रवीन्द्रका नाममा सुकेटार विमानस्थलको नाम राख्ने सरकारको निर्णयप्रति योगेशको आपत्ति
ताप्लेजुङको सुकेटार विमानस्थलको नामकरण दिवंगत नेता तथा मन्त्री रवीन्द्र अधिकारीको नाममा राख्ने सरकारको घोषणाप्रति एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले विरोध गरेका छन् ।
शनिबार बजेटमार्फत पर्यटनमन्त्री रहँदा विमान दुर्घटनामा परी निधन भएका अधिकारीको नाममा सुकेटार विमानस्थलको नामकरण गर्ने घोषण अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए । त्यसप्रति ताप्लेजुङबाट निर्वाचित नेता भट्टराईले आज सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।
ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्य, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा व्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
उनले लेखेका छन्, 'यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुन सक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नुपर्दछ ।’
१५ फागुन २०७५ मा एयर डाइनाष्टीको हेलिकोप्टर ताप्लेजुङको पाथीभरा नजिकै दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारी तथा व्यवसायी आङ छिरिङ शेर्पासहित ७ जनाको ज्यान गएको थियो ।