ओठ चुम्ने भ्रमर घुम्दिए, सक्किए,
वैलिए फूल के, पन्छिए, सक्किए !
हुन्छ नभमा कतै मेघ के हरबखत,
आँसु बर्षात् हुन्, दर्किए, सक्किए !
रात अनिँदो बित्यो के गुनासो भयो ?
एकछिनका, रहर पोखिए, सक्किए !
के लगौँटी दिनू, लाज छोप्नू भनी,
नग्न बन्ने रहर, नाङ्गिए सक्किए !
फेद हेरेर खै के भयो ? हर बखत,
दम्भ गर्ने शिखर नाघिए, सक्किए !
हरलिखतभित्र छन् हेर अलिखित कुरा,
बालुवा पुल हुँदै भाँच्चिए, सक्किए !
शक्ति नै निख्रियो के गरूँ भन्छ सुर,
बेसुरा थे अधर,
रङ्गिए, सक्किए !
मुस्कुराए जहाँ कोपिला फूलझैँ,
जुर्मुराए चिता पल्टिए, सक्किए !
त्याग तपस्या सबै मागिखाने कुरा,
बूढो नेता ! भए सठ्ठिए, सक्किए !
ज्यून खोज्ने थिए, छानिए, सक्किए,
ज्यूदो मुर्दा जरुर गाडिए, सक्किए !
देख्छु तत्पर सबै छन् ‘भ्रमित’ बन्नमा,
भुस, लिदीले गिदी छोपिए, सक्किए !
बाहुबलमै चलेको छ शासन हजुर,
चाहिए ऐन किन, केरिए, सक्किए !
के उज्यालो भयो, छन् अँध्यारा शहर,
गाउँका झन् कुरा, छेल्लिए, सक्किए !
के भयो खै ? स्वयम् मेघ नै गर्जिँदा,
दु:खले ती स्वयम् पग्लिए, सक्किए !
फुल्छ, फुल्दैन क्वै त्यो उसैको कुरा,
बीज नदीमा कतै, फालिए, सक्किए !
गर्छ बेहद भजन, जब पवनपुत्रले,
बुझ्छु, सोच्ने रहरकै पयर बेचिए !
रम्छ हरपल कमल त्यै हिलोमा भनी,
भासमा जब पसे, भास्सिए, सक्किए !
भन्दथे- रोक्दिने छन् नदी प्रेमले,
भै दुई तट दुवै थन्किए, सक्किए !
बैँक ऋणले जफत् खेतबारी भयो,
स्वप्न चङ्गा भए, बत्तिए, सक्किए !
चिस्सिँदै रात थ्यो, साथमै थे रहर,
अग्निबेगर वदन बाफिए, सक्किए !
‘स्वप्न-भङ्गा’ परी बन्दिए, सक्किए,
जब चिसा ती सिरक नाङ्गिए, सक्किए
चिस्सिँदै रात गो, साथमै थे रहर,
अग्निबेगर वदन बाफिए, सक्किए !
हुन्न अस्तित्व हाम्रो अलग जब भने,
जुट्न थाले रहर, गाभ्भिए, सक्किए !
चोट जसले दियो, दु:ख मान्दै थियो,
गोहीकै आँसु हुन्, बर्सिए, सक्किए !
हाँस्नु पर्दै छ अब, जून भेट्दा नयाँ,
दु:ख बग्दै थिए, थामिए, सक्किए !
नृत्य नाङ्गो थियो, चाहिएनन् लुगा
च्यातिए वस्त्र आफैँ सिए,सक्किए !
त्यै कुराले भनूँ, अन्त्य भो जिन्दगी,
बैँसको विष नप्यनू, पिए, सक्किए !
बिषकी कन्या थिइन्, पट्टिए, सक्किए,
विष-अधरमै थिए, पिइदिए, सक्किए !
प्यासमै जिन्दगी रित्तिए, सक्किए,
अश्रु-धारा त्यसै, थामिए, सक्किए !
जून झैँ जो थिए, ओर्लिए दृष्टिमा,
मात्तिए बैँसले आत्तिए, सक्किए !
बाटुलो चन्द्र त्यो पूर्ण थ्यो, दाग थ्यो,
बैसले क्वै अरू उफ्रिए, सक्किए !
नाइँ’, के भन्दथ्यो, मूर्ति हो देवता,
क्वै बली राखिए, पर्छिए, सक्किए !
धर्मकै नाममा खेल रच्छन् तुच्छ,
देव अन्धो भए, खेलिए, सक्किए !
पुग्छ सुन्दर भए, तान्न सबको नजर,
सब लिखा केस भै बाट्टिए, सक्किए !
चोटले नोटलाई बुझ्यो- ‘के भयो ?’
फेर्नु थ्यो हत्केला, फेरिए, सक्किए !
मौनता, बाध्यता ठान्नु नै दोष थ्यो,
मौन बन्दुक खुले, सन्किए, सक्किए !
पीरका हर धजा गाढिए, सक्किए,
दु:ख हेर्ने खुसी तड्पिए, सक्किए !
छन् चिताका नजिक अस्रु थोपा अझै,
हुन् न मान्छे सबै, बिर्सिए, सक्किए !
के मसी भो रगत, आँसु भो लेखनी,
पत्र दिलमै बने, फाडिए, सक्किए !
हरघडी, हरपला जोडूँ भन्दै वदन,
जून-तारा बरा ! टाढिए, सक्किए !
द्वन्द्वको अग्निमा कुन लहडले फँसे,
हार खाए, खुबै आत्तिए, सक्किए !
फुल्छ, फुल्दैन क्वै त्यो उसैको कुरा,
बीज नदीका बगरमै थिए, सक्किए !
बन्द आँखा गरी खोज्न गल्ती कुरा,
धर्मको डोरीले बाँधिए, सक्किए !
बैँसको फूल हुन् टिप्पिए बैँसमै,
के गुनासो गरूँ लत्रिए सक्किए !
पुतली-बत्ती मिलनको कथा के भनूँ,
‘प्रेम-उन्माद’ भो, जल्दिए, सक्किए !
दु:खकै पीर हुन् पिर्दिए सक्किए,
आँसु साथै बगे, तुर्किए, सक्किए !
बग्नु पर्थ्यो नदीझैँ, छुटे फेदमा,
पाउका लेउ हुन्, किच्चिए, सक्किए !
एक वाक्यै नबोल्दा भन्यौँ- ‘छन् गुदी’,
बोल्न थाले थे जब खोक्रिए, सक्किए !
शान देखाउँदै जो थिए अस्ति ती,
घुन भएझैँ कतै पिस्सिए, सक्किए !
थाम्छु आकाशको बोझ एक्लै भनी,
बन्न हुटिट्याउँ जो उफ्रिए, सक्किए !
हरकुराको हुने रै’छ हद म्याद, जो,
कोपिला फूल भै थन्किए, सक्किए !
पर्न साथै अरूको भुजामा रहर,
भै घुएँत्रो कतै हुत्तिए, सक्किए !
जन्मिँदा किन खुसी, मृत्युमा किन दुखी,
जे थिए, भैदिए, अल्पिए, सक्किए !
भो नखोज्नुस् रहर ए हजुर यस बखत
ज्वारभाटा न हुन् चुल्लिए, सक्किए !
‘भोज’ खै कुन खुसीमा थियो, बुझ्दिनँ ?
हरप्रहर भो कहर, भोगिए, सक्किए !