । 

दोस्रो प्याकेजअन्तर्गत इनरुवा, वसन्तपुर, बानेश्वर र तुम्लिङ्टारमा २२०/१३२/३३ केभीको सबस्टेसन निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग ११ जुलाई २०१८ मा ठेक्का सम्झौता भएको थियो । सबस्टेसको निर्माण मार्च २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर (करिब २ अर्ब ९१ करोड रुपैयाँ) छ ।

तेस्रो प्याकेजमा वसन्तपुर-ढुंगेसाँघु ३५ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । १३२ वटा टावर निर्माण गर्नुपर्ने यस खण्डको काम आगामी माघभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो प्रसारण लाइनलाई १३२ केभीमा चार्ज गरिनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…